• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
कृष्ण खत्याडी
२०८० चैत १७ शनिबार ०८:१६:००
समाज

सम्भावनाबीच रुमल्लिएको धरान

२०८० चैत १७ शनिबार ०८:१६:००
कृष्ण खत्याडी

धरान कोशी प्रदेशको एक महत्वपूर्ण, चर्चित र ऐतिहासिक सहर हो । धरान क्षेत्रमा प्राक्ऐतिहासिक कालदेखि नै मानिसहरूको चलपहल देखिन्छ । प्राचीनकालमा यो क्षेत्र कहिले मत्स्यदेश त कहिले बंग (बंगाल) देशको अंग रहेको पाउन सकिन्छ । मोरङ राज्यको राजधानीका रूपमा तथा पछि विजयपुर राज्यकै नामले चर्चित भएको पाइन्छ । धरान विजयपुर डाँडाको पश्चिम दक्षिण चारकोसे झाडीको सिरानमा छ । धरानमा विसं १९६० भन्दा अगाडि जंगल थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले फँडानी गराएपछि धरानमा बस्ती बस्न थालेको थियो ।


 धार्मिक पर्यटन
बुढासुब्बा मन्दिर धरान क्षेत्रको एक चर्चित र प्रसिद्ध मन्दिर हो । यसमा भएको परम्परा र संरचना हेर्दा किराती सांस्कृतिक संरचनाको अवशेष मान्न सकिन्छ । विद्वान्हरूले बुढासुब्बा मन्दिरलाई विजयपुर राज्यको चौतारा बुद्धिकर्ण रायको समाधिको रूपमा चित्रित गरेका छन् । तर, यसको ठोस प्रमाण भने छैन । अन्य समाधिहरूमा यस्तो खालको धार्मिक र सांस्कृतिक अभ्यास नहुनुले पनि यो कुरा हचुवाको भरमा भनेका हुन् भन्ने लाग्छ । जे होस्, विजयपुर राज्यमा सेनहरूको आगमन हुनुअघि नै किरातीहरूको बसोवास थियो र उनीहरूले नै यो सांस्कृतिक अभ्यास र परम्परा सुरु गरेको भन्न सकिन्छ । 


विजयपुरको मध्यभागमा रहेको अर्को चर्चित मन्दिरलाई दन्तकाली मन्दिर भनिन्छ । यो मन्दिरसँग सम्बन्धित अनेकौँ किंवदन्तीहरू छन् । यस मन्दिरमा खनाल थरका पुजारी छन् । सेनकालका सेन राजाहरूले तथा विजयपुर राज्यका चौताराहरूले खनाल पुजारीहरूलाई वेलावेलामा बिर्ता दिएको देखिन्छ ।

 

बिर्तालगायतको विवरण (नेपाल निरुक्त,२०७४;२७३) हेर्ने हो भने यो मन्दिरको स्थापना मध्यकालमा सेनवंशी राजाहरूले गरेको मान्न सकिन्छ । पिण्डेश्वर मन्दिर विजयपुर डाँडाको दक्षिणपट्टि छ । यो मन्दिरसँग पनि धार्मिक तथा पौराणिक कथा जोडिएको छ । यो मन्दिरलाई करिब ५०० वर्षअगाडि बंगालका राजाले जीर्णोद्धार गरेको मानिन्छ । यस मन्दिरमा विक्रम संवत् १८५५ तिरको घण्ट पाइएको थियो । यस आधारमा यो मन्दिर मध्यकालतिर नै स्थापना भएको मान्न सकिन्छ । 


विष्णुपादुका मन्दिर धरान क्षेत्रमा रहेको पूर्वकै एक चर्चित र प्रसिद्ध धार्मिक स्थल हो । विष्णुपादुकाबारे धार्मिक ग्रन्थहरूमा प्रस्ट नपाइएता पनि वराहक्षेत्र पुग्ने कोकहा नदीको चर्चा तथा कोकहाको किनारमा रहेकै कारणले पनि यस तीर्थस्थललाई अझ महŒवका साथ हेर्ने गरेको पाइन्छ । विसं १९७० मा स्थानीय धामी लक्ष्मण तामाङले धामी बस्ने क्रममा पत्ता लगाएपछि आजसम्म अनवरत रूपले यो मन्दिरको पूजाआजा हुँदै आएको छ । यी चर्चित ऐतिहासिक धार्मिक स्थलहरूमा कोशी प्रदेश, नेपालका अन्य भूभाग तथा पूर्वोत्तर भारतबाट बर्सेनि हजारौँ, लाखौँ तीर्थयात्रीको आगमन हुने गरेको पाइन्छ । खास रूपमा धरानको धार्मिक तथा स्थानीय पर्यटन यिनै स्थलले धानेको छ । तर पनि यी स्थलहरूको आवश्यक प्रचारप्रसार हुन सकेको देखिँदैन । 


ऐतिहासिक पर्यटन
विजयपुरगढी एउटा ऐतिहासिक गढीको रूपमा लिइन्छ । राजा विजयनारायण रायको नामबाट रहेको मानिने यस गढी इमानसिंहका अनुसार साङलाइङका सातौँ पुस्ताका राजा विजयनारायण रायले हालको विजयपुरमा बारताप्पा (पानबारा) भन्ने ठाउँबाट राजधानी सारी त्यस ठाउँको नाम विजयपुर नामकरण गरी गरेका हुन् (चेम्जोङ, किरातकालीन विजयपुरको संक्षिप्त इतिहास, २०५९;१३) । यसको आधिकारिकतामा अझै पनि प्रश्न गर्ने ठाउँ छ ।

 

 विसं १६६६ देखि विजयपुर राज्य मकवानपुर राज्यको अधिनमा रह्यो । त्यसपछि विजयपुर राज्यका राजाको रूपमा सेन राजाहरू नेपाल एकीकरणअघिसम्म रहेको पाउन सकिन्छ । हाल विजयपुरको मध्यकालीन दरबारको अवशेष विजयपुर डाँडाको उत्तरतर्फ छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने हो भने बर्सेनि लाखौँ पर्यटकहरूको आगमन हुने सम्भावना छ । यसको प्रत्यक्ष प्रभाव धरान क्षेत्र र यहाँका जनतालाई हुने देखिन्छ । यसलाई व्यवस्थित गर्न सके आयस्रोतको महत्वपूर्ण केन्द्र बन्नेछ ।


सांस्कृतिक पर्यटन
धरानलाई कोशी प्रदेशको एउटा महत्वपूर्ण सांस्कृतिक केन्द्रको रूपमा स्थापना गर्न सकिन्छ । यो ठाउँमा कोशी प्रदेशका अधिकांश ठाउँबाट आएका अनेकौँ जाति तथा समुदायको बसोवास छ । विविध रूपले जातिगत, भाषागत र सांस्कृतिक रूपमा विविधता रहेकाले पनि यस क्षेत्रलाई पर्यटन प्रवद्र्धनको रूपमा विकास गर्न सकिन्छ ।


राई समुदायभित्र पनि अनेकौँ समुदाय छन् । राईभित्र पनि आआफ्नै भाषा, संस्कृति, वेशभूषा र रहनसहन छ । पुख्र्याैली स्थानबाट बसाइँ सरेर आउँदा आफ्ना संस्कृति र परम्परा पनि सरेर आउँछन् । यसो हुँदा ती संस्कृतिलाई संरक्षण गर्न संरक्षणस्थलहरू निर्माण गर्ने हो भने कोशी प्रदेश तथा अन्य ठाउँहरूमा बस्ने राईहरूको पनि सांस्कृतिक रूपले आकर्षणको केन्द्र धरान बन्नेछ ।

 

 धरानमा बस्ने अन्य समुदायजस्तै लिम्बू, गुरुङ तथा अन्य जाति तथा समुदायले पनि यस्ता सांस्कृतिक केन्द्र विकास, विस्तार र प्रवद्र्धन गर्ने हो भने धरान कोशी प्रदेशको एउटा सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्न सकिन्छ । विभिन्न देशबाट आउने सांस्कृतिक शोधार्थीको महत्वपूर्ण शोधकेन्द्रको रूपमा समेत धरानलाई विकास गर्न सकिन्छ । धर्मान्तरणको ठूलो चपेटामा परेको तथा सांस्कृतिक रूपान्तरणको भार बोकिरहेको यो क्षेत्रलाई यस्ता खालका कार्य गर्न आवश्यक र जरुरी छ ।


 स्थानीय पदयात्रा
पूर्वी पहाडको अधिकांश जिल्लामा आवतजावत गर्ने तराईलाई जोड्ने एउटा महत्वपूर्ण मार्गको रूपमा फुस्रे साँघुरीगढी पदमार्गलाई लिन सकिन्छ । पूर्वी पहाडका अधिकांश जिल्लाका लागि प्रवेशमार्गको रूपमा फुस्रे साँगुरीगढी पदमार्गलाई मान्न सकिन्छ । सदियौँदेखि यो क्षेत्रमा बस्ने मानिसहरूले तराईसँगको सम्बन्ध जोड्न यही बाटो प्रयोग गर्थे । साँघुरीगढी विशेष गरेर किराती राजा सोयाक लादोकहाङले निर्माण गरेर हालको पूर्णियाको जलालगढसम्म शासन गरेको भन्ने केही तथ्य र आधार भए पनि साँगुरीगढी पूर्वी पहाडको सुरक्षाका हिसाबले महत्वपूर्ण गढी हो । धरान धनकुटा राजमार्ग सञ्चालनमा आउनुअघि पहाड उक्लिन यो मुख्य मार्गको रूपमा प्रयोग हुन्थ्यो । यस पदमार्गलाई स्थानीय पर्यटनको रूपमा विकास गर्ने हो भने पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । धरानबाट पश्चिमपट्टि रहेको चिन्डे डाँडो स्थानीयहरूकै लागि अहिले नजिकको र फुर्सदको गन्तव्य बन्दै गएको छ । बिहान–बेलुका वाकका लागि होस् या समय बिताउन होस्, यो डाँडामा मानिस जान्छन् । धरानले स्थानीय पर्यटन प्रवद्र्धनका लागि यी र यस्ता अनेकौँ पदमार्गहरूको विकास, विस्तार र प्रवद्र्धन गर्नुपर्छ । 


 चुकेका र हुनुपर्ने कुरा
धरानमा भएको स्रोत र साधन तथा विभिन्न जातजातिका संस्कृतिहरू सांस्कृतिक पर्यटनमा रूपमा प्रवद्र्धन गरी मनग्य आम्दानी लिन सकिन्छ । पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, विष्णुपादुकामा दर्शन गर्न लाखौँ पर्यटकहरू धरानमा आउन सक्छन् । धरानको आन्तरिक पर्यटनलाई यिनै सांस्कृतिक तथा धार्मिक केन्द्रहरूले धानेको छ । यी र यस्ता धार्मिक सांस्कृतिक केन्द्रलाई विकास, विस्तार र प्रवद्र्धन गर्ने हो भने धरानलाई दीर्घकालीन रूपमा अझ फाइदा पुग्नेछ ।


नगरप्रमुखको व्यवहार धरानको विकासका लागि समन्वय गर्ने खालको देखिन्न । साथै धरानका जिम्मेवार व्यक्तिमा यी यस्ता कार्य राज्यस्तरबाट मात्र गर्नुपर्छ भन्ने मानसिकताले ग्रस्त भएको पाउन सकिन्छ । सहकार्य, समन्वय गरेर पर्यटकलाई आकर्षित गर्ने काम गर्ने हो भने धरानको समृद्धि टाढा छैन ।