• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
मेरी केट क्यारी
२०८० चैत १७ शनिबार ०८:४४:००
समाज

अमेरिकी राजनीतिमा वृद्धहरूको वर्चस्व : राजनीतिबाट किन  रिटायर्ड हुन चाहँदैनन् नेता ?

२०८० चैत १७ शनिबार ०८:४४:००
मेरी केट क्यारी

पूर्वराष्ट्रपति बिल क्लिन्टन सन् २०२३ को सुरुमा ह्वाइट हाउसमा झुलुक्क देखा परे । उनी त्यहाँ राष्ट्रपति जो बाइडेनसँग परिवार तथा चिकित्सा बिदा ऐनको ३०औँ वार्षिकोत्सव मनाउन पुगेका थिए । दृश्यले क्लिन्टन राष्ट्रपति भएको तीन दशक पूरा भयो भन्ने तथ्य स्विकार्न गाह्रो थियो । किनकि ७७ वर्षीय क्लिन्टन उमेरका हिसाबले बाइडेनभन्दा तीन वर्ष कान्छा छन् ।


हाल ८१ वर्षका बाइडेन ओभल अफिस (अमेरिकी राष्ट्रपतिको औपचारिक कार्यस्थल)मा बस्ने पहिलो वृद्ध नेता हुन् र उनका मुख्य प्रतिद्वन्द्वी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ७७ वर्षका छन् । सन् २०२३ को अक्टोबरमा गरिएको मोनमाउथ विश्वविद्यालयको सर्वेक्षणले झन्डै तीनचौथाइ मतदाताले बाइडेनलाई पदमा रहन धेरै नै बूढो ठान्छन् । त्यस्तै, झन्डै आधा मतदाताले ट्रम्पलाई ओहदामा रहन धेरै बूढो भएको मान्छन् । अझ विडम्बना नै मान्नुपर्छ, आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा यिनै दुई वृद्ध नेताबीच प्रतिस्पर्धा हुने निश्चित छ । हालै सम्पन्न भएका प्राइमरी निर्वाचनले डेमोक्र्याट्स र रिपब्लिकन पार्टीबाट क्रमशः बाइडेन र ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत गरेको हो ।


मेरा पूर्वमालिक राष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९९६ को चुनावमा क्लिन्टनलाई फेरि चुनौती नदिने निर्णय गरे । यदि उनले चुनावी प्रतिस्पर्धामा भाग लिएर जितेका भए सन् १९९७ को शपथमा उनी ७२ वर्षका हुने थिए । यसको सट्टा उनले राजनीतिबाट विश्राम लिएपछि मानवीय कार्य, स्काइडाइभिङ र नातिनातिनासँग रमाएर भरपूर आनन्द लिए । बुसको राष्ट्रपतिको पदावधिपछिको जीवन र सामान्यतया अमेरिकी सेवानिवृत्ति हुने आदर्शले बाइडेन र ट्रम्प (जो औसत अमेरिकीको सेवानिवृत्ति उमेरभन्दा डेढ दशक बढी छन्) किन फेरि संसारमै सबैभन्दा कठिन कामका लागि अगाडि बढिरहेका छन् भन्ने प्रश्न खडा गर्छ ।


 अमेरिकामा वृद्ध नेताको ट्रेन्ड
ट्रम्प र बाइडेन राष्ट्रपतिको रूपमा सेवा गर्ने तीन सबैभन्दा वृद्ध पुरुषमध्ये दुई हुन् । यसअघि विलियम हेनरी ह्यारिसनले रोनाल्ड रेगन नआउन्जेलसम्म सबैभन्दा वृद्ध निर्वाचित राष्ट्रपतिको रूपमा रेकर्ड राखे । ह्यारिसनले सन् १८४१ मा पदभार ग्रहण गर्दा उनी ६८ वर्षका थिए । त्यस्तै, सन् १९८१ मा आफ्नो पहिलो कार्यकाल सुरु गर्दा रेगन ६९ वर्षका थिए । ७७ वर्षको उमेरमा पद छोड्दा रेगन राष्ट्रपतिको रूपमा सेवा गर्ने सबैभन्दा वृद्ध व्यक्ति सावित भए । ट्रम्पले ७४ वर्षको उमेरमा पद छाडे । उनी रेगन र बाइडेनपछि पदवहाली गर्ने तेस्रो वृद्ध नेता बने ।


जनगणना ब्युरोका अनुसार अमेरिकामा औसत उमेर ३९.९ हो । तर, सदन र सिनेटमा क्रमशः ५८ र ६४ वर्ष औसत उमेरका साथ राष्ट्रको शासक वर्गलाई वर्णन गर्न प्रयोग गरिने शब्द ‘जेरोन्टोक्रेसी’ (बुढाबुढीहरूद्वारा शासित राजनीतिक प्रणाली)­ हो । अमेरिकी अनलाइन पब्लिकेसन टिन भोग्युले यस शब्दलाई ‘वृद्धद्वाराशासित सरकार’ भनेर परिभाषित ग¥यो । भ्याटिकन वा इरानमा अयातोल्लाहजस्ता धार्मिक नेतृत्वमा जेरोन्टोक्रेसीहरू बढी सामान्य छन् । शीतयुद्धको समयमा सोभियत पोलिटब्युरोजस्ता कम्युनिस्ट समितिहरूमा पनि जेरोन्टोक्रेसी सामान्य थियो । वास्तवमा लोकतन्त्रमा वृद्ध नेता कम हुन्छन् ।


 संसद्मा पनि वृद्धकै हालिमुहाली
बाइडेन र ट्रम्प मात्र देशका वृद्ध नेता होइनन् । संसद्मा पनि यस्तै हालत छ । डेमोक्य्राटतर्फ सिनेट नेता चक सुमर ७२ वर्ष र अल्पसंख्यक नेता मिच म्याकोनेल (रिपब्लिकन) ८१ पुगे । रिपब्लिकन सिनेटर चक ग्रास्ले हालै पुनः निर्वाचित भएका छन् । उनी ९० वर्ष पुगिसके । तर, रिटायर हुने कुनै योजना छैन । स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्स ८१ वर्षका भए । उनले पनि सेवानिवृत्तिबारे केही बताएका छैनन् ।


तल्लो सदनमा क्यालिफोर्नियाबाट डेमोक्य्राटतर्फ निर्वाचित तथा पूर्वसभामुख न्यान्सी पेलोसी पनि वृद्ध सांसदको सूचीमा पर्छिन् । ८३ वर्षीया पेलोसीले १९औँ पूर्ण कार्यकालका लागि पुनः चुनावमा उम्मेदवार हुन लागेको हालै घोषणा गरेकी छिन् । न्युजर्सीका डेमोक्य्राट बिल पास्क्रेल जुनियर र वासिंटन डिसीका ननभोटिङ प्रतिनिधिको रूपमा काम गर्ने डेमोक्य्राट एलेनोर होम्स नोर्टन दुवै ८६ वर्षका छन् । केन्टकीका रिपब्लिकन ह्यारोल्ड रोजर्स र क्यालिफोर्नियाका डेमोक्य्राट म्याक्सिन वाटर्स दुवै ८५ वर्षका छन् । म्यारिल्यान्ड डेमोक्र्याट स्टेनी होयर ८४औँ वसन्तमा टेक्दै छन् । नाम केलाउँदै जाने हो भने संसद्मा वृद्ध नेताको सूूची लामो छ । उनीहरूमध्ये कुनै पनि राजनीतिज्ञले अवकाश लिने छनक देखाएका छैनन् ।


अमेरिकाका महत्वपूर्ण सरकारी भवन रहेको क्यापिटल हिलमा केही वर्षपहिले एक स्थानीय फार्मासिस्टले संसद् सदस्यहरूका लागि अल्जाइमरको औषधिका लागि प्रिस्क्रिप्सन भरेको खुलासा गरेपछि त्यो विषय समाचारको शीर्षक बनेको थियो । संसद्मा २० जना पाका सदस्यमध्ये एकजना ८० वर्षका छन् र यो १७९८ पछिको तेस्रो सबैभन्दा वृद्ध सदन हो ।


 ढिलो विश्राम लिने कारण
सामान्यतया अधिकांश बेबी बुमर्स (दोस्रो विश्वयुद्धपछि जन्मेका व्यक्ति)ले सेवानिवृत्तिमा ढिलाइ गर्छन् किनभने तिनीहरू मुद्रास्फीति वा बचतको कमीका कारण काम रोक्न सक्दैनन् । तर, यी सबै राजनीतिक नेताको बैंकमा मनग्य पैसा छ । धेरै नेता त करोडपति छन् । सेवानिवृत्त भएमा तिनीहरूले उपचारका अतिरिक्त सरकारी निवृत्तिभरण र स्वास्थ्य सेवा सुविधाको आनन्द लिन पाउँछन् । त्यसैले तिनीहरूका लागि यो सम्भवतः आर्थिक पाटो होइन ।


नेताहरूले राजनीतिबाट विश्राम नलिने एउटा कारणमा अस्वीकारको सिद्धान्त पनि हुन सक्छ । आफ्नो मृत्युको सम्झना कसैलाई पनि मन पर्दैन । म ती मानिसलाई चिन्छु, जसले सेवानिवृत्तिलाई मृत्युसँग तुलना गर्छन् । उनीहरू सोच्छन् कि सेवानिवृत्त मृत्युसँग जोडिएको छ । यसले पूर्वसिनेटर डियान फाइनस्टिन र सर्वोच्च अदालतकी पूर्वन्यायाधीश रुथ बडर गिन्सबर्ग दुवैजना पदमा लामो समयसम्म रहनुको कारणलाई व्याख्या गर्न सक्छ । फाइनस्टिन (९० वर्ष) र गिन्सबर्ग (८७) मृत्युपर्यन्त पदमा रहे ।


केही नेताका लागि यो पहिचानसँग पनि जोडिएको छ । मैले देखेका धेरै वरिष्ठ नेताहरूले यति लामो समयसम्म कडा परिश्रम गरेका छन् कि उनीहरूको सम्पूर्ण पहिचान उनीहरूको काम (राजनीति)सँग जोडिएको छ । वर्षौंको कडा परिश्रमपछि बाँकी वर्षमा रमाइलो गर्ने उनीहरूको अन्य सोख नै छैन । अर्थात्, उनीहरूले लामो समय जुन काम गरे, वृद्धावस्थामा पनि त्यही कामबाहेक अरूमा रमाउन सकेनन् । राजनीति गरेकाले योबाहेक अन्य विकल्प देखेनन् ।


अर्को सिद्धान्त अहंकार पनि हो । केही सांसद सोच्छन् कि तिनीहरू देशका लागि अपरिहार्य छन् । उनीहरू मात्र त्यस्ता व्यक्ति हुन्, जसले सम्भवतः काम गर्न सक्छन् । राजनीतिक संसारमा उनीहरूको चासो प्रायः शक्तिका बारेमा पनि हुन्छ । उनीहरूले यसरी सोच्न सक्छन्– झन्डै विभाजित सदन वा सिनेटमा मैले किन निर्णायक मत नदिने ? म राष्ट्रपतिको हैसियतमा एयरफोर्स वनमा सयर गर्दै किन भाषण नदिने वा म प्रजातन्त्र बचाउँदै छु भनेर किन नभन्ने ?


 उमेर हद र मानसिक क्षमता
संघीय निर्वाचित कार्यालयका लागि उमेर हद तोक्न आह्वान गरिएको छ । आखिर संघीय कानुन प्रवर्तन अधिकारीहरूको ५७ वर्षमा अनिवार्य सेवानिवृत्ति छ । राष्ट्रिय निकुञ्ज रेन्जर पनि सोही उमेरमा सेवानिवृत्त हुने प्रावधान छ । तैपनि संसारको सबैभन्दा तनावपूर्ण कामको कुनै माथिल्लो उमेर सीमा छैन ।


अनिवार्य सेवानिवृत्तिलाई उमेरवादी र स्वेच्छाचारी हो भनेर सोच्नेहरूका लागि त्यहाँ अन्य विकल्प छन्, रिपब्लिकन उम्मेदवार निक्की हेली (अहिले चुनावी दौडबाट बाहिरिइन्) ले ७५ वर्षमाथिका निर्वाचित नेताहरूका लागि अनिवार्य मानसिक क्षमता परीक्षणको आह्वान गरिन्, यद्यपि उनी उत्तीर्ण हुनु पदका लागि आवश्यक योग्यता नहुने बताउँछिन् । सेप्टेम्बर २०२३ को सर्वेक्षणले देखाउँछ कि अमेरिकीहरूको ठूलो बहुमत दक्षता परीक्षणलाई समर्थन गर्छ । यस तरिकाले को तीक्ष्ण छन् र को छैनन् भने जनताले थाहा पाउनेछन् । यो मलाई राम्रो विचारजस्तो लाग्छ ।भर्जिनिया विश्वविद्यालयको राजनीति केन्द्रका निर्देशक तथा मेरा सहकर्मी प्राध्यापक ल्यारी सबाटो भन्छन्, ‘म ७० वर्षको भएँ । यसैले मलाई यी मानिसप्रति ठूलो सहानुभूति छ ।


(क्यारी युनिभर्सिटी अफ भर्जिनियाकी राजनीतिशास्त्रकी सहायक प्राध्यापक तथा थिंक अगेनकी निर्देशक हुन् । सन् १९८९ देखि १९९२ सम्म उनले ह्वाइटहाउमा राष्ट्रपति जर्ज एच डब्लु बुसको भाषण लेखेकी थिइन् । यो आलेख ‘द कन्भर्सेसन’बाट सुभाष शर्माले अनुवाद गरेका हुन् ।)