• वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
शान्ति तामाङ
२०८० चैत १० शनिबार १०:१२:००
समाज

बदलिँदो हुम्ला

फोटो कथा

२०८० चैत १० शनिबार १०:१२:००
शान्ति तामाङ

 

हुम्ला अझै राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेको छैन । नेपाली सेनाले निर्माण गरिरहेको सडक छारेखण्डसम्म पुगेको छ, यसलाई १५ वैशाखसम्म सेनाले हस्तान्तरण गर्नेछ । कर्णालीको तीरैतीर पहिलोपटक हुम्लाको छारेखण्डसम्म पुग्ने जोकोहीको मुटु डरले पटक–पटक ढक्क फुल्छ ।

हुम्ला पुगेसँगै हरियाली डाँडापाखा, फुलेका खुरपानी, स्थानीयस्तरमै पाइने स्रोतसाधनबाट निर्माण भएका पानीघट्ट, प्रकृतिमै उपलब्ध सामग्रीबाट निर्माण गरिने सुन्दर कपडा, आफ्नै भाषा, संस्कृतिजस्ता विविध कुराले मनै आनन्द बनाउँछ । यहाँका खार्पुनाथ मन्दिर, रिन्चेलिङ गुम्बा, लिमी उपत्यका, रलिङ गुम्बा, याल्वाङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख मार्ग, कर्णाली जलविहार, पञ्चमुखी, दूधकुण्ड, गोरख खाङ, तातोपानीका मुहानहरू यहाँका मुख्य पर्यटकीय आकर्षणका केन्द्रबिन्दु हुन् ।

देशका अन्य पालिकाजस्तै हुम्लाका पालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ । सडक खन्न विभिन्न ठाउँमा डोजर पुगेका छन् । तर, आफ्नो खेतबारी खनेको देख्दा स्थानीयले चित्त दुखाएका पनि छन् । पुराना घरलाई आधुनिक डिजाइनका घर, टिनलगायतले विस्थापित गर्न थालेका छन् । गाउँमा अझै ओखल र पानीघट्ट देख्न सकिन्छ । तर, स्थानीयले आधुनिक मेसिनको माग गर्न थालेका छन् । बसा थापा, सपुरा फडेरा, बासकली रावतजस्ता महिलाहरू रक्सोलबाट किनेर ल्याएको कपडामा बुट्टा हालिरहेका देखिन्छन् । गाउँघरमा हुने विकास निर्माणका काममा महिलाहरूले पनि नेतृत्व लिन थालेका छन् ।