• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेशनाथ पाण्डे
२०८० चैत १० शनिबार ०६:३०:००
साहित्य

इतिहास र भूगोलको सुरक्षामा राजनीति र कूटनीति

२०८० चैत १० शनिबार ०६:३०:००
रमेशनाथ पाण्डे

विगत तीन दशकदेखि सत्ता राजनीतिमा एकाधिकार जमाइरहेका प्रमुख राजनीतिक दलहरू मात्र होइन, वैकल्पिक शक्ति बन्न खोजेकाहरू पनि चार वर्षपछि हुने आमचुनावमा अर्जुनदृष्टि लगाएर एक्लै चुनाव लड्ने दौडमा लागेका छन् । राजनीतिको यस्तो हस्याङफस्याङ हेर्दा नेपालका लागि वर्तमान र भविष्यबीचको चार वर्षले प्रयोजन नै गुमाए जस्तो अनुभूति हुन्छ । तर, शिथिल हुँदै गएको शासकीय संयन्त्र, नुर गिरेको प्रहरी, तर्साउन थालेको आर्थिक अवस्था तथा नेपाली भूमिमा सक्रिय भइसकेको भारत चीन र अमेरिकाको सामरिक द्वन्द्वले नेपाललाई चार वर्ष खेर फाल्ने अनुमति दिँदैन ।

 

आफ्नो गौरवशाली इतिहासको निरन्तरता जोगाउन र अन्तर्राष्ट्रिय राजनीतिमा ट्रम्प–कार्ड बन्न सक्ने भूराजनीतिक स्थापना भएको भूगोललाई प्रत्युत्पादक नबनाउन नेपालले आफ्नो राजनीति र कूटनीतिलाई अविलम्ब सुधार्नुपर्छ । यसका लागि नेपालले आफ्नै अनुभव सम्झनु र इतिहासको पाठ अनुसरण गर्नु यथेष्ट हुनेछ । यस क्रममा हेक्का राख्नुपर्ने कुरा के हो भने इतिहासभन्दा पहिले भूगोल जन्मिएको थियो । भूगोलले छिमेकीहरू बनाएपछि छिमेकीहरूसँगको सम्बन्धको उतारचढाव भोग्दै भविष्यका लागि मूल्यवान् पाठहरू टिप्दै सुरु भएको इतिहास निर्माणको अनन्त क्रम चलिरहेको छ, अनन्तकालसम्म चलिरहनुपर्छ ।


वर्तमान नेपाली पुस्ताले आफ्ना पूर्वजबाट नेपालको इतिहास र भूगोल नासोका रूपमा पाएको हो । यसलाई सके अझै बलियो बनाएर, नसके जस्ताको त्यस्तै अर्को पुस्तालाई हस्तान्तरण गर्नैपर्छ । सुरक्षित भूगोलले इतिहासको निरन्तरतालाई सुनिश्चित गर्छ । इतिहासका पाठहरूको संस्थागत संस्मरण बलियो भएको देशले मात्रै आफ्नो भूगोललाई सुरक्षित राख्न सक्छ । राष्ट्रको जीवनको यो शाश्वत पक्षमा वर्तमान पुस्ताले हेक्का राख्नु र यसलाई संस्कारको रूपमा भविष्यका पुस्तालाई हस्तान्तरण गर्नु नेपालको भूगोल र इतिहासको सुरक्षाका लागि अनिवार्य छ । यस क्रममा राष्ट्रिय राजनीतिको स्वामित्व रक्षालाई सधैँ सर्वाधिक महत्व दिनुपर्छ ।


आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप हुन नदिन छिमेकीहरूको पक्ष वा विपक्षमा राजनीतिक दलहरू विभाजित  हुनुहुँदैन । इतिहासको पहिलो पाठ के हो भने आफ्नो भौगोलिक अखण्डता र स्वाभिमानको सम्मानलाई अभेद्य राख्न सानो राष्ट्र सधैँ सचेत र सक्रिय रहनुपर्छ । सामरिक भूस्थापन भएको सानो देशको भौगोलिक अखण्डता उल्लंघन गर्ने, राजनीतिक स्वामित्वमा हस्तक्षेप गर्ने अहमत्याइँ विदेशी शक्तिहरूमा सधैँ रहन्छ । 

इतिहासको निरन्तरतालाई सुनिश्चित गर्छ । इतिहासका पाठहरूको संस्थागत संस्मरण बलियो भएको देशले मात्रै आफ्नो भूगोललाई सुरक्षित राख्न सक्छ । राष्ट्रको जीवनको यो शाश्वत पक्षमा वर्तमान पुस्ताले हेक्का राख्नु र यसलाई संस्कारको रूपमा भविष्यका पुस्तालाई हस्तान्तरण गर्नु नेपालको भूगोल र इतिहासको सुरक्षाका लागि अनिवार्य छ ।


औपनिवेशिक मानसिकतामा हुर्किएको यो प्रवृत्तिले सानो देशलाई असुरक्षित अनुभूत गराएर आडको खोजी गर्न बाध्य पार्छ, अनि प्रतिस्पर्धी शक्तिलाई मौका छोप्ने अवसर दिन्छ र अन्तमा सानो देश द्विपक्षीय र क्षेत्रीय भिडन्तको रणभूमि बन्छ भन्ने पाठ पनि इतिहासले सिकाएको छ । सानो देशले आफ्नो भौगोलिक स्थापनाको सामरिक महत्वलाई दुरुपयोग गर्नु प्रत्युत्पादक हुन्छ ।

 

भौगोलिक अखण्डता र राष्ट्रिय राजनीतिको स्वामित्वलाई सुरक्षित राख्न आफैँले लक्ष्मणरेखा कोर्नुपर्छ । यसलाई उल्लंघन हुन नदिन सधैँ सचेत रहनुपर्छ, उल्लंघन गर्ने प्रयास भयो भने तुरुन्तै खबरदारी गर्ने साहस देखाउनुपर्छ । यो अनुशासन पालनाले लक्ष्मणरेखालाई जीवन्त राख्छ, तर लाचारीले लक्ष्मणरेखा उल्लंघन दोहोरिन्छ भन्ने मूल्यवान् पाठ नेपालको इतिहासले पढाएको छ । आफ्नो भूगोल र इतिहासलाई अक्षुण्ण राख्न नेपालको राजनीति र कूटनीतिले यी दुई बहुमूल्य पाठहरू कहिल्यै पनि बिर्सनुहुन्न । 


यस परिप्रेक्ष्यमा नेपालको इतिहासले टिपेका दुईवटा अनुभव प्रासंगिक छन् । भारतलाई उपनिवेश बनाएपछि अघि बढेको तत्कालीन विश्वशक्ति ब्रिटिस र नेपालबीच युद्ध चलिरहेको नाजुक अवस्थामा नेपालमा दादुरा र बिफरको महामारी फैलिएको थियो । तर, ६० हजारभन्दा बढीको मृत्युले आफैँ असजिलोमा परेको ब्रिटिस इन्डिया–सरकारबाट प्रधानमन्त्री भीमसेन थापाले कूटनीतिक कौशलबाट खोप औषधि ल्याएर नेपालीलाई बचाए । २०७६ सालमा नेपाल कोरोना महामारीको चपेटामा पर्‍यो । खोप आयातमा भ्रष्टाचार भयो, कालोबजार चम्कियो । विश्व स्वास्थ्य संगठनका अनुसार समयमा खोप नपाएर ११ हजार ९५२ जना नेपालीको मृत्यु भयो । व्यवस्थापनको कमजोरीले समयमा प्रयोग गर्न नसकेर ४० लाख खोप नष्ट गर्नुपर्‍यो । 


इतिहासको दोस्रो पाठ
सुगौली सन्धिले खुम्चिएपछि पनि प्राकृतिक सम्पदा पानीमा आफ्नो सार्वभौम अधिकारको सिद्धान्तलाई सक्रिय राख्न नेपालको राजनीति र कूटनीति निरन्तर सचेत रहेको दुईवटा ऐतिहासिक संस्मरण नेपालसँग छ । पहिलोले अहिले उजाड हुँदै गएको सिमानाको जल संरक्षण तथा मरुभूमीकरण भोग्न थालेको चुरेक्षेत्रको महत्व बुझाइ र संरक्षणमा १९५ वर्षअघिको नेपाल कति सचेत र सक्रिय थियो भन्ने स्मरण गराउँछ ।

 

संवत् १८८५ मा जारी भएको ‘आठ सवालहरू’मध्ये पहिलोले ‘महाभारत, हरिहरपुर, मकवानपुर चौदण्डी गैह्र पहाडमा निस्कन्ना बाटा वाची नभै नहुन्या, मूल बाटा राखनु, उपर चोर बाटा जति छन् सोला भाजा हाली बन्द गराउने’ व्यवस्था गरेको थियो । सातौँ सवालमा नेपालको भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्ने प्रबन्ध मिलाएको थियो । यसमा भनिएको थियो, ‘अंग्रेज र नेपालबीच भयाको दरोबस्त, सिमानामा वर्षको दुई फेरा हेरचाह गर्दै रहनु । कोही जग्गामा मिनार, लट्टठासिमाना बिग्र्या भत्क्या देषियो भन्या दुवै तरफका आमिल जैवार जिमिदार, चौधरी, श्रेस्तादार राखी सच्याउनु ।’ यसको पालन गरिएको भए भारतसँग सीमा विवाद हुने नै थिएन ।

 

इतिहासको अर्को पाठ संवत् १८९६ मा ब्रिटिस भारतका सीमावर्ती इलाकामा परेको सुक्खासँग जोडिएको थियो । ब्रिटिस इन्डिया सरकारबाट पानीको माग भएपछि संवत् १८९६ साउन ४ गते जारी भएको ‘मुगलानमा पानीको बन्देजसम्बन्धी लालमोहर’मा भनिएको थियो, ‘मुगलानमा पानीको बन्देज हटाएर पानी दिँदा दैवी सुषा पर्याका मौजे येति रह्याछन् भन्य जस्ताको तस्तो लेखी सही गराई चाँडै–चाँडै पठाउने काम गर ।’


करिब २०० वर्ष पुराना नेपालको इतिहासका यी दुई पाठहरू आफ्नो सार्वभौमसत्ता संरक्षणमा समर्पण रहने चेतना र आत्मबलको निचोड हुन् । यसलाई निरन्तरता दिएको भए चुरे क्षेत्रको निर्मम दोहनले चुरे क्षेत्रअन्तर्गत ३६ वटा जिल्लाका पचास लाखभन्दा बढी जनता अहिले मरुभूमीकरणको त्रासमा पर्दैन थिए । 


इतिहासको तेस्रो पाठ
ब्रिटिस इन्डियाको सन्ध्याकाल तथा स्वतन्त्र भारत र प्रजातान्त्रिक नेपालको प्रातःकालका तीनवटा अनुभवहरू इतिहासले टिपेर राखेको छ । दोस्रो विश्वयुद्धमा नेपालले सेना पठाएको मात्र होइन, बन्दुक, ठूलो परिमाणमा चिया, चिनी र काठसँगै आर्थिक सहायता पनि ब्रिटेनको युद्धकोषमा दिएको थियो । युद्धको सुरुमा नै ब्रिटिस इन्डिया जापानी हमलाको खतरामा प¥यो । आसाम र बर्मासँग जोडिएको रणनीतिक महत्वकाे मणिपुरको उत्तरपूर्वी क्षेत्र इम्फालको सिमानामा जापानी सेनाको उपस्थिति भइसकेको थियो । बंगाल र विशेषगरी ब्रिटिस इन्डियाको पुरानो राजधानी कलकत्तामा निरन्तर बमबारी हुन थालेपछि जापानी खतरा बढेको महसुस गरेर ब्रिटेनले अमेरिकासँग वायुसैनिक र नेपालसँग थप सेनाको आपत्कालीन सहायता माग्यो । 


अमेरिकी वायुसेनाले उत्तर प्रदेशको खेरिया हवाईसेना अखाडामा सामरिक केन्द्र स्थापित गर्‍यो । त्यहाँबाट बमवर्षक विमानहरूले बर्मास्थित जापानी सेनामाथि हवाई आक्रमण गर्न थाले । यसरी ब्रिटिस इन्डियाको हवाई सुरक्षामा अमेरिकी वायुसेना सक्रिय भएपछि जापानी आक्रमण र सम्भावित आन्तरिक विद्रोहबाट सुरक्षित हुन जमिनी सुरक्षाका लागि ब्रिटिस सरकारले लन्डनस्थित आवासीय राजदूत सिंह शमशेरमार्फत प्रधानमन्त्री जुद्ध शमशेरलाई थप सैनिक सहायताका लागि लिखित आग्रह ग¥यो ।

 

प्रधानमन्त्री जुद्धशमशेरले आफ्ना छोरा तथा ब्रिटेनका लागि नेपालको पहिलो राजदूतको ऐतिहासिक दायित्व सम्हालिसकेका कमान्डिङ जनरल बहादुर शमशेरलाई नयाँदिल्लीको सुरक्षा गर्ने जिम्मेवारी दिए । थप आठ हजार सेना लिएर गएका जनरल बहादुर शमशेरले नयाँदिल्ली बाह्रखम्बामा नेपाली सेनाको मुकाम खडा गरे । यही ठाउँमा विगत ७७ वर्षदेखि नेपाली दूतावास रहेको छ ।

 

हवाई गस्तीको क्रममा अमेरिकी विमानहरूले सन् १९४२ अप्रिलमा नेपालको वायुसीमा उल्लंघन गर्दै उडान गर्न थाले । पूर्व मोरङदेखि पश्चिम बाँके बर्दियासम्मको नेपालको वायुसीमा उल्लंघन गरी नेपाली आकाशमा भइरहेको उडान नेपाललाई सराहनीय भएन । ब्रिटिस इन्डियाको सहयोगमा गएका नेपाली सेनाको कमान्डिङ जनरल बहादुरशमशेरले कडा विरोध गरे । नयाँदिल्लीस्थित अमेरिकी वायुसेनाको मुख्यालयका प्रमुख ब्रिगेडियर जनरल इलमेर ई आडलरलाई जनरल बहादुर शमशेरले आफ्नो मुकाममा बोलाएर विरोध गर्दा चर्काचर्कीसमेत परेको थियो ।


जनरल बहादुर शमशेर ‘नेपालको वायुसीमाको उल्लंघन किन गरेको ? तुरुन्त बन्द गर । आइन्दा यस्तो नहोस् ।’अमेरिकी वायुसेनाका ब्रिगेडियर जनरल आडलर– ‘ नेपालले ब्रिटेनलाई सहयोग गरिरहेकै छ । अमेरिकी विमानहरू पनि ब्रिटेनको सहयोगमा नेपाली आकाशमा उड्दा किन आपत्ति ?’


 जनरल बहादुरशमशेर– ‘हो, नेपालले ब्रिटेनलाई सहयोग गरिरहेको छ । तर, नेपाल ब्रिटिस इन्डियाको भाग होइन । ब्रिटेनले नेपालको भौगोलिक अखण्डताको सम्मान गरेको छ, नेपाली आकाशमा विनाअनुमति विमान उडाएको छैन । अमेरिकाले नेपालको अनुमति नलिइकन नेपाली आकाशमा विमान उडाउन पाउँदैन ।’ नेपालको दृढ अडान, जनरल बहादुरशमशेरको रोबदार व्यक्तित्व र प्रस्तुति शैली तथा आफ्नो सदा स्वतन्त्र इतिहासप्रति नेपालको अहंभावबारे ब्रिटिस सरकारद्वारा सचेत गराइएपछि अमेरिकी वायुसेनाले दोहोर्‍याएर नेपालको वायुसीमाको उल्लंघन गरेन । 


०७९ साउन १५ गते तुइनको सहायताले महाकाली नदी तर्न लागेका दार्चुलाका जयसिंह धामी नदीमा खसेर मरे । सहसचिव जनार्दन गौतम नेतृत्वमा नेपाल सरकारले गठन गरेको कार्यदलले भारतीय सशस्त्र सुरक्षाबलले तुइन काटेर धामीको मृत्यु भएको ठहर गर्‍यो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अडान लिन सकेनन् । नेपालमा जनस्तरमा व्यापक विरोध हुन थालेपछि भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ताले ‘सञ्चार माध्यमले घटनाबारे उल्लेख गरे पनि औपचारिक जानकारी भारत सरकारले पाएको छैन’ भनेपछि नेपाल सरकारले धामी परिवारलाई आर्थिक सहायता दिएर सामसुम पार्न खोज्यो । यसैबीच भारतीय सैनिक हेलिकोप्टरले दार्चुलामा अवैध उडान गर्न थाले । जनस्तरमा प्रतिक्रिया तात्न थाल्यो । नेपालले २०७९ कात्तिकमा ‘अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै भारतीय सीमा बलले नेपाली भूमिमा प्रवेश तथा आकाशमा ड्रोन उडान’बारे भारत सरकारको ध्यान आकर्षित गराउँदै पठाएको कूटनीतिक नोटलाई भारतले वास्ता गरेन । 


इतिहासको चौथो पाठ 
मध्य एसियाबाट आएका बाबरद्वारा स्थापित मुस्लिम शासन ३३१ वर्ष र करिब २०० वर्ष ब्रिटिस उपनिवेश भोगेको भारत १९४७ मा स्वतन्त्र हुँदा प्रतीकात्मक नाम मात्र थियो, भौगोलिक पारिभाषिक शब्द मात्रै थियो, संयुक्त देश थिएन । ५६२ वटा साना–ठूला राज्यहरू भएको ब्रिटिस इन्डियामा शासकीय हैसियतमा दुई किसिमका राज्यहरू थिए– ब्रिटिस गभर्नर जनरलद्वारा शासित र आन्तरिक शासन गर्ने हक पाएका राजा वा नबाबद्वारा शासित राज्यहरू । यसबाहेक फ्रान्स र पोर्चुगलद्वारा उपनिवेश बनाइएका भारतीय राज्यहरू पनि थिए । यिनीहरू स्वतन्त्रतापछि पनि धेरै वर्ष भारतअन्तर्गत आएनन् ।

 

सार्वभौमिकता हस्तान्तरण गर्नुअघि ब्रिटेनले राजा वा नबाब शासित राज्यलाई भारत र पाकिस्तानमध्ये एउटा रोज्ने अधिकार दिएको थियो । यो अधिकार पाएपछि ब्रिटिस–इन्डियाअन्तर्गत स्वशासनको अधिकार उपयोग गरिरहेका हैदरावाद, जोधपुर, भूपाल, जुनागढ र त्रभानकोर राज्यहरूले भारतमा सामेल हुन अस्वीकार गरे । हैदरावादका शासक ओसमान अली खाँले स्वतन्त्रताको घोषणा र जुनागढ पाकिस्तानमा विलीन भएपछि एकीकृत भारत निर्माण प्रक्रियामा ठूलो धक्का लाग्यो । संघीय गणतन्त्र गठनको प्रक्रिया सुरु हुँदा नै भारत विखण्डन हुने स्थिति बन्यो ।

 

आफ्नै सेना, रेलसेवा, हुलाक सेवा, र रेडियो प्रसारणसमेत भएको हैदराबादका शासकले स्वतन्त्र देशको हैसियत हासिल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई समेत गुहारे । वर्तमान राज्यहरू तेलंगना, कर्नाटका र महाराष्ट्रको ठूलो भागसमेत मिलेर बनेको तत्कालीन हैदराबादले गोवालाई उपनिवेश बनाइरहेको पोर्चुगल सरकारको समर्थन पनि पाएपछि भारतको लागि चुनौती निकै बढ्यो । यो चुनौती कति बलियो थियो भन्ने कुरा भारत गणराज्य स्थापनाको १३ महिनापछि १९४८ सेप्टेम्बरमा हैदराबादलाई भारतमा गाभ्ने कारबाहीमा ‘कम्तीमा पनि २७ हजारदेखि ४० हजार मानिसहरू मारिएको’ले नै पुष्टि गर्छ ।

 

यसैगरी वर्तमान भारतीय राज्यहरू केरला र तमिलनाडुका अधिकांश क्षेत्रहरू मिलेर बनेको त्रभनकोरमा करिब दुई सय वर्षदेखि राजाको शासन थियो । सन् १९०३ मा नै वार्षिक राजस्व एक करोडभन्दा बढी भएको त्रभानकोर राज्यले गाभिन अस्वीकार गर्नु भारतको भौगोलिक स्वरूप निर्माणमा गम्भीर अवरोध थियो । ब्रिटेनबाट स्वतन्त्रता पाउँदा ५६२ वटा राज्यहरूमा छरिएको ‘भारत’को अवधारणा ‘संघीय भारत’मा साकार नभएको भए कमसेकम एक दर्जन स्वतन्त्र देशहरूको उपस्थितिले दक्षिण एसियाको राजनीतिक बनोट नै पृथक् हुन्थ्यो । 


स्वतन्त्रता पाउनेबित्तिकै ब्रिटिस सेनालाई भारतीय सेनाले प्रतिस्थापन गरेको भए पनि एकीकरणको बाटो रोक्न अघि सरेका शक्तिशाली राज्यहरूको अवज्ञालाई नियन्त्रण गर्ने क्षमता भारतीय सेनासँग थिएन । सेनाको क्षमतामा प्रधानमन्त्री नेहरू र एकीकरणको अभिभारा सम्हालेका उपप्रधानमन्त्री तथा गृहमन्त्री सरदार बल्लभभाइ पटेललाई विश्वास नभएकाले प्रधानमन्त्री नेहरूले नेपालसँग २९ जुन १९४८ मा सैनिक सहायता मागे । चिठीमा नेहरूले लेखेका थिए– ‘पूर्वी पन्जाब, हैदराबाद र कास्मिरको अवस्थाबाट चुनौती बनेको सुरक्षा स्थितिको सतर्कतापूर्वक मूल्यांकन गर्दा भारतका राज्यमा आन्तरिक सुरक्षा कायम राख्न दश बटालियन नेपाली सेनाको सहयोग पाउन आग्रह गर्छु ।’ परिस्थिति कति खतरानक थियो भने आत्तिएका प्रधानमन्त्री नेहरूले चार बुँदाको यो चिठीको अन्तिम बुँदामा ‘परिस्थितिको गम्भीरताले छिटो जवाफ पाए अनुग्रहित हुनेछु ।

 

हाम्रो आग्रह स्वीकार गरी सैनिक सहयोग दिन नेपाल सरकार तयार भएमा विस्तृत सर्तहरू छिटो तय गरिनेछ’ लेखेका थिए । प्रधानमन्त्री मोहनशमशेरले आफ्नो जेठो छोरा जनरल शारदा शमशेरलाई ‘कन्टिन्जेन्ट चिफ’ बनाएर आठ हजार नेपाली सेना भारत गठन प्रक्रिया पूरा गर्न पठाए । दुईवटा विश्वयुद्धहरूको अनुभव एवं अनुशासित नेपाली सेनाले जन्मिनेबित्तिकै आएको विपत्तिबाट भारतलाई जोगायो । भारतको एकीकरण प्रक्रिया सम्पन्न भयो । तर, नेपाली सेनाले फर्किने तयारी सुरु गर्दा प्रधानमन्त्री नेहरू नेपाली सेनाको सुरक्षा कवच छोड्न तयार भएनन् । प्रधानमन्त्री नेहरूले १४ डिसेम्बर १९४८ मा पठाएको दोस्रो पत्रमा लेखिएको थियो– ‘नेपाल सरकारले दश बटालियन नेपाली सेना पठाएर दिएको सहयोगका लागि भारत सरकार अत्यधिक रूपमा आभार छ । नेपाल सरकारको यो सैनिक सहयोगले नै भारत सरकारलाई शान्ति व्यवस्था कायम राख्न सम्भव भयो ।’ 


१९४९ जनवरीको मध्यसम्म नेपाली सेना भारतमा नै रहून् भन्ने आग्रह गर्दै प्रधानमन्त्री नेहरूले आफ्नो पत्रको अन्तमा लेखेका थिए– ‘ठीक समयमा प्राप्त सैनिक सहयोगका लागि मेरो व्यक्तिगत र भारत सरकारको कृतज्ञता व्यक्त गर्दै यसबाट दुई देशबीच रहेको अति घनिष्ट मित्रता पुष्टि भएको उल्लेख गर्न चाहन्छु ।’ प्रत्येक वर्ष सेप्टेम्बर १७ मा हैदराबाद मुक्ति दिवस मनाउने भारत सरकारको हालैको निर्णयले भारतको इतिहासमा यसको महत्व सम्झाएको छ । यो समारोहमा नेपालको सहयोगलाई कसरी स्मरण गरिन्छ भनेर इतिहासका पाठकहरू उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् । 

(लेखकको प्रकाशोन्मुख पुस्तक ‘कूटनीति र राजनीति’ भाग २ बाट)