• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डा. अरुणा उप्रेती
२०८० चैत २४ शनिबार ११:१६:००
समाज

गर्मीको साथी कागती र बाबरी

२०८० चैत २४ शनिबार ११:१६:००
डा. अरुणा उप्रेती

 

विदेशमा दुई पत्ता बाबरीको ५० रुपैयाँ तिरेँ । त्यसवेला मैले आफ्नो बारीमा फलेको बाबरीको बोट सम्झेँ ।

 

कागती गर्मी जाडो जुनसुकै मौसममा पाइन्छ । यो फललाई तातोचिसो जुन पदार्थमा मिलाएर खाए पनि हुन्छ । स्वाद र स्वास्थ्यको दृष्टिकोणले पनि यो अति राम्रो फल हो । म सानो छँदा २५ पैसामा एउटा कागती पाइन्थ्यो । अहिले १५ रुपैयाँ पर्छ । म व्यक्तिगत रूपमा कागतीलाई ‘औषधिको डल्लो’ भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती चिया खान्छु । दालमा मिलाएर खान्छु । यसैले मैले कहिले पनि भिटामिन ‘सी’ को गोली त खानै परेको छैन । कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’को महत्वको बारेमा अहिले त धेरैजनाले थाहा पाइसकेका छन् । 

 

विज्ञानले पुष्टि गरेको छ कि भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्छ । हाम्रो भान्छामा खाइने अचार पनि भिटामिन ‘सी’ले युक्त हुन्छ । गर्मी सुरु हुने वेलामा अक्षय तृतियामा कागतीको सर्बत र जौको सातु खान दिने हाम्रा पुर्खाले चलाएका चलन पनि कागतीको महत्व बुझेर नै होला । गर्मीको वेलामा कागतीसँग सातु पिउँदा पेट भरिन्छ र गर्मीको वेलामा हुने विभिन्न पेटको गडबडीबाट पनि बचाउँछ । गर्मीमा शरीरलाई चाहिने ऊर्जा पनि पर्याप्त दिन्छ ।

 

हप्तामा दुई–तीनचोटि मेरो बिहानको खाना वा खाजा नै जौको सातु र कागतीको सर्बत हुन्छ । तर, अपशोच सातु र कागती सर्बत पिउने प्रचलन हराउँदै गएर आजकाल त अक्षय तृतीयाको दिनदेखि जन्म दिनमा पनि स्वास्थ्यलाई हानि गर्ने फलफूलको नक्कली रस, चिसो पेय पदार्थ खाइन्छ । यसले नेपाली संस्कृतिलाई नष्ट गर्छ, स्वास्थ नष्ट गर्छ, पैसा नष्ट गर्छ । यस्तो चलन कम गर्न यस्तो नक्कली रसको सट्टा कागतीको रस प्रयोग गर्नुहोस् । तर, मैले देखेकी हुँ कति स्वास्थ्यका बारेमा लेख्ने पत्रकार पनि बट्टाको जुस खान्छन्, कागती सर्बत पिउँदैनन् । नेपालको प्रायः सबै ठाउँमा कागती फल्छ । विभिन्न प्रकारको कागतीको स्वाद भिन्दै भए पनि पौष्टिकता भने सबैमा हुन्छ । कागतीको महत्व कति छ भन्ने कुरा आयुर्वेद कितावमा लेखिएको छ । ‘कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगले प्रवेश पाउँदैन ।’ 

 

नेपालमा महिलाहरूलाई रगतको कमी भयो भनेर अनेक औषधि दिइन्छ । तर, कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौह तत्वलाई शोषण गर्नमा मद्दत गर्छ भन्ने कुरा प्रायः विचार गरिन्न । कतिपय स्वास्थयकर्मीले रक्त अल्पता भएका महिलाहरूलाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँग खानु भन्छन् । सायदै कुनै स्वास्थकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्लान् । ‘कागतीको रस मिसाएर’ भोजन खाऊ भन्दा औषधि कम्पनीलाई फाइदा हुँदैन र त्यसैले यस्तो जानकारीलाई बढावा दिने चलन छैन । तर, मासको वा कुनै दालसँग कागतीको रस वा गोलभेँडाको अचार खाँदा दालमा रहेको लौह तत्व राम्रोसँग सोसिन्छ । फलामको भाँडोमा पकाएको कुनै पनि दाल र तरकारीमा कागतीको रस मिसाएर खाँदा गर्भवती महिलालाई रगतको कमीबाट रोक्न प्रोटिन पनि दिन्छ, महिलाको शरीरमा रगत बढ्छ । साइट्रिक एसिड विभिन्न फलफूलमा पाइन्छ भनेर १७औँ शताब्दीमा पत्ता लागेको हो । शरीरको अतिरिक्त क्रियाकलापहरूलाई सुचारु गर्न यो एसिडको महत्व छ र कागतीमा यो सहजै पाइन्छ । हामीले भिटामिन ‘सी’  र साइट्रिक एसिडले भरिपूर्ण कागतीको प्रयोग धेरै गथ्र्यौँ होला यदि कागती विदेशबाट प्याकेटमा आउने र ठुल्ठूला पसलमा महँगोमा बेचिने भएको भए । तर, फुटपाथमा वा तरकारी पसलमा जताततै पाइने हुनाले सायद यसलाई हेपिएको होला । हेपिए पनि पहिलेको भन्दा त यो महँगो भएको छ । अहिले त २५ रुपैयाँमा तीनवटा कागती पाइन्छ । 

 

आजकाल कागतीको रस हालेर चिया, सर्बत पिउने र पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको वेलामा पनि स्वस्थ्यकर कागतीको सर्बत दिन हामी हिचकिचाउनु पर्दैन । बालबालिकालाई पनि बट्टाको ‘जुस’ होइन, कागतीको सर्बत दिने गरौँ । कागतीको रसको प्रयोगले दाँतको गिँजाबाट रगत बग्ने समस्यालाई कम गर्न पनि मद्दत गर्छ । त्यसैले गर्भवतीलाई कागती खाने सल्लाह दिने चलन गाउँघरमा अझै छ । रुघाखोकी लाग्दा कागती पानी र मह खानुपर्छ भनेर धेरैजनाले थाहा पाएका छन् । तर, कागतीलाई दैनिक भोजन मै प्रयोग गरियो भने रोग प्रतिरोधात्मक शक्ति बलियो हुन्छ र हरेकचोटि मौसम बदलिँदा रुघाखोकी लाग्न कम हुन्छ भन्ने पनि थाहा पाउनुपर्छ । गाउँघरमा गर्भवती महिलालाई वाकवाक लाग्दा कागती र नुन खानु भनेर सल्लाह दिइन्छ र यसले वास्तवमा नै वाकवाक कम गर्छ । कागतीलाई नुनमा मोलेर घाममा राखिन्छ, यसलाई  ‘सकेतो’ भनिन्छ । तर सहरमा यस्तो सल्लाह दिने व्यक्ति छैनन् र महिलालाई वाकवाक आयो भने तुरुन्तै औषधि नै दिइन्छ । सहजै पाइने कागतीको रसको त वास्ता नै हुँदैन । विश्व स्वास्थ्य संगठनले समेत परम्परागत ज्ञानको बारेमा लेखेको छ भने अब त बोल्न हिचकिचाउनु पर्दैन ।

 

कागतीको प्रयोगले कब्जियतबाट पनि बचाउँछ । जाडोको वेलामा कागतीको रस मन तातो पानीमा हालेर खान दिने चलन हाम्रा बज्यैहरूले पहिलादेखि नै ल्याएका हुन् । मुख गन्हाउने व्यक्तिको यदि दाँतसम्बन्धी अन्य रोग छैन भने कागतीको रस र तातो पानीले फाइदा गर्छ । कागती पानीले कुल्ला गरेपछि पुनः पानीले एकचोटि कुल्ला गर्नुपर्छ ताकि कागतीको अमिलोले दाँतमा असर नपरोस् । 

 

‘कागतीको रसले हैजाको कीटाणु वृद्धि हुनबाट रोक्छ’ भनेर नेपालमा गरिएको एक अनुसन्धानले भनेको छ । ‘नेपाल एकेडमी अफ साइन्स एन्ड टेक्नोलोजी’बाट गरिएको यो अनुसन्धानको व्यावहारिक प्रयोग भएन । साधारण मानिसहरूको जानकारीका लागि बाहिर आएन । ‘गर्मीको वेला कागतीको प्रयोग उचित हुन्छ’ भनेर नीति बनाउने र अनुसन्धान गर्नेले कतै बोलेनन् । 

 

कागतीको रसले फाइदा गर्छ नै । तर, कागतीको रस प्रयोग गर्ने व्यक्तिले पनि कागतीको बोक्राचाहिँ फ्याँक्छन् । कागतीको बोक्रा पनि स्वास्थ्यका लागि लाभदायक छ । कतिचोटि त हामी रिसाएको व्यक्तिलाई भन्छौँ, ‘रस निकालेको कागतीको बोक्राजस्तो अनुहार ।’ तर, कागतीको बोक्राको कति महत्व छ भन्ने थाहा भएपछि यो वाक्य भनिँदैन होला । 

 

केही अनुसन्धानले कागतीको बोक्राको नियमित प्रयोगले कब्जियतको समस्या समाधान गर्छ भनेर देखाएको छ । कागती धोएर काटेर रस निकालेपछि बोक्रालाई सानो सानो टुक्रा पारेर सलादमा हालेर खान सकिन्छ । म कागतीको बोक्रा टुक्राटुक्रा पारेर चियामा नै हालेर खान्छु । यदि तितो स्वाद मन पर्दैन भने कागतीको बोक्रालाई सिसीमा नुन हालेर केही दिन घाममा राखेपछि त्यो बोक्रा अचारमा बदलिन्छ । भात, रोटी खाँदा दालमा हालेर पनि खान सकिन्छ । कागतीको रस, बोक्रा सबै स्वास्थ्यका लागि अति लाभदायक छ । गर्मी र जाडो दुवै समयमा चिसो पेय पदार्थ र फलफूलको जुसको सट्टा कागतीको सर्बत पिउने बानी बसाए राम्रो हुन्थ्यो । 

 

कागतीसँगै गर्मीमा प्रयोग गर्नुपर्ने बाबरी वा पुदिना हो । पाँच वर्षअघि अमेरिकामा मैले धेरै महँगोमा ‘बाबरी’ (पुदिना) किन्नुपर्‍यो । खाजा खान गएको एक ठाउँमा खैरो पाउरोटी, अन्डा, चिज आदि लिएर खान बसेँ । एउटा मेसिनमा पानी राखिरहेको थियो, त्यसमा पुदिनाको पात तैरिरहेको थियो । त्यो त सित्तैमा होला भनेर गिलासमा पानी लिएँ, दुईवटा पुदिनाका पात झारेँ । टेबलमा बस्न लागेको वेलामा साहुनीले भनिन्, ‘त्यो पानीको ५० सेन्ट (नेपाली ५० रुपैयाँ) पर्छ ।’ ‘यतिका खानेकुरा लिएपछि त पानी त सित्तैमा हुनुपर्ने होइन र ?’ मैले जिस्केर भनेँ । साहुनीले भनिन्, ‘पानी त सित्तैमा हो । पैसा त बाबरीको पो लिएको ।’ 

 

दुई पत्ता बाबरीको ५० सेन्ट तिरेँ । त्यसवेला मैले आफ्नो बारीमा फलेको बाबरीको बोट सम्झेँ । बाबरीको (मधेश तिर पुदिना पनि भन्छन्) अचार बनाएर खाने चलन त पहिलेदेखि नै हो, तर पानीमा हालेपछि बाबरीको पानी नै त्यति महँगो हुन जाँदो रहेछ । तर, ‘नजिकको तीर्थ हेला’ भनेझैँ पुदिनाको त्यति धेरै पैसा पर्छ भनेर सोचेकै थिइनँ । 

 

गर्मीको वेला पानीमा पुदिनाको पात हालेर खाए हुन्छ । जुन तरिकाले खाएपनि राम्रो गर्छ । अहिले म कागतीमा बीरेनुन र पुदिना हालेर हप्तामा चार–पाँचपटक खान्छु । मोहीमा पिसेर पनि खान्छु । यसले शरीरमा स्फूर्ति दिएको अनुभव गरेकी छु । पानीमा बाबरी र कागतीको टुक्रा भिजाएर राख्छु र दिनभरि त्यही पिउँछु । त्यसैले म भन्छु, ‘गर्मीको साथी कागती र बाबरी ।’