• वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पवन बराइली
२०८० चैत १० शनिबार ०७:०५:००
फिल्म

द रेड सुटकेसले नयाँ स्वाद दिनेछ

२०८० चैत १० शनिबार ०७:०५:००
पवन बराइली

झन्डै दुई दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय फिडेल देवकोटा अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाउने थोरै नेपाली फिल्ममेकरमध्ये एक हुन् । उनी निर्देशित ‘द रेड सुटकेस’ इटलीको प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । केही समयअघि मात्रै उनलाई जर्मनीको बर्लिन फिल्म फेस्टिभलले उदीयमान फिल्ममेकरका रूपमा बर्लिनाले ट्यालेन्टमा समावेश गरेको थियो । उनीसँग नयाँ पत्रिकाका पवन बराइलीले गरेको कुराकानी :

 

बर्लिनाले ट्यालेन्टको अनुभव कस्तो रह्यो ?
फिल्म फेस्टिभल महत्वपूर्ण प्लेटफर्म हो । यहाँ नेटवर्किङ विस्तार हुन्छ । एउटा फेमिलीभित्र छिरेजस्तो हुन्छ । विश्वका सिनेमा हस्तीहरूसँग अन्तर्क्रिया  गर्न पाउनु हामी नेपाली फिल्ममेकरका लागि दुर्लभ अवसर हो । बर्लिनालेमा ६८ देशका ट्यालेन्ट चलचित्रर्मी सहभागी थिए । उनीहरूको देशको कथा भन्ने शैली, ती देशका कथा र मान्छेहरूसँग साक्षात्कार गर्न पाउनु हाम्रा लागि ठूलो कुरा हो । यसअघि भेनिसमा फेस्टिभलमा धेरै दर्शकलाई ‘रेड सुटकेस’ देखाइयो । १३–१४ सयजनालाई एकैपटक देखाउँदा अलग्गै मज्जा आउने रहेछ । त्यो वातावरण पैसाले किनेर पाइँदैन । 


फेस्टिभल जाँदा वा नजाँदा निर्देशकलाई  के फरक पर्छ ? 
फेस्टिभलले नवनिर्देशकलाई ऊर्जा दिन्छ । केही वर्ष तपाईंको यात्रा सहज बनाउँछ । तर, आफ्नो कला सिर्जना कुन–कुन फेस्टिभलमा गयो भन्ने ठूलो होइन । तपाईंले भन्न खोजेको कथालाई सबैले बुझ्ने गरी भन्न सक्नुभयो कि भएन भन्ने प्रश्न महŒवपूर्ण हो । यसअघि मैले एउटा फिल्म आठ वर्ष लगाएर बनाएको थिएँ । तर, यसबारे धेरैले थाहा पाएनन् । कसैले चिन्यो वा चिनेन भन्ने मेरो गुनासो रहेन । आफ्नो सही समय आउँछ भनेर कुरेर बसेँ । कुनै बिरुवा हुर्किंदा हाँगा हालेको देखिन्छ, जरा हालेको देखिँदैन । सायद मेरो जरा फैलिँदै थियो होला । मेरो एउटा सिनेमा विदेशी फेस्टिभल गयो । अर्काे सिनेमा नजान पनि सक्छ । तर, मैले आफ्नै शैलीमा कथा भनिरहेको छु । विश्वका ठुल्ठूला निर्देशक कस्ता–कस्ता फेस्टिभल पुगे । तर, उनीहरू अहिले कहाँ छन् थाहा छैन । साधना नै सबैभन्दा महत्वपूर्ण हो । तपाईंसँग साधना छ भने कालजयी हुन्छ ।

फेस्टिभलले नवनिर्देशकलाई ऊर्जा दिन्छ । केही वर्ष तपाईंको यात्रा सहज बनाउँछ । तर, आफ्नो कला सिर्जना कुन–कुन फेस्टिभलमा गयो भन्ने ठूलो होइन । तपाईंले भन्न खोजेको कथालाई सबैले बुझ्ने गरी भन्न सक्नुभयो कि भएन भन्ने प्रश्न महत्वपूर्ण हो ।


नेपाली सिनेमामा खट्किरहेको पक्षचाहिँ के छ ? 
वल्र्ड सिनेमामा हाम्रो उपस्थिति बढ्दो छ । फिल्म लिएर हामी भेनिस, बर्लिन पुगिरहेका हुन्छौँ । तर, राज्यका प्रतिनिधिको उपस्थित त्यहाँ देखिन्न । बर्लिनमा नेपाली फिल्ममेकर पुग्दा चलचित्र विकास बोर्डका प्रतिनिधि लन्डनमा भाषण गरिरहेका थिए । विकास बोर्डका मानिस बर्लिन जानुपर्ने थियो । इज्जतका साथ जाने मौका थियो नि ! यति वेला नगए कहिले जाने ? 
देशका लागि सिनेमा ‘सफ्ट पावर’ हो । कोरियाले सिनेमामार्फत विश्वमा आफ्नो संस्कृति बेचिरहेको छ । सिनेमा र संगीतको माध्यमबाट त्यहाँको प्रडक्ट पनि बेचिरहेको छ । उनीहरूसँग त्यस्तो कूटनीति छ । तर, हाम्रोमा चलचित्र विकास बोर्डले यतातिर सोचेको देखिएन । अर्कोतर्फ हाम्रो सिनेमामा बौद्धिक बहस भइरहेको देखिन्न । सिनेमाबारे अध्ययनको पनि कमी छ । 


दुई–चार वर्षमा आफ्नै पहलबाट कोही निर्माता–निर्देशक विदेशी मञ्चमा पुग्ला । तर, हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै भइरहेको छ । । दर्शकलाई हलसम्म ल्याउने हाम्रो रणनीति पनि बनेको छैन । डेढ–दुई करोडमा फिल्म बनाउँछौँ । वर्षमा झन्डै एक सय फिल्म बन्छ । पाँचवटा फिल्म चल्छ , अरू सबै चल्दैन । 


हामीले फिल्म मात्रै बनाएर हुँदैन । एउटा माहोल पनि बनाउनुपर्छ । कलकत्तामा शुक्रबार सिनेमा हेर्ने जाने कल्चर छ । यस्तो संस्कृति बसाल्न नसक्दाका दोषी फिल्म मेकर आफैँ नै हौँ । राम्रो उत्पादनको माग जहिले पनि हुन्छ । तर, अहिलेसम्म पनि हामी वासुदेव, मुकुण्डो, नुमाफुङ भनिरहेका छौँ । किनकि पछिल्लो समय हामीले मौलिक सिनेमा बनाउन कम बनाएका छौँ । 


विदेशी फेस्टिभलहरूमा उपस्थिति जनाएर राम्रो प्रतिक्रिया पाएका फिल्म नेपालमै नचलेका उदाहरण धेरै छन् । ‘द रेड सुटकेस’लाई पनि दर्शक नआउने डर त छैन ?
सबैलाई एउटा स्वाद मन पर्छ भन्ने हुँदैन । मःम, पिज्जा, बर्गर सबैलाई एउटै मन पर्दैन । यी सबैको फरक फरक स्वाद छ । मेरो सिनेमालाई सबै वर्गले मनपराउनु पर्छ भन्ने पनि हुँदैन । तर, दर्शकका लागि यो नयाँ स्वाद हुनेछ । ३० चैतदेखि नेपाली सिनेमाघरमा यो फिल्म प्रदर्शनमा आउँदैछ । मेरो काम पस्किने हो । बाँकी टिप्पणी दर्शकले नै गर्नुहुनेछ । आफ्नो घरमा सिनेमा लिएर आउँदा छुट्टै अनुभव हुँदो रहेछ । घरेलु दर्शकमाझ सिनेमा देखाउन पाउँदा म व्यक्तिगत रूपमा निकै उत्साहित छु । मलाई यो सिनेमाले पैसा उठाउँछ कि उठाउँदै भन्ने पिर होइन । यस्ता खालका सिनेमा दीर्घकालीन रूपमा कसरी निर्माण गर्न सकिन्छ भन्ने चुनौती छ ।