• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पवन बराइली
२०८० चैत २४ शनिबार १०:५८:००
संगीत

सालैजो गाउँदै...

२०८० चैत २४ शनिबार १०:५८:००
पवन बराइली

 

खड्ग गर्बुजा नेपाली मौलिक संगीतका सर्जकमध्ये एक हुन् । उनले आफ्नो संगीतयात्राका क्रममा धौलागिरि क्षेत्रमा गुञ्जिने सालैजो, शिरफूल, यानीमाया, सोरठी, ख्याली, झ्याउरेलगायत लोकभाका संकलन गरे । मायाप्रेम र गाउँघरका दुःखसुखलाई आफ्नो सिर्जनामा उन्न सिपालु उनै गायक गर्बुजाले आफ्नो सांगीतिक यात्राबारे पवन बराइलीलाई सुनाए: 

 

०५३ सालसम्म पनि गाउँघरमा पुराना भाका निकै गाइन्थ्यो । खासगरी गाउँमा मेलापात जाँदा र बजार जात्रातिर जाँदा सालैजो भाका खुब गाउने चलन थियो । त्यहीवेला मैले संकलन गरेको गीत हो पानी खायो बाघैले ।

 

त्यो रानीवनको तिर्तिरे धारो 
सालैजो पानी खायो बाघैले 
गीत र गाउँन स्वरैमा छैन 
सालैजो घुमाइदेऊ राघैले 

 

यो गीतको शब्दलाई मैले संकलन गरेको हुँ । गाउँमा अग्रजहरूले गाउनुहुन्थ्यो । बाल्यकालमा गाउँमा दाइदिदीले गाएको गीत मेरो दिमागमा आयो । त्यसवेला सालैजो भाका, कौडा, सोरठीलगायत भाकाले एल्बममा प्रवेश पाउँदैनथे । गायक–गायिकाहरू पनि क्यासेट धेरै विकाउने ध्याउन्नमा गीत निकाल्थे । २०५३ सालमा यो गीतलाई मैले थोरै परिमार्जन गरेँ । 

 

माथिलाई पर्‍यो मंगले खानी 
सालैजो तल पर्‍यो चीन खोला 
अर्काको छोरा अर्कैको छोरी 
सालैजो माया लाग्ने किन होला ?...

 

यो शब्द आफैँ बनाएँ । मैले सालैजो भाकालाई क्यासेटमा समावेश गरेर बजार पठाएँ । यो गीतले अप्रत्यासित रूपमा चर्चा पायो । सालैजो समावेश भएको गीतको एल्बम एक लाख १० हजार प्रति बिक्री भयो । एक लाख १० हजार ‘पिस’ बिक्री हुनु भनेको ठूलो कुरा थियो । यो गीतले मेरो परिचय नै बनाइदियो ।

 

त्यसवेला लगभग सालैजो लोप हुने अवस्थामा पुगेको थियो । लोप हुन लागेको भाका मैले क्यासेटमा समावेश गरेँ । त्यसपछि विभिन्न गाउँठाउँका सालैजो हुँदो रहेछ भन्ने थाहा भयो । त्यसपछि बाग्लुङ, स्याङ्जा, लमजुङतिरका ठाडेभाका क्यासेट र एल्बममा समावेश हुन थाले । 

 

सालैजो मगर समुदायबाट विकसित भएको भाका हो । मगर समुदायमा साली र भेनाबीच ख्यालठट्टा गर्ने चलन छ । भेनाले सालीलाई जिस्काएर वा सम्मान गरेर सालीज्यू भनिन्छ । सालीज्यू अपभ्रंश भएर ‘सालैजो’ बनेको बताइन्छ । मगर समुदायबाट सुरु भए पनि ‘सालैजो भाका’ नेपालको साझा सम्पत्ति हो । 

 

त्यसवेला एउटा गाउँका युवाको समूह र अर्काे गाउँका युवतीको समूहबीच गीत गाउने चलन थियो । आदरपूर्वक गीत गाइन्थ्यो । पारि गाउँमा मेला लाग्दा वारि गाउँका केटाहरू पुग्थे । वारि गाउँमा मेला लाग्दा पारि गाउँका केटीहरू आउँथे । गीत गाउँदागाउँदै युवाहरूले युवतीको समूहलाई थुन्ने चलन पनि छ । युवतीहरूले पनि युवाहरूलाई थुन्ने चलन छ । गाउँमा गीत गाउँदा मात्रै सालैजो, शिरफुली, यानीमाया जस्ता भाकाहरू प्रयोग हुन्थ्यो ।

 

मलाई अझै याद छ, मेरा दाइ र दिदीहरूले पनि तरुनी–तन्नेरी थुन्नुहुन्थ्यो । गीत गाउँदागाउँदै दाइले अर्काे गाउँको तरुनी थुन्नुभयो । दिदीले पनि अर्काे गाउँको तन्नेरी थुन्नुहुन्थ्यो । मेरो स्वर गीत गाउने जस्तो भएको थिएन । तर, म पनि दाइदिदीसँग मादल बजाउँथे । उहाँहरूसँगै गीत गाउँथेँ । दिदीले तन्नेरीहरू भाग्दा फर्काउन मलाई पठाउनुहुन्थ्यो । सँगै गीत गाएर रातभरि बसिन्थ्यो । त्यो वेला निकै रमाइलो हुन्थ्यो । युवा र युवतीविना सालैजो भाका गाइँदैन । यो भाका गाउन युवा र युवतीको समूह हुनुपर्छ । मन मिल्यो भने विवाह पनि गर्ने चलन छ । सालैजोको विशेषता भनेको यही हो । केटाले उच्चारण गरेको शब्द केटीले पनि गाउँछन् । सालैजो गाउँदा बेग्लै आनन्द आउँछ । 

 

तरुनी–तन्नेरी फकाउँदा गीत गाइन्छ । त्यतिवेला नाटक पारेर भाग्ने पनि चलन हुन्छ । पल्लो गाउँको केटीहरू आउँथे । उनीहरूको गाउँमा मेला लाग्दा हामी पनि जान्थ्यो । उनीहरूको गाउँमा भेट हुन्थ्यो र गीत गाइन्थ्यो । छुट्न मन लाग्दैनथ्यो, बस भने पनि हुन्थ्यो जस्तो पनि लाग्थ्यो । भागेको जसरी नाटक पनि गर्नुपर्थ्यो । केटाहरूलाई केटीहरूले थुनिदिएहुन्थ्यो भन्ने लाग्छ । तरुनी र तन्नेरी थुन्दा मिठो–मिठो खाने कुरा खुवाउनुपर्थ्यो । 

 

छुट्ने वेला उनीहरूले फुल खाजा (चामलबाट बनाइने खाना) नै बनाएर पठाइदिन्थे । केटीहरूले हामीलाई बाटोमा खानाका लागि खाजा पठाउँथे । हामी कोदो फापरको रोटी बनाएर पठाइदिन्थ्यौँ । हेर्दाहेर्दै उनीहरूले डाँडा काट्थे । हाम्रो मन निकै रुन्थ्यो । निकै भावुक हुन्थ्यौँ । डाँडा नकाटेसम्म उनीहरूलाई भालै (साथी भनेर बोलाउने शैली) भन्थ्यौँ । उनीहरूले पारिबाट भालै भनेर रुमाल हल्लाउँथे । हामीले पनि वारिबाट भालै भनेर रुमाल हल्लाउँथ्यौँ । त्योचाहिँ हामी यहाँ आइपुग्यौँ भन्ने संकेत थियो । त्यसवेला गाउँमा चामलको अनुहार देखिँदैनथ्यो । गाउँमा ढिँडो च्याँख्ला मात्रै हुन्थ्यो । तर, तरुनी र तन्नेरी थुनेपछि चामलको भात र मासु नै खुवाउनुपर्थ्यो । 

 

तर, हाम्रो परिवार गरिब थियो । हाम्रो गाउँमा चामल–मासु हुँदैनथ्यो । एकपटक तीनजना साथीहरूले तरुनी थुन्यौँ । गीत गाउँदा–गाउँदै मायाप्रेम बस्यो । गाउँबाट दुई माना चामल खोजेर ल्यायौँ । मासुभात पकाएर खुवाइयो । उनीहरूले हामीलाई पनि दुई–तीन दिन थुनेका थिए । त्यसको भारा तिर्न पनि हामीले थुन्नुपर्थ्यो । कुखुरा चोरेर ल्याएर भए पनि मासुभात खुवाउनुपर्थ्यो । सँगै गीत गाइन्थ्यो । छुट्ने वेला आँखाबाट आँसु आउँथ्यो । उनीहरू पनि रुन्थे, हामी पनि रुन्थ्यौँ । त्यही परिवेशमा एउटा सालैजो गीत यस्तो लेखेको थिएँ: 

 

गोठालो दाइ गोठैमा भैँसी 
सालैजो ठेकीमा मोही छैन 
छोडेर जान मन मेरो छैन 
सालैजो बस भन्ने कोही छैन

 

यो गीतलाई दुईपटक रेकर्ड गरेको छु । गीतहरू यसरी नै सामाजिक भोगाइबाट जन्मायो । दुर्घटनामा परेपछि मेरो जिन्दगीले अर्काे मोड लियो । दुर्घटनामा पर्नुअघि मेरो बुबाआमाको मलाई लाउरे बनाउने सपना थियो । मेरो पनि लाउरे हुने सपना थियो । त्यसवेला मैले अर्को गीत लेखेँ :

 

आमाले सोधे सन्चै छौ भनी 
सालैजो झन् दुःखी बन्नु भो...
फरिया चोलो पुरानो भो 
सालैजो नयाँ लेऊ भन्नु भो 

 

यो शब्द संकलन गरेको होइन । मैले आमालाई बिम्ब बनाएर देशप्रेमबारे गीत लेखेको हुँ । मेरा अधिकांश सालैजो भाका मायाप्रेमका छन् । तर, यो प्रगतिशील खालको शब्द समावेश गर्न मन लाग्यो । सन् २००९/१० तिरको कुरा हो, म कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया गएको थिएँ । त्यसवेला देशको बारेमा कुरा गर्दा आँसु आयो । अस्ट्रेलियाबाट फर्किएपछि गीत बनाएँ । मैले व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिन गीत बनाएको हुँ ।

 

बर्खाको मासमा ढोरपानको फाँटमा
सालैजो बुकी फुल्यो ढकमक्क ...

 

मैले यो गीत बाल्यकालमा भेडागोठमा जाँदाको सम्झनालाई शब्दमा उतारेको छु । यो निकै रमाइलो गीत छ । बाग्लुङको ढोरपाटनको फाँटमा बुबा र दाइसँग भेँडीगोठ जान्थेँ । बाल्यकालमा भोगाइलाई नै गीत बनाएँ ।