• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डा. चन्द्रमान श्रेष्ठ
२०८० चैत २४ शनिबार १०:२५:००
साहित्य

गतिशील ज्ञानको मार्गमा ‘चरैवेति’

२०८० चैत २४ शनिबार १०:२५:००
डा. चन्द्रमान श्रेष्ठ

 

साहित्यिक खोज–अनुसन्धानमा निरन्तर क्रियाशीलताको पर्याय बनेका जीवन जीवन्त आफ्ना समालोचनात्मक चेत र कार्यका माध्यमबाट नेपाली भाषा साहित्यमा परिचित छन् । समालोचनामा पनि आख्यान विधाको मन्थनमा रमाउँछन्, जीवन्त । उपन्यास विधामै विद्यावारिधि गरेका जीवन्त सिर्जनात्मक क्षेत्रमा ‘चरैवेति’ उपन्यास लिएर आमपाठकमाझ आएका छन् । अरूको उपन्यासमा सूक्ष्म दृष्टि प्रक्षेपण गरेर मिहिन विश्लेषण गर्ने जीवन्तको उपन्यास कस्तो होला भन्ने जिज्ञासा आमपाठकमा रहनु स्वाभाविक नै हो । पाठकको जिज्ञासालाई शमन गर्दै ‘चरैवेति’ उपन्यासमार्फत जीवन्त आफूलाई एक कुशल उपन्यासकारका रूपमा स्थापित गर्न सफल बनेका छन् । 

 

‘चरैवेति’ शब्दले निरन्तरको गतिशीलता भन्ने अर्थ दिन्छ । शीर्षकले जस्तै ज्ञान र जीवनको गतिशीलतामा जोड दिन्छ, ‘चरैवेति’ उपन्यासले । मानिस आफूले प्राप्त गरेको उपलब्धिमा सन्तुष्टि मानेर कहिल्यै बसेन र बस्दैन पनि । मानव सभ्यताको आजको उच्चतम रूप त्यसैको परिणति हो । वेदान्त दर्शनको सार छ– ब्रह्म सत्यम् जगत् मिथ्या । त्यही सत्यको अन्वेषणमा उद्यत छ, मानव जीवन । यद्यपि आफूले प्राप्त गरेको आंशिक सत्यलाई नै पूर्ण सत्य मानेर आफ्नो साम्राज्य खडा गरिरहेछ मानिस– राष्ट्र, धर्म, जात र भाषाका नाममा । ऊ आफ्नो प्रभुत्व स्थापित गर्न अरूको अस्तित्व र पहिचानमाथि बलात् हस्तक्षेप गर्न उद्यत् रहन्छ र आफ्नो ज्ञानलाई नै सत्य ठानेर भ्रमको साम्राज्य खडा गर्नमा अलमलिइरहेको छ । यिनै भ्रमबिच रुमलिएको एउटा पात्रको ज्ञान र सत्यको खोजको निरन्तर क्रियाशीलता नै ‘चरैवेति’ उपन्यास हो । परिवार, समाज, धर्म र संस्कृतिभित्रको स्वार्थको राजनीतिबाट प्रताडित बनेको चरित्रको जीवन्त कथा हो, ‘चरैवेति’ उपन्यास । अशिक्षा र अचेतनाको अन्धकारमा पलाएको आस्था र विश्वास शिक्षा र चेतनाको उज्यालो छरिँदै जाँदा क्रमशः कमजोर बन्दै गर्ल्यामगुर्लुम ढल्न पुगेको र जीवनको पूर्ण सत्यको खोजीमा निस्किएको पात्रको कथा हो, ‘चरैवेति’ । 

 

बाइबललाई केन्द्रमा राखेर लेखिएको ‘चरैवेति’ उपन्यासमा आफ्नै पारिवारिक यथार्थलाई लेखकीय कल्पनाशीलताको जलप लगाई आफ्नो ज्ञान र बौद्धिकताले कलात्मक बुट्टा भर्ने काम गरेका छन्, उपन्यासकार जीवन्तले । धनकुटा जिल्लाको छ नम्बर बुधबारेबाट इलामको चुलाचुली बसाइँ झरेको आफ्नै परिवारको कथालाई उपन्यासको पृष्ठाधार बनाएका जीवन्तले बाइबललाई भौतिकवादी दृष्टिले हेरेका छन् । उपन्यासमा बाइबलप्रतिको आस्था र विश्वास मात्र छैन, त्यहाँ देखिएका अनेक विरोधाभासलाई प्रस्तुत गर्दै आलोचनात्मक चेत पनि प्रस्तुत गरिएको छ । आध्यात्मिक ग्रन्थ बाइबललाई भौतिकवादी दृष्टिले हेर्दा अनेकौँ प्रश्न उठ्नु स्वाभाविक नै हो । प्रारम्भमा बाइबलप्रति अगाध आस्था र विश्वास बोकेको म पात्रका बुबा ज्ञानको क्षितिज फराकिलो भएसँगै बाइबलका अनेक विरोधाभासपूर्ण सन्दर्भमा प्रश्न उठाउँछ र अन्त्यमा उसको बाइबलप्रतिको विश्वास नै टुट्न पुग्छ । अन्ततः ऊ कुनै पनि धर्मद्वारा प्रतिपादित विचार एकाङ्गी र अपूर्ण रहेको निष्कर्षमा पुगी ज्ञान–सत्यको खोजीमा निस्कन्छ । यही नै चरैवेति उपन्यासको मूल कथ्य हो । 

 

क्रिस्चियन धर्मको प्रचारले आफ्नो पहिचानमाथि नै प्रहार गरिरहेको तथ्यप्रति भने दलित तथा आदिवासी जनजाति समुदाय सचेत हुनुपर्ने विचार उपन्यासमा प्रस्तुत भएको छ ।उपन्यासले नेपालको सदूरपूर्वको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक इतिहासलाई प्रस्तुत गरेको छ । उपन्यासमा धनकुटाको छ नम्बर बुधबारेबाट तराई झरी इलामको चुलाचुलीमा झोरा फाँडेर बसोवास गर्न आइपुगेको म पात्रका बुबाका माध्यमबाट किराँत क्षेत्रको किपट व्यवस्था र त्यसको अन्त्यको कथा पनि प्रस्तुत गरिएको छ । 

 

पहिलो संस्करण भएकाले भाषिक त्रुटिहरू पनि छन् । उपन्यासको आरम्भ र मध्य खण्डको तुलनामा उपसंहार खण्ड निकै नाटकीय बनेको छ । शत्रुतापूर्ण व्यवहारको चरमोत्कर्षमा रहेका दाजु–भाइहरूको पुनर्मिलन त्यति स्वाभाविक लाग्दैन । यस्तै, उपन्यासको समाख्याताको रूपमा रहेको शिक्षित र बौद्धिक वर्गको म पात्र र बाइबल पढ्नकै लागि कखरा सिकेको उसको बुबाले लेखेर छाडेको डायरीको भाषामा खासै भिन्नता देखिन्न । यसले विषयवस्तुको विश्वसनीयतामा कमी ल्याएको छ । उपन्यास विधाको गम्भीर अध्येताको छवि बनाएका जीवन जीवन्तले यस्ता कमजोरीमा ध्यान पुर्‍याउन सकेको भए ‘चरैवेति’ उपन्यास अझ उत्कृष्ट बन्ने थियो । यस्ता केही कमजोरीहरू भए पनि ‘चरैवेति’ उपन्यासले नेपाली उपन्यास जगत्मा नवीन कथ्यलाई स्थापित गरेको छ ।