• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रवीन्द्रसिंह बानियाँ, चलचित्रकर्मी
पवन बराइली
२०८० चैत २४ शनिबार ११:२३:००
रिपाेर्ट

फिल्म बनाउनेसँग बुद्धि हुँदैन भन्ने लाग्थ्यो, होइन रहेछ

आत्मसमीक्षा

२०८० चैत २४ शनिबार ११:२३:००
पवन बराइली

 

नयाँ कलाकार, नयाँ भाषा र नयाँ ठाउँ हुँदैमा फिल्म नयाँ नहुने रहेछ

 

नेपाली फिल्म जगत्का परिचित अभिनेता हुन्, रवीन्द्रसिंह बानियाँ । उनले ‘सेतो सूर्य,’ ‘टलकजंग भर्सेस टुल्के,’ ‘पशुपति प्रसाद,’ ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘महाजात्रा’जस्ता सिनेमाबाट दर्शकको निकै राम्रो माया पाएका छन् । यीमध्ये कतिपय फिल्ममा उनी निर्माताको भूमिकामा पनि थिए । अब्बल अभिनेता र निर्माताको परिचय बनाएका बानियाँले पवन बराइलीसँग आफ्नो सिनेयात्राको आत्मसमीक्षा यसरी गरे:

 

सिनेकर्ममा लागेको झन्डै २४ वर्ष भयो । फिल्ममा अभिनेता र निर्माताको रूपमा काम गर्छु । यही कर्ममा ‘इन्जोय’ गरिरहेको छु । जीवनमा मैले कलाकार बन्छु भन्ने सपना देखेको थिएनँ । स्कुल पढ्दा कक्षामा सरले नाम सोध्दा पनि उठेर आफ्नो नाम भन्न सक्दिनथेँ ।

 

मैले ०५४ सालमा एसएलसी पास गरेँ । त्यसवेला स्कुलबाट म मात्रै पास भएँ । स्कुल ‘निल’जानबाट जोगाएँ । मेरो पढाइ ठिकै थियो । जीवनमा ‘क्लियर’ लक्ष्य पनि थिएन । घरमा पनि यही बन्नुपर्छ भन्ने कुनै दबाब थिएन । मेरो बुबा नेपाल आर्मीमा हुनुहुन्थ्यो । बुबा आर्मी भएकाले मलाई पनि आर्मीमा जागिर खान सजिलो हुन्थ्यो होला । तर, त्यतिवेला देशमा युद्ध चर्किएकाले मलाई घरबाट आर्मीमा पठाउन मानेनन् ।

 

२०५६ सालमा ‘करिअर’ खोज्न काठमाडौं आएँ । काठमाडौंमा आएर पनि जागिर खाने दबाब पनि थिएन । घरमा बुबाको पेन्सन आउँथ्यो । खर्च बुबाले दिनुहुन्थ्यो । एकदिन मेरो मामा (जेवी रुवाली)ले बागबजारमा परिवर्तन नेपाल भन्ने संस्थाले निःशुल्क अभिनय सिकाउने भन्ने थाहा पाउनुभएछ । म त्यहीँ जोडिएँ । त्यसवेला हामी हरिश सिग्देल (आर्यन सिग्देल), शंकर बिसी, बाबुराम बोगटी (बाबु बोगटी), आशान्त शर्मालगायत थियौँ । ६ वर्षसम्म हामीले देशका विभिन्न ठाउँमा सडक नाटक मञ्चन गर्‍यौँ । 

 

परिवर्तन नेपालमा नाटक गर्दागर्दै राष्ट्रिय नाचघरमा गएँ । त्यहाँ पनि मैले अभिनयको प्रशिक्षण लिएँ । बिस्तारै साथी–संगत बढ्दै गयो । त्यतिवेला सुनील पोखरेल सरले गुरुकुल खोल्ने तयारी गर्दै हनुहुन्थ्यो । तर, गुरुकुलमा बस्न तीन वर्षसम्म कमिटमेन्ट गर्नुपर्ने रहेछ । गुरुकुलमा बसेपछि बाहिर काम गर्न नपाइँने नियम थियो । राष्ट्रिय नाचघरमा नाटक महोत्सव हुन्थ्यो । म राष्ट्रिय र क्षेत्रीय नाटक महोत्सवमा भाग लिन्थेँ । त्यसवेला पाँच÷६ सय रुपैयाँ आउँन थाल्यो ।

 

मेरो त्यस्तो समय आयो, अब नाटक छोड्ने कि अघि बढाउने ? एक–दुईवटा पत्रिकामा नाम पनि आइसकेको छ । मलाई ठूलो धर्मसंकट पर्‍यो । त्यसपछि मैले खगेन्द्र लामिछानेसँग सल्लाह गरेँ । मेरो खगेन्द्रसँग नाटक गर्ने दौरानमा चिनजान भइसकेको थियो । नाटकमै लागौँ भन्ने सोच बनाएँ ।

 

उता गुरुकुलमा नाटकका वर्कसप भइरहन्थे । म पनि वर्कसपमा सहभागी हुन्थेँ । मैले एकदिन गुरुकुलमा नाटक वर्कसपमा जाँदा नाटकको मार्केटिङ गर्नेबारे योजना बताएँ । त्यसपछि सुनील सरले अब तिमी गुरुकुलको मार्केटिङ हेर्छौ र नाटक पनि खेल्छौ भन्नुभयो । त्यसपछि गुरुकुलमा म स्टाफको रूपमा काम गर्न थालेँ । नाटक मञ्चनअघि सडक–सडकमा नाटकको पोस्टर टाँसेर हिँडियो । सडकको भित्तामा पोस्टर टाँस्दा पनि निकै ठूलो ‘सान’ हुन्थ्यो । चाउचाउको पोस्टर टाँसेको हो र ? नाटकको पोस्टर पो टाँसेको हो त भन्ने लाग्थ्यो ।

 

गुरुकुलमा दर्जनौँ नाटकमा अभिनय गरेँ । त्यसपछि सन् २००९ मा थिएटर व्यवस्थापन पढ्न लन्डन गएँ । तर, लन्डनमा लामो समय बस्न सकिएन । गुरुकुल नै पढ्ने सोचले फेरि फर्किएँ । तर, त्यसवेलासम्म गुरुकुल बन्द हुन लागिसकेको रहेछ । अन्ततः बन्द नै भयो । गुरुकुल भत्किएपछि सबैजना मुखामुख गरेर बस्यौँ । बस्ने घर नै भत्कियो । गुरुकुल बन्द भएपछि कहाँ जाने भन्ने भयो । त्यतिवेला हाम्रो सपना नै गुरुकुल थियो । गुरुकुलमा हुँदा पैसाको दुःख थिएन । 

 

काम के गर्ने अन्योलमा थिएँ । त्यतिवेला खगेन्द्र लामिछाने बिबिसी नेपाली सेवामा ‘कथा मिठो सारंगीको’ रेडियो नाटकमा काम गथ्र्याे । म पनि ‘कथा मिठो सारंगीको’ नाटकमा प्रोड्युसरको रूपमा छानिएँ । काम गर्ने दौरानमा खगेन्द्र लामिछाने र मेरो भेट बाक्लो हुन थाल्यो । त्यसपछि हामीले ‘टलकजंग भर्सेस टुल्के’ फिल्म बनाउने योजना बनायौँ । 

 

निश्चल बस्नेतले ‘लुट’पछि अर्काे फिल्म गरेका थिएनन् । उनलाई निर्देशनका लागि कन्भिन्स गर्‍यौँ । अब फिल्म डुब्दैन भन्ने पूर्ण विश्वास भयो । म निर्माता बन्छु भन्ने सोचेको पनि थिइनँ । तर, टिम बनाउँदा खगेन्द्र लेखक, निश्चल निर्देशक र म निर्माताको रूपमा काम गर्ने भइयो । जसोतसो पैसा जोरजाम गरेर फिल्म बनायौँ । फिल्म व्यावसायिक रूपमा सफल पनि भयो । कलाकार रूपमा फिल्मले हामीलाई स्थापित पनि गर्‍यो । 

 

फिल्मलाई हेर्ने नजर 

 

‘टलकजंग भर्सेस टुल्के’ बनाइसकेपछि आफ्नै सर्कल बन्यो । फिल्म खेल्दा मजा पनि आयो । आफूले भन्न खोजेको कुरा भन्न सकिने रहेछ भन्ने महसुस हुन थाल्यो । पुरानो नेपाली सिनेमा हेर्न थालेँ । त्यसपछि मेरो फिल्मलाई हेर्ने नजर बदलियो । नाटकमा काम गर्दा फिल्म हाम्रो होइन भन्ने लाग्थ्यो । फिल्मको डाइलग पनि मन पर्दैनथ्यो । नाटकमा अर्कै बोलिन्थ्यो जस्तो लाग्थ्यो । नाटकमा काम गर्दा फिल्मकर्मीलाई अर्कै नजरले हेरिन्थ्यो । त्यतिवेला फिल्म बनाउनेहरूलाई पत्याइँदैनथ्यो । गुरुकुलको डाँडामा बसेर जीवन दर्शनको गफ गरिन्थ्यो । फिल्मवालासँग जीवन दर्शन हुँदैन, अध्ययन गर्दैनन् भन्ने गफ गरिन्थ्यो । तर, होइन रहेछ । 

 

गुरुकुलमा देशका बौद्धिक वर्गको बाक्लो उपस्थिति हुन्थ्यो । देशका ठूला मान्छेहरू सबै आउनुहुन्थ्यो । नेपालका साहित्य, राजनीति सबै क्षेत्रका नाम चलेका मान्छे आउनुहुन्थ्यो । म आफूलाई पनि ठूलै मान्छे जस्तो सम्झिन्थेँ । यस्ता खत्रा मान्छेहरूसँग कसले भेटेको छ भन्ने लाग्थ्यो । हामीले त्यतिवेला आफूले आफूलाई आत्मसन्तुष्टि दिनलाई फिल्मप्रति ‘फेक इमेज’ बनाएका रहेछौँ । म हिजो फिल्मकर्मीलाई पत्याउँदिनथेँ । अहिले उनीहरूलाई एकदमै श्रद्धा गर्छु । 

 

सिनेमा उद्योगलाई यहाँसम्म अघिल्लो पुस्ताले ल्याएको हो । फिल्म राम्रो बन्यो, नराम्रो बन्यो तपसीलका कुरा हुन् । तर, फिल्म त बनिरह्यो नि ! कम्तीमा उद्योग त बाँचिरह्यो । नयाँ पुस्तालाई हाम्रो फिल्म झुर लाग्न सक्छ । तत्कालीन परिस्थितिमा बसेर ‘जज’ गर्नुहुँदैन । जीवन जगत्बारे थाहा भएन । लेखन भनेको ‘इनर ब्युटी’ रहेछ । तपाईंभित्र जे छ, त्यही निक्लिने रहेछ । 

 

तपाईंको जीवनको दर्शन के हो भन्ने कुरा महत्वपूर्ण रहेछ । यो ‘हाइपोथेटिकल’ कुरा होइन । दर्शन भनेको जीवन पद्धति हो । अहिले वर्ल्ड क्लास फिल्म बनाउँछु भनेको सुन्छु । वर्ल्ड क्लास फिल्म बनाउन वर्ल्डमा के–के फिलोसोफी छ ? त्यो फिलोसोफी बुझ्नुपर्ने रहेछ भन्ने लाग्छ । नयाँ कलाकार ल्याएर, नयाँ भाषा लिएर, नयाँ ठाउँमा खिचेर नयाँ फिल्म नहुने रहेछ । हामीले बनाइरहेका फिल्म पनि नयाँ फिल्म होइनन् । 

 

गुरुकुलमा आठ वर्ष र परिवर्तन नेपालमा ६ वर्ष नाटकमा काम गरेँ । त्यसवेला धेरै दुःख गरियो । धेरै खटियो । त्यहाँ बढीजसो गफ नै हुन्थ्यो । देख्दा केही गरेजस्तो देखिँदैनथ्यो । तर, जीवनमा गर्ने गफ नै रहेछ । त्यो गफले कुनै दिन राम्रो काम बन्न पनि सक्छ । गुरुकुलमा आएपछि सुनील सरले मेरो संसारलाई हेर्ने नजर नै अर्काे बनाइदिनुभयो ।

 

हिजो मेरो गुरुकुलमा तलब २५ सय रुपैयाँ थियो । सुमो चालकको १३ हजार तलब थियो । त्यसवेला अरु साथीहरूको पनि त्यति नै थियो । बाहिरका मान्छेहरूले तलब सोध्थे । मलाई तलब भन्न पनि लाज लाग्थ्यो । चालककै १३ हजार मेरो तलब आफैँ बुझ्नु न भन्थेँ । पैसामा मात्रै तुलना गरेर हेर्नु नहुने रहेछ । तर, पैसा आओस्–नआओस् यही गर्ने भनेर एकोहोरो लागेर बसेँ । तपाईं अरूको भलो चिताएर हिड्नुस्, तपाईंको भलो चिताउने मान्छे आउँदा रहेछन् । म अझै पनि ‘टलकजंग भर्सेस टुल्के’मा काम गर्दाको समय सम्झन्छु । त्यसवेला काममा इन्जोय गरियो । अहिले म जहाँ छु, त्यो फिल्ममा गरेको दुःखले नै आइपुगेको छु ।