• वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रामचन्द्र शर्मा
२०८० चैत १० शनिबार ०७:५६:००
समाज

जीवन विज्ञानको होम डेलिभरी : सुख, शान्ति र समृद्धि

२०८० चैत १० शनिबार ०७:५६:००
रामचन्द्र शर्मा

मानिसले आफ्नो  जीवनयापन गर्न आवश्यक सबै भौतिक सुखसुविधा खरिद–बिक्री गर्न सक्छ । तर, आफ्नो वास्तविक लक्ष्य : सुख, शान्ति र समृद्धिको न कतै बिक्री स्टल राख्न सक्छ, न त खरिद नै गर्न सक्छ ।  खुसी रहने मानिसले मात्र शान्ति महसुस वा प्राप्ति गर्न सक्छ भन्ने कुरा हामीले आत्मसात् गर्नैपर्छ । किनभने दुःखी मानिसले न त शान्ति महसुस गर्न सक्छ, न प्राप्ति नै । यही सुख र शान्तिको समग्रता नै समृद्धि हो । सुख, शान्ति र समृद्धि मानवजीवनको अन्तिम र एक मात्र ठूलो लक्ष्य आनन्द प्राप्तिका खुट्किला हुन् ।


जीवन विज्ञान संस्थाले घरघरमा सुख, शान्ति र समृद्धिको डेलिभरी दिने कुरा झ्वाट्ट सुन्दा अस्वाभाविकजस्तो लाग्न सक्छ । तर, जीवन विज्ञानले सञ्चालन गरेको चक्र विज्ञानको कार्यक्रम लिएपछि आएको सकारात्मक परिवर्तनले सुख–शान्तिको महसुस गराएर आफैँभित्र रहेको खुसीको अमूल्य खजानासँग भेट गराइदियो । 


खासमा जीवन विज्ञान संस्थाले कुनै नयाँ र अनौठो कुरा गरिरहेको होइन । वेदव्यासलगायत हाम्रा ऋषिमुनिहरूले सिंगो मानवजातिको उत्थानका लागि सिर्जना गरेका, तर वर्तमान पिँढीबाट दुरुपयोग र अपहेलित बनाइएका वेद पुराणहरू, भागवत गीता, पतञ्जली योग सूत्र तथा भगवान् बुद्धको योग प्राणायाम र ध्यानको मुर्छित विरासतलाई मलजल, सिञ्चित र सदुपयोग गरी नेपाल र नेपालीको मात्र होइन, सिंगो मानवजातिको कल्याणमा योगदान पुर्‍याएको मात्र हो । अर्थात्, हाम्रै लुम्बिनीमा सामान्य मानिसको रूपमा जन्मनुभएका सिद्धार्थ गौतम ध्यानको साधनाबाट आफू प्रकाशित भई भगवान्को रूपमा उदाउँदै ‘अप दीप भव’ (तिमी स्वयं आफ्नो प्रकाश बन) सन्देश दिँदै विश्वशान्तिको अग्रदूत हुनुभएको विरासत यस संस्थाले पुनस्र्थापित गर्न खोजेको देखिन्छ ।


जीवन विज्ञानले यही १७ देखि २३ चैत्रसम्म पाँच हजारजनालाई एकसाथ हरेक मानिसमा रहने सात शक्तिकेन्द्र वा चक्र जगाउन लुम्बिनीमा विराट् चक्र विज्ञानको कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम नेपाली जनजनमा र घरघरमा सुख, शान्ति र समृद्धिको डेलिभरी दिन जीवन विज्ञानले खन्न लागेको बाटो हो । किनभने सामान्य मानिसको रूपमा जन्मनुभएका सिद्धार्थ गौतम आफ्नो शरीरका सात शक्तिकेन्द्र जगाउँदै गरेको ध्यानको साधनाबाट बुद्ध बन्नुभएको थियो । जीवन विज्ञानले त्यही साधना गराउन भइरहेको छ । 

पाँच ज्ञानेन्द्रियलाई पनि नाडीहरूले मस्तिष्कसँग जोडेका हुन्छन् । ज्ञानेन्द्रियहरूले पहिला आफूले सूचना पाउँछन्, त्यसपछि मस्तिष्कमा पठाउँछन् । मस्तिष्कले सूचना पाएपछि मात्र मानिसले थाहा पाउँछ । त्यो थाहा पाउने क्षमता चेतना हो ।


यति मात्र होइन, आत्मनिर्भर बन तिमीभित्र रहेको खुसी मान्छेले त के भगवान्ले पनि छिन्न सक्दैनन् भन्ने आत्मज्ञान जगाइदिँदै चक्र साधनाबाट ऊर्जा प्रकट गर्ने, प्रकटित ऊर्जामा खुसी पनि लगानी गर्दै कर्म गर्न सिकाएर हरेक व्यक्ति सक्षम र सफल बन्ने सूत्र पनि दिँदै छ । झनै महत्वपूर्ण कुरा त के छ भने हाम्रा पुर्खा र ऋषिमुनिहरूले लामो अनुसन्धान र तपस्या गरेर तपोभूमिको रूपमा स्थापित गरेको विरासतलाई उचाइमा उठाउनुपर्नेमा भरथेगसम्म गर्न नसकेको तथ्यलाई आत्मसात् गर्दै विरासत जान्न, बुझ्न र जाग्न सबै सरोकारवालामा आह्वान गरेको छ ।

 

भगवान् शिवले आराधना गरेको हिमवत् खण्ड, राजा जनकको मिथिला सभ्यता तथा अष्टावक्र गीता र भगवान् वुद्धले विश्वभर फैलाएको शान्ति सन्देशमा क्षति पुगी युवा जति खाडीमा, उर्वर भूमि झाडीमा र स्वर्गीय आनन्द दिने गाउँबस्ती बिराना वृद्धाश्रममा परिणत भई आर्थिक सामाजिक सांस्कृतिक र सुरक्षाको हिसाबले समेत कमजोर भएको यो हाम्रो मातृभूमिको अवस्थालाई सुधार्न, नेपाललाई ऊर्जा ध्यानको पहिलो अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्नमा हरेक नेपालीलाई सक्षम बनाउँदै, पुर्खाको विरासतलाई पुनर्ताजगी र पुनस्र्थापित गराउनमा जीवन विज्ञान होमिएको छ ।


हरेक व्यक्ति सक्षम कसरी हुन सक्छ भन्ने बुझ्न जीवनको विज्ञान बुझ्न जरुरी हुन्छ । मानिसको शिरको भागमा रक्तवाहिनी नलीहरू (स्नायु) हरूले बनेको जालोभित्र हाम्रो मस्तिष्क रहेको हुन्छ । त्यसको एउटा भाग गर्धनबाट ढाडको हड्डीभित्र कम्मर (मेरुदण्ड) सम्म जोडिएको हुन्छ । त्यही मेरुदण्डमा शरीरका सात शक्तिकेन्द्र रहेका हुन्छन् । अलग–अलग काम गर्ने मानिसका पाँच ज्ञानेन्द्रियलाई पनि नाडीहरूले मस्तिष्कसँग जोडेका हुन्छन् ।

 

ज्ञानेन्द्रियहरूले पहिला आफूले सूचना पाउँछन्, त्यसपछि मस्तिष्कमा पठाउँछन् । मस्तिष्कले सूचना पाएपछि मात्र मानिसले थाहा पाउँछ । त्यो थाहा पाउने क्षमता चेतना हो । मस्तिष्क मन हो । त्यसैले सँगसँगै उच्चारण गरी मनमस्तिष्क भन्ने गरिएको हो । मनलाई इच्छाहरूको पोको पनि भनिन्छ । ज्ञानेन्द्रियहरू चेतनासँग मिलेर इच्छा जन्माउँछन् । राम्रो लागे पाउने, नराम्रो लागे त्याग्ने दुई प्रकारका इच्छा हुन्छन् । इच्छा कसरी पूरा गर्ने भन्ने चिन्तन बुद्धिले गर्छ र निचोडको रूपमा विचार जन्माउँछ ।


मन आत्मामा बस्ने आश्चर्यजनक शक्ति हो । मनको स्थूल रूप प्राण वा सास हो । त्यसैले सास रोकिए मन नियन्त्रित हुन्छ । मृत्युसम्म मनले प्राणलाई शरीरमा राख्छ, जब मृत्यु हुन्छ, तब प्राण लिएर मन आत्मासँगै शून्यतामा जान्छ ।मनबाटै सबै विचार प्रकट हुन्छन् । विचारका अतिरिक्त मनजस्तो कुनै कुरा हुँदैन । त्यसकारण विचार मनको स्वरूप हो । पृथ्वीको गुरुत्वाकर्षण शक्ति भएजस्तै हाम्रो मनमा विचारहरूलाई तान्ने स्वाभाविक शक्ति छ । चुम्बकले फलाम स्वतः तानेझँै राम्रा विचारले स्वतः राम्रा विचार तान्छ, नराम्रा विचारले स्वतः नराम्रा विचार तान्छ । एउटा सानो बीजले ठूलो वृक्ष उत्पत्ति गरेजस्तै विचारहरूमा रचना गर्ने शक्ति हुन्छ । औषधिमा भन्दा रोग निको पार्ने शक्ति विचारमा हुन्छ भन्ने कुरा अमेरिका र बेलायतका डाक्टरहरूले सिद्ध गरिसके (खप्तड बाबाद्वारा प्रणित विचार विज्ञान पृष्ठ ४९) । 


राम्रा विचार सूक्ष्म परमाणुले बनेको हुँदा माथि रहन्छन्, नराम्रा विचार जडयुक्त हुने हुँदा हाम्रै आसपासमा पाइन्छन् । त्यसैले नराम्रा विचार आफैँ आउँछन्, राम्रा विचार मनमा ल्याएर टिकाउन साधना गर्नुपर्ने हुन्छ । हो, त्यही साधना गराएर मानिसमा रहेका सातैवटा चक्र जगाउँदै हरेक उसको मन राम्रा विचारतर्फ मात्र केन्द्रित गराएर त्यसलाई टिकाउन सक्षम बनाउँदै छ, जीवन विज्ञानले । 


राम्रा विचारमा सत्यता, स्वाध्याय, निरअहंकारिता, क्षमाशीलता, सर्व कल्याण भाव, सेवाभाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षाजस्ता दिव्य नवव्रत पर्छन् । जसले प्रेम, करुणाले भरिएको आत्मनिर्भर व्यक्तित्व निर्माण गर्छ र व्यक्तिमा सुख, शान्ति र समृद्धि भर्छ ।


जीवन विज्ञानले घर–घरमा सुख, शान्ति र समृद्धि डेलिभरी गर्ने सक्षमता राख्छ कि राख्दैन ? कति भरपर्दो छ ? भन्ने प्रश्न उठ्न सक्छ । यस सन्दर्भमा पहिलो विचारणीय पक्ष नियत हुन आउँछ । जीवन विज्ञानका विशेषज्ञ रमेश र भानु गुरुदेवले संस्थाको बढोत्तरी हुँदै जाँदा सुदूर भविष्यसम्म आफूहरूको निजी प्रयोजनका लागि संस्थाबाट तलबभत्ता नलिने र सार्वजनिक पदमा नबस्ने संकल्प गर्नु, साधनाबाट आफूले पाएको आनन्द अरूमा बाँड्ने सदासयता तथा राम्राले केही नगरे नराम्रो रहिरहन्छ भन्ने यथार्थ आत्मसात् गरी संस्था गठन गरेको रहस्य पंक्तिकार सम्मिलित कार्यक्रममा सार्वजनिक गर्नुभएको हुँदा नियत सफा देखिन्छ ।


सबै धर्मको मर्म एउटै हो । बाइबल कुरानदेखि कार्लमाक्र्ससम्म पनि अटाउन सक्नुपर्छ । समावेशिताको विशालता, मानिसमा रहेका गुणहरू खोज्नु र खोज्नका लागि दिव्य नवव्रत पालना गर्नु मानवीय धर्म हो । समाजमा धर्मको सही परिचय गराउँदै मूर्तिपूजाको पाखण्ड र छुवाछुत तथा महिला–पुरुषबीच धर्मको नाउँमा गरिएको विभेदको सशक्त विरोध र समानताको दृढ पक्षपाती, मानव कल्याणका निमित्त रचिएका वेद–पुराणहरू, भागवत गीताको मर्म र पूर्वीय सभ्यताको अनुकरणीय आदर्शमार्फत नेपाल र नेपालीलाई समृद्ध बनाउँदै सिंगो मानवजातिमा आनन्द बाँड्ने लक्ष्य आफैँमा महान् हो । सो लक्ष्य प्राप्त गर्ने क्षमता हरेक नेपालीमा भर्दै नवयुग निर्माण गर्ने प्रस्ट मार्गचित्र र कार्यान्वय गर्नमा सरिक हुने सबैलाई समान व्यवहार गर्ने नीति र तदनुरूपको पद्धति र व्यवहार भरोसायोग्य छ । 


त्यसमाथि गुरुदेवहरूले शिष्यहरूलाई भगवान्तुल्य ठानी उनीहरूतिर शिर झुकाएर नमन गर्ने, हामी त तपाईंहरूभित्रै रहेको गुरु देखाइदिने सहयोगी मात्र हौँ, हामीलाई मान्नुपर्दैन, असली गुरु तपाईंहरूको अन्तस्करण हो, उसको निर्देशन पालना गर्नु भनी यथार्थवादिता र निःस्वार्थी भाव व्यवहारमा उतारेर भरोसाका आधारमा बल प्रदान गर्नुभएको छ । अन्त्यमा, जीवन विज्ञानका हरेक प्रशिक्षकले संस्थाको अपनत्व लिँदै भरपूर योगदान दिन सक्ने जीवन विज्ञानको प्रणाली बहुउपयोगी छ । यसले शासन गर्ने हाकिमीय मनोवृत्तिलाई सेवामुखी बन्नमा प्रेरित गर्नेछ नै । होम डेलिभरी दिने कन्टेनर वा ट्रकरुपी जीवन विज्ञान संस्थाको संरचना, इन्जिनरुपी जनशक्ति, डिजेलरुपी नीति तथा मार्गदर्शन र राजमार्गरुपी साधनाको उपयुक्त विधि र साधना पनि छ । 


तर, कहिलेकाहीँ सबै हुँदाहुँदै पनि टाइट गर्नुपर्ने वा धार मरेर स्लिप खाने खाले नटबोल्टमा गाडीका सहचालकले ध्यान नपु¥याएको र मुख्य चालकले निगरानी नगरेका कारण बीच बाटोमा रोकिनुपर्ने परिस्थितितर्फ सर्वज्ञानी गुरुदेवहरू अवश्य पनि सचेत हुनुहुन्छ नै । सर्वकल्याण भाव र सेवाभावले ओतप्रोत भएर हरेक नेपालीको घरघरमा सुख, शान्ति र समृद्धिको होम डेलिभरी गर्दै आउनुभएका गुरुदेवहरूको महाअभियान नेपालभरि र विश्वसम्मै पुग्न सफल रहोस्, हार्दिक मंगलमय शुभकामना !