• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रामचन्द्र शर्मा
२०८१ बैशाख ८ शनिबार ०६:४३:००
समाज

जीवन विज्ञानले जगाएको नेपाल

२०८१ बैशाख ८ शनिबार ०६:४३:००
रामचन्द्र शर्मा

जीवन विज्ञान संस्थाले पाँच हजारजनालाई एकसाथ एकै ठाउँमा योग ध्यान गराउन आयोजना गरेको विराट् चक्र विज्ञान कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । अध्यात्मले हरेक मानिसभित्रको खुसीको खजाना र त्यसलाई प्राप्त गर्ने जीवन ऊर्जासँग भेट गराइदिने र भौतिक विज्ञानले उपभोग गर्न सहजीकरण गर्ने हुँदा मानव जगत्ले यी दुवै विज्ञानको संयोजन गरी सफलता चुम्दै आनन्दित हुन आह्वान गरेको छ ।

मनाङ जिल्लाबाहेक सबै जिल्ला र स्थानीय तहबाट, सबै धर्म, संस्कृति, जातजातिबाट लक्ष्यभन्दा बढी संख्याको समावेशी सहभागिताले समग्र नेपालकै उपस्थिति रहेको झल्को दिएको छ । सो कार्यक्रमले सहभागीमा पारेको सकारात्मक प्रभाव र अध्यात्मिक जागरणको जस्ताको तस्तै वर्णन गर्न शब्दहरू छैनन्, तापनि नेपाली शब्दकोशमा उपलब्ध शब्दबाट भाव दर्साउने प्रयास मात्र गरिएको छ यो लेखमा । 

संसारका सबै दुःखको अन्त्य र अनन्त आनन्दको उद्घाटन, प्रत्येक व्यक्तिको आन्तरिक जागरणबाट मात्र सम्भव हुनेछ । हामीले देख्न खोजेको परिवार, समाज, राष्ट्र र विश्व गहिरो आध्यात्मिकताको जगमा मात्र बन्नेछ ।


विराट् चक्र विज्ञानको उक्त कार्यक्रमले हरेक नेपालीलाई आफूमा रहेको प्रतिभा चिनेर सदुपयोग गर्न उत्प्रेरित गर्नुका साथै नेपालतर्फ अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराएको छ । जीवन विज्ञान संस्थाले हरेक कार्यक्रम निर्धारित समयमा सुरु र अन्त्य गर्नुपर्छ, समय भगवान् हो भन्ने पद्धति व्यवहारमा उतार्दै आएको हुँदा श्रद्धेय रमेश गुरुदेवले नै लेखेको ‘मैले मलाई भेटेको दिन सम्झी–सम्झी मन हुन्छ फुरुंग’ भन्ने बोलको गीत–संगीत बजाउँदै तोकिएकै मिति र समय २०८०÷१२÷१७ गतेको बिहान साढे सात बजे औपचारिक रूपमा विराट् चक्र विज्ञान कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो गीतको भावार्थ गरिने हरेक काम सजगतापूर्वक गरी प्रत्येक क्षण सदुपयोग गर्न चेतना जगाऊ, खुसी बस्ने ठाउँ शान्ति, प्रेम, श्रद्धा र भक्ति हो, त्यो तिम्रै हृदयमा छ, त्यही हृदयभित्रै हजार सूर्य उदाएझैँ तेजोमय प्रकाश छ ।

 

आँखा बन्द गरेर भित्र हेर, बाहिरभन्दा बढी रमाइलो छ, । खुसी खोज्न कस्तुरी मृगझैँ बाहिर भौँतारिएर आफ्नो अमूल्य जीवन ऊर्जा खेर नफाल, उठ, जाग, आफूभित्र रहेको अपार ऊर्जा र शक्ति सदुपयोग गर्न क्रियाशील हुँदै जीवन आनन्दित बनाऊ भन्ने हो । मानव शरीरमा रहेका मुख्य सात शक्तिकेन्द्र वा गुणहरू, जसलाई योगले चक्र भन्छ, तिनलाई थोरै साधना गरेर अथाह क्षमता जगाउने ज्ञान र साधनाको विधि सिकाउन विराट् चक्र विज्ञान कार्यक्रम आयोजना गरिएको हुँदा हरेक चक्रलाई एक दिन लगाई सात दिनसम्म चक्र साधना गराइयो । मेरुदण्डको तल्लो भागमा शरीरको पहिलो शक्तिकेन्द्रको रूपमा रहेको मूलाधार चक्र सक्रिय भएमा मानिसभित्रको चेतना, होस र सजगता बढ्दै आफ्नो काम आफैँले खुसी हुँदै ध्यानपूर्वक गराउन क्रियाशील गराउने र बिग्रिएमा आलस्यमा डुबाउँदै जीवन प्रगति शून्य बनाइदिने ।

 

नाभी क्षेत्रभन्दा चार अंगुल तल शरीरको दोस्रो शक्तिकेन्द्रको रूपमा रहेको स्वादिष्टान चक्रले हरेक अंगको सेन्सर गर्दै सारा कामको व्यवस्थापन गर्ने, मनलाई शान्त र व्यवस्थित गराउँदै गरिने काममा सुख अनुभव गराउने, सांसारिक विषयमा भन्दा आफूभित्रै सुखको कारखाना रहेको अनुभूति दिलाउँदै जीवन आनन्दित बनाउने र बिग्रिएमा खाना मिठो नहुने र डिप्रेसनमा समेत पु¥याइदिने ।

 

शरीरको तेस्रो शक्तिकेन्द्रको रूपमा रहेको नाभी क्षेत्रको मणिपुर चक्रले मानिसको आत्मविश्वास बढाउने, जीवनका मूल बिषयमा स्पष्ट लक्ष्य र लक्ष्यअनुसारको योजना बनाएर काम गर्ने आँट साहस दिने, सबै डर चिन्ता र असुरक्षालाई जितेर आफूभित्रको पूरै ऊर्जा प्रकट गराउँदै जीवन व्यवस्थित र विकसित बनाउने र बिग्रिएमा मान्छेमा कुनै लक्ष्य, काम गर्ने आँट साहस र हिम्मत नहुने । शरीरको चौथो शक्तिकेन्द्रको रूपमा रहेको हृदय क्षेत्रको अनाहद चक्रले म सबैको हूँ, सबै मेरा हुन् भन्ने शुद्द भावनाको विकास गरी समूहमा मिलेर काम गर्ने क्षमता बढाउने, सम्बन्ध सुदृढ गर्न प्राथमिकता दिँदै प्रेमिल बनाउने र बिग्रिएमा भाव शक्तिको सन्तुलन गुम्न पुगी ठुल्ठूला व्यवहार बिग्रिने ।

 

शरीरको पाँचौँ शक्तिकेन्द्रको रूपमा रहेको घाटी क्षेत्रको विशुद्धि चक्रले नराम्रा घटनाबाट पनि जीवन विकासको आधार खोज्ने बौद्धिक क्षमता बढाउने, हरेक विषयमा आफ्नो मौलिक विचार निर्माण गर्दै प्रत्येक कर्म सिर्जनशील ढंगले गराउने, स–साना सफलतामा खुसी हुने, वाणीलाई सम्मानजनक, सकारात्मक र सभ्य बनाउने र बिग्रिएमा अज्ञानी भई जीवन असफल हुने । शरीरको छैटौँ शक्तिकेन्द्रको रूपमा रहेको दुवै आँखाबीचको टीका लगाउने निधारको भागमा रहेको आज्ञा चक्रले सही समयमा सही निर्णय गर्न सक्ने र काम पूरा गर्ने अठोट र संकल्प शक्ति बढाउने, अरूका लागि उपयोगी हुने सामथ्र्य र प्रतिस्पर्धी क्षमताको विकास गर्ने, सहश्रार चक्रसँग मिलेर सबै चक्रको शक्ति संयोजन गर्ने र बिग्रिएमा सबै काम अधुरा रहने । 


परमात्माको चक्र भनेर बुझिने शिरको माथिल्लो भागमा रहेको शरीरको सातौँ शक्तिकेन्द्रको रूपमा रहेको सहश्रार चक्रले शान्ति प्राप्ति र परमात्मासँग साक्षात्कार गराउने, जीवनमा आजसम्म घटेका घटना जस्ताको तस्तै स्विकार्ने क्षमता दिने, पुरुषार्थी बन्न खोजेका कुरामा पुरुषार्थ प्राप्ति गराई जति वेला पनि खुसी मात्र बनाइदिने । तनाव स्वीकार गर्दा मात्र सक्रिय हुने यो सहश्रार चक्र मात्र साक्षीको रूपमा रहने, कर्ममा सामेल नहुने र सुखदुःखसमेत नबोक्नेजस्ता चक्रसम्बन्धी महाज्ञान दिँदै गुरुदेवहरूबाट उमंगिलो वातावरणमा सहभागीलाई साधनासमेत गराएर प्रत्यक्ष अनुभूति दिलाउनुभयो । 


व्यक्तिको जस्तै चक्र देशको पनि हुन्छ । अहिले हाम्रो देशको मूलाधार चक्र बिग्रिएकाले पराधीनताको पराकाष्ठा नाघेको छ । देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य स्थापित गर्दै युवाहरूको बढ्दो विदेश पलायनले स्वादिष्टान चक्र बिग्रिएको देखिएकै छ । देशको आज्ञा चक्र बिग्रिएकाले गौरवका आयोजनासमेत ढिलासुस्तीको दुश्चक्रमा फसेका हुँदा देशको चक्रहरू जगाउने सदासयताले लुम्बिनी आध्यात्मिक जागरण उत्सवको  आयोजनासमेत गरी श्रद्धेय भानु गुरुदेवले वाचन गरेको आफ्नै कविता र देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्री संघीय तथा प्रदेशका मुख्य सचिव तथा पूर्वमुख्यसचिव एवं सत्ता पक्ष र विपक्षमा रहेका मुख्य सबै राष्ट्रिय दलका शीर्ष नेताहरूलाई लुम्बिनी संकल्प पत्र घोषणा गराउनुभएको छ ।

 

वाचन गरिएको लयात्मक कविताका शब्दहरू ‘युद्धका घाउहरू र अरू युद्धका तयारीहरू आफैँ सकिँदैनन्, हृदयको गहिरो कुनामा रहेको शान्तिका मुहानहरू आफैँ भेटिँदैनन् । अशान्तिले छट्पटाइरहेको क्रन्दन आफैँ सकिँदैन, अनवरत बगिरहने दुःखको अग्निरुपी नदी आफैँ रोकिँदैन । अन्याय अत्याचार, बलात्कार, गरिबी, पछौटेपन, अन्धविश्वास सुशासनको अभाव, राजनीतिक अस्थिरता, लोभलालच र महत्वाकांक्षा, भ्रष्टाचार, हिंसा, हत्या, नरसंहार, मेरो जात, तेरो जात, मेरो धर्म, तेरो धर्म, मेरो दल, तेरो दल, मेरो मान्छे, तेरो मान्छे, यी सब अराजक, अजागरुक र अविवेकी हृदय कोषका शब्दहरू हुन् । समग्रमा भन्नुपर्दा स्वजागरणको अभावका पर्यायवाची नाम हुन् ।

 

न कानुन फेरेर यिनको अन्त्य हुनेछ, न सरकार फेरेर यिनको इतिश्री हुनेछ । न त अरू धन आर्जन गरेर यिनी सकिने छन्, न विरोधका र्‍यालीहरूले तिनी रोकिनेछन् । संसारका सबै दुःखको अन्त्य र अनन्त आनन्दको उद्घाटन, प्रत्येक व्यक्तिको आन्तरिक जागरणबाट मात्र सम्भव हुनेछ । हामीले देख्न खोजेको परिवार, समाज, राष्ट्र र विश्व, गहिरो आध्यात्मिकताको जगमा मात्र बन्नेछ । त्यसकारण हे मित्र ! तिमी बस दुइटा काम गर, आफू जाग र अरूलाई जाग्न मद्दत गर । छाडेर सबै आलस्य, बाहना र किन्तु परन्तु, स्वजागरणलाई नै जीवनको मूल अभियान बनाउने यज्ञ सुरु गर ।’ सिकाउन आएका होइनौँ, प्रेम साटासाट गर्न आएका हौँ ।