• वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
 पवन बराइली
२०८० चैत १० शनिबार ०८:३०:००
साहित्य

एक प्रयोगवादी कथाकार

२०८० चैत १० शनिबार ०८:३०:००
 पवन बराइली

म परशु प्रधानलाई शक्तिशाली र प्रतिष्ठित लेखकका रूपमा लिन्छु । विद्यार्थीकालमा परशु प्रधान दाइका कथाहरू धेरै पढियो । ‘फेरि आक्रमण’ (२०२५), ‘एउटा अर्काे दन्त्यकथा’ (२०२८) र ‘असम्बद्ध’ (२०३२) पढेर उहाँसँग निकै प्रभावित भएको थिएँ । उहाँको लेख्ने तरिका, शैली र कथावस्तुको चयनले निकै प्रभावित गर्‍यो । अहिलेको बोलीचालीको भाषामा भन्दा म उहाँको ‘डाइहार्ट फ्यान’ थिएँ । 


भेट्ने इच्छा स्वाभाविक नै हुने भयो । उहाँसँग पहिलो भेट र चिनजान २०४१ सालमा ‘परशु प्रधानको प्रतिनिधि कथाहरू’ विमोचन समारोहमा भयो । यस समारोहमा वासुशशी दाइले मलाई उहाँसँग परिचय गराइदिनुभएको हो । २०४४ सालताका उहाँ स्वास्थ्य मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । त्यतिवेला टेलिफिल्म निर्माणका लागि गोरखापत्रमा विज्ञापन प्रकाशित भएको थियो । म उहाँलाई भेट्न मन्त्रालयमा गएँ । 


उहाँले सोध्नुभयो, ‘के–के लेख्नुभएको छ ?’ मैले उहाँलाई टेलिफिल्म बनाइरहेको बताएँ । तत्कालीन स्वास्थ्यमन्त्री सुशीला थापासँग भेटाइदिनुभएको थियो । उहाँको अग्रसरतमा स्वास्थ्य मन्त्रालयको बजेटमा मैले ‘रक्षा’ भन्ने टेलिफिल्म बनाएँ । टेलिफिल्ममा अभिनेत्री गौरी मल्लले अभिनय गर्नुभएको छ । यो म आफैँले निर्देशन गरेको टेलिफिल्म हो । उहाँको स्वभाव सहयोगी थियो । 

नयाँ मान्छेलाई समेटेर सँगै हिँडाउन चाहने मान्छे हुनुहुन्थ्यो । ०४७/४८ सालतिर हुनुपर्छ, परशु दाइले मलाई बोलाउनुभयो । ‘आखिर म तेरो लोग्ने हुँ निर्मला !’ कथा कुनै पत्रिकामा छापिएको थियो । उहाँले भन्नुभयो, ‘भाइ, यो कथा टेलिफिल्म बनाउने दृष्टिले अध्ययन गर्नुस् ।’ 
 


कथामा ‘निर्मला’ (नारी) पात्र शक्तिशाली छ । लोग्नेभन्दा माथि उभिएको चरित्र पात्र ‘निर्मला’ छ । यो पात्र लोग्नेसँग टसल पर्ने पात्र हो । लोग्नेचाहिँ दबिएको चरित्र छ । कथा मैले मिहिन ढंगबाट पढेँ । 

रमेश विकल, गोविन्द गोठाले, विजय मल्लहरू लामो वाक्यमा लेख्नुहुन्थ्यो । उहाँहरूको कथानक विकास गर्ने तरिका फरक थियो । परशु दाइको लेखन प्रस्ट बुझिने किसिमको छ । उहाँ विशिष्ट कथाकार भएर पनि चर्चा जति हुनुपर्ने हो, त्यति हुन सकेन ।


त्यो कथा पढेपछि उहाँलाई फोनमा भनेँ, ‘दाइ, वास्तवमा यो राम्रो टेलिफिल्म बन्छ ।’ परशु दाइले भन्नुभयो, ‘लेख्नुस् न भाइ, प्लिज लेख्नुस् ।’ त्यसवेला टेलिफिल्म बनाउने नेपाल टेलिभिजनभन्दा अरू संस्था थिएन । नेपाल टेलिभिजनमा भनसुन गर्नुपथ्र्याे । उहाँले भन्नुभयो, ‘अरू व्यवस्था म गर्छु । तपाईं लेख्नुस् ।’ उहाँको कथालाई मैले सीप लगाएर पटकथा र संवाद लेखेँ । ‘आखिर म तेरो लोग्ने हुँ निर्मला !’ एक घण्टा ३० मिनेटको टेलिफिल्म बन्यो । प्रसारणमा आएपछि निकै लोकप्रिय भयो । परशु दाइ पनि टेलिफिल्म हेरेर मख्खै हुनुहुन्थ्यो । त्यसवेलाकी चर्चित कलाकार लक्ष्मी श्रेष्ठले यसमा निर्मलाको भूमिका गरेकी थिइन् । 


परशु दाइको नेतृत्वमा खोलिएको विराटनगरको वाणी प्रकाशनबाट थुप्रै साहित्यकारका कथा–कविता संग्रह छापिएका छन् । उहाँ चुप लागेर बस्ने मान्छे होइन । उहाँ लेखक, कवि मात्रै होइन, आफैँमा साहित्यको ‘एक्टिभिस्ट’ हो । आफू मात्रै होइन, अरूलाई पनि सक्रिय बनाउनुहुन्थ्यो । 


०५१ सालमा उहाँले जागिरबाट अवकाश लिनुभयो । उहाँ आफ्नो जागिरे जीवनबाट त्यति सन्तुष्ट हुनुहुन्न थियो । उहाँलाई जागिरमा पनि भेदभाव गरेको गुनासो सुनिन्थ्यो । यसपछि पनि हाम्रो भेट भइरह्यो, कहिलेकाहीँ घरमै पनि बोलाउनुहुन्थ्यो । परशु दाइसँग हार्दिक सम्बन्ध सधैँभरि रह्यो । उहाँ सबैसँग खुलेर बोल्ने मान्छे । प्रायः हाँसेरै बोल्नुहुन्थ्यो । उहाँ कहिल्यै निराश देखिनुहुन्नथ्यो । उहाँ जहिल्यै लेखनमा सक्रिय देखिनुहुन्थ्यो । उहाँ हक्की स्वभावको पनि हुनुहुन्थ्यो । उहाँ आफूलाई प्रस्तुत गर्न सक्ने जुझारु व्यक्तित्व हो । आफ्नो विचारमा प्रस्ट हुनुहुन्थ्यो । उहाँ कमजोर निम्छरो मान्छे होइन । 

नेपाली कथामा कायकल्प (मेटामर्फाेसिस) भित्र्याउने नै परशु दाइ हो । ‘चेस्टा ! चेस्टा !! चेस्टा !!!’ कथामा उहाँले आधुनिक समयको एक पुरुष महिलामा परिणत भएको देखाउनुभएको छ ।

 

परशु दाइ अप्ठ्यारो मान्छे हुनुहुन्थ्यो भनेर कतिपयलाई भ्रम पनि थियो । तर, मलाई त्यस्तो कहिल्यै लागेन । उहाँ एकदमै सरल र सजिलो मान्छे हुनुहुन्थ्यो । जोसँग पनि मिल्न सक्ने खालको हुनुहुन्थ्यो । खासगरी नयाँ पुस्ताका मान्छेलाई धेरै प्रोत्साहित गर्नुहुन्थ्यो । लेख्न बाटो देखाइदिनुहुन्थ्यो । उहाँको स्वभाव त्यस्तै थियो । मलाई पहिलोपटक भेट्दा पनि हार्दिकतासाथ लिनुभयो । त्यसपछि उहाँसँग मेरो लगाव बढ्दै गयो । उहाँ र मेरो भेट पनि बाक्लियो । 


परशु दाइको नेतृत्वमा खोलिएको विराटनगरको वाणी प्रकाशनबाट थुप्रै साहित्यकारका कथा–कविता संग्रह छापिएका छन् । विराटनगरमा उहाँले लामो समय बिताउनुभयो । त्यहाँको बसाइभर साहित्य गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ चुप लागेर बस्ने मान्छे होइन । उहाँ लेखक, कवि मात्रै होइन, आफैँमा साहित्यको ‘एक्टिभिस्ट’ हो । आफू मात्रै होइन, अरूलाई पनि सक्रिय बनाउनुहुन्थ्यो । मैले उहाँलाई भेट्दा कहिल्यै निराश भएको देखिन । 


०६० सालताका उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपकुलपति वा सचिव भएर आउने चर्चा पनि चल्यो । वासुदेव त्रिपाठी उपकुलपति भएर आउनुभयो । यसपछि उहाँ सचिव भएर आउनुहुन्छ भन्ने हल्ला थियो । उहाँलाई मैले त्यसवेला भेटेको पनि थिएँ । उहाँले हल्लालाई स्विकार्नुभएको पनि थियो । तर, के मिलेन, आउन पाउनुभएन । सायद उहाँ आएको भए साहित्यिक जगत्मा राम्रो हुने थियो । 


प्रयोगवादी साहित्यकार 
उहाँ प्रयोगवादी साहित्यकार हो । कथामा राम्रोभन्दा राम्रो प्रयोग गर्न खोज्नुहुन्थ्यो । समकालीनमध्ये उहाँ सबैभन्दा उत्कृष्ट कथाकार हो भन्ने मलाई लाग्छ । उहाँको कथाको भाषा, शिल्प र शैली नै फरक छ । उहाँको कथ्य नै फरक किसिमको हुन्छ । वाक्य गठन र सम्प्रेषण शैली र कला नै फरक छ । 

 
दन्त्यकथालाई उहाँले आधुनिक नेपाली कथामा ढाल्नुभएको छ । बडो स्वाभाविक ढंगले प्रस्तुत गर्नुभएको छ । त्यही नै परशु प्रधानको विशेषता हो । एउटा अर्काे दन्त्यकथा यसको उत्कृष्ट उदाहरण हो । 


उहाँ फरक शैली र फरक दृष्टिको अख्यानकार हो । उहाँले थुप्रै उत्कृष्ट कथा संग्रह दिएर जानुभयो । पछिल्लो समय कथा संग्रहका सिरिज लेख्न थाल्नुभएको थियो । उहाँले ‘घर’ कथाको सिरिज लेख्नुभयो । त्यसमा २० वटाजति कथा समेटिएका छन् । कथामा भिन्नभिन्नै पात्र, भिन्नभिन्नै परिस्थिति र भिन्नभिन्नै चरित्र छन् । उहाँले कथाभित्र यौनका प्रसंगहरू ल्याउनुभएको छ । ‘घर’लाई उहाँले कथोपन्यास नामकरण गर्नुभयो । ‘सिताहरू’ कथाको सिरिजमा पनि परशु दाइले केही कथा लेख्नुभएको छ । यो कथाभित्र पनि यौनका प्रसंग ल्याउनुभएको छ । त्यसलाई उहाँले ‘कथोन्योस’ भनेर नामकरण पनि गर्नुभएको छ । कथाको टुक्रा–टुक्रा जोडेर उपन्योसको रूप दिन सकिन्छ भन्ने उहाँको नौलो अवधारणा थियो । नेपाली कथा साहित्यमा यो नवीन विचार थियो । 


उहाँले नेपाली कथामा यौनलाई घुसाउनुभयो । कसैकसैले उहाँका कथा अश्लील भए भनेको पनि सुनिन्थ्यो । तर, मलाई त्यस्तो लाग्दैन । उहाँले पारिवारिक विघटनभित्र यौनको सन्दर्भ ल्याउनुभएको छ । आलोचनात्मक यथार्थवादअन्तर्गत उहाँले यौनकथालाई नेपाली कथामा प्रवेश गराउनुभयो । 


उहाँले पहिलो चरणमा स्वेरकाल्पनिक कथाहरू लेख्नुभयो । दोस्रो चरणमा प्रशस्तै सामाजिक यथार्थवादी कथाहरू लेख्नुभएको छ । ‘टोकियोमा सानो बुद्ध’, उहाँको सामाजिक यथार्थवादी कथाको उत्कृष्ट नमुना हो । मैले प्रज्ञा प्रतिष्ठानको ‘समकालीन साहित्य पत्रिका’को सम्पादक छँदा यो कथा छापेको थिएँ । उहाँका धेरै मास्टरपिस कथाहरू त्यतिवेला मैले छापेँ । 


दौलतविक्रम विष्ट, रमेश विकल, विजय मल्ल, गोविन्द गोठाले, माधवलाल कर्माचार्यलगायतको तुलनामा परशु प्रधानको कथा फरक छ । उहाँको लेखनीमा वैचारिक ऊर्जा आउँछ । विजय मल्लहरू लामो वाक्यमा लेख्नुहुन्थ्यो । उहाँहरूको कथानक विकास गर्ने तरिका फरक थियो । परशु दाइको लेखन प्रस्ट बुझिने किसिमको छ । कथामा चेतना र भाषिक शिल्प फरक पाइन्छ । त्यस्तै, कथामा कथ्यकला, वाक्य गठन, सम्पे्रषित गर्ने शैली नै फरक छ । उहाँ त्यो नै कला हो । त्यसैले फरक दृष्टि र शैलीको कथाकारको परिचय बनाउनुभयो । उहाँ विशिष्ट कथाकार भएर पनि चर्चा जति हुनुपर्ने हो, त्यति हुन सकेन । यसलाई दुर्भाग्य मान्नुपर्छ । 


‘चेस्टा ! चेस्टा !! चेस्टा !!!
नेपाली कथामा मेटामर्फाेसिस भित्र्याउने नै परशु दाइ हो । उहाँले ‘चेस्टा ! चेस्टा !! चेस्टा !!!’ मा मेटामर्फाेसिस प्रयोग गर्नुभएको छ । कथामा उहाँले आधुनिक समयको एक पुरुष महिलामा परिणत भएको देखाउनुभएको छ । स्वेरकल्पना यथार्थलाई अलि अर्कै किसिमले देखाउने तरिका हो, जुन यथार्थजस्तो लाग्दैन । तर, उहाँले यथार्थलाई फरक ढंगले देखाउनुभयो । यो कथामा लोग्न मान्छे, स्वास्नी मान्छेमा परिणत हुनु अति यथार्थ हो । त्यसलाई उहाँले बडो स्वाभाविक ढंगले कथामा बुन्नुभएको छ ।


नेपाली भाषाका विभिन्न दन्त्यकथा छन् । तिनलाई परशु दाइले नेपाली आधुनिक कथामा प्रयोग गर्नुभयो । आधुनिक कथामा नेपाली दन्त्यकथा ल्याउनु उहाँको खास खुबी देखिन्छ । उहाँको ‘एउटा अर्काे दन्त्यकथा’ (२०२८) त्यसको उत्कृष्ट उदाहरण हो । बाल्यकालमा सुनिएका त्यस्ता कथालाई उहाँले आधुनिक नेपाली कथामा ढाल्नुभएको छ । बडो स्वाभाविक ढंगले प्रस्तुत गर्नुभएको छ । त्यही नै परशु प्रधानको विशेषता हो । यो कथामा विचित्र शिल्प छ ।

 

महाभारतकालीन कथालाई आधुनिक कथामा ल्याउनुभएको छ । नेपाली कथामा स्वेरकल्पनाको प्रयोग विजय मल्लले पनि प्रयोग गर्नुभएको छ । तर, उहाँले प्रयोग गरेको स्वेरकल्पनाको कथानक विकास र पात्र छनोट गर्ने तरिका फरक छ । खासगरी विज्ञान कथालाई स्वेरकल्पनाको आधार बनाएको पाइन्छ । तर, परशु दाइले सामाजिक कथालाई स्वेरकल्पनामा रूपान्तरण गर्नुभएको छ । यो नै परशु प्रधानको शक्ति बन्यो ।


उहाँले जीवनकालको पहिलो र दोस्रो चरणमा स्वेरकाल्पनिक कथा लेख्नुभयो । पछिल्ला चाहिँ आलोचनात्मक यथार्थवादी कथाहरू छन् । ‘सिताहरू’, ‘घर’, ‘टोकियोमा सानो बुद्ध’, ‘आखिर म तेरो लोग्ने हुँ निर्मला !’ लगायत उहाँका ‘आलोचनात्मक यथार्थवादी’ कथा हुन् । यसअघि ‘फेरि आक्रमण’ २०२५ , ‘एउटा अर्काे दन्त्यकथा’ २०२८ र ‘असम्बद्ध’ २०३२ मा स्वेरकल्पनाको प्रयोग गरिएको पाइन्छ । पछि उहाँले आफ्ना प्रयोगमाथि विश्वास नलागेर पनि हुन सक्छ ‘आलोचनात्मक यथार्थवादी’ कथाहरू लेख्न थाल्नुभयो । हुन त लेखक सधैँ एकै ठाउँमा रहँदैन । लेखकले आफ्नो शैली, शिल्प र लेख्ने तरिका फेरिरहन्छ । तर, मलाई चाहिँ लेखक एउटा शैलीमा जमिसकेपछि तत्काल आफ्नो शैली फेर्नुहुँदैन जस्तो लाग्छ । पछि आफ्नो लेखन शैलीलाई फेर्दा पुरानो पाठक गुक्ने खतरा हुन्छ । परशु दाइले पनि स्वेरकल्पनाबाट यथार्थवादी’मा आउँदा आफ्ना पुरानो पाठक गुमाउनुभएको थियो । 


चर्चित कथाहरू 
मेरो कोठाको आँखाबाट (२०१९) परशु प्रधानको पहिलो कथा थियो । २०२५ सालमा ‘वक्ररेखा’ र ‘फेरि आक्रमण’ गरी उनका दुई कथासंग्रह प्रकाशित भएका थिए । प्रधानका ‘एउटा अर्काे दन्त्य कथा’ (२०२८), ‘असम्बद्ध’ (२०३२), ‘समुद्रमा अस्ताउने सूर्य’ (२०३५), ‘प्रतिनिधि कथाहरू’ (२०४१), ‘यौटा क्रान्तिपुरुषको जन्म’(२०५०), ‘कथा र रचनागर्भ’ (२०५७), ‘उत्तराद्र्ध’ (२०५८) र ‘परशु प्रधानका उत्कृष्ट कथा’ (२०६८) लगायत कथासंग्रह प्रकाशित छन् । 


अनिर्णय, टोकियोमा सानो बुद्ध, ‘चेस्टा ! चेस्टा !! चेस्टा !!!, मृत्युको गन्धभित्र चियाको पानी, खलनायकहरू, पुतलीको लासमाथि, भाग्नेहरू, छिँडीभरिको आकाश, घर, अहिले लहर चुपचाप बग्छ लगायत कथाहरू निकै चर्चित छन् ।