• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
क्यारोल क्याडवालाडर
२०८१ बैशाख ८ शनिबार ०६:१३:००
विज्ञान प्रविधि

हामी डिजिटल दास

पुँजीवाद मरिसक्यो, अहिले त्योभन्दा खराब व्यवस्था आएको छ

२०८१ बैशाख ८ शनिबार ०६:१३:००
क्यारोल क्याडवालाडर


पछिल्लो समय प्रविधिको आलोचनामा एकपछि अर्को शृंखलाबद्ध पुस्तक सार्वजनिक भइरहेको समयमा समेत टेक्नोफ्युडालिज्म महत्वपूर्ण पुस्तक प्रतित हुन्छ । पुस्तकले बृहत्तर परिदृश्यको व्याख्या गर्छ । पुँजीवाद कसरी अस्तित्वमा आयो भन्ने ऐतिहासिक विवरणबाट सुरु भएर यसमा आइरहेको युगीन परिवर्तनको वर्णन यसमा भेटिन्छ । एक हिसाबमा यस विषयमा एक राजनीतिज्ञले कुरा गर्नु आफैँमा सुखद कुरा हो । भारुफाकिसको विचारमा उनको पुस्तकमा चर्चा गरिएको विषय नयाँ प्रविधिसँग मात्र जोडिएको छैन, यसले अहिले विश्वले सामना गरिरहेको पूर्णतः नयाँ आर्थिक प्रणाली र राजनीतिक शक्तिको चर्चा गर्छ ।


‘एकछिन कुनै साइन्स फिक्सन आख्यानको कथाजस्तो लाग्ने एक दृश्यको कल्पना गर्नुहोस्,’ पुस्तकमा उनी लेख्छन्,‘तपाईं यस्तो बजारमा पुर्‍याइनुभयो जहाँ मानिसहरू लत्ताकपडा, जुत्ता, किताब, गीतसंगीत, विभिन्न उपकरण, खेल र चलचित्र किनबेच गरिरहेका छन् । झलक्क हेर्दा सबै सामान्यजस्तो देखिन्छ । तर, थोरै ध्यान दिनुभयो भने तपाईंलाई केही फरक महसुस हुन थाल्छ । त्यस डिजिटल बजारका हरेक पसलमा, प्रत्येक भवनमा जेफ बेजोस नामक व्यक्ति रहेको पाउनुहुनेछ ।

 

मानिसले हिँडेका फरक गल्ली र फरक पसल एल्गोरिदमद्वारा नियन्त्रित भइरहेको हुन्छ र यो एल्गोरिदम भन्ने वस्तु बजारका मालिक बेजोसको धुनमा नाच्ने गर्छ ।’ यो बजार खासमा पुँजीवादी चरित्रको नरहेको भारुफाकिसको तर्क छ । ‘अमेजन डट कमका मालिक जेफ बेजोस पुँजी निर्माण गर्दैनन् उनी आफ्नो प्लाटफर्ममा सामान राख्नेहरूबाट भाडा उठाउँछन् । यो पुँजीवाद नभएर सामन्तवाद हो । हामी आममानिस दासमा बदलिन्छौँ– ‘डिजिटल दास’, जो वर्गीय चेतनाबाट यति विमुख छौँ कि हामीले नै गरेका ट्विट् र पोस्टबाट यी कम्पनीको मूल्य बढाइरहेका छन् भन्नेसमेत ख्याल गर्दैनौँ,’ उनले भने । 

मानिसहरू लत्ताकपडा, जुत्ता, किताब, विभिन्न उपकरण,  खेल र चलचित्र किनबेच गरिरहेका छन् । झलक्क हेर्दा सबै सामान्यजस्तो देखिन्छ । तर, थोरै ध्यान दिनुभयो भने तपाईंलाई केही फरक महसुस हुन थाल्छ । त्यस डिजिटल बजारका हरेक पसलमा, प्रत्येक भवनमा जेफ बेजोस नामक व्यक्ति रहेको पाउनुहुनेछ ।


पुस्तक लेख्दै गर्दा नै उनलाई पुँजीवादको सन्दर्भमा एक युगको अन्त्य हुँदै गरेको महसुस भएको थियो । ‘पाण्डुलिपि लेखेर सकाउँदा र छापिएको पुस्तक मेरो हातमा पर्दासम्म मलाई सन् १८४० को दशक बाँचेको र सामन्तवादमाथि पुस्तक लेखिरहेको महसुस भएको थियो; वा सोभियत केन्द्रीय योजनामाथि लेखिएको पुस्तक हात पार्न सन् १९८९ को अन्त्य पर्खिएजस्तै ।’ लेखन अवधिमा उनलाई पुँजीवादको सम्पूर्ण अवधारणाको समय गुज्रिसकेको हो त भन्ने प्रश्नले बारम्बार घचघचाइरह्यो ।

 

बैठक कोठामा रहेको किताब र्‍याकमा मैले फेसबुकका पहिलो लगानीकर्तामध्ये एक व्यापारी रोजर म्याकनेमीको पुस्तक ‘जक्ड’ देखेँ । म्याकनेमी तिनै हुन् जसले मार्क जुकरबर्गलाई फेसबुककी भावी चिफ अपरेटिङ अफसर(सिइओ) सेरिल स्यान्डबर्गसँग चिनापर्ची गराएका थिए । ‘यो एक उत्कृष्ट पुस्तक हो,’ भारुफाकिसले म्याकनेमीको पुस्तकको सन्दर्भमा भने । मैले उनलाई यस भेटमा सोध्न सकिने प्रश्नबारे विभिन्न मानिससँग म्यासेज गरेको र तीमध्ये म्याकनेमी पनि एक रहेको भारुफाकिसलाई बताए । म्याकनेमीले ‘टेक्नोफ्युडालिजम’को मूल विचारप्रति मोटामोटी रूपमा सहमत रहेको बताएका थिए । म्याकनेमीसँग भारुफाकिसको किताबबारे राय माग्दा यसको सारांशसहित किताबमा उल्लेखित पछिल्लो वैश्विक परिवर्तनमा भूमिका खेलेका दुई प्रमुख घटनाको पनि उल्लेख गरेको थिएँ, जुन निम्न थिए :


१. अमेरिका र चीनका ठूला प्रविधि कम्पनीबाट भइरहेको इन्टरनेट (क्षेत्र)को निजीकरण, र 
२. सन् २००८ को वित्तीय संकटविरुद्ध प्रतिक्रिया जनाउने क्रममा पश्चिमी सरकार तथा केन्द्रीय बैंकले बजारमा निकासा गरिएको विशाल रकम । 


भारुफाकिसलाई मैले म्याकनामीले पठाएको जवाफ पढेर सुनाएँ, ‘म पुस्तकका आधारभूत मान्यताप्रति सहमत छु । अमेरिकाले सन् २००९ देखि २०२२ बीचमा ब्याजदर शून्यको नजिक राख्यो । यसले आमूल परिवर्तन सिर्जना गर्ने वाचा गरेका व्यापारिक मोडेल विकास हुने वातावरण प्रदान गर्‍यो । तीमध्ये केही पूर्णतया अवास्तविक र सार्वजनिक हितप्रतिकूल रहेका व्यवसायसमेत थिए ।

 

‘गिग’ अर्थ–व्यवस्था, स्वचालित कार, क्रिप्टोकरेन्सी, मेटाभर्स, एआई बैंकले छेलोखेलो पैसा प्रवाह गरेको समयमा फस्टाए । यो रकम त्यो समयमा आइरहेको थियो जब प्रविधिमाथि कुनै नियमन थिएन र व्यापारिक क्षेत्रमा फर्मका प्रमुखको काम सेयरहोल्डरको मुनाफा बढाउने मात्र हो भन्ने संस्कृति स्थापितजस्तै भएको थियो । भलै त्यसले प्रजातन्त्र, सार्वजनिक स्वास्थ्य, सार्वजनिक सुरक्षामा क्षति नै किन नपुगोस् । गत १४ वर्षको अवधिमा ब्याजदर ५ प्रतिशत रहेको भए पनि स्वचालित कार, क्रिप्टो, मेटाभर्स वा एआईले हाल पाइरहेको लगानीको १० प्रतिशतभन्दा लगानी पाउनेमा मलाई शंका छ ।’


एकजना माक्र्सवादी र भेन्जर क्यापिटालिस्ट एउटै आर्थिक निष्कर्षमा पुग्नु उल्लेखनीय हो । सन् २०१९ को अनपेक्षित बेस्ट सेलर पुस्तक ‘द एज अफ सर्भिल्यान्स क्यापिटालिज्म’की लेखिका सोसना जुबोफ पुँजीवाद नयाँ रूपमा बदलिएको मान्छिन् । उनी ‘टेक्नोफ्युडालिज्म(प्राविधिक–सामान्तवाद)जस्ता पदावलीलाई पूर्ण अस्वीकार गर्छिन् । उनका अनुसार न प्रविधि स्वतन्त्र चर हो न नै हामी सामन्ती दासमा बदलिएका छौँ । यति भन्दाभन्दै पनि भारुफाकिसका तर्क उनका पछिल्ला लेखनसँग समान रहेको उनी स्विकार्छिन् । ‘ठूला प्रविधि कम्पनी सर्वसत्तावादी शक्ति बनेको छ । यसको मूल चरित्र पुँजीवादी रहेन । यो केही मुट्ठीभर मानिसबाट धेरैमाथि शासन गर्ने नयाँ स्वरूपमा बदलिएको छ ।’


मैले भारुफाकिससँगको भेटअघि (उनीविपरीत) विभिन्न सरकार र वित्तीय संस्थाबाट स्विकारिएकी प्रभावशाली अर्थशास्त्री मारियाना माजुकाटोसँग पनि कुरा गरेको थिएँ । उनले भारुफाकिसले पुस्तकमा चर्चा गरिएका केही विचार नयाँ नभएको बताइन् । माजुकाटो आफैँले सन् २०१८ मा ‘एल्गोरिदमिक रेन्ट’को अवधारणा ल्याएकी थिइन्, जसअनुसार प्रविधि कम्पनीहरूले प्रयोगकर्ताबाट ध्यान खिच्ने, त्यसलाई विज्ञापनदातामा पुनः बेच्ने गरिरहेका छन् । कुनै दीर्घकालीन मूल्य सिर्जना गरिरहेका छैनन् ।

 

सम्भवतः नयाँ परिस्थितिमा वामपन्थी र दक्षिणपन्थीको बीचको विचार मिल्नुले परम्परागत भिन्नताको अर्थ पनि हराएको संकेत गर्छ । भारुफाकिसका अनुसार दक्षिणपन्थीहरू ‘पुँजीवादलाई प्राकृतिक प्रणालीजस्तै सोच्दछ, केही हदसम्म हामी वरिपरिका वातावरण जस्तै ।’ जब कि वामपन्थीहरू आफूलाई ‘ब्रह्माण्डले नै पुँजीवाद मासेर समाजवाद ल्याउन पठाएको मानिस ठान्छन् । तर, कसैले पुँजीवाद मारिसक्यो । अहिले जे आएको छ, त्यो थप खराब छ,’ उनी भन्छन्, ‘प्रारम्भिक इन्टरनेटले डिजिटल क्षेत्रको निजीकरणको बाटो खुलायो । अहिले यसका द्वारपालेहरूले प्रयोगकर्ताबाट भाडा उठाइरहेका छन्... हामीले पुँजीपति ठानेका मानिस अब जागिरदार मात्र रहे । सामान उत्पादन गर्ने वर्गको दिन सकियो । यो वर्ग अब संसारको शासक बन्न सक्दैन ।’ 


इतिहासप्रति भारुफाकिसको फराकिलो दृष्टिलाई ग्रिसको अधिनायकवादी इतिहासले (जुन अझै पनि निकट इतिहास नै हो) आकार दिएको हो कि भन्ने मैले अनुमान गरेँ । अधिनायकवादको प्रतिक्रियामा उनको परिवार क्रान्तिकारी राजनीतितर्फ मोडियो । उनी ६ वर्षको हुँदा गुप्तचर प्रहरीले उनको घरमा छापा मारेर बुबालाई पक्राउ गरेको थियो । (सन् १९४० को दशकमा इजिप्टबाट ग्रिस बसाइँ सरेका उनका पिता कम्युनिस्ट थिए ।) उनलाई पिता पक्राउ पर्दाको दिन सम्झना छ कि भनेर सोधेँ । ‘ओहो, यस्तो घटना कसरी बिर्सन सकिन्छ र । दुई हप्तासम्म, हामीलाई बुबालाई कहाँ लगियो भन्ने थाहा भएन ।’ जब भारुफाकिसले राजनीतिमा रुचि राख्ने उमेरमा पुगे देश अझै सैन्य शासनमै थियो ।

 

किशोरकालमा जब प्रहरीले उनलाई पक्रियो उनका आमाबाबु छोरालाई बेलायत पढ्न पठाउनेमा दृढ भए । खासमा टेक्नोफ्युडालिजम किताब केहीअघि बितेका उनका पितालाई सम्बोधन गरिएको चिठीको रूपमा लेखिएको छ । यो किताब एक हिसाबले अघिल्लो पुस्तक ‘टकिङ टु माई डटर अबाउट द इकोनोमी’को सिक्वेल हो, जुन पुस्तक उनले आफ्नी ११ वर्षीया छोरीलाई संसारमा कायम असमानताबारे बुझाउने प्रयासमा लेखेका थिए । 


ग्रिक ऋण संकटको समयमा उनले ग्रिसको खर्च कटौती गर्ने सर्त मान्न दबाब दिइरहेका तत्कालीन जर्मन वित्तमन्त्री वुल्फग्याङ स्कोबललाई चेतावनी दिँदै भनेका थिए, ‘हामी दुवै प्रजातन्त्रमा विश्वास गर्छौँ । त्यसैले यसको प्रतिरक्षाप्रति गम्भीर हुनुपर्छ । यदि तपाईंहरूले हामीलाई खर्च कटौती गर्न बाध्य पार्नुभयो भने हाम्रोमा फासीवाद मौलाउनेछ ।’ भारुफाकिसलाई उनको विश्लेषण पछिल्लो समय यथार्थमा बदलिँदै गएको चिन्ता छ ।

 

गत वर्ष जुनमा भएको चुनावका ठूलो जित हासिल गर्नेमध्ये एक दल ‘स्पार्टन्स’ पनि थियो । सो पार्टी प्रतिबन्धित नवनाजी दल ‘गोल्डेन डन’का पदाधिकारीले खोलेको पार्टी हो । अझ भारुफाकिसका लागि दुःखको कुरा नवनाजीको जित उनको हारको रूपमा आयो । वित्तमन्त्रीबाट निकालिएपछि उनले आफ्नै पार्टी गठन गरेका थिए । सन् २०१९ को चुनावमा यसले नौ सिट जितेको थियो । पछिल्लो चुनावमा ती सबै सिट गुम्यो । ‘के भयोभयो । मत सर्वेक्षणमा युवाहरूमाझ हाम्रो स्वीकार्यता २१ प्रतिशत मतदान देखिइरहेको थियो, तर मतपत्रमा त्यो रुपान्तरण भएन ।’ परिस्थिति आफ्नोअनुकूल नभएको उनले स्विकारे । चुनावयता उनी आगामी कदमबारे विचार गर्न एगिनामै धेरै समय बिताउँछन् । आकाशबाट खरानी वर्षा भइरहे पनि सोचविचारका लागि यो त्यति नराम्रो ठाउँ भने होइन । 


(द गार्जियनका लागि क्यारोल क्याडवालाडरले गरेको संवाद । अनुवाद : श्रवण उप्रेती)