• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन बराइली
२०८० चैत १७ शनिबार ०८:३२:००
सम्झना

अस्पताल छोडेर हिमालमा रमाएका डाक्टर

२०८० चैत १७ शनिबार ०८:३२:००
पवन बराइली

अवसर र सुखसयलको उपाय खोजिरहनु मानिसको स्वभाव हो । मानिसहरू काम, अध्ययन, र अवसरको खोजीमा गाउँबाट सहर पस्छन्, कोही विदेशिन्छन् । पढेलेखेर, ज्ञानसीप आर्जन गरेर विरलै मानिसहरू गाउँघर फर्किन्छन् । यसरी गाउँ फर्किनेहरू मध्येका हुन् डा. निमा नाम्गेल शेर्पा ।  डा. निमा एप्रोन र स्टेथोस्कोपमा अस्पतालको वार्डमा भेटिनुपर्ने हो । तर, उनी हिमाल आरोहणमा जानेहरूलाई तालिम दिइरहेका भेटिन्छन् । हरेक सिजनमा उनी सगरमाथा आधार शिविरतर्फ लम्किन्छन् । आधार शिविरमा उनी आरोहीको स्वास्थ्य जाँच गरिरहेका हुन्छन् । १३ वर्षयता निमा हिमालमै रमाइरहेका छन् । 


सोलुखुम्बुको खुम्जुङ गाउँमा जन्मिएका निमाको बाल्यकाल त्यहीँ बित्यो । सिजनमा बुबा ट्रेकिङ जान्थे । आमा सोलुखुम्बुको डोलेमा आरोहीलाई चिया बेच्थिन् । निमा पनि आमासँगै डोलेमै चिया बेच्न उक्लिन्थे । यसरी नै बित्यो निमाको बाल्यकाल । ‘म घरको जेठा छोरा भएकाले जिम्मेवारी धेरै थियो । भाइबहिनी हेर्ने र बुबाआमालाई पनि काममा सघाउनुपथ्र्याे । बुबा सिजनमा ट्रेकिङ गए पनि अरू वेला चौँरीगोठमै बस्नुहुन्थ्यो । त्यहीँबाट हाम्रो घरखर्च चल्थ्यो,’ निमा बाल्यकाल सम्झिन्छन् ।


कक्षामा सधँै प्रथम हुने निमाले गाउँको स्कुलमा कक्षा तीनसम्म मात्रै पढे । अब्बल भएका कारण निमाका बुबाआमालाई शिक्षकले काठमाडौंमा पढाउन सुझाव दिए । ‘स्कुलमा पढ्दा सरहरूले भविष्यमा के बन्छस् भनेर सोध्दा डाक्टर बन्छु भन्थेँ । मेरो सपना नै डाक्टर बन्ने थियो । पहिले हाम्रो गाउँमा डाक्टर थिएनन् । गाउँमा मान्छेहरू बिरामी भएको देख्दा म कुनै दिन डाक्टर बनेर उपचार गर्न आउँछु भन्ने लाग्थ्यो,’ निमाले विगत सम्झिए ।

छोरो डाक्टर भएपछि निमाको परिवारमा मात्रै होइन, गाउँमै खुसी छायो । किनकि, उनी गाउँभरिकै पहिलो चिकित्सक थिए । तर, उनको मन भने अस्पतालमा अडिएन । अस्पतालको चार दिवारभित्र उनले निसास्सिएको महसुस गरे । त्यसपछि सन् २०१२ मा अस्पताल छाडेर हिमालतिर उक्लिए


सन् २००८ मा निमा चीनमा एमबिबिस पढ्न गए । एमबिबिएस पढाइ सकेपछि काठमाडौंको मेडिकेयर अस्पतालमा जागिर सुरु गरे । झन्डै डेढ वर्ष अस्पतालमा जागिरे भए । छोरो डाक्टर भएपछि निमाको परिवार मात्रै होइन, गाउँमै खुसी छायो । किनकि, उनी गाउँभरिकै पहिलो चिकित्सक थिए । तर, उनको मन भने अस्पतालमा अडिएन । सन् २०१२ मा अस्पताल छाडेर हिमालतिर उक्लिए । ‘झन्डै डेढ वर्ष अस्पतालमा काम गरेँ । तर, अस्पतालमा काम गर्दा कहिल्यै कम्फर्टेबल फिल भएन । जहिल्यै उकुसमुकुस भयो । त्यसपछि अस्पतालको काम छोड्ने निर्णय गरेँ,’ निमा भन्छन् ।


अस्पताल छाडेर हिमालतिर 
सन् २०११ मा ‘एभरेस्ट म्यारथन’ एक्पिडिसन डाक्टर रूपमा निमा हिमालमा गए । त्यसवेला दुई हप्ता सगरमाथा आधार शिविरमा बिताए । ‘जिन्दगीमा पहिलोपटक काला पत्थर पुगेँ । त्यसअघि हिमालको फेदमा जन्मिएर पनि एभरेस्ट बेस क्याम्पसम्म पनि पुगेको थिइनँ । त्यसपछि अझ मलाई हिमालमै काम गर्ने विचार आयो,’ उनी भन्छन् । 


त्यसपछि निमाले डिम्लोमा इन माउन्टेन मेडिसिनको कोर्स पढे । एक वर्षमा यो कोर्स पूरा भएपछि डिम्लोमा इन माउन्टेन इमर्जेन्सी मेडिसिनको पनि कोर्स पूरा गरे । आधार शिविरमा उनले व्यवस्थापक पनि भएर काम गरे । उनले त्यहाँको स्वास्थ सेवा, सुरक्षा, जोखिम व्यवस्थापनलगायत थुप्रै समस्या नजिकबाट देखे । उनले बिस्तारै आफ्नो सेवा विस्तार गरे । ‘लाइसेन्स पाएका गाइडहरूसँग पनि प्राथमिक उपचारबारे सामान्य जानकारी पनि थिएन । त्यहाँ निकै काहालीलाग्दो अवस्था थियो । रक्तस्राव भएर कतिको बाटोमै मृत्यु नै हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यतिवेला आफ्नै खर्चमा गएर भरिया र आरोहीको उपचार गरेँ । त्यसपछि मैले हिमालको समस्या झनै बुझ्ने मौका पाएँ ।’


निमालाई सगरमाथाको चुचुरोमा पुग्ने हुटहुटी जाग्यो । उनले साहस बटुलेर सगरमाथा चढेर छाड्ने निधो गरे । सन् २०१३ मा सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरे । ‘मान्छेहरू सगरमाथा किन चढिरहेका छन् भन्ने मनमा उत्सुकता जाग्यो । त्यसपछि सगरमाथाको टुप्पोमा के–के स्वास्थ्य समस्या आउँदो रहेछ भन्ने अनुभव गर्न पनि मन थियो,’ उनले भने । त्यसपछि उनले मनास्लु र आमादब्लम हिमाल पनि चढे । कैयन् हिमाल आरोहीको उद्धार पनि गरे । 


आरोहीका डाक्टर 
सन् २०१५ को भूकम्पमा उनी सगरमाथा आधार शिविरमै थिए । उनीसहित २० जनाको टिम थियो । हिउँ नझरेकाले उनीहरू सकुशल रहन सफल भए । त्यो क्षण सम्झिँदा निमाको मथिंगल हल्लिन्छ । त्यो घटना सम्झन चाहँदैनन् । सबै चिच्याएको कराएको आवाज मात्रै सुने । ‘रेस्क्यु र उपचारतिर ध्यान गयो,’ उनी भन्छन्, ‘हामी डाक्टरहरूले सकेसम्म सबैलाई बचाऊँ भन्ने हुन्छ । तर, कतिपयलाई जति कोसिस गर्दा पनि बचाउन सकिएन । त्यो क्षण सम्झिँदा निकै दुःख लाग्छ ।’ 


सन् २०१२ मा खुम्बु आइसफलमा हिमपहिरो गयो । त्यसवेला उनी त्यहीँ थिए । संयोगले उनी बाँचे । त्यस्ता संयोगहरू उनको जीवनमा धेरैपटक आयो । उनी भन्छन्, ‘यस्ता विपत्तिहरूले थप सिकाउँदो रहेछ । अस्पतालमा बसेको भए बाहिरी संसार बुझ्दिन थिएँ । हिमालले मलाई जीवनलाई नजिकबाट बुझ्न सिकायो ।’


सन् २०१२ मा अस्पतालबाट राजीनामा दिँदा निमालाई धेरैले ‘पागल’को संज्ञा पनि दिए । मानिसहरूले भने, ‘डाक्टर पढेर पनि पुर्खाहरूजस्तै हिमालमा भारी बोक्न किन फर्किएको होला ?’ अस्पताल छाडेर हिमालतिर जाँदा उनका बुबाआमा सबैभन्दा धेरै दुःखी थिए । किनकि, उनीहरू छोरालाई अस्पतालकै डाक्टर देख्न चाहन्थे । तर, निमाको मन भने हिमालतिरै मोडियो । निमा भन्छन्, ‘बुबाले चौँरी हेरेर र आमाले चिया बेचेर मलाई डाक्टर पढाउनुभयो । डाक्टर बनेपछि म सहरमा बसिरहनुहुँदैन भन्ने लाग्यो । त्यसपछि हिमालतिरै उक्लिएँ ।’ यसरी निमा पहिलो नेपाली ‘माउन्टेन डाक्टर’ बने ।

 
पर्याप्त पूर्वतयारीविना हिमाल आरोहण गर्न नहुने निमाको अनुभव छ । अधिकांश दुर्घटना पूर्वतयारी नपुगेर हुने उनी भन्छन् । ‘पैसा भएपछि हिमाल चढ्ने र रेकर्ड राख्ने सोच गरेको देखिन्छ । तर, पूर्वतयारी खासै गरिएको देखिँदैन । त्यसैले पनि दुर्घटना बढिरहेको छ,’ निमा भन्छन्, ‘हिमाल चढ्नु शेर्पाहरूका लागि बाध्यता हो । अरूका लागि रहर ।’