• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
डन सलादिनो
२०८० चैत २४ शनिबार ०९:३६:००
अनुवाद

संकटमा केराको विविधता 

२०८० चैत २४ शनिबार ०९:३६:००
डन सलादिनो

 

केराका हजारभन्दा बढी प्रजाति छन्, तर हामी एक प्रजाति मात्रै खान्छौँ

 

भर्खरै रोममा सम्पन्न ‘वर्ल्ड बनना फोरम’को बैठक खासै समाचार बन्न सकेन । तर, त्यहाँ जे कुराबारे छलफल भयो, त्यो कुराले भने गम्भीर सरोकार राख्छ । यो सर्वव्यापी फल हाम्रो आधुनिक खाद्य प्रणालीको संकटको संकेतन पनि हो, जसले हाम्रो खाद्य प्रणाली कति नाजुक छ भनी देखाउँछ । केराको वर्तमान दुर्दशा खाद्य विविधताको सूत्रधार बन्न हामी सबैलाई आह्वान हो । 

 

यस पहेँलो फलको बोक्रा छोडाउँदै गर्दा तपाईं १० अर्ब डलरको आपूर्ति शृंखलाको अन्तिम उपभोक्ता बनिरहेको बन्नुहुन्छ । यो शृंखलाले उष्णकटिबन्धीय फलको अनन्त परिमाणलाई विश्वभरका सुपरमार्केटका दराजमा सस्तो (औसतमा प्रतिकोसा आठ रुपैयाँ) र तयारी उत्पादनका रूपमा पुर्‍याउँछ । तर, केराको वैश्विक व्यापार करिब–करिब एउटै प्रजातिको केरामा निर्भर छ र यदि कुनै कारणवश यो नासिन थाल्यो भने के गर्ने भन्ने खालको कुनै बनिबनाउ वैकल्पिक योजना वा सुरक्षा जालोको प्रबन्धन छैन ।

 

यस वर्षको फोरममा सबैभन्दा उल्लेखनीय विषय उद्घाटन भाषणको एउटा सरलतम टिप्पणीमा उठान भयो । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका महानिर्देशक डा. क्यु दोङयुले केराका ज्ञात एक हजारभन्दा बढी प्रजाति भए पनि विश्व किन ‘क्याभेन्डिस’ नामक एउटा प्रजातिमा मात्र यतिसारो निर्भर रहेको भनी प्रश्न गरे । उनले हामी सबै नै यो समस्याको हिस्सा भएको औँल्याउँदै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । 

 

प्रायजसो मानिसले आफूले खाएको हरेक केरा किन उस्तै देखिन्छ र स्वाद पनि किन उस्तै हुन्छ भनेर प्रश्न गर्दैनन् । हामीमध्ये धेरैले भेनिला आइसक्रिमको स्वाद अनि नरम र चिल्लो बोक्रायुक्त इन्डोनेसियाको ‘ब्लु जाभा’ वा चिनियाँ केरा चाख्न रुचाउनेछैनाँै, जुन यति सुगन्धित हुन्छ कि वासनाकै कारण यसको नाम ‘गो सान हेंग’ दिइएको छ, जसको अर्थ ‘तपाईं यसको सुगन्ध अर्काे पहाडबाट पनि थाहा पाउन सक्नुहुन्छ’ भन्ने हुन्छ । विश्वव्यापी व्यापार हुने ‘केरा’ कम लागत र उच्च उपज दिने प्रजातिका मागको परिणामस्वरूप एउटा विशाल मोनोकल्चर उत्पादन बन्न पुग्यो । अन्य थुप्रै बालीमा पनि यही भएको छ । खाद्य प्रणालीमा ‘होमोजेनिटी’ एउटा जोखिमपूर्ण रणनीति हो, किनकि यसले द्रुत गतिमा बदलिँदो विश्वअनुरूप हाम्रो अनुकूलनको क्षमतालाई कमजोर बनाइदिन्छ ।

 

बिउबाट उम्रने जंगली केराका विपरीत प्रत्येक क्याभेन्डिस केराको झाङ एक ‘क्लोन’ हो । अर्थात् प्रत्येक क्याभेन्डिस अर्काे क्याभेन्डिसको जरा लिएर त्यसैबाट उमारिन्छ । यसको अर्थ यसको क्रमिक विकास हुँदै जाने कुनै गुञ्जायस छैन । त्यसैले वातावरणमा समयक्रममा उत्पन्न हुने नयाँखाले खतराको अनुकूलन गर्न सक्दैन यसले । क्याभेन्डिस केराको मोनोकल्चरको माध्यमबाट ‘पानामा रोग’ जसलाई ‘फुसारियम विल्ट’ पनि भनिन्छ, एसिया, अस्ट्रेलिया, अफ्रिका र हालै, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा व्पापक रूपमा फैलिँदै गएको छ । केराको यही प्रजाति विश्व केरा व्यापारको ८० प्रतिशतको स्रोत हो । कोदालो वा लुगाफाटाका माध्यमबाट सरी आएका केही बीजाणु मात्र पनि खेतबारीलाई दूषित पार्न पर्याप्त हुन्छ, तब त्यस भूमिमा क्याभेन्डिस हुर्काउन असम्भव हुन्छ । 

 

यस विनाशकारी रोगको सामना गर्ने एउटा उपाय भनेको आनुवंशिक परिमार्जन वा जीन–सम्पादनको प्रयोग गरी केरामा ‘अधिकतम प्रतिरोध’को विकास गर्नु हो । क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक जेम्स डेलले क्याभेन्डिस प्रजातिलाई आक्रमण गर्ने पानामा रोगका भेरियन्टप्रति अत्यधिक प्रतिरोधी हुने गरी क्याभेन्डिसको परिमार्जित संस्करण विकास गर्न दशकौँ बिताएका छन् । तर, डेलका अनुसार यो पनि यसको अचुक उपाय होइन । उनको विचारमा खाद्य प्रणालीमा बढीभन्दा बढी विविधता ल्याउनु यसको दीर्घकालीन समाधान हो । मेरो पुस्तक ‘इटिंग टु एक्सटिन्सन’को अनुसन्धानका दौरान डेलसँगको कुराकानी रहस्योद्घाटनपूर्ण सावित भयो । ‘प्रकृतिमा मोनोकल्चरको अस्तित्व हँुदैन, हामीले यसबाट पाठ सिक्न आवश्यक छ,’ उनले मलाई भनेका थिए । अघिअघि विश्व खाद्य प्रणालीमा धेरै विविधता हुने गथ्र्याे । तर, थोरै संख्याका अत्यधिक उत्पादनशील बालीहरूमा जोडले यो विविधता हरायो । यो समस्याको समाधानका लागि क्याम्ब्रिजस्थित बेलायतको प्रमुख बाली अनुसन्धान ‘केन्द्र नेसनल इन्स्टिच्युट अफ एग्रिकल्चरल बोटनी (एनआइएबी)’ र नर्विचको ‘जोन इनेज सेन्टर’का वैज्ञानिकले आधुनिक प्रजातिका कारण लोप हुने अवस्थामा पुगेका सम्पदा (रैथाने) प्रजातिका आनुवंशिकीहरूको प्रयोग गरी विविधतालाई खेतबारीमा फर्काउने काम गरिरहेका छन् ।

 

वैज्ञानिकहरूको ध्यान कफीजस्ता अन्य बालीमा पनि छ । अधिक उपयोग हुने कफीका प्रजाति जुन १८औँ र १९औँ शताब्दीताका संसारभर पठाइएका मुठीभर बिरुवाहरूबाट विकसित प्रजातिमा सीमित छ । जलवायु संकटले हामी निर्भर कफीका मुख्य प्रजाति ‘अरेबिका’ र ‘रोबस्टा’को भविष्यलाई अन्धकारमय बनाउँदै लगेको छ । यही कारण केउका वनस्पतिशास्त्रीले विश्वका १२० भन्दा बढी अन्य कफी प्रजातिका व्यावहारिक र स्वादिष्ट विकल्प पहिचान गरेका छन् । तिनमा सन् १९५० को दशकमा लगभग लोप भइसकेको सियरा लियोनमा पाइने ‘कफिया स्टेनोफिला’ प्रजाति सबैभन्दा आशाजनक देखिएको छ ।

 

नीतिगत तहमा आशावादी हुन सकिने कारण छन् । सन् २०२२ को डिसेम्बरमा मोन्ट्रियलमा सम्पन्न ‘कोप १५’ मा १९६ देशले ‘ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क’मा हस्ताक्षर गरे । सन् २०३० सम्ममा जमिन र समुद्रका प्रकृतिको ३० प्रतिशत हिस्सा पुनर्जीवित गर्ने मुख्य प्रतिबद्धता छ, जसमा ‘संकटापन्न प्रजातिलाई लोप हुनबाट रोक्न’ तत्काल कदम चालिने कुरा पनि समावेश छ । कम खतरामा रहेका प्रजातिहरूको सूचीमा खेती गरिने प्रजाति समावेश छन् । यसमा हजाराँै वर्षदेखि मानिसले खानका लागि प्रयोग गर्दै आएका सात हजार वा सोभन्दा बढी बोटबिरुवालाई पनि पर्छन् । 

 

वाइल्डफार्मजस्ता किसानका पहलहरूले गहुँका विभिन्न प्रजातिमा व्यापक प्रयोग गरिरहेको छ । उनीहरूले उत्पादन गरेका विभिन्न प्रजातिका गहुँका पिठो खुद्रा विक्रेता र राष्ट्रव्यापी पिज्जा चेनहरूमार्फत उपभोक्तासमक्ष पुग्न थालिसकेका छन् । यसैबीच, तीनजना खाद्य तथा कृषि अनुसन्धानकर्ताले इंग्ल्यान्डको पूर्वमा स्थापना गरेको ‘होडमेडोज’ नामको व्यवसायले फलामेयुगमा बेलायतमा उब्जाइने बालीहरूलाई केन्द्रमा राखी ‘कार्लिन मटर र एमर ह्विट (गहुँ)’ लगायत उपेक्षित अन्न र दलहनलाई पुनर्जीवित गरिरहेको छ ।

 

क्यु दोङयुलाई सही मान्ने हो भने ‘खुद्रा विक्रेताहरू र उपभोक्ताहरूद्वारा स्वीकृति’को अभाव ठूलो समस्या हो । हामी सबैले पहल लिनु आवश्यक छ । हामीलाई अझ बढी विविधता चाहिएको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ । यो आह्वान हामीले यसअघि कहिल्यै प्रयोग नगरेका विभिन्न प्रकारका सिमी, बोडी वा मटर वा असामान्य प्रकारको गहुँ वा फरकखालको केरा खरिद गर्नुजत्तिकै सरल छ ।

 

(खाद्य पत्रकार एवं लेखक डन सलादिनो 
‘इटिङ टु एक्सटिंक्सन : द वर्ल्डस् रेयरस्ट फुड्स एन्ड ह्वाई वी निड टु सेभ देम’का लेखक हुन् । यो लेख ‘द गार्जियन’बाट नारायण शिवाकोटीले अनुवाद गरेका हुन् ।)