• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
मीनराज बसन्त
२०८० चैत १७ शनिबार ०९:०९:००
साहित्य

नेपाली नारी लेखन बौद्धिकता र प्रयोगको दुनियाँतर्फ उन्मुख छ

२०८० चैत १७ शनिबार ०९:०९:००
मीनराज बसन्त

१. एक संवादमा तपाईंले लेखनका लागि हर मूल्य चुकाउन तयार छु भन्नुभएको रहेछ । भन्दिनुहोस् न, कवितादेखि आख्यानसम्म आइपुग्दा के–कस्तो मूल्य चुकाउनुभयो ?


मान्नु नमान्नुस्, जीवनमा जे प्राप्त हुन्छ, यो वा त्यो रूपमा मान्छेले त्यसको मूल्य चुकाएकै हुन्छ । आफ्नो एउटा सपना पूरा गर्न अन्य दर्जनौँ सपनाको बलि चढाउन तयार हुनुपर्छ । आफ्नो एउटा सम्बन्ध जोगाउन अन्य केही सम्बन्धलाई खुम्च्याउन तयार हुनुपर्छ । आफ्नो एउटा रहर हुर्काउन अन्य कति–कति रहर मार्न वा कुल्चेर हिँड्न सक्नुपर्छ । यस्तोमा नेपालजस्तो देशमा एउटा पुरुषले लेखक भएर बाँच्छुभन्दा त उसले गर्ने संर्घष र चुकाउनुपर्ने मूल्यको फेहरिस्त लामो हुन्छ । महिला लेखकको सवालमा त झन् त्यो झनै धेरै र घनिभूत हुन्छ । सबै कुरा संक्षेपीकरण गर्न उचित र सम्भव हुँदैन । आफ्नो कथा सुनाउन आफू योग्य भए भन्ने लागेको दिन आफूले चुकाएका मूल्यबारे कुनै दिन आत्मकथामै लेखुँला नि !


२. तपाईंका समकालीन कवि, लेखक फेमिनिजमबारे लेखिरहेका छन्, बोलिरहेका छन् । अभियान र आन्दोलनमा पनि सक्रिय छन् । तर, त्यहाँ सरस्वती प्रतीक्षाको उपस्थिति देखिँदैन भनिन्छ । यसैलाई लिएर तपाईंलाई मध्यमार्गी या तटस्थ भएको आरोप लगाउँँछन् नि !


उमेर, अनुभव र अनुभूतिको यो खुड्किलोसम्म आइपुग्दा आफ्नो शक्ति र सीमालाई लिएर ममा कुनै खाले अन्योल बाँकी छैन । एक साहित्यकार हुनुको नाताले मैले गर्ने आन्दोलन भनेकै मेरा शब्द हुन्, मेरा किताब हुन् । कोही एकसाथ सडकमा पनि, पत्र–पत्रिकामा पनि, सामाजिक सञ्जालमा पनि अनि सिर्जनशील किताबमा पनि उत्तिकै मुखर र प्रखर साबित भइरहेको छ भने त्यो उक्त व्यक्तिको क्षमता होला । म एकपटकमा एउटा कुराभन्दा बढी गर्न नसक्ने सीमा भएको लेखक हुँ । साहित्यिक महोत्सव वा अन्य कार्यक्रमका लागि आउने निम्तामा त म १० प्रतिशत मात्र सरिक हुन्छु र ९० प्रतिशतमा सहभागिता जनाउँदिनँ । मलाई मेडिटेटिफ राइटिङ मनपर्छ र मेडिटेटिफ राइटिङका लागि एकान्त र एकाग्रता अनिवार्य सर्त हुन् ।

प्रतिभा र लेखनलाई नाप्ने इन्चिटेप मसँग छैन । भएको भए पुरुष लेखनभन्दा नारी लेखन यति इन्च अगाडि वा पछाडि भनिदिन्थेँ । लामो समयसम्म नारी लेखनलाई थाङ्ने, गनगन र कुण्ठाको अभिव्यक्ति मात्र हो भन्ने जुन ट्याग भिराइएको थियो, त्यो ट्याग अब हटिसकेको छ ।


अर्को कुरा, शब्दलाई प्रेम गर्ने लेखक भएको नाताले शब्दको मितव्ययितामा ध्यान दिनुपर्छ र शब्दहरूको फजुल खर्च गर्नुहुँदैन भन्नेमा म सचेत छु । मलाई जहिले पनि र जे कुरामा पनि बोलिहाल्नुपर्छ, लेखिहाल्नुपर्छ वा आफ्नो राय दिइहाल्नुपर्छ भन्ने लाग्दैन । हो, बोल्नलाई आँट चाहिन्छ, तर नबोले पनि हुने कुरामा नबोल्न झन् दोब्बर आँट चाहिन्छ । मौन बस्न सक्नु आफैँमा एक कला हो, अभ्यास हो र म हुँ मौनताको एक पुजारी !


संसारमा बहस फेमिनिजमको मात्र होइन, एन्टिफेमिनिजमलाई लिएर पनि भइरहेछ । विगतको नारीवाद श्वेत नारीवाद भयो भन्ने आलोचना गर्दै एलिस वाकरजस्ता महिला लेखकहरू फेमिनिजमको होइन, वुमनिजमको धारणा अगाडि सारिरहेछन् । धेरै पहिले नै एक आंशिक नारीवादीको वकपत्र लेखेर नारीवाद सम्बन्धमा मैले आफ्नो धारणा स्पष्टतः राखिसकेकी छु । त्यही कुरा बारबार दोहोर्‍याउनुमा कुनै तुक नै छैन । निर्मला पन्तको केसमा बोलेँ, कविता लेखेँ, पोखरामा सडकमै पनि ओर्लियौँ हामीहरू । तर, सधैँ सबै मुद्दामा सरस्वती प्रतीक्षा बोली मात्र रहने र सडकमै मात्र उत्रिरहने हो भने उसले चाहेजस्तो साधकको जीवन बाँच्न सम्भव नै छैन । साधनाका लागि दुनियाँदेखि अलग भएर एकान्तमा बस्नैपर्छ । जेमा पनि तुरुन्त प्रतिक्रिया दिइहाल्ने कि केही समय मौन बसेर परख गर्ने र बोल्नैपर्ने भए मात्र बोल्ने ? त्यो व्यक्तिको स्वभाव र रुचिमा भर पर्छ । म मेरो रुचि र स्वभावको जीवन बाँचिरहेछु र यसैमा खुसी छु ।


नेपाली महिला लेखकले इमानदारीका साथ आफ्नो कुरा भन्न वा लेख्न सुरु गरेको दिन धेरै घरका भित्ता चर्कनेछन् । धेरै घरका जग र छाना हल्लिन सुरु गर्नेछन् । समाजमा भयंकर उथलपुथल हुनेछ । 


३. प्रेमबारे तपाईंका अन्तर्वार्ता भनाइ र लेख वेलावेला आइरहन्छन् । प्रायः महिला कवि साहित्यकारलाई मात्रै किन प्रेम र यौनबारे चासोपूर्वक प्रश्न सोध्ने गरिएको होला ? 


अलि परकी माया एन्जेलोलाई हेरौँ न, जब उनले आई नो ह्वाई द केज्ड वर्ड सिङ्स निकालिन्, उनको कथा सुनेर सारा संसारले जिब्रो टोक्यो । हाम्रै छिमेकका कमला दासले माई स्टोरी लेखिन् । अमृता प्रितमले रसिदी टिकट लेखिन् । संसारका अन्य महिला लेखकहरूले आफ्नो प्रेम, यौन र सम्बन्धका बारेमा आँटपूर्वक लेखिरहँदा हामी अझै पनि प्रेमशब्द उच्चारण यसरी गर्छौँ, मानौँ वर्जित शब्द उच्चारण गरिरहेछौँ । साँच्चै भन्नुपर्दा नेपाली महिला लेखकले इमान्दारीका साथ आफ्नो कुरा भन्न वा लेख्न सुरु गरेको दिन धेरै घरका भित्ता चर्कनेछन् । धेरै घरका जग र छाना हल्लिन सुरु गर्नेछन् । समाजमा भयंकर उथलपुथल हुनेछ । फेरि पनि महिला कवि, साहित्यकारलाई मात्र प्रेम, यौनका प्रश्न चासोपूर्वक सोधिन्छ भन्ने मलाई लाग्दैन । बजारमा महिलाका भन्दा त पुरुष लेखककै प्रेम र यौनका कुरा बढी आइरहेको देखिन्छ । 


४. केन्द्रबाहिर बस्ने कतिपय लेखकले केन्द्र धाएर पुस्तक विमोचन गर्ने, अन्तत्र्रिmया गर्ने त्यसपछि मोफसल–केन्द्रको बहस आवश्यक छैन भन्ने गरेको सुनिन्छ । केही वर्षअघि तपाईंले पनि आफ्नो पुस्तक केन्द्रमै विमोचन गर्नुभयो । यो बाध्यता कि केन्द्रप्रतिको मोह ?


म सधैँ भन्छु, ‘काठमाडौं पहिला जंगलको बाघजस्तो थियो, अलिपछि चिडियाखानाको बाघजस्तो भयो र अहिले त कागजको बाघजस्तो भएको छ ।’ मेरो पहिलो किताब निस्किँदा कीर्तिपुरमा पढ्दै थिएँ । यसर्थ, काठमाडौंमै विमोचन भयो । त्यसपछिको किताब पोखराकै प्रकाशकले निकाले र यतै विमोचन भयो । त्यसपछिका दुइटा किताब काठमाडौंका प्रकाशकले निकाले र उतै विमोचन भयो । पोखरामा चाहिँ गृह विमोचन भयो । यो बाध्यता र केन्द्रप्रतिको मोह दुवै होइन, परिस्थितिजन्य कुरा मात्र हो । राजधानीले ल्याप्चे नलगाइदेसम्म लेखक बन्न सकिँदैन भनेर मेरा केही साथी काठमाडौंमै अलमल गरिरहेका वेला म साठीको दशकमै काठमाडौंमा पढाइ सकेर आफ्नो कर्मभूमि पोखरालाई बनाउँछु भनेर फर्केको मान्छे हुँ । यस्तोमा केन्द्रप्रतिको मोह ममा छैन । यसो भन्दैमा नानाभाँती भन्दै काठमाडौंलाई गाली गर्ने प्रवृत्ति पनि ममा छैन । आफू काठमाडौं नबसे पनि काठमाडौंको भाइब्स मलाई मन पर्छ । सायद यो केन्द्रप्रतिको सम्मान वा यस्तै केही हो । 


५. नेपाली कविता र आख्यानमा समकालीन नारी लेखन कहाँ हुनुपथ्र्यो, कहाँ देख्नुहुन्छ ?


प्रतिभा र लेखनलाई नाप्ने इन्चिटेप मसँग छैन । भएको भए पुरुष लेखनभन्दा नारी लेखन यति इन्च अगाडि वा पछाडि भनिदिन्थे । लामो समयसम्म नारी लेखनलाई थाङ्ने, गनगन र कुण्ठाको अभिव्यक्ति मात्र हो भन्ने जुन ट्याग भिराइएको थियो, त्यो ट्याग अब हटिसकेको छ । बौद्घिकता र प्रयोगको दुनियाँतर्फ नेपाली नारी लेखनउन्मुख छ । जंगलमा ठुल्ठूला रूख मात्र हुँदैनन्, झाडी र झारपात पनि हुन्छन् । यो कुरा प्रतिभाको सवालमा पनि लागू हुन्छ । नारी लेखनमा पनि यो खाले मिसमास आस्तित्विक परिदृश्य देख्न सकिन्छ । उतिवेला भर्जिनिया उल्फले भनेको ‘अ रुम अफ ओन्स ओन’ धेरैसँग नभएको अवस्थामा पनि गुणात्मक हिसाबले नारी लेखन अब्बल र हस्तक्षेपकारी छ ।