• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
नयाँ पत्रिका
२०८० चैत १७ शनिबार १०:३७:००
साहित्य

राजनीतिशास्त्री कृष्ण हाछेथुलाई मन परेका दश पुस्तक

२०८० चैत १७ शनिबार १०:३७:००
नयाँ पत्रिका

राजनीतिशास्त्रभित्र पनि विविध आयाम छन् । विश्वविद्यालयमा राजनीतिक दर्शन, आधुनिक राजनीतिक सिद्धान्त, प्रशासन, अन्तर्राष्ट्रिय कानुनलगायत विभिन्न आयाममा पढाइ हुन्छ । मेरो विशेष रुचि नेपाली राजनीति र कम्पेरेटिभ पोलिटिक्समा छ । तर, राजनीतिशास्त्रका विद्यार्थी तथा राजनीतिमा रुचि राख्नेहरूले पाठ्यक्रममा समावेश पुस्तक मात्रै पढेर पुग्दैन । आफ्ना ज्ञानको दायरालाई फराकिलो पार्न अन्य पुस्तक तथा सन्दर्भ सामग्री पनि पढ्नुपर्ने हुन्छ । राजनीतिमा रुचि राख्नेहरूका लागि उपयोगी केही पुस्तक यस्ता छन् । 

 

मल्टिकल्चरल ओडेस्सेज
विल क्यामेलिकाले उदार बहुसांस्कृतिकवादका पक्षमा धेरै बहस गरेका छन् । १७औँ शताब्दीयता युरोप र अमेरिकामा नेसन स्टेटको भाष्य निर्माण भयो । यो भाष्य वेस्टफालिया सन्धिबाट सुरु भयो । एउटा जातिको एउटा राज्य भन्ने भाष्य बन्यो । 


विश्वयुद्धअघि त ४५–५० वटा मुलुक थिए । अहिले दुई सयजति राज्य बने । तसर्थ, अहिलेको सामाजिक विविधता र राजनीतिलाई सम्बोधन गर्न यसलाई बहुसांस्कृतिकवादको आँखाबाट हेर्नुपर्छ भन्ने क्यामेलिकाको तर्क छ । समाज जस्तो छ, राजनीतिक संरचना पनि त्यहीअनुरूपको भयो भने त्यहाँ लोकतन्त्र, समानता, न्याय सँगसँगै जान्छ भन्ने तर्क यस पुस्तकमा क्यामेलिकाले गरेका छन् । 

डेमोक्रेसी इन प्लुरल सोसाइटिज
परम्परागत लिबरल प्रजातन्त्रिक अवधारणाले जसले चुनावमा बहुमत ल्याउँछ, त्यसैले शासन गर्ने भन्छ । जातीय, धार्मिक, सैद्धान्तिक, सांस्कृतिक विविधता भएको देशमा यस अवधारणाअनुसार स्थिर प्रजातान्त्रिक सरकार बनाउन र कायम राख्न मुस्किल पर्ने गरेको देखिन्छ । 

 

लेखक अरेन्ड लिजफार्टले यस पुस्तकमा परम्परागत पद्धतिभन्दा फरक सहमतीय राजनीतिक पद्धतिमा जोड दिएका छन् । अल्पसंख्यकलाई पनि राज्यको शक्ति संरचना र त्यसको प्रयोगमा सहभागी गराउनुपर्छ भन्ने उनको तर्क छ । उनले यसले मात्रै समाजको विविधता राजनीतिक संरचनामा रूपान्तरण हुन्छ भनेका छन् । 

 

इलेक्टोरल इन्जिनियरिङ
पिपा नोरिसको यो पुस्तकले निर्वाचनले नै राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने भएकाले विविधता भएका देशमा समानुपातिक निर्वाचन प्रणाली राम्रो हुने तर्क गर्छ । विश्वका २६ वटा देशको तुलनात्मक अध्ययनपछि भनिएको छ, ‘जुन ठाउँमा जातीय विविधता छ, त्यहाँ समानुपातिक निर्वाचन पद्धतिमार्फत समाजका बहुसंख्यक, प्रभुत्वशाली, अल्पसंख्यक, बहिष्करणमा परेकालगायत सबैलाई राजनीतिमा अटाउन सकिन्छ ।’ 

 

क्राफ्टिङ स्टेट नेसन्स 
यो प्रतिवेदन अल्फर्ड स्टेपेन, जुआन जे लिन्ज र योगेन्द्र यादवले मिलेर तयार गरेका हुन् । यस पुस्तकले सामाजिक विविधता भएका देशमा ‘नेसन–स्टेट’ अवधारणा नै सुहाउँदैन भन्छ । यो अवधारणाअनुसार नागरिकको एउटा समुदायले आफैँलाई राष्ट्र पहिचान गरेको हुन्छ । 


साझा संस्कृति, इतिहास, भाषा जातीय चरित्र भएका जापान, कोरिया, चीनजस्ता होमोजेनियस समाजमा यस्तो अवधारणा सुहाउला । तर, भारत वा नेपालजस्ता विविध जाति, भाषा र समुदाय बस्ने देशमा ‘राष्ट्रहरूको राज्य’ चाहिन्छ भन्ने तर्क यसले गर्छ । जहाँ, विविध जाति, भाषा र सांस्कृतिक समुदाय आफ्नो पृथक् पहिचान र अस्तित्व स्विकारेर एउटै भूगोलमा बस्न सक्छन् ।

 

युएनडिपी ह्युमन डेभलपमेन्ट रिपोर्ट २००४
अहिलेको विविधतायुक्त विश्वमा सांस्कृतिक स्वतन्त्रता कस्तो हुनुपर्छ भनेर यस पुस्तकले राम्रो व्याख्या गरेको छ । यस रिपोर्टले अल्पसंख्यकको भाषा र संस्कृतिलाई बहुसंख्यकमा घुलमिल गर्ने होइन, विविधतालाई कायमै राखेर अघि बढ्ने हो भन्छ । जसलाई सप्तरंगी राष्ट्रवाद पनि भनिन्छ । 

 

ह्वाई नेसन्स फेल
यो पुस्तकले किन केही राष्ट्र धनी र केही गरिब छन् भन्ने विषय प्रस्तुत गर्छ । लोकतन्त्र भएका ठाउँमा दिगो विकास हुन्छ भन्ने पुस्तकले देखाएको छ । यस पुस्तकमा अमेरिका र मेक्सिको सीमावर्ती क्षेत्र नोगाल्सबारे अध्ययन गरेर दुई देशको तुलना गरिएको छ । अमेरिकातर्फ बस्ने ठाउँको समृद्धि र मेक्सिकोतर्फको अविकासलाई पुस्तकमा उल्लेख गरिएको छ । भाषा र संस्कृति एउटै भए पनि व्यवस्था फरक भएपछि विकासमा फरक पर्छ भन्ने यसले देखाउँछ । यसले समाज जस्तो छ, त्यहीअनुसारको राजनीतिक संरचना बन्छ भन्ने तर्क गर्छ । जहाँ कागजमा मात्रै लोकतन्त्र छ, तर व्यवहारमा छैन । त्यस्तो देशमा प्रगति गर्न पनि गाह्रो हुन्छ भन्ने उदाहरण छ । किनकि, लोकतन्त्रको अभावमा असमानता बढ्छ । ड्यारोन एसमोग्लु र जेम्स ए रोब्बिनसनले मिलेर यो पुस्तक लेखेका हुन् । 

 

थर्ड वेब अफ डेमोक्रेसी
स्यामुयल पी हन्टिङटनको यो पुस्तक पनि प्रजातन्त्रको तेस्रो लहरबारे केन्द्रित छ । यस पुस्तकमा हन्टिङटनले आधुनिक इतिहासमा प्रजातन्त्रका तीन लहर आउने तर्क गरेका छन् । जसमध्ये तेस्रो लहर १९७० देखि विश्वभर फैलन थाल्यो भन्ने उनको तर्क छ । उनले निरंकुश शासनबाट प्रजातान्त्रिक सुशासनतर्फ देशहरूको रूपान्तरणलाई नै प्रजातान्त्रीकरण भनेका छन् । १९औँ शताब्दीको सुरुवातमा प्रजातन्त्रको पहिलो लहर (विशेषगरी पश्चिम युरोप र उत्तर अमेरिकामा) र दोस्रो विश्वयुद्धपछि उपनिवेश समाप्त भएर एसिया र अफ्रिकाका धेरै देशमा प्रजातन्त्र पुनस्र्थापना भएको अवस्थालाई दोस्रो लहर भनेका छन् । पुस्तकमा हन्टिङटनले प्रजातन्त्रको तेस्रो लहर १९७० देखि सन् २००० आउनुअघिसम्म चल्छ भनेका छन् । यस क्रममा ल्याटिन अमेरिका, पूर्वी युरोप, एसिया र अफ्रिकाका धेरै देशमा यो लहर आउनेछ भनेर पुस्तकमा उल्लेख गरेका छन् । वैश्विक मूल्य–मान्यतामा परिवर्तन, आर्थिक विकास र विभिन्न देशमा बाहिरी शक्तिको हस्तक्षेपजस्ता कुरा यससँगै आउनेछ भनेका छन् । 

 

हाउ डेमोक्रेसी डाइज
अहिले एउटा नयाँ ट्रेन्ड आएको छ । यसलाई राइटिस्ट ट्रेन्ड वा कन्जर्भेटिभ ट्रेन्ड भनिन्छ । चुनावबाट जितेर आई निरंकुश शासन गर्ने । अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी, रुसमा भ्लादिमिर पुटिनलाई यसको उदाहरण मान्न सकिन्छ । चुनावबाटै जितेर आउने तर सत्तामा पुगेपछि शक्ति आफैँमा केन्द्रित गर्ने चरित्र हो यो । स्टेफेन लेभिट्स्की र डेनियल जिब्लाटले संयुक्त रूपमा लेखेको यस पुस्तकले प्रजातन्त्रलाई ‘कु’ वा सैन्य तानाशाहभन्दा यही पद्धतिमार्फत चुनिएर आउने खराब व्यक्तिबाट ज्यादा खतरा छ भन्छ । चारवटा सूचकांकमार्फत उनले प्रजातन्त्र कमजोर हुँदै जान्छ भनेका छन्, जसमा प्रजातान्त्रिक मूल्य–मान्यता अस्वीकार गर्ने, राजनीतिक विपक्षीलाई बहिष्कार वा बन्देज गर्ने, प्रजातन्त्रविरोधी रटान लगाइरहने र कानुनी शासनलाई क्षयीकरण गर्ने कार्य पर्छन् । 

 

इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान
१९९२ मा प्रकाशित यस पुस्तकमा फुकुयामाले उदार लोकतन्त्र नै अन्त्य हो र यसले मानिसलाई वस्तुगत र आध्यात्मिक रूपमा सन्तुष्ट गर्छ भनेका छन् । उनले यसलाई चुनौती दिन सक्ने अर्को कुनै व्यावहारिक राजनीतिक प्रणाली हुँदैन भनेका छन् । केमेलिका, लिजफार्डलगायत अन्य विज्ञ उदार लोकतन्त्र नै अन्त्य होइन भन्छन् । तर, फुकुयामाले यसपछि अर्को बाटो छैन भनेका छन् । १९९२ देखि २००० आउनुअघि धेरै देशमा उदार लोकतन्त्र स्थापनाको लहर थियो । त्यस परिस्थितिमा यो पुस्तक लेखिएको थियो । 

 

ह्वाट इज पपुलिजम
सन् २०१६ मा प्रकाशित यस पुस्तकमा लोकप्रियतावाद, यसका चरित्रहरू र प्रजातान्त्रिक समाजमा त्यसका असरबारे चर्चा छ । लोकप्रियतावादी नेताहरूले आफूलाई मात्रै नागरिकको सच्चा आवाजको प्रतिनिधि दाबी गर्छन् । उनीहरूले समाजको विविधतालाई प्रायः बेवास्ता गरिरहेका हुन्छन् भन्ने उल्लेख छ । लोकप्रियतावादबाट समाजमा ल्याउने विभाजनबारे लेखक जान वेर्नर मुलरले चर्चा गरेका छन् ।