००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न थियो । २०२८ मा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरूको सक्रियतामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताको प्रयास गरेका थिए । न्युक्लियसले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग पनि वार्ता गरेको थियो । तर, सहमति जुट्न सकेन । कम्युनिस्ट आन्दोलन थप चिरा पर्यो । त्यही वेला पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णय ग¥यो ।
२१ फागुन २०२९ मा इलामको सुखानीको जंगलमा रामनाथ दाहालसहित पाँचजना क्रान्तिकारीको हत्या भएपछि झापामा कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुनपुग्यो । झापाका तत्कालीन सचिव केपी ओली भूमिगत हुँदै विराटनगर पुगे । त्यतिवेला माधवकुमार नेपाल मोरङ जिल्ला कमिटीमा थिए । नेपाल बैंकमा जागिरेसमेत रहेका नेपालले ओलीलाई सेल्टर दिएका थिए । ओली र नेपालबीच पहिलो भेट भएको त्यहीँ हो । ‘उहाँहरूको पहिलो भेट विराटनगरमा भएको हो,’ दुवै नेतासँग सहकार्य गरेका एमाले नेता मुकुन्द न्यौपाने स्मरण गर्छन्,‘झापामा आन्दोलन छिन्नभिन्न भएपछि मोहनचन्द्र अधिकारीलाई खोज्दै केपी मोरङ आउनुभएको थियो, त्यसक्रममा ओली र नेपालको भेट भएको हो ।’
चैत पहिलो साता काभ्रेमा आयोजित एकीकृत समाजवादीको जिल्ला अधिवेशनमा नेपालले ओलीसँगको सम्बन्ध स्मरण गरे । उनले भने,‘ओलीसँगको सम्बन्ध हिजोआजको होइन । ५० वर्ष पुरानो सम्बन्ध हो ।’
राजनीतिक पृष्ठभूमि
ओली २००८ फागुन ११ मा तेह्रथुममा जन्मिए । उनीभन्दा एक वर्ष १२ दिन कान्छा नेपाल रौतहटको गौरमा २००९ फागुन २३ मा जन्मिए । नेपालले प्रवेशिकासम्मको शिक्षा सहज ढंगले स्थानीय जुद्धोदय हाई स्कुलबाट लिए । बाल्यकालमै आमा गुमाएका ओलीको परिवार झापा झर्यो । चारपानेस्थित रामनाथ दाहालको घरमा बसेर गरिबी र अभावसँग जुध्दै ओलीले प्रवेशिकासम्मको अध्ययन गरे । मार्क्सवादी चेतका दाहालसँगको संंगतबाट २०२३ सालमै ओली माक्र्सवादी अध्ययन दलमा आबद्ध भई विद्यार्थी आन्दोलनमा होमिएका थिए ।
केपी ओलीले संसद् विघटन गरेपछि माधव नेपालले भनेका थिए, ‘ओलीलाई कम्युनिस्ट पार्टीको कुनै माया छैन । बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो ।’ जवाफमा ओलीले भनेका थिए, ‘नेपाल प्रचण्डको एक मामुली कार्यकर्ता हुन् ।’ तर, अहिले परिस्थिति फेरिएको छ ।
मार्क्सवादी आन्दोलनमा झुकाव राख्ने नेपाल २०२२ तिरै वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा आइकम अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा संगठित भए । स्थान फरक भए पनि दुवै नेता एउटै समयतिर कम्युनिस्ट आन्दोलनमा होमिए । राजनीतिक गुरु रामनाथकै पहलकदमीमा ओलीले पूर्वी कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीबाट र नेपालले नेकपा पुष्पलाल समूहबाट ०२६ सालमा पार्टी सदस्यता लिए । नेपाल ०२८ मा नेकपा क्रान्तिकारी संगठन मोरङको सदस्य भए । ०३२ मा कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँदै ०३२ मा दुई वर्ष राजकाज मुद्दामा कारावास जीवन व्यतीत गरे । उनी ०३५ मा मालेको संस्थापक पोलिटब्युरो सदस्य बने ।
ओली भने, ०२८ सालमै वर्गशत्रु खत्तम आन्दोलन चलाएर ०३० साउनमा जेल परिसकेका थिए । भारतबाट फर्किने क्रममा वीरगन्जमा मुकुन्द न्यौपानेलाई भेटेर फर्किँदै गर्दा ओली र मोहनचन्द्र अधिकारी रौतहटबाट पक्राउ परे । ओलीले १४ वर्षसम्म कष्टपूर्ण जेलजीवन बिताए ।
पानी बाराबारको अवस्था
नयाँ समीकरण बनेपछि ओली–नेपाल आरोप–प्रत्यारोपको शृंखला बन्द भएको छ । जब कि, त्यसअघि ओली–नेपालले एक–अर्कालाई उछित्तो नकाढेको कुनै भाषण थिएन । जब कि, एक दशकदेखि उनीहरूबीचको सम्बन्ध कटुतापूर्ण छ । दोस्रो संविधानसभा निर्वाचनपछि तत्कालीन अध्यक्ष झलनाथ खनाल– वरिष्ठ नेता नेपाल नजिकिँदा प्रभावशाली नेता ओली र उपाध्यक्ष वामदेव गौतम अर्को कित्तामा उभिए । नेपालको दह्रो समर्थनको बाबजुद खनाल दलको नेतामा पराजित भए । लगत्तै नवौँ महाधिवेशनमा नेपाललाई ५५ मतले पराजित गर्दै ओली पार्टी सत्ताको बागडोर सम्हाल्न पुगे । त्यसपछि एमालेभित्र शक्तिसन्तुलन बदलियो । ओली गुटबाट पार्टी नेतृत्वमा पुगे भने नेपाल उनकै शैली पछ्याउँदै गुट बलियो बनाउनतिर लागे । त्यसयता ओली–नेपाल सम्बन्ध सुमधुर बन्न सकेको छैन ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भयो । एमाले र माओवादीबीच ६०–४० को भागबन्डा हुँदा नेपाल पक्ष ओझेलमा प¥यो । आफ्नो पकड क्षेत्र रोजेर ओलीले माओवादीका लागि सिट छुट्याएको नेपालको आरोप छ । उम्मेदवारी दर्ता गर्न पुगेका कतिपय नेताको मनोनयन ओलीले केन्द्रबाटै फिर्ता लिइदिए । ओलीको उक्त कदमप्रति नेपालले त्यतिवेलै सार्वजनिक मञ्चबाट असन्तुष्टि जनाएका थिए । ३ जेठ २०७४ मा एमाले र माओवादी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । दुई अध्यक्षपछिको वरिष्ठ नेताको वरीयतामा कहिले तेस्रो त कहिले चौथो बनाएर झेल गरियो भन्दै नेपाल ओलीसँग थप रुष्ट बन्दै गए ।
नयाँ समीकरणमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउन ओली तयार भए । तर, नेपालले सहजै मानेनन् । ओली र प्रचण्डले थुप्रै पापड पेल्नुपर्यो । तीन नेताबीच टेलिफोनवार्तादेखि प्रत्यक्ष भेटघाटसम्मको शृंखला चल्यो ।
नेकपा कालमा पनि ओली–नेपाल सम्बन्धमा सुधार आएन । ओलीले नेकपाकालमा ‘एकताको महाधिवेशनपछि तपाईं नै अध्यक्ष हुनुहोस्, मेरो साथ रहन्छ । तपाईंका मान्छेको नाम दिनुहोस्, कसलाई कहाँ राख्नुपर्ने हो, सहकार्य गरौँ भन्ने प्रस्ताव नगरेका होइनन् । तर, नेपालले ओलीको विश्वसनीयतामाथि प्रश्न उठाएर अर्का अध्यक्ष प्रचण्डसँग नजिकिए । ओलीले नेपाललाई विधानमै नभएको तेस्रो अध्यक्षको प्रस्ताव पनि गरे । तर, पनि कुरा मिलेन । ओली र प्रचण्ड–नेपाल समूह समानान्तर गतिविधिदेखि एकले अर्कालाई कारबाहीसम्मको प्रतिस्पर्धा चल्यो ।
५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि प्रतिगमनको संज्ञा दिँदै त्यसविरुद्ध नेपाल सडक आन्दोलन गर्न पुगे । ‘हामी यहाँ छौँ’ भन्दै माइतिघर मण्डलामा धर्ना दिए । प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट कारबाही गर्दै ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनायो । ओलीले पनि कारबाहीको डन्डा चलाए । नेकपाकालमा दाहाल–नेपाल समूहका अध्यक्ष नेपालले २०७७ फागुनमा शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म अर्को लडाइँ हामी जित्दैनौँ । ओलीलाई कम्युनिस्ट पार्टीको कुनै माया छैन । ओली भनेको मदन भण्डारी फाउन्डेसन गुटको नेता हो । बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो ।
ओलीमा रहेको एकाधिकारवादी प्रवृत्ति, निरंकुश प्रवृत्ति, व्यक्तिवाद, बहुमतको निर्णय नमान्ने, बैठक बोलाउनै नचाहने, बैठकमा उपस्थित नै नहुने । ओली एमाले नै होइनन्, बिमाले, सीमाले हुन् । नेपाली संस्कार विनम्रताको संस्कार हो, केपी ओलीको जस्तो संस्कार होइन । जसलाई पनि मानमर्दन गर्ने, अरूको मानहानी गर्नेहरूलाई होच्याउने । ओली प्रवृत्ति हिटलरी हो ।’ जवाफमा ओलीले भनेका थिए, ‘नेपाल प्रचण्डको एक मामुली कार्यकर्ता हुन् ।’ अदालतले ओलीको कदमलाई असंवैधानिक ठहर ग¥यो ।
५ पुस २०७७ मा संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तरविरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली–नेपालबीच ९ वैशाख ०७८ मा मेरियट होटेलमा अन्तिम औपचारिक भेटवार्ता भयो । तर, उक्त प्रयास सफल भएन । वार्ताका लागि ओलीले नेपाललाई मेरियट होटेलमा बोलाए पनि वार्ता गर्नुको साटो ओलीले नेपाललाई मेरियटको माथिल्लो तल्लाबाट काठमाडौंको दृश्यावलोकन गर्न आग्रह गरेका थिए । त्यस क्षणमा नेपालले आफ्नो अपमान ठाने पनि ओलीको स्वभाव बुझेर नेपाल आफू बसेको सोफाबाट उठेर ओलीसँगै दृश्यावलोकन गरेको निकटस्थहरूलाई बताएका थिए ।
सर्वोच्च अदालतको फैसलाबाट २९ असार ०७८ मा शेरबहादुर देउवा प्रधानमन्त्री बने । दल विभाजनसम्बन्धी अध्यादेशसँगै ९ भदौ ०७८ मा पुग्दा एमाले विभाजित बन्यो । दुवै नेताबीच आपसी तिक्तता चुलियो, सार्वजनिक मञ्चमा दुवै गालीगलोजमा उत्रिए ।
ओलीले ‘माधव नेपालको नाम लिए मुख कुल्ला गर्नुपर्ने’सम्म बताए भने नेपालले ओली राजावादी कित्तामा पुगेको भन्दै ‘बयलगाडा’सम्मको विषय उठाए । केन्द्रीय कमिटी बैठकमा नेपालले भनेका थिए, ‘नेपालमा राजतन्त्र ढल्नु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेको तपाईं हामीले सुनेको होइन । त्यस्तो व्यक्तिले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सक्छ ?’ ०७८ भदौमा एमाले रुपन्देहीको जिल्ला भेलालाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘माधव नेपाल कमरेड होइनन्, एमालेविरोधी, जनविरोधी अपराधी हुन् । माधव नेपाल झिँगा र एमाले मौरी हो । मौरीको साथ लगाएर जाँदा बगैँचामा पुगिन्छ, झिँगाको साथ लाग्दा फोहोरको डंगुरमा पुगिन्छ ।’
सम्बन्ध सुधारको प्रयास
पार्टी विभाजनको १० महिनापछि पानी बाराबारकै बीचमा ओली–नेपालबीच २४ चैत २०७८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जम्काभेट भयो । ओली सिमरा हुँदै वीरगन्जमा पार्टी कार्यक्रममा जाँदै थिए भने नेपाल भैरहवा हुँदै कपिलवस्तुमा समाजवादीको पार्टी कार्यक्रममा जाँदै थिए । टर्मिनलस्थित भिआइपी कक्षमा ओली बसिरहेकै वेला नेपाल पुग्दा दुवैले एक–अर्कालाई देखेर असहज महसुस गरेका थिए । आमनेसामने बनेका उनीहरूबीच हेराहेर भए पनि शिष्टाचारका लागि दुवैले नमस्कारसमेत गरेनन् । केहीबेरको हेराहेरपछि नेपालले मौनता तोड्दै ‘के छ खबर ?’ भनी ओलीलाई सोधेका थिए । जवाफमा ओलीले ‘ठीकै छ’, मात्रै भनेका थिए ।
त्यसपछि दोस्रो जम्काभेट २४ मंसिर २०७८ मा नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रमा भृकुटीमण्डपमा भयो । दुवै नेता आमनेसामने त भए, तर बोलचाल गरेनन् । गत निर्वाचनमा एकले अर्कालाई सक्दो गाली गरे । तर, निर्वाचनपछि गठबन्धन फेरियो । एमाले–माओवादी समीकरणबाट प्रचण्ड प्रधानमन्त्री बने । ओलीकै कारण एकीकृत समाजवादी सत्ताबाहिर बस्यो । उक्त गठबन्धन केही समयमै भत्कियो । राष्ट्रपति निर्वाचनमा एमालेले औपचारिक रूपमा एकीकृत समाजवादीलाई पार्टीको मान्यता थियो ।
राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउन वा एमालेको समर्थनमा राष्ट्रपति बन्न आग्रह गर्दै आफू कोर्स करेक्सनका लागि तयार रहेको नेपालाई सन्देश पठाए । तर, नेपालले ओलीलाई विश्वास गरेनन् । एमालेपंक्ति भने त्यतिवेला नेपालले कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउने एउटा ठूलो अवसर नेपालले गुमाएको चर्चा गर्ने गर्छन् । १५ महिनाको बीचमा सत्ता समीकरण तीनपटक फेरियो । यसपटक पनि नयाँ समीकरण बनेको नेपालले पत्तै पाएनन् । तर, यहाँसम्म आइपुग्दा ओली निकै नरम भइसकेका थिए । नयाँ समीकरणमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउन ओली तयार भए । तर, नेपालले सहजै मानेनन् । ओली र प्रचण्डले थुप्रै पापड पेल्नुपर्यो । तीन नेताबीच टेलिफोनवार्तादेखि प्रत्यक्ष भेटघाटसम्मको शृंखला चल्यो । ओली र नेपालबीच मात्रै पनि छलफल भयो । नेपाल र ओली आरोप–प्रत्यारोप त्यागेर सम्बन्ध सुधारको बाटोमा छन् ।
‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्’ भन्ने उक्तिलाई दुई नेताले चरितार्थ गर्दै छन् । गत फागुन अन्तिम साता अनेमसंघ समाजवादीले गरेको कार्यक्रममा नेपालले त्यही शब्द भने, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ उनले ओलीले सम्बन्ध सुधार्न चाहे पनि आफूले व्यवहारमा हेर्न चाहेको बताए । ओली निकै लचक बनेका छन् । यसबीचमा नेपाललाई भेट्न ओली आफैँ नेपालनिवास कोटेश्वर मात्रै पुगेनन्, पटक–पटक टेलिफोन वार्ता र भेट पनि गरे । राष्ट्रिय सभा उपाध्यक्षमा नेपालले एकीकृत समाजवादीको दाबी गरेपछि सहमतिको बुँदाबाट उपाध्यक्षको विषय नै हटाउनसमेत ओली तयार भए । जब कि, राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति त्यसअघि चार दलले गरेका थिए । कतिपयले पछिल्लो गतिविधिलाई पूर्वएमाले एकताको रूपमा लिएका छन् । तर, दुवै पार्टीका नेताहरू एकताको विषयमा भने प्रवेश नगरेको, तर सम्बन्ध सुधारको बाटोमा रहेको बताउँछन् ।
एमाले उपमहासचिव विष्णु रिमाल एउटै गठबन्धनमा भएपछि कार्यगत एकता भएको र तिक्तता नबढाउने पक्षमा एमाले रहेको बताउँछन् । रिमाल भन्छन्, ‘तिक्तता नबढाउने भन्ने हो । सुरुमा हामीले दलको मान्यता पनि दिएका थिएनौँ । जनमत पाइसकेपछि हामीले दल स्वीकार गर्यौँ । राष्ट्रपति निर्वाचनमा कि हामीलाई मत दिनुस् कि हाम्रो समर्थनमा राष्ट्रपति बन्नुस् भनेर सम्बन्ध सुधारको प्रयास गरेकै हो । तर, त्यो सफल भएन । अहिले हामी एउटै गठबन्धनमा छौँ, त्यसकारण सहकार्यमा छौँ । पार्टी एकताकै विषयमा भने कुरा अघि बढेको छैन ।’
एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ ओली–नेपाल सम्बन्ध सकारात्मक दिशामा अगाडि बढेको बताउँछन् । श्रेष्ठ भन्छन्,‘दुई नेताबीच पानी बाराबारको अवस्था थियो । विगतमा विचार र नेतृत्वमा समस्या भयो । अहिले सम्बन्ध सुधारको दिशामा अगाडि बढ्यो । मुलुकको राजनीति नयाँ कोर्समा अगाडि बढेसँगै ओली–नेपालको सम्बन्ध पनि सकारात्मक दिशामा अगाडि बढ्यो ।’
संकटका सारथि
नेपाल र ओली संकटका सारथि हुन् । चितवनको दासढुंगामा रहस्यमयी जिप दुर्घटनामा जननेता मदन भण्डारीको निधनपछि ओलीकै प्रस्तावमा नेपाल महासचिव बने । नेपालले पनि ओलीलाई सचिव बनाउन चाहेका थिए । तर, ओलीले नभएको पद खडा गरेर सचिव बन्न रुचि देखाएनन् ।
२०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो । चुनावी कमान्ड कार्यकारी महासचिव नेपालले नै हाँकेका थिए । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । त्यो सरकारमा नेपाल दोस्रो वरीयतामा उपप्रधानमन्त्री, रक्षा तथा परराष्ट्रमन्त्री बने भने ओली तेस्रो वरीयताको गृहमन्त्री ।
एमालेको नौमहिने सरकार ढल्यो । नेपाल पूर्ववत् महासचिवको जिम्मेवारीमा फर्किए । सरकारमा जाँदा नेपालले उपमहासचिव बनाएर वामदेव गौतमलाई पार्टी सञ्चालनको जिम्मा दिएका थिए । नेपाल पार्टी काममा फर्किएपछि ओलीकै जोडमा गौतमलाई हटाएर उपमहासचिव पद नै खारेज गरियो । त्यसबाट अपमानित महसुस गरेका गौतमले २०५३ फागुनमा नेपाललाई महासचिवबाट हटाउन हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । नेपाललाई हटाउन नहुने पक्षमा ओली दृढतापूर्वक उभिए ।
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन सुरु गरेपछि नेपाल तीन महिनासम्म घरमै नजरबन्दमा परे । पछि उनलाई ककनी हिरासतमा राखियो । ओलीलाई भने निवासमा तीन दिनको नजरबन्दपछि मुक्त गरिएको थियो । त्यतिवेला ओलीनिकट नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाललगायत नेपाललाई हटाएर खनाललाई महासचिव बनाउनुपर्ने प्रस्ताव लिएर ओलीनिवास पुगेका थिए । त्यतिवेला पनि ओली नेपालकै पक्षमा उभिए । २०६७ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हटिसकेपछि नेपाललाई प्रधानमन्त्री बनाउन र सरकारलाई बचाउन अन्तिम घडीसम्म ओली रक्षाकवचको रूपमा उभिए ।
नेपालले पनि ओलीलाई गुण तिरेका छन् । ०६२/०६३ को जनआन्दोलनमा ओलीको भूमिका थिएन । ०५९ असोज १८ को शाही कदम र पछिल्लो १९ माघको निरंकुश कदमको विरोधमा ओली सडक आन्दोलनमा थिएनन् । तर, जनआन्दोलनको सफलतापछि बनेको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने गरी ओलीलाई सरकारमा पठाइयो । जब कि, २०६३ वैशाख १५ को स्थायी समिति बैठकमा अधिकांश नेताले ओलीलाई सरकारमा पठाउन नहुने मत राखेका थिए । अन्ततः ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नियुक्त भए ।
दाउपेचको राजनीति
ओली–नेपाल बीचको सहकार्य र संघर्षको खास राजनीति ०५४ बाट सुरु भयो । एमालेको छैटौँ महाधिवेशनमा कार्यनीतिक दस्तावेज पेस गर्ने गरी ओलीलाई नेपालले पार्टीमा तेस्रो वरीयता दिलाए । ओलीलाई आफूभन्दा माथि राखेपछि रिसाएका गौतमले महाधिवेशनमा फरक दस्तावेज नै पेस गरे । पार्टी विभाजनसमेत भयो । जतिवेला मनमोहन अधिकारी अध्यक्ष र नेपाल महासचिव थिए । नेपाल पार्टीलाई मिलाएरै जानुपर्ने पक्षमा देखिए पनि ओलीको अडानका सामु उनको केही चलेन ।
गौतमले १४ जनाको नाम केन्द्रीय सदस्यमा प्रताव गरे पनि ओलीको अडानका कारण मनोनीत भएनन् । गौतम–सिपी मैनालीहरूले एमाले विभाजन गरेर माले बनाएपछि ओली प्रमुख नेताकै दाबेदार बने । गौतम एमालेमा फर्किएपछि ओलीले २०५९ को सातौँ महाधिवेशनमा महासचिव पदमै दाबी गरे । अन्तिम समयमा उम्मेदवारी नदिए पनि ओलीले केन्द्रीय सदस्यमा पराजित भएकाहरूलाई मनोनीत नगरे पार्टी विभाजनकै चेतावनी दिएको नेपाल पक्षका एक नेताले बताउँछन् ।
२०६५ को आठौँ महाधिवेशनमा एमाले कार्यकारी अध्यक्षसहित बहुपदीयमा गयो । विगतमा महासचिव मात्रै बनेको भन्दै नेपालले अध्यक्ष बन्ने चाहना राखे । उनले सहमतिमा अध्यक्ष बन्ने कोसिस गरेका थिए । नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने माग गर्दै महाधिवेशनस्थल बुटवलमा केही नेता अनशनमा समेत बसेका थिए । ओली र खनाल प्रतिस्पर्धीको रूपमा निकै अघि बढिसकेकाले नेपालको चाहना पूरा भएन । ओलीलाई पराजित गर्दै खनाल अध्यक्ष निर्वाचित भए । नेपाल मौन बस्दा नेताहरू खनाल र ओली पक्षमा विभाजित भएका थिए । त्यसप्रति ओलीको गुनासो थियो । तर, अवस्था लामो समयसम्म रहेन । ओलीलाई तेस्रो वरीयता दिलाउन नेपालले भूमिका खेले । ओलीले पनि नेपाललाई प्रधानमन्त्री बन्न साथ दिए ।
स्वभाव र कार्यशैलीमा भिन्नता
ओलीले १४ वर्ष जेलभित्रै अध्ययन गरे । नेपाल भने दुई वर्षमा जेलबाट छुटेपछि कोअर्डिनेसन केन्द्र र नेकपा मालेको संस्थापक बनेर संगठन निर्माणमा सक्रिय रहे । नेपाल सुरुदेखि नै पार्टीमा कुसल व्यवस्थापकका रूपमा चिनिए । वैचारिक द्वन्द्व हु“दा सकभर पार्टीलाई एक ढिक्का बनाएर लैजाने पक्षमा नेपाल उभिन्थे । २०३७ सालसम्म नेपाल तत्कालीन माले महासचिव सिपी मैनालीस“ग नजिक थिए । वैचारिक द्वन्द्व सुरु भएपछि सिपीस“ग उनको दूरी बढ्यो ।
मालेभित्र वैचारिक बहस तीव्र बन्दै गयो । मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम अघि सारेर त्यसका पक्षमा पार्टीभित्र नेताहरूलाई ‘कन्भिन्स’ गर्ने प्रयास थाले । पाचौँ महाधिवेशनसम्म पुग्दा झलनाथ खनाल सुधारिएको नौलो जनवादको पक्षमा उभिए । त्यसवेला नेपाल र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित भने खनालले अघि सारेका कतिपय कुरा पनि समेटेर अघि बढ्नुपर्ने, पार्टीलाई एक ढिक्का बनाउनुपर्ने ‘मध्यमार्गी’ धारमा उभिँदै एकताका निम्ति प्रयत्न गरे । तर, खनाल ‘कन्भिन्स’ नभएपछि अन्तिमतिर नेपाल जबजकै पक्षमा उभिए । पार्टीभित्र मात्रै होइन, नेपालको समन्वयकारी र व्यवस्थापकीय क्षमताबारे नेपाली राजनीतिमा सधैँ चर्चा हुने गरे पनि पार्टी विभाजनपछि भने नेपालको त्यस्तो व्यक्तित्वमाथि एमालेपंक्तिले प्रश्न उठाउँदै आएको छ । संस्थापक नेताको हैसियतमा मात्र होइन, सन्तुलनकारी र समन्वयकारी नेताका रूपमा विभाजन रोक्न नसकेको नेपालमाथि आरोप छ ।
विगत २५ वर्ष ओलीसँग र पछिल्लो पाँच वर्ष नेपालसँग नजिकबाट संगत गरेका पत्रकार तथा सम्पादक शम्भु श्रेष्ठ दुई नेताबीच स्वभावगत रूपमा धेरै भिन्नता रहेको बताउँछन् । उनी सम्झन्छन्, ‘नेपालको स्वभाव नै गम्भीर, अनुशासनमा कडा, समन्वयकारी भूमिका खेल्न सक्ने, ठीक समयमा ठीक निर्णय लिन नसक्ने, तर कार्यकर्ताको कुरा सुन्ने नेपालको स्वभाव छ । ओलीको स्वभाव भने, जे कुरालाई पनि हल्का रूपमा लिने, हाँस्ने, जोक गर्ने, कार्यकर्ताको कुरा हावामा उडाउने तर कार्यान्वयन गर्ने, कार्यकर्ताको संरक्षण गर्ने, विरोधीहरूसँग बदला लिने ।’
राजनीतिमा नैतिकताको खडेरी परेको वेला नेपालले ०६४ सालको निर्वाचनमा एमालेले धेरै सिट गुमाएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए । ओली ‘जनयुद्ध’प्रति आक्रामक थिए भने नेपाल माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्रयासरत थिए । मदनले नेपाललाई बढी विश्वास गर्थे । ‘नेपाल मदनको सेकेन्ड म्यानको रूपमा पार्टीका हुँदा ओलीको कतै चर्चा हुँदैनथ्यो । नेपाल र भण्डारी सँगसँगै हुँदा ओली कहाँ छन् भन्ने थाहा हुँदैनथ्यो । पार्टीको काममा नेपाल लाग्दा ओली गुटबन्दीमा लागेकै कारण विगतमा पछि परेको श्रेष्ठ स्मरण गर्छन् ।
तत्कालीन अध्यक्ष झलनाथ खनाललाई राष्ट्रपतिको आश्वासन र उपाध्यक्ष गौतमलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको आश्वासन दिएर नवौँ महाधिवेशनमा झिनो मतले एमालेको अध्यक्ष बन्न ओली सफल भएको श्रेष्ठको दाबी छ । तर, अध्यक्ष भएपछि दुवै नेतालाई ओलीले धोका दिएको उनी बताउँछन् । ओलीले नेपाललाई स्वीकार गरिनसकेको श्रेष्ठ दाबी गर्छन् । उनी भन्छन्, ‘ओली नेपाललाई सिध्याउनमै केन्द्रित छन् । तर, नेपालले त्यो कुरा बुझेकै छैनन् । नेपालले ओलीलाई ‘पर्ख र हेर’को नीति लिएका छन् । ओलीले नेपाललाई प्रधानमन्त्री बनाउँदैनन् ।’ नेपालले पनि ओलीलाई विश्वास गरेका छैनन् ।’