• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डा. गौरीशंकर लाल दास । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
अन्वेषण अधिकारी
२०८० चैत २४ शनिबार ११:३०:००
इतिहास

आठ दशकअघिको देशको स्वास्थ्य

त्यसवेला औषधि खासै पाइँदैनथ्यो । बिरामीलाई अक्सिजन प्राप्त होस् भनेर शान्त, स्वच्छ, हरियाली, हावा चल्ने, घाम लाग्ने ठाउँमा राख्ने निवास बनाइएको थियो ।

२०८० चैत २४ शनिबार ११:३०:००
अन्वेषण अधिकारी

 

संस्मरण

 

भारतबाट चिकित्सा शास्त्र अध्ययन गरेर काठमाडौं आउँदा डा. गौरीशंकर लाल दास २८ वर्षका थिए । उनीसँगै पटनामा चिकित्सा शास्त्र पढेर फर्किएका नागेश्वर सिंह राजनीतिमा लागेर कालान्तरमा पञ्चायती व्यवस्थाको हिमायती बने । अर्का साथी लक्ष्मीनारायण प्रसादले नाक, कान, घाँटी तथा आँखाको विशेषज्ञका रूपमा सेवा गरे । गौरीशंकर चिकित्सक र प्रशासकका रूपमा नेपालको स्वास्थ्य सेवाको सुधार र विस्तारमा सक्रिय रहिरहे । सय वर्ष पुगेका डा. गौरीशंकरले अन्वेषण अधिकारीसँग आफ्नो जीवनका रोचक घटना यसरी सुनाए :

 

सिराहाको इनरवामा त्यतिवेला स्कुलहरू थिएनन् । घरमा प्रारम्भिक शिक्षा लिएपछि स्कुल भर्ना हुनका लागि म भारतको राजनगर गएँ । घरबाट १२ कोस टाढाको विद्यालयमा सोझै तीन कक्षामा भर्ना भएँ । वि.सं. १९९० सालको भूकम्प आउँदा पाँच कक्षामा अंग्रेजीको पढाइ चलिरहेको थियो । एक्कासि घर हल्लियो । तर, विद्यालयमा कुनै क्षति भएन । बाहिर निस्किँदा जमिन फाटेको थियो । धेरै पछिसम्म पनि पटनामा घरका भग्नावशेष देखिन्थे । दरभंगा महाराजको भवन भत्किएको थियो । त्यहाँको प्रसिद्ध नवलखा दरबारमा पनि ठूलो क्षति भयो । दुर्गामन्दिर पनि क्षतिग्रस्त भयो । 

 

भारत स्वतन्त्र हुँदासम्म म पटना विश्वविद्यालयमा पढ्दै थिएँ । अन्यत्र धार्मिक हिंसा भड्किए पनि पटनामा हिन्दू–मुसलमानबीच सद्भाव कायम थियो । यहाँ ठूलो हर्षबढाइँ चलेको थियो । एमबिबिएस सकेपछि देशमै केही गर्नुपर्छ भनेर २००७ सालमा काठमाडौं आएँ । नेपालमा प्रजातन्त्र भर्खरै आएको थियो । काठमाडौंमा अहिलेजस्तो घरहरू बनिसकेका थिएनन् । जनसंख्या थोरै थियो । सरकारी अस्पतालका नाममा वीर अस्पताल मात्रै थियो । २००८ सालमा लोकसेवा आयोग स्थापना भयो । अर्को वर्ष आयोगबाट सिफारिस भएर म वीर अस्पतालमा काम गर्न गएँ । यहाँ ६ महिना मात्रै काम गरेँ ।

 

अस्पतालमा हाइड्रोसिल र हर्नियाको अप्रेसन मात्रै हुन्थ्यो । यहाँ डा. मजुमदार बंगाली सुपरिटेन्डेन्ट डाक्टर थिए । उनी मातृकाबाबु (तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला) का निजी चिकित्सकसमेत थिए । 

 

६ महिना वीरमा काम गरेपछि म टोखास्थित क्षयरोग अस्पतालमा सरुवा भएँ । यहाँ २०२३ सालसम्म सुपरिटेन्डेन्ट डाक्टरका रूपमा काम गरेँ । बुढानिलकण्ठबाट तीन किलोमिटर पश्चिम उत्तरस्थित पहाड, टोखामा हरियाली र स्वच्छ वातावरण थियो, सल्लाका रुखहरू प्रशस्त थिए । अक्सिजन पर्याप्त प्राप्त हुने भएकाले क्षयरोगका बिरामीलाई यहाँको हावापानीमा राख्ने प्रबन्ध गरिएको थियो । त्यतिवेला अहिलेजस्तो प्रभावकारी औषधि उपलब्ध नहुने भएकाले बिरामीलाई सहज होस् भनेर शान्त, स्वच्छ, हावा चल्ने, घाम लाग्ने, सल्लाका रुखहरू भएको ठाउँमा स्वास्थ्य निवास बनाउने गरिन्थ्यो । यहाँ गएबापत मलाई मासिक २५० रुपैयाँ अतिरिक्त भत्ताको व्यवस्था पनि थियो । बिरामीका लागि ५० वटा बेडको व्यवस्था थियो । डाक्टर, तीनजना नर्स, सहयोगीहरू सबैका लागि क्वार्टरको व्यवस्था थियो । नेपालमा नर्सिङ शिक्षा भित्रिसकेको थिएन । नर्सहरूले सामान्य ट्रेनिङ मात्रै लिएका हुन्थे ।

 

चन्द्रशमशेरले खडा गरेको कोषको रकमबाट यो अस्पताल खोलिएको रहेछ । मुखबाट रगत आएपछि चन्द्रशमशेरलाई क्षयरोग भएको आशंका गरिएको थियो, उहाँले त्यतिवेला क्षयरोगको उपचारका लागि अस्पताल खोल्न २० लाखको कोष नै खडा गरिदिनुभएछ । त्यही पैसाबाट जुद्धशमशेरले अस्पताल स्थापना गर्नुभएको रहेछ । वि.सं. १९९१ मा बम्बईबाट डाक्टर ल्याएर उद्घाटन गर्दा जुद्धशमशेर प्रधानमन्त्री थिए । यस अस्पतालका लागि सुन्दरीजलबाट बिजुली ल्याइएको थियो । अस्पतालसम्म पुग्न त्यतिवेलै कच्ची सडक खनिएको थियो । सडक मर्मतका लागि आठजना रोड कुल्लीको दरबन्दीसमेत थियो । राणाहरूलाई राख्नका लागि तीनवटा कटेजसमेत बनाइएका थिए । कटेज ‘ए’मा ए क्लासका राणा, ‘बी’मा बी क्लास र ‘सी’मा सी क्लासका राणालाई राखिन्थ्यो । अस्पतालमा उपकरणका रूपमा चेस्ट एक्सरे मेसिन पनि थियो । कफ जाँच गरेर टिबीको कीटाणु देखिएपछि उपचार थालिन्थ्यो । अहिलेजस्तो प्रभावकारी औषधि पनि आइसकेको थिएन । क्षयरोगको शंका लागेका बिरामीलाई डाक्टरहरूले यहाँ पठाउँथे । उनीहरूलाई चिकित्सकको निगरानीमा राखेर सामान्य औषधि–उपचार गरिन्थ्यो । 

 

एकपटक भोटाहिटीका कैलाशराम श्रेष्ठकी पत्नी मेवादेवी यहाँ भर्ना हुन आउनुभएको थियो । कैलाशराम दाइसँग मेरो चिनजान घनिष्ठतामा परिणत भयो । उहाँ साहित्यबारे निकै चर्चा गर्नुहुन्थ्यो । हामीले सल्लाह गरेर यहाँ एउटा साहित्यिक पत्रिका निकाल्यौँ । नेपाली, नेवारी र हिन्दी भाषामा निकाल्ने भएकाले यसको नाम ‘संगम’ राखिएको थियो । हात मिलाएको लोगो हातले कोरेर तयार गर्‍यौँ । यतिवेला अहिलेजस्तो फोटोकपी वा प्रिन्टको व्यवस्था थिएन । सबै पत्रिका हातले नै लेख्थ्यौँ । बिरामी, डाक्टर, नर्स सबैले साहित्यिक रचनाहरू दिन्थे । त्यसलाई जति प्रति छाप्ने हो, ती सबै प्रति हातले नै लेखेर तयार गथ्र्यौं । जस–जसको लेख–रचना छापिएको छ, उहाँहरूलाई एक–एक प्रति पत्रिका पठाउँथ्यौँ । कैलाशराम दाइको सक्रियताका कारण यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, चित्तधर हृदय, बालकृष्ण सम, फत्तेबहादुर सिंहलगायत चर्चित सर्जकले लेख तथा कविता दिनुभयो । उहाँहरूसँगको मेरो परिचय पनि यसैले गरायो । 

 

एक रात सिद्धिचरण श्रेष्ठ यहाँ आएर बस्नुभयो । बिहान उठेर म, सिद्धिचरण र कैलाशराम दाइ विष्णुद्वार गयौँ । त्यहाँ पुग्नुअघि मनोहरि छहरा पार गर्नुपर्ने थियो । कविजीले उफ्रेर त्यसलाई पार गर्न खोज्दा पारिको ढुंगामा चिप्लिएर लड्नुभयो । चस्मा अर्कोतिर पर्‍यो । सबै खित्का छाडेर हाँस्यौँ । युगकवि सिद्धिचरणको त्यो निश्चल, निर्मल हाँसो आज पनि मलाई सम्झनामा आइरहन्छ ।

 

हामीले अकुपेसनल थेरापीका रूपमा बिरामीलाई विभिन्न तालिम पनि दिने गरेका थियौँ । तत्कालीन अमेरिकी राजदूतकी पत्नी अध्यक्ष र इजरायली राजदूतकी पत्नी उपाध्यक्ष रहेको इन्टरनेसनल वुमन्स अर्गनाइजेसन नामक संस्थाले यसको व्यवस्था गरेको थियो । द्वारिका होटेलकी सञ्चालिका अम्बिका श्रेष्ठ पनि त्यसमा हुनुहुन्थ्यो । चित्र कोर्ने, स्वेटर बनाउने, ल्याम्पोस्ट बनाउनेलगायत सीपमूलक तालिम दिन्थ्यो । यस संस्थाका प्रतिनिधिले नै सामान बोकेर आउँथे । बिरामीले सामान तयार गरिसकेपछि त्यसलाई लगेर बजारमा बेच्थे र बिरामीलाई पैसा दिन्थे । यसले बिरामीलाई सक्रिय रहन र खुसी राख्न मद्दत गरेको थियो । पैसा पनि आउँथ्यो । 

 

यस अवधिमा वि.सं. २०१२ सालमा बेलायतको वेल्स नेसनल स्कुल अफ मेडिसिनमा टिडिडी डिप्लोमा कोर्स गर्न गएँ । अर्को वर्ष लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा (डिटिएम एन्ड एच) गरेँ । त्यतिवेला नेपालमा अहिलेजस्तो औषधि–उपचार र चेकजाँचको व्यवस्था थिएन । अत्याधुनिक उपकरणहरू पनि आइसकेका थिएनन् । दिसा, खकार, पिसाब, कफ जाँचेर बिरामीको मेडिकल हिस्ट्री बुझेपछि उपचार गर्नुपर्ने हुन्थ्यो । देशभर नै नेपाली डाक्टरको संख्या ७–८ जना थियो । बंगाली डाक्टर धेरै थिए । नेपाली चिकित्सक कम भएकाले सरकारले उनीहरूलाई राम्रो सुविधा उपलब्ध गराएर राखेको थियो । कति त यतै बसे । 

 

नेपालको स्वास्थ्य अवस्थाबारे बेलायतमा बताउँदा उनीहरू छक पर्थे । त्यहाँ आधुनिक चिकित्साको विकास तीव्र हुँदै थियो । संसारकै उत्कृष्ट अस्पताल थिए । हामीलाई वेल्समा पढाउने प्राध्यापक सर क्लिमेन्टले राजा जर्ज छैटौँको छातीको अप्रेसन गरेका रहेछन्, त्यसैले उनलाई ‘नाइटहुड’ दिइएको थियो । त्यतिवेलै त्यहाँ त्यस्तो सुविधा थियो । २०२३ सालमा सुपरिटेन्डेन्ट डाक्टरका रूपमा केन्द्रीय चेस्ट क्लिनिकमा सरुवा भएँ । यहाँ एक वर्ष काम गरेपछि सरकारले मलाई स्वास्थ्य विभागको निर्देशक बनायो । 

 

दुई वर्ष निर्देशकका रूपमा काम गर्दा दुइटा उल्लेखनीय काम गरियो भन्ने लाग्छ । एउटा कान्ति अस्पताल मेरै समयमा स्थापना भयो । सोभियत युनियनले घर बनाइदिएको थियो । तर, कुनै प्रयोगमा आएको थिएन । नेपालकै पहिलो बालरोग विशेषज्ञ पुष्पलाल राजभण्डारीले यसमा अस्पताल खोल्ने प्रस्ताव ल्याउनुभयो । त्यसपछि उहाँलाई नै सुपरिटेन्डेन्ट बनाएर अस्पताल खोल्यौँ । 

 

अर्को परिवार नियोजन र मातृशिशु कल्याणको क्षेत्रमा काम भयो । युएस एडले यो प्रस्ताव ल्याएको थियो । डा. रिता थापाको यसमा ठूलो भूमिका छ । उहाँले पहिले पनि यो प्रस्ताव ल्याउनुभएको रहेछ, तर यज्ञराज जोशीले मान्नुभएन । मैले सुरु गरौँ भनेँ । पहिले एउटै दम्पतीले ६–७ वटा बच्चा जन्माउँथे । हुर्काउन मुस्किल थियो । महामारी र कुपोषणका कारण मर्ने बच्चाहरूको संख्या पनि ठूलो हुन्थ्यो । बिस्तारै परिवार नियोजनले यो समस्या कन्ट्रोल हुँदै गयो । प्रतिहजार एक सय ७५ मा थियो शिशु मृत्युदर, अहिले घटेर ३० मा झरेको छ । मातृशिशु कल्याण कार्यक्रममा गर्भवतीको चेकजाँच गर्ने, बच्चा जन्मिसकेपछि आमा र बच्चाको चेकजाँच गर्ने खोपलगायत कार्यक्रम समावेश छन् । आहारको विषयमा जनचेतना जगाइयो । 

 

परिवार नियोजनअन्तर्गत जनचेतना फैलाउने, पिल्स, कन्डमहरू वितरण गर्ने, भ्यासेक्टोमी गर्नेलगायत काम भयो । सुरुमा त जनचेतना फैलाउनै गाह्रो थियो । जनताको आस्था धामीझाँक्रीमा हुन्थ्यो । सबै ठाउँमा डाक्टर पनि हुँदैनथे । केही ठाउँमा आयुर्वेदिक डाक्टर र वैद्य थिए । त्यसैले हामीले धामीझाँक्रीलाई नै तालिम दियौँ । उनीहरूले नै परिवार नियोजनबारे समाजमा बुझाए । राज्यले पत्यायोे भनेर उनीहरू पनि खुसी हुन्थे । 

 

चिकित्सा क्षेत्र अहिलेजस्तो फराकिलो भइसकेको थिएन । अहिले त क्यान्सरसँग पनि लड्न सक्ने अवस्था आयो । त्यतिवेला यस्ता कुरा कल्पना नै गरिएको थिएन । नेपालमा अंग प्रत्यारोपण हुन्छ भन्ने कल्पना थिएन । आइसियू कहीँ पनि थिएन । डा. मृगेन्द्रराज पाण्डेले एमआरसिपी गरेर आएपछि वीर अस्पतालमा आइसियू राख्नुपर्छ भन्नुभयो । मानिसहरू यहाँ कसरी आइसियू राख्न सकिन्छ भनेर प्रश्न गर्थे । मुटुको उपचार पनि सम्भव थिएन । 

 

महिलामा देखिएका धेरै समस्याको पहिचान गर्न कठिन थियो । अहिले अल्टासोनोग्राफीले चिकित्सा क्षेत्रमा चमत्कार गरिरहेको छ । धेरै कुरा पत्ता लगाउन सकिन्छ । पहिले दिसा, पिसाब, खकार, एक्स रेबाट पत्ता लगाउनुपर्ने थियो । 

 

महामारीको नमिठो अनुभव

 

त्यसवेला मलेरिया, कालाजार, हैजा, कुष्ठरोगलगायत समस्या विकराल थिए । यस्ता समस्याले ज्यानै जाने अवस्था थियो । चिकेन पक्स, बिफर पनि धेरैलाई हुन्थ्यो । बिफरले आँखाको ज्योति नै गुम्ने समस्या थियो, अहिले त बिफर उन्मूलन नै भइसकेको छ । वाद्य शिरोमणि उस्ताद गणेशलालको बिफरकै कारण आँखाको ज्योति गएको थियो । साहित्यकार भवानी भिक्षुलाई पनि बिफर थियो ।

 

कुष्ठरोगीका लागि देशका धेरै ठाउँमा अलग कोरीखाना थियो । कतिपय अझै पनि सञ्चालनमा छन् । घरमा राख्दा अरू सर्छ भन्ने त्रास थियो । कुष्ठरोग लागेको थाहा हुनेबित्तिकै कोरीखाना पठाउनैपर्ने ऐन बनेको थियो । त्यो ऐनको दुरुपयोग पनि हुन्थ्यो । कतिपयले आफूलाई चित्त नबुझेका मानिसलाई कुष्ठरोगी भनेर कोरीखानामा पठाउने गरेका पनि थिए । त्यो भयंकर समय थियो । कुष्ठरोगीले आजीवन कोरीखानामा बिताउनुपथ्र्यो । अहिले त समयमै उपचार गरे कुष्ठरोग निको हुन्छ । तर, त्यतिवेला प्रभावकारी औषधि थिएनन् । गाउँमा जनचेतनाको कमी पनि थियो, स्वास्थ्य संस्था पनि थिएनन् । 

 

रेडक्रसमा छँदाको अनुभव

 

नेपाल रेडक्रस सोसाइटीको स्थापनादेखि ४० वर्षसम्म यसमा सक्रिय रहेँ । यस क्रममा देशका विभिन्न भूभाग डुल्न पाइयो । रेडक्रसमा मैले स्वच्छ खानेपानी, सामुदायिक विकासलगायत सामाजिक क्षेत्रमा काम गरेँ । दुर्गम जिल्लामा जाँदा झोलामा अत्यावश्यक औषधि पनि बोकेर जान्थेँ । सिटामोल, ग्यास्ट्रिक, जुका, झाडापखालालगायत इमर्जेन्सी औषधि बोक्थेँ । एन्टिबायोटिक पनि लिएर जान्थ्यौँ । 

 

धेरै विकट जिल्लाहरू गइयो । जापानी रेडक्रसले खानेपानी विकासका लागि २० वर्षसम्म सहयोग गरेको थियो । हामीले पहाडमा धारा र तराईमा ट्युबेलको व्यवस्था गरिदिएका थियौँ । त्यतिवेला दूषित पानीले विभिन्न रोग फैलन्थे । गाउँमा होइन, सदरमुकाममै विकास पुगिसकेको थिएन । ०२३ सालमा अछामको मंगलसेन पुग्दा कुनै पनि घरमा शौचालय थिएन । एउटा सामान्य होटेलमा बस्यौँ । हामीले राति झ्यालबाटै पिसाब फेथ्र्यौं । दिउँसो बारीमा जान्थ्यौँ । हाम्रो टिममा नेदरल्यान्डकी एक सल्लाहकार महिला पनि थिइन् । उनलाई कहाँ जाने भनेर समस्या भयो । खोज्दा–खोज्दा जिल्ला विकास समितिको एउटा कार्यालयमा ट्वाइलेट रहेछ । त्यहाँ उसलाई पठायौँ । अछामको हेडक्वार्टरमा यस्तो अवस्था थियो । यो कठिनाइपछि रेडक्रसले त्यहाँ शौचालय पनि निर्माण गर्ने भयो । 

 

पाल्पाको एक गाउँमा रेडक्रसकै कामले जानुपर्ने थियो । त्यहाँ यति धेरै फोहोर थियो कि बाटाभर दिसा हुन्थ्यो । मानिसहरू बाटोमा ढुंगा राख्ने, अनि त्यही ढुंगामाथि टेकेर जाने रहेछन् । हामीले रेडक्रसको कार्यक्रम लिएर जाने भएपछि पाहुना आउँदै छन् भनेर उनीहरूले सरसफाइ गरेछन् । बाग्लुङ, जाजरकोट, प्युठान, दैलेख डोटी, तेह्रथुमलगायत पूर्व–पश्चिम धेरै जिल्लामा घुमियो । अधिकांशः ठाउँमा शौचालय थिएनन् । 

 

छाउपडीका विषयमा पनि हामीले जनचेतना जगायौँ । तर, एकैपटक छाउगोठ समाप्त गर्न सम्भव थिएन । त्यसैले तीन–चारवटा गाउँका बीचमा समुदायिक छाउगोठ बनायौँ । कम्तीमा अलग–अलग राख्नुभन्दा महिलालाई त्यहाँ ल्याएर सफा वातावरणमा सुरक्षितसाथ राख्न सकियोस्, एक्लोपन नहोस् भन्ने लक्ष्य थियो । सामाजिक रूपमा अहिले पनि छाउपडी अन्त्य भइसकेको छैन । दोलखामा हामीले थामी समुदायमा काम गर्‍यौँ । त्यहाँ हामीले उनीहरूलाई सीपमूलक तालिम र प्रौढ शिक्षा दिएका थियौँ । रातको समय लालटिन बालेर पढाइन्थ्यो । डाक्टर भएकाले बिरामी हेर्ने काम छुटेन । एकपटक गोर्खाबाट हिँडेर मलेखु आउनुपर्ने थियो । बाटोमै रात पर्‍यो । वास माग्दा कसैले बस्न दिएन । पछि एउटा हुलाकीको घरमा गएर वास माग्दा सुरुमा हुँदैन भन्यो । पछि डाक्टर भनेपछि हुन्छ भन्यो । 

 

पहाडका जनताले उपचार गराउन मुस्किल थियो । पुल, गाडीलगायत थिएन । खोला तरेर अस्पताल आउन निकै गाह्रो थियो । रोग लाग्दा धामीझाँक्रीलाई देखाउनुपर्ने अवस्थाबाट अहिले धेरै परिवर्तन भइसकेको छ । 

 

द्वन्द्वकालको अनुभव

 

यात्राले मानिसलाई धेरै सिकाउँछ । मानवअधिकार आयोगको सदस्यका रूपमा द्वन्द्वकालमा गाउँ पुग्दाका घटनाले अहिले पनि मलाई धेरै झस्काउँछ । एकपटक माओवादी द्वन्द्व चरम उत्कर्षमा पुगेका वेला म र सुशील प्याकुरेल रुकुमको खारा पुगेका थियौँ । त्यहाँ दुईवटा प्रहरीलाई माओवादीले मारिदिएका रहेछन् । त्यसपछि प्रहरीले पनि १५ जनालाई मारेछ । ६२–६४ घरमा आगो लगाइदिएछ । धेरै निर्दोष मारिएका थिए । यसपछि माओवादीले पनि केहीलाई बन्धक बनायो । 

 

अनुगमनका लागि गएका हामीले एउटा स्कुलमा पुगेर माओवादीका जिल्ला कमान्डरसँग भेट्यौँ । सुशीलले अघि सरेर माओवादीसँग कुरा गरे । हामीले माओवादीले बन्धक बनाएकाहरूलाई छाडिदिनुपर्‍यो भन्यौँ । हामीलाई उनीहरूले खाना पनि खुवाए । हामीले पैसा दिन खोज्दा मानेनन् । यति पनि सत्कार गर्न नपाउने भने । 

 

हामी अन्य गाउँमा पनि यसरी नै गयौँ । मारिएकाहरूको अवस्था अनुगमन गर्‍यौँ । त्यसपछि अर्को एक ठाउँमा गयौँ । त्यहाँ माओवादीले एउटा घरमा लगेर खाना खुवाए । खानामा नुन थपौँ भन्दा घरधनीले निकै अप्ठ्यारो माने । बट्टा खाली थियो । गरिबी चरम थियो । पैसा भइहाले पनि युद्धका कारण नुन लिन बजार जान सक्ने अवस्था थिएन । नुन माग्नु त सुन मागेजस्तै पो भयो । द्वन्द्वकालमा मानिसले धेरै दुःख पाए । ती दिन सम्झँदा नेपालमा यस्तो शान्ति आउला भनेर कल्पना गर्न पनि मुस्किल थियो । 

 

रुखमा विमान अड्किँदा 

 

०४६–४७ सालतिर हुनुपर्छ । म पहिलोपटक कैलाशयात्रामा गएको थिएँ । हुम्लामा होटेल एउटा पनि थिएन । सरकारी गेस्ट हाउसमा गएर बस्यौँ । झ्यालबाट बाहिर हेरिरहेको थिएँ । अचानक एउटा प्लेन आएर रुखमा अड्कियो । 

 

म र डा. रञ्जन एउटै समूहमा गएका थियौँ । प्लेन रुखमा अड्किए पनि भाग्यवश आगलागी भएको थिएन । यसमा पाइलट र को–पाइलट मात्रै रहेछन् । हामीले तत्कालै गएर उद्धार गर्‍यौँ । त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई भनेर उनलाई नेपालगन्ज पठाउने व्यवस्था गर्‍यौँ । सायद, भगवान्ले बचाएको हुनुपर्छ । यसरी बाँच्ने पाइलट थिए– शिव श्रेष्ठ, जो चर्चित गायिका तारादेवीका पति थिए । उहाँको दोस्रोपटक पनि दुर्घटना भयो भन्ने सुनियो । त्यतिवेला पनि बाँच्नुभएछ । विडम्बना ! तेस्रोपटक फेरि दुर्घटना भएर उहाँ बित्नुभयो भन्ने सुनेँ ।