• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन बराइली
२०८० चैत ३ शनिबार १०:४८:००
सम्झना

....अनि हिमाल रक्ताम्मे देखेँ

हिमाल चढ्दा म पटक–पटक मरेर बाँचेको मान्छे । वेलावेला सोचिरहन्छु– मेरा अगाडि र पछाडिका शेर्पाहरू किन बचेनन् ? म मात्रै किन बाँचेँ होला ?

२०८० चैत ३ शनिबार १०:४८:००
पवन बराइली

 

सन् २०१४ अप्रिल १८ तारिख । बिहानैदेखि ५० जनाभन्दा बढी शेर्पा सगरमाथा आधार शिविरदेखि क्याम्प वान (पहिलो शिविर)तिर उकालो लागे । सबैले टेन्ट, रासन, अक्सिजनजस्ता सामग्रीको भारी बोकेका थिए । सबैलाई ‘क्याम्प वान’मा भारी पुर्‍याएर फर्किने हतारो थियो । सोलुखुम्बु माप्य दुधकोशी–७ का दावा टसी शेर्पा पनि त्यही समूहमा थिए । उनी  त्यसवेला आफ्नो टेन्ट पार्टन (अर्का शेर्पा) सँग राति १ बजे क्याम्प वान जाँदै थिए । 


अघिल्लो दिन सगरमाथा क्षेत्रको मौसम खुलेको थियो । हिमालका हिउँ टलक्क टल्किएका थिए । त्यस दिन सगरमाथा आधार शिविर आरोहीहरूको चहलपहलले गुल्जार थियो । बाटोमा सगरमाथा आरोण गरेर फर्किएकाहरू थुप्रै भेटिन्थे । कतिपय सगरमाथाको शिखर पुग्ने उत्साहले लम्किरहेका हुन्थे । सबैलाई गन्तव्य पुग्ने हतारो थियो । ‘खुम्बु आइसफल’को उकालो लाग्दै गर्दा क्याम्प वानमुनितिर फर्किएर आउनेहरूले एउटा भर्‍याङ भाँचिएको खबर सुनाए ।  


भर्‍याङ भाँचिएको खबर सुनेपछि दाबाले फर्किने सोच बनाए । तर, अरू साथीहरूले फर्किन मानेनन् । आफूहरूलाई लिएर गएको आरोही रिसाउने डरले क्याम्प वानमा भारी पुर्‍याएर छिटै फर्किने सल्लाह गरेँ । उक्लिँदै गर्दा भाँचिएको भर्‍याङ बनिसकेको खबर पाएँ । झन् रोकिने कुरै भएन । उनीहरू एउटा भर्‍याङबाट उक्लिएर हिउँको सानो टापुमा पुगे । सबैजना लामबद्ध भएर नै उकालो लाग्दै थिए । बिहानको ६:३० बजेको हुनुपर्छ । शेर्पाहरू खुम्बु आइसफल बाटोमा लामबद्ध थिए । 


तर, एक्कासि ठूलो आवाज आयो । आकाशमा बादल मडारिन थाल्यो । बादलले सगरमाथा क्षेत्र पूरै ढाक्यो । एकैछिनमा अन्धकार छायो । ‘हामी १६ जना थियौँ । मेरो अगाडि दुईजना हिँडेका थिए । अरू सबै मभन्दा पछाडि थिए । अगाडिका साथीहरूले सेफ्टी बेल्ट चेन्ज गरेर जाऊँ भन्दै थिए । एक्कासि ठूलो आवाज आयो । त्यहाँ एक–अर्कासँग बोल्ने समय भएन । कसरी आफ्नो ज्यान जोगाउने भन्ने सबैको ध्यान थियो । स्पाइनल इन्जोरी भयो भने प्यारालाइसिस हुन्छ भन्ने याद आयो । त्यसैले म ‘साइवोज’मा आड लागेर बसेँ । अरू साथीहरू कसरी बसे मलाई याद छैन । हिउँको थुप्रै हामीमाथि आएर बजारियो,’ दाबा दुर्घटनाको क्षण सम्झिन्छन् ।

एक्कासि मध्यरातमा ब्युँझिएजसरी झल्याँस्स आँखा खुल्यो । दृश्यहरू प्रस्टसँग ठम्याउन सकिनँ । आँखा खुलेपछि सेतो हिउँ रक्ताम्मे पो देखेँ । अगाडि रगतको तालजस्तो देखेँ । मगजले अरू सोच्नै सकेन । रातो हिउँको थुप्रोले आफ्नो शरीर थिचेको महसुस गरेँ ।


दाबाका आँखा निदाइसकेका थिए । शरीरमा हिउँका डल्ला कति बजारिए, उनलाई याद छैन । सगरमाथाको छातीमा सबैको होसहवास उड्यो । एकैछिनमा हिमालले आफ्नो रङ फेर्‍यो । बादलजस्ता हिउँका थुप्रो खसेका थिए । उनलाई सपनाजस्तो लाग्यो । ‘एक्कासि मध्यरातमा ब्युँझिएजसरी झल्यास्स आँखा खुल्यो । दृश्यहरू प्रस्टसँग ठम्याउन सकिनँ,’ उनी आफ्नो कहालीलाग्दो दिन सम्झिन्छन्, ‘आँखा खुलेपछि सेतौ हिउँ रक्ताम्म्मे पो देखेँ । रगतको तालजस्तो देखेँ । मगजले अरू सोच्नै सकेन । रातो हिउँको थुप्रोले आफ्नो शरीर थिचेको महसुस गरेँ । सेतो हिउँ पूरै रातो देखेँ । एकछिनअघिको ठूलो आवाज कता हरायो थाहा भएन । मसानघाटजस्तो सन्नाटा छायो । कसैको आवाज सुनिएन । हिउँ रातो मात्रै देखिरहेँ । यताउता आँखा डुलाएँ । तर, कोही पनि देखिनँ ।’ 


दाबाटासीले सेफ्टी डोरीले ज्यान कसिलो गरी बाँधेका थिए । उनका आँखाले शक्ति गुमाइसकेको थियो । आइसमा पुरिएको शरीर लठ्ठिएको थियो । उनी सम्झन्छन्, ‘मेरा दुवै हात हिउँको थुप्रोले पुरिएको रहेछ । दुवै हात निस्किए भने बाँच्छु भन्ने भयो । यहाँबाट निस्किएँ भने अरूलाई पनि निकाल्छु भन्ने सोच आयो । तर, मेरो दुवै हात आइसमा अड्कियो । बल्लतल्ल दाहिने हात निकालेँ । तर, पन्जाभित्रै अड्कियो । हात बाहिर राख्यो भने हिउँले खान्छ भनेर अर्काे काखीमुनि लुकाएर राखेँ । चाँडै उद्धार गर्न आए भने बाँच्छु भन्ने झिनो आशा थियो । मान्छेलाई थाहा दिन कराउँदै बसेँ । सानो स्वरमा गुहार मागिरहेँ । मैले गुहार मागेको कतिले सुने थाहा छैन ।’  


दाबालाई पहिरोबाट उद्धार गरेर आधार शिविरमा पुर्‍याइयो । उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पुर्‍याइयो । उनका तीनवटा देब्रे करङ, एउटा दाहिने करङ, देब्रे कुम र नाकको हड्डी भाँचिएको रहेछ । दाहिने हातको पन्जाको हड्डी पनि फुटेछ । ‘नाकमा ठोक्किएर चोट लागेछ । अनुहारको हिउँ पन्छाएँ । ज्यान चटपटाउन सकेन । तर, म उठ्न सकेँ भने अरूलाई बचाउन सक्छु भन्ने लागिरह्यो । चोट कति लाग्यो, थाहा भएन । हातको नङ सबै गएछ,’ उनी भन्छन्, ‘मेरो दिन बलियो रहेछ । भाग्यले हात काट्नुपरेन ।’


अनि फेरि हिमाल फर्किए...
दाबा मृत्युलाई जितेर नयाँ चोला लिएर फेरि हिमाल फर्किए । दुर्घटना भएको झन्डै ११ वर्ष भयो । तर, त्यो दिन सम्झिनेबित्तिकै उनको मथिंगल अझै घुम्छ । शरीरको दाग मेटिसके पनि मनमा भने गहिरो दाग बसेको छ । त्यो कहालीलाग्दो दिन जति पुरानो भयो, उति नै ताजा हुन्छ, दाबाको दिमागमा । त्यसवेला साथीहरू गुमाउँदाको क्षण असह्य हुन्छ उनलाई । दाबा सुस्तरी सुनाउँछन्, ‘त्यो घटनाबाट बेपत्ता भएका तीनजना शेर्पा साथीको शव अहिलेसम्म फेला परेको छैन । १३ जनाको शवचाहिँ दुई दिनपछि भेटियो ।’

मलाई दैवले कुन जुनीको हिसाब खोजेका होलान् जस्तो लाग्थ्यो । जीवनमा पटक–पटक चोट पाइरहेको छु । तर, साहस र हिम्मत भने कहिल्यै हार्दिनँ । जीवनमा घट्ने घटनालाई एउटा भोगाइका रूपमा लिइरहेको छु ।


१३ दिनपछि अस्पतालको उपचारपछि डिस्चार्ज भए दाबा । त्यसपछि तीन महिना घरमै ‘बेड रेस्ट’ गरे । त्यसवेला दाबाकी श्रीमती सात महिनाकी गर्भवती थिइन् । ‘मलाई केही भइहालेको भए के हुन्थ्यो होला सोच्न पनि सक्दिनँ । मलाई त्यसवेला कसैले पनि बाँच्छ भनेर सोचेको थिएन । म मात्रै यस्तो भाग्यमानी हुँ, जो हिमपहिरोमा पुरिएर पनि नाफाको जीवन पाएँ,’ दाबा भन्छन् । 


दुर्घटनापछि दाबा तीन महिना उपचारमै बसे । ६ महिना घरमै बसे । त्यसबीचमा उनले निकै सोचे । ट्रेकिङ अफिस स्थापना गर्ने सोच बनाए । त्यस्तो अफिस खोल्दा पर्यटकको मात्रै मुख ताक्नुपर्ने अवस्था भयो । बेड रेस्टपछि सामान्य हिँड्डुल गर्न सक्ने भए, दाबा । 


तर, घाइते ज्यान फेरि हिमाल फर्किन सम्भव थिएन । परिवारले पनि हिमालको नाम लिन चाहँदैनन् थिए । बरु अरू व्यवसाय गर्न सुझाब दिन्थे । बिहान–बेलुकी छाक टार्न उनले कपडाको ब्रान्ड स्थापना गरे । उनले सन् २०१५ ‘दाबा गियर’ कपडाको ब्रान्ड दर्ता गरे । तर, लगानी जुटाउन नसकेपछि काम गर्न सकेनन् । हिमालमा काम गर्न नसक्ने भएपछि गुजारा टार्ने सोचले ब्रान्ड स्थापना गरेको उनी सुनाउँछन् । तर, कपडा पसलले गति लिन नसकेपछि बन्द गरेर हिमालतिर फर्किने सोच बनाए । 


एक वर्षपछि फेरि ट्रेकिङ पेसामै फर्किए दाबा । ‘कपडा पसलले राम्रो गति लिन सकेन । गुजारा चलाउन गाह्रो हुन थाल्यो । ११ वर्षदेखि ट्रेकिङको अनुभव र सीप खेर फाल्न मन लागेन । अर्काे काम गर्न शून्यबाट सुरु गर्नुपर्छ । फेरि सकी–नसकी त्यही ट्रेकिङमै फर्किएँ । जीवनको सबैभन्दा कष्टकर समय थियो मेरा लागि । म राम्रोसँग तंग्रिसकेको थिइनँ,’ दाबाले विगत सुनाए । 


दाबालाई हिमपहिरो दुर्घटनामा परेर पनि हिमालमै काम गरेको देख्दा धेरैलाई अचम्म लाग्छ । कतिपयले फेरि हिमालमै काम गर्दा प्रश्न पनि गर्छन् । उनी हिमालमा काम गर्नु आफ्नो कर्म भन्न रुचाउँछन् । दाबा भन्छन्, ‘मभन्दा अग्रजहरू धेरैले हिमालमा काम गर्नुभयो होला । काम गर्ने दौरानमा उहाँहरूले पनि कतिपटक मृत्युलाई जितेर फर्किनुभयो होला । तर, उहाँहरूले पनि आफ्नो कर्मलाई छोड्नु भएन । मैले पनि जीवनको महत्वपूर्ण समय र उमेर हिमालमै खर्चिएँ । मेरो समय, पैसा र ऊर्जा हिमालमा खर्च भएको छ । त्यसैले हिमाल मबाट टाढा हुनै सक्दैन ।’


हिमालमा काम गर्ने दौरान दाबा पटक–पटक मृत्युको मुखमा पुगेर फर्केका छन् । उनलाई २०२१ मा सगरमाथा आधार शिविर पुग्दा कोरोना संक्रमण भयो । त्यसपछि उनी घर फर्किए । भन्छन् ‘मलाई दैवले कुन जुनीको हिसाब खोजेको होला जस्तो लाग्थ्यो । जीवनमा पटक–पटक चोट पाइरहेको छु । तर, शाहस र हिम्मत भने कहिल्यै हार्दिनँ । जीवनमा घट्ने घटनालाई एउटा भोगाइका रूपमा लिन्छु ।’ 


सन् २०१७ सम्म आइपुग्दा दाबाको कपडासम्बन्धी काम राम्रो भएन । कपडा पसललाई बन्द गरेर पूर्ण रूपमा हिमालमा काम गर्ने सोच बनाए । तर, दर्ता गरेपछि बन्द गर्न गाह्रो हुने भएपछि कपडाको कम्पनी नै सुरु गर्ने निधो गरे । ‘दर्ता गरेपछि बन्द गर्न गाह्रो रहेछ । ५० पिस टिसर्ट प्रिन्ट गरेर व्यवसाय सुरु गरेँ । ट्रेकिङ जाँदा विदेशीलाई टिसर्ट बेच्न थालेँ । त्यसले पनि गुजारा टर्न थाल्यो । अहिले कपडा पसलले गति लिएको छ । म पनि हिमाल फर्किन सफल भएँ,’ उनले भने ।  


दाबा पछिल्लो समय सामाजिक सेवामा पनि सक्रिय छन् । उनको  आफ्नो कपडाको ब्रान्ड ‘दाबा गेयर’ले अनाथ–असहाय मानिसलाई कपडा वितरण गर्छ । प्रत्येक वर्ष काठमाडौंलगायत विभिन्न गाउँमा गरिब र असहायलाई कपडा वितरण गर्दै आइरहेका छन् । यो वर्ष मात्रै उनले काठमाडौंका सयभन्दा बढी असहाय मानिसहरूलाई कपडा वितरण गरे । उनी भन्छन्, ‘म पटक–पटक मरेर बाँचेको मान्छे हुँ । भगवान्ले मलाई  तिमीले समाजमा केही गर्नुपर्छ भनेर पठाएका होलान् । मरेर बाँचेको जिन्दगी मेरा लागि अमूल्य छ । साधारण जिन्दगी सबैले जिउँछन् । मेरो अगाडि र पछाडिका मान्छेहरू किन बचेनन् ? म मात्रै किन बाँचेँ होला ? मलाई तिमीले केही गर्नुपर्छ भनेर भगवान्ले बचाएका होलान् । त्यसैले समाजमा केही गर्नुपर्छ भन्ने लागेर सामाजिक सेवामा सक्रिय हुन मन लाग्यो ।’


हिमाल नै दुःखसुख 
दाबाले ११ वर्षको उमेरदेखि हिमालको भारी बोक्न सुरु गरे । गाउँमा विदेशी पर्यटक आउँथे । गाउँका मान्छे पनि पर्यटकसँग हिँडेको देख्थे । उनलाई पनि लाग्यो, हिमालमा भारी बोक्यो भने पैसा आउने रहेछ । अनि स्कुलभन्दा उनलाई हिमाल प्यारो लाग्यो । 


‘तीन–चार घन्टाको बाटो हिँडेर स्कुल जानुपथ्र्याे । अर्काे गाउँमा गएर पढ्नु सहज थिएन । बरु हिमालमा भारी बोक्न गयो भने पैसा आउँछ भन्ने लाग्यो । बुबा–आमालाई पनि सहयोग हुन्छ । सबैभन्दा ठूलो भनेको पैसा नै रहेछ भन्ने लाग्यो । त्यसैले  हिमालतिरै काम गर्छु भन्ने सोच आयो,’ उनले भने । 


त्यसवेला हिमालमा भारी बोक्ने काम सजिलै पाइँदैनथ्यो । त्यसमाथि गतिलो पारिश्रमिक नपाइने । दाबाले भारी बोक्ने कामकै लागि थुप्रै हन्डर–ठक्कर पाए । उनले एकपटक आधार शिविरमा भारी पुर्‍याएको दुई सय रुपैयाँ पाए । त्यो पैसा घरमा आमाबुबालाई दिए । 


‘किचेन स्टाफ भएर काम गर्दा १३० रुपैयाँ पाइन्थ्यो । हिमालमा कामदारको पारिश्रमिक बढेको धेरै भएको छैन । यो सबै मैले भोगेको कुरा हो । पछिपछि भरियाको तीन सय रुपैयाँ पुग्यो,’ दाबा भन्छन्, ‘मैले लोकल  शेर्पाका (आधार शिविरसम्म जाने शेर्पा) रूपमा पनि काम गरेँ । त्यसपछि क्ल्यामिङ शेर्पाको रूपमा काम गर्न थालेँ । अरूले पैसा कमाएको देखेपछि मलाई पनि लोभ लाग्न थाल्यो । बिस्तारै हिमालसम्बन्धी तालिम लिन थालेँ ।’


सन् २०१३ मा दाबाले पहिलोपटक सगरमाथा आरोहण गरे । त्यसपछि उनी सगरमाथा धेरैपटक गएका छन् । तर, उनी आपूmलाई एकपटक मात्रै सगरमाथा सफल आरोहण गरेको भन्न रुचाउँछन् । ‘म धेरै पटक गएँ । तर, म क्लाइन्टको सुरक्षित आरोहण र अवतरणका लागि मात्रै गएको हुँ। टुप्पोमा रेकर्ड राख्न गएको होइन । आठ–नौपटक गए पनि एकपटक आरोहण गरेको सर्टिफिकेट छ,’ उनले भने । 


दाबाले पहिलोपटक हिमाल आरोहण गर्दा प्रमाणपत्र ढिला पाए । समयमा प्रमाणपत्र नपाउँदा २०१३ मा इन्टरनेसनल गाइडको क्यान्डिडेटका रूपमा निवेदन दिन पाएनन् । २०१४ मा खुम्बु आइसफल दुर्घटना परे । शारीरिक रूपमा कमजोर भएकोले तत्काल आवेदन दिन नसकेको उनी सुनाउँछन् ।