• वि.सं २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अन्वेषण अधिकारी
२०८१ बैशाख ८ शनिबार ०७:३१:००
फिल्म

नेपाली चलचित्र विकासका सुरुवाती दिनहरू ...

२०८१ बैशाख ८ शनिबार ०७:३१:००
अन्वेषण अधिकारी

संगीतकार यादव खरेलको व्यक्तित्व बहुमुखी छ । कविता, गीत, मुक्तक, बाल–साहित्यलगायत विविध विधामा कलम चलाएका खरेल चलचित्र क्षेत्रको संस्थागत विकास, लेखन र निर्देशनमा पनि उत्तिकै सक्रिय रहे । अन्वेषण अधिकारीसँग उनले फिल्म निर्माणको अनुभव यसरी साटे :

 

ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर लन्डन युनिभर्सिटीअन्तर्गतको लन्डन फिल्म स्कुलमा २०२५ सालमा चलचित्र निर्देशन/निर्माणको अध्ययन गर्न गएँ । विद्यार्थी भिसामा स्पष्टै लेखिएको थियो– अन्य कुनै काम गर्न पाइनेछैन । त्यतिवेला बेलायत जाने नेपालीहरूकै संख्या कम थियो । बिबिसी नेपाली सेवामा प्रस्तोता चाहिएको रहेछ । तत्कालीन नेपाली राजदूतावासका प्रथम सचिव ईश्वरीराज पाण्डेले मलाई प्रस्ताव गर्नुभयो ।

 

रेडियो नेपालमा २०१६ सालदेखि नौ वर्ष काम गरेको अनुभव मसँग थियो । त्यस क्रममा बालबालिका, अन्तर्वार्ता, प्रश्नोत्तर, काव्य–कुञ्जलगायत विभिन्न कार्यक्रम चलाएको थिएँ । अनुभवी मानिस चाहिएकाले बिबिसीबाट मलाई बोलाइएको रहेछ । केही कार्यक्रम चलाएपछि त्यसवेलाकी नेपाली सेवाकी प्रडक्सन हेदर बन्डले कार्यक्रम प्रस्तोताका रूपमा सम्झौता गर्न प्रस्ताव गरिन् । मैले आफू विद्यार्थी भिसामा आएकाले जागिर गर्न नमिल्ने बताएँ । उनकै आग्रहमा ब्रिटिस काउन्सिलले ‘अन्यत्र काम गर्न नपाउने’ प्रावधान भिसाबाट हटाइदियो । 


त्यसपछि हप्ताको दुई दिन काम गर्न थालेँ । ब्रिटिस काउन्सिलले हामी विद्यार्थीलाई कलेजको फिस तिरिदिएर ६५ पाउन्ड छात्रवृत्ति दिन्थ्यो । बिबिसीले पनि ६५ पाउन्ड दिने भयो । मेरो त कमाइ नै डबल भयो । यस क्रममा धेरैजनासँग अन्तर्वार्ता गरियो । सबैभन्दा स्मरणीय अन्तर्वार्ता राजा महेन्द्र लन्डन आउँदाको थियो । यो अन्तर्वार्ताको एकप्रति रेडियो नेपालमा पनि पठाइएको थियो । गोरखापत्रले पनि छाप्यो । 

भारतीय बजारले यथार्थवादी फिल्मभन्दा मसालेदार फिल्मलाई नै रुचायो । हिंसा र यौन धेरै बिके । केही एक्सन सिन, केही गीत र माया–प्रेम मिसाएर बनाइएका त्यस्ता फिल्म नेपाली बजारमा पनि खुबै चले । जसका कारण, नेपालका निर्माता पनि यस्तै फिल्म बनाउन तम्सिए । 


अन्तर्वार्ताका क्रममा मैले राजालाई वैचारिक रूपमा निकै प्रस्ट पाएँ । उहाँको व्यक्तित्व विशेष भए पनि प्रस्तुति निकै सहज थियो । ४५ मिनेटको संवादपछि अनौपचारिक कुराकानीमा उहाँले भन्नुभयो, ‘यादव, तिमी नेपाल फर्किएपछि मलाई भेट ।’


बेलायतबाट फर्किएपछि मंगल सदनमा गएर एकपटक राजा महेन्द्रसँग भेटेँ । प्रत्येक शुक्रबार उहाँले विभिन्न मानिससँग भेट्नुहुन्थ्यो । त्यसका लागि पहिल्यै लिस्ट बनेको हुन्थ्यो । म पुग्दा राजा आफैँ डायरी र कलम लिएर सोफामा बस्नुभएको रहेछ । मैले नेपाली बजारमा भारतीय सिनेमा हाबी भइरहेकाले मौलिकपन भएका सिनेमा निर्माणका लागि राज्यले विशेष नीति बनाउनुपर्ने बताएँ । उहाँले यसमा सकारात्मक प्रतिक्रिया दिनुभयो । नेपाली उत्पादनलाई नै प्रवद्र्धन गर्ने उहाँको नीति थियो । ‘तिमी बृहत् योजना बनाएर आऊ, अर्कोचोटि फेरि छलफल गरौँला’ भन्नुभयो । त्यसको केही समयपछि बुबाको निधन भएकाले म शोकमा थिएँ । उता, महेन्द्र सरकारको पनि चितवनमा (१७ माघ २०२८) निधन भयो ।


२०२८ सालमै मैले शाही नेपाल चलचित्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी पाएँ । त्यतिवेला चलचित्र सुटिङ गरेपछि सबै काम बम्बईमा गएर गर्नुपथ्र्यो । सुटिङका लागि पनि भारतबाटै प्राविधिक बोलाइन्थ्यो । बम्बई बस्ने नेपाली मूलका भारतीय निर्देशक हिरासिंह खत्रीले नेपालमा प्राविधिक तथा कलाकार ल्याउँथे । ‘आमा’ उनैले निर्देशन गरेका थिए । उनले त्यसपछि ‘हिजो आज र भोलि’, ‘परिवर्तन’ पनि निर्देशन गरे । सिनेमाको बजार सानो थियो ।

राजा महेन्द्रलाई भेट्न पुग्दा उहाँ डायरी र कलम लिएर सोफामा बस्नुभएको रहेछ । मैले नेपाली बजारमा भारतीय सिनेमा हाबी भइरहेकाले मौलिकपन भएका नेपाली सिनेमा निर्माणका लागि राज्यले विशेष नीति बनाउनुपर्ने बताएँ । उहाँले यसमा सकारात्मक प्रतिक्रिया दिनुभयो ।

 

काठमाडौंका पाँचसहित देशभर कुल २६ सिनेमाघर थिए । तर, यी सिनेमाघरमा भारतीय चलचित्रकै बोलवाला थियो । 
नेपालमै प्राविधिक जनशक्ति उत्पादन गर्ने, फिल्म निर्माणको गति तथा बजार बढाउने र नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउने लक्ष्यका साथ चलचित्र संस्थान खोलिएको थियो । बालाजुमा २६ रोपनी जग्गामा डबिङ थियटर, स्टुडियो, फिल्म अर्काइभ सेक्सनलगायत पूर्वाधार खडा गरियो । लक्ष्मीनाथ शर्मासहित तीनजना कलाकारलाई भारतको पुना फिल्म एकेडेमीमा पढ्न पनि पठाइयो । यस क्रममा हामीले ‘चलचित्रको विकास कसरी गर्ने ?’ भनेर सेमिनार गर्‍यौँ । नेपालका निर्माता, वितरक र प्रदर्शकलाई राखेर निर्माण र बजारबीच कसरी सन्तुलन बनाउन सकिन्छ भनेर छलफल गर्‍यौँ । 

 

२०५७ सालमा चलचित्र विकास बोर्डको पहिलो अध्यक्षका रूपमा काम गरेँ । त्यस्तै, ०७१/७२ मा राष्ट्रिय चलचित्र नीति बनाउँदा पनि यसको अध्यक्षता गरेँ । देशको भाषा, भूगोल र संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यस नीतिले सिनेमालाई सांस्कृतिक उत्पादन भनेर परिभाषित गर्‍यो । यसअघि नेपाली सिनेमालाई लाग्ने कर विदेशी सिनेमाको दाँजोमा कम गरियो । धेरै हलवालाले नेपाली फिल्म देखाऊन् र धेरैले हेरून् भन्ने उद्देश्यले यस्तो गरिएको हो ।


सन्देशमूलक फिल्मले दिने सन्तुष्टि
मलाई एकैनासका फिल्म बन्नुहुँदैन भन्ने लाग्थ्यो । त्यसैले फरक–फरक जनराका फिल्ममा काम गर्न थालेँ । लन्डनमा फिल्मका सिद्धान्त पढ्ने, विभिन्न जनराका फिल्म हेर्ने र बहस गर्ने गथ्र्याैं । प्राविधिक पाटाबारे व्यावहारिक शिक्षा लिइन्थ्यो । त्यतिवेलै एनिमेसन सिकाइन्थ्यो । रंगको अर्थ, मनोविज्ञानलगायत विभिन्न विषयमा पढाइ हुन्थ्यो । हामी लन्डनका सडकमा गएर सुटिङ गथ्र्यौं । 


सत्यजित रेको ‘अपु ट्रिलोजी’जस्ता यथार्थवादी चलचित्रबारे बहस गथ्र्यौं । तर, भारतीय बजारले यथार्थवादी फिल्मभन्दा मसालेदार फिल्मलाई नै रुचायो । हिंसा र यौन धेरै बिक्यो । केही एक्सन सिन, केही गीत र माया–प्रेम मिसाएर बनाइएका त्यस्ता फिल्म नेपाली बजारमा पनि खुबै चले । जसका कारण, नेपालका निर्माता पनि यस्तै फिल्म बनाउन तम्सिए । तर, सामाजिक परिवर्तनको उद्देश्य राखेर बनाइएका फिल्मले नै निर्मातालाई वास्तविक सन्तुष्टि दिन सक्छन् भन्ने मेरो बुझाइ रह्यो । मैले भारतमा बेचिएका चेलिबेटीहरूको कथामा २०४६ सालमा ‘चेलिबेटी’ बनाएँ । 


यस फिल्ममार्फत महिलाहरूलाई झुक्याएर भारतमा बेचिएको कथा देखाएँ । सुटिङका लागि कलकत्ताको सोनागाछी र दिल्ली पनि गएँ । बेचिएका महिलालाई समाजले स्विकार्नुपर्छ भन्ने सन्देश दिन खोजेको थिएँ । फरक जनराका फिल्म बनाउने महत्वाकांक्षाले ०४७ सालमा कमेडी जनराको ‘लोभीपापी’ बनाएँ । ‘आँधिबेहरी’मार्फत जातीय छुवाछुतविरुद्ध सन्देश दिने प्रयास गरेँ । यसपछि बालकृष्ण समजीको नाटक ‘प्रेमपिण्ड’मा आधारित रहेर सिनेमा निर्देशन गरेँ । यो फिल्म व्यावसायिक रूपमा पनि सफल रह्यो । मैले रचना गरेको ‘गैह्री खेतको शिरै हान्यो..’ गीत निकै चल्यो । अहिले पनि यो गीत धेरैले मन पराउँछन् । 


राणाकालीन समय उतार्न सहज थिएन । बेलायती बैठक कहाँबाट पाउने ? पुरानो परिवेशलाई कसरी उतार्ने भन्ने चुनौती थियो । अहिलेको राष्ट्रपति भवन शीतलनिवासमा उक्त गीत खिचिएको हो । ड्रेस बनाउन पनि उत्तिकै गाह्रो थियो । योभन्दा धेरै मिहिनेत ‘आदिकवि भानुभक्त’ बनाउँदा गर्नुपर्‍यो । पटकथा तयार गरेर मैले नै भानु जन्मस्थल विकास समितिलाई चलचित्र निर्माणको प्रस्ताव गरेँ । निर्देशन गरेबापत मैले पारिश्रमिक लिइनँ । आफूसँग भएका उपकरण पनि उपलब्ध गराएँ । यसमा कसैले पनि पैसाका लागि काम गरेका थिएनन् । सबैमा बेग्लै ऊर्जा थियो । 


नेपाली भाषालाई गाउँ–गाउँसम्म फैलाउने काम भानुभक्तको ‘रामायण’ले गरेको थियो । यस्ता विशिष्ट व्यक्तिको जीवनी सबैले बुझ्ने गरी बनाउनुपर्छ भन्ने लागेकाले पहल थालेको थिएँ । टिमका सबै सदस्यले राम्रो काम गरे । बायोपिकमा अनुसन्धान धेरै गर्नुपर्छ । भानुकालीन समाज उतार्न भाषा पनि त्यही समयकै प्रयोग गर्नुपर्ने थियो । भानु जन्मस्थल विकास समितिका प्रतिनिधि, साहित्यकार वैरागी काइँला, वासुदेव त्रिपाठीलगायतको कमिटी बनाएर धेरै दिनसम्म छलफल गरी संवाद फाइनल गर्‍यौँ । 


दरबार हाइस्कुल अगाडिको भानुभक्तको सालिक हेरेर त्यहीअनुसार मिल्ने फेसलाई भानुभक्तको भूमिका दिने सोच बनाएँ । दिलिप रायमाझीको अनुहार मिल्दोजुल्दो लाग्यो । अभिनय पनि राम्रै लागेकाले उसलाई राखेँ । कमलमणि दीक्षितलाई भानुभक्तका बाजेका रूपमा कास्ट गरेँ । धेरै रिहर्सल गरेपछि मात्रै सुटिङमा गएका थियौँ । हामीले भानु जन्मस्थल रम्घामा छाप्रोजस्तो घर बनाएर त्यही घरमा केही दिन बसेर सुटिङ गरेका हौँ । केही सुटिङ चुँदीबेसी र केही काठमाडौंमा पनि गर्‍यौँ । 


घाँसी कुवा पहिचान गर्न पनि समय लाग्यो । बाटोनजिकको कुवा नै घाँसीकुवा हो भन्ने स्थानीयलाई लागेको रहेछ । तर, वास्तविक कुवा अर्कै रहेछ । हामीले जानकारसँग राय–सुझाव लिएर वास्तविक कुवा पहिचान गरेपछि मात्रै सुटिङ गर्‍यौँ । 


बायोपिकमा गल्ती गर्ने छुट हुँदैन । त्यसैले मिहिनेत धेरै पर्छ । तर, बायोपिकलाई बजार पाउन गाह्रो छ । बजारमा के चल्छ र कुन गुणस्तरीय छ भन्ने विषय अलग हो । व्यावसायिक रूपमा धेरै सफल नभए पनि यो फिल्म बनाएकोमा मलाई सधैँ गर्व लाग्छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको फिल्म एन्ड टेलिभिजन अर्काइभले केही वर्षअघि ‘प्रेमपिण्ड’ र यो फिल्मको सक्कलप्रति लगेको छ । नेपाली इतिहास र भाषाको विकासक्रमका सन्दर्भ सामग्री भएकाले यी फिल्मलाई सुरक्षित गरेर भल्टमा राख्ने सहमति गरेका छन् । ऐतिहासिक महत्वका धेरै सामग्री धुलोले खाइसकेका छन् । उनीहरूले संरक्षण गरेर राख्छौँ भनेपछि मैले पनि खुसी भएर सक्कल प्रति दिएँ । उनीहरूले यी दुवै फिल्मलाई डिजिटल फम्र्याटमा पनि राखेका छन् ।