• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
डिल्लीराम मिश्र कलमजीवी
२०८० चैत १७ शनिबार ०९:१६:००
साहित्य

अभिलेखमा सरसफाइविद्का काम

२०८० चैत १७ शनिबार ०९:१६:००
डिल्लीराम मिश्र कलमजीवी

नेपाली वाङ्मयका शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले भनेका थिए, ‘सेवा नै धर्म हो, धर्म नै सेवा हो, कर्म नै महामानव हुने उपाय हो ।’ उनको यो उद्गारबाट हामी अधिकार मात्र खोज्नेहरूलाई आफ्नो कर्तव्य के हो ? भन्ने पनि बोध गराएको छ । मानिसहरू जन्मिएर प्रायः आफ्नै लागि बाँच्छन् । अरूका लागि केही गर्ने भावना सबैमा हुँदैन । समाज, राष्ट्र र प्राणी मात्रका लागि समर्पित भावले काम गर्ने मानिस बिरलै हुन्छन् र ती बिरलैमध्येका एक हुन्, नमस्तेलाल । 


सामाजिक अभियन्ता नमस्तेलालले जीवनमा धेरै उत्कृष्ट काम गरेका छन् । उनले विगत ५० वर्षदेखि आफ्नो कमाइको १५ देखि २० प्रतिशत खर्च सामाजिक सेवामा गरेका छन् । सेवा नै धर्म हो, धर्म नै कर्म हो भन्ने भावलाई उनले जीवनमा लागू गर्र्दै आएका छन् । उनले राष्ट्र र समाजको पक्षमा गरेका यावत कार्य अनुकरणीय मात्र होइन, उदाहरण्ाियसमेत छन् ।
नेपालको सरसफाइ क्षेत्रका अभियन्ता हुन्, नमस्तेलाल । उनी एकजना जागिरे मात्र होइनन्, मुलुकको सरसफारइ अभियानमा प्रतिबद्घ व्यक्ति पनि हुन् । उनको कर्मशील व्यक्तित्वकै कारण मुलुकलाई दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यमा सहयोग मिल्यो । विदेशी संस्थामा काम गर्ने अवसर प्राप्त गरेका नमस्तेलालले समय र कामको महŒवलाई अत्यन्त नजिकबाट आत्मसात् गरेका छन् । 


नेपाली भाषा, नेपाल भाषा र अंग्रेजी भाषामा गरी एकदर्जनभन्दा बढी पुस्तक लेखेका नमस्तेलालका बारेमा यसै वर्ष योगेशमान श्रेष्ठको सम्पादनमा ‘नमस्तेलाल देशभित्र देशबाहिर’ पुस्तक प्रकाशित भएको छ । यस पुस्तकको भाषा सम्पादन मेदनी भण्डारी र आवरण कला विश्व थापाले गरेका छन् । यस पुस्तकको प्रकाशक खोजी प्रकाशन गृह प्रालिले गरेको छ । नमस्तेलालका बारेमा खोज, अध्ययन र अनुसन्धान गरी लेखिएको यो पछिल्लो कृति हो । यस पुस्तकको भूमिका पत्रकार जगदीश खरेलले लेखेका छन् । पत्रकार खरेलको बुझाइमा नेपालमा सामाजिक विकासको पर्याय र सरसफाइ क्षेत्रका अनमोल रत्न हुन् नमस्तेलाल ।


सरसफाइविद् नमस्तेलालले गरेका समग्र सामाजिक सेवाबारे बन्दीपुरका वातावरणविद् सुदर्शन प्रधानको मूल्यांकन छ– यो महान् नगरी बन्दीपुरमा ढुंगाको छपनी बिछ्याउने र गाडी आवतजावत रोक्ने अभियानमा लामोसमयदेखि धेरैभन्दा धैरै व्यक्तिहरू, संघसंस्थाहरू एवं केही राजनीतिक दलहरूको पनि सहयोग सद्भाव र योगदान रहेको छ । सबैको अथक मिहिनेत र परिश्रमद्वारा यो कार्य सम्भव भएको हो, तर पछिल्लो समय सुझबुझका साथ योजना बनाउने नमस्तेलालको सक्रियता भने निर्विवाद रूपले विशिष्ट रहेको छ ।’ 


सरसफाइविद् नमस्तेलाल सन् १९८५ मा लुथरन विश्व सेवामा थिए । सन् १९९४ मा विश्वकैै पहिलो सरसफाइ नीति तयार गरी त्यसलाई कार्यान्वयनमा उनैले प्रवेश गराएका थिए । उनकै पहलमा पहिलो सरसफाइ नीति तयार गरी त्यसलाई कार्यान्वयनमा प्रवेश गराएका थिए भने सन् २०१९ मा नेपाललाई दिशामुक्त क्षेत्र घोषणा गर्नमा उनको बेजोड भूमिका थियो । ‘नमस्तेलाल देशभित्र देशबाहिर’ पुस्तकमा विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा छापिएका सामग्री संकलन गरिएका छन् । यीमध्ये उनले सन् १९९५ मा स्विडेनको वल्र्डवर्ग टेलिभिजनमा दिएको अन्तर्वार्तालाई कर्मको कदर भनेका छन् । विकासप्रेमी व्यक्तित्व नमस्तेलालको उद्देश्य र कामप्रतिको समर्पणभावलाई समस्त नेपालीले गौरव गर्नुपर्छ ।