• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अन्वेषण अधिकारी
२०८१ बैशाख ८ शनिबार ०७:४२:००
समाज

मानिसलाई चित्रको सौन्दर्य महसुस हुन छाड्यो

२०८१ बैशाख ८ शनिबार ०७:४२:००
अन्वेषण अधिकारी

पोर्चुगलका चर्चित कलाकार नेल्सन फरेराले काठमाडौंमा केही दिनअघि मात्रै प्लाटिग्लेम प्रविधिको प्रयोगमार्फत चित्रकला प्रदर्शन गरे । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गरिएको प्रदर्शनीमा उनले एकातर्फ बटाल्हा क्याथेड्रल र अर्कोतर्फ नेपालको मध्यकालीन समय झल्काउने देवी–देवताका कलाकृति राखेका थिए । फरेराले आफ्नो अनुभव अन्वेषण अधिकारीसँग साटेका छन् :

 

त्यसवेला म २१ वर्षको थिएँ । पोर्चुगलको ललितकला कलेजमा पढ्दै थिएँ । पैसा कमाउनका लागि त्यतिवेला मानिसका पोट्रेट तस्बिर बनाइदिन्थेँ । अझै पनि पोट्रेट बनाउँछु ।एकपटक एक ग्राहकले मलाई पोट्रेट बनाउन लगाइन् । त्यसका लागि राम्रो पैसा पनि दिएकी थिइन् । तर, मेरो चित्रबाट उनी खुसी हुन सकिनन् । मेरो साथीले एक दिन मलाई खबर गरे, ‘नेल्सन, तिमीले तस्बिर कोरेनौँ । ठग्यौँ भन्ने ग्राहकको आरोप छ ।’


ती महिलालाई मैले श्यामश्वेत फोटोग्राफीमा कलर पोतेर झुक्याएको भन्ने शंका लागेको रहेछ । यसपछि उक्त पेन्टिङ बोकेर उनी ‘आत्मासँग साक्षात्कार गरेर’ बोल्न सक्ने दाबी गर्ने एक व्यक्तिकहाँ गएकी रहिछन् । ती व्यक्तिले यसलाई ब्ल्याक एन्ड ह्वाइट फोटोमा पोतिएको पेन्ट नै हो भनेछन् । घटना सुनेपछि मैले ती साथीसँग भने, ‘एक दिन केही साक्षी राखेर ती महिलासँग मलाई भेटाइदिनु, इरेजरले मेटाएर फेरि तस्बिर बनाएर वास्तविकता बुझाइदिनेछु ।’ती साथीले थपे,‘त्यसोभए इरेजर पनि उनलाई नै ल्याउन लगाउँछु । नत्र, तिमीसँग फोटो मेटाउन सक्ने विशेष इरेजर छ भनेर उनले अर्को शंका गर्नेछिन् ।’ 


भोलिपल्ट ती महिला पेन्सिल, इरेजर र चित्रसहित आइन् । धेरै मानिसले यो घटना प्रत्यक्ष नियालिरहेका थिए । मैले इरेजर समातेर नाक र आँखाको केही भाग मेटाएँ । त्यसपछि सबै सामुन्ने पेन्सिलले त्यस भागलाई पहिलेजस्तै गरी पेन्टिङ गरेँ । चित्र पहिलेजस्तै राम्रो देखियो । यसका लागि झन्डै ४० मिनेट लाग्यो होला । त्यसपछि उनी पक्का भइन् कि यो कुनै श्यामश्वेत फोटोमा गरिएको कलर रिटच नभएर मैले आफैँले बनाएको पेन्टिङ थियो । उनले तत्कालै माफी मागिन् । यस घटनापछि मेरो डिमान्ड अझै बढ्न थाल्यो । 


मैले अहिलेसम्म विश्वका ५० वटाभन्दा धेरै देश घुमिसकेको छु । पछिल्लो समय प्लाटिग्लेम प्रविधिमार्फत चित्र प्रदर्शन गरिरहेको छु । एसियामा बंगलादेश र नेपालमा यो प्रविधिमार्फत चित्र प्रदर्शन गरेँ । प्लाटिग्लेम प्रविधि पिगमेन्टस् वा पेन्ट दुवैमा निर्भर रहँदैन । प्रकाशको सहारामा यसले फरक इफेक्ट सिर्जना गर्छ । जसकारण, दर्शकलाई प्रत्यक्ष रूपमा तस्बिरमा इन्गेज हुन र ध्यान केन्द्रित गर्न मद्दत पुग्छ । प्रायजसो अवस्थामा आफ्नो ध्यानलाई अझै बढी केन्द्रित गर्न दर्शकले फ्ल्यासलाइट वा मोबाइल फोनको प्रयोग गर्छन् । 


नेपालमा पेन्टविनाको चित्र पहिलोपटक देखेकाले मानिसले अनौठो मानिरहेको पाएँ । नेपाल आर्ट काउन्सिलको कोठामा मैले दुईवटा कोठामा एकै समयका दुई फरक भूगोलका कलाकृतिलाई देखाउन खोजेको थिएँ । यसमा नेपाल र पोर्चुगलको संस्कृतिबीचका समानता र भिन्नता दर्शकले आफैँ हेरेर महसुस गर्नुभयो । 


कोठाको एकातर्फ मैले नेपालका देवी–देवताका कला राखेँ । अर्कोतर्फ, पोर्चुगलको बटाल्हा क्याथेड्रल थियो । यी दुवै संरचना लगभग एकै समयका हुन् । यी दुवै युनेस्को विश्व सम्पदा सूचीमा रहेका क्षेत्र हुन् । नेपाल वास्तवमै विशेष ठाउँ हो । यहाँका मानिसमा उदासीनता, क्रोध र स्वार्थ कम देखिन्छ । सात वर्ष पहिले नेपाल आउँदा मलाई मन्दिरले आकर्षित गरेका थिए । यो देशमा अध्यात्म बाँचेको छ । 


पाटन दरबार स्क्वायर र काठमाडौं दरबार स्क्वायर र वरपरका केही मन्दिर अवलोकन गरेपछि आफ्नो ज्ञान प्रयोग गरेर मैले कलाकृति तयार गरेको हुँ । यसबीच ६० भन्दा बढी मन्दिर भ्रमण गरेँ । त्यसमध्ये आफ्नो हृदयमा गढेका केही चित्र तयार गरेको हुँ । मैले शिवको चित्र बनाएको छु । शिवमा मानिसजस्तै असल र खराब दुवै गुण छन् । अन्य धर्ममा भगवान्का राम्रा पक्ष मात्रै हुन्छन् । तर, शिवसँग करुणासँगै रिस पनि छ । यो मलाई विशेष लाग्छ । अजिंगर, सिंह, शिव, पार्वतीलगायत चित्र तयार गरेको छु । हिन्दू धर्ममा देवता, प्राणी र प्रकृतिबीच एक बलियो सम्बन्ध छ । 


मैले कोठाको अर्कोतर्फ, बटाल्हा क्याथेड्रेलका तस्बिर राखेको थिएँ । यसले पोर्चुगलका लागि ऐतिहासिक महत्व राख्छ । १४औँ शताब्दीमा स्पेनले पोर्चुगलमाथि आक्रमण गरेको थियो । त्यतिवेला थोरै संख्याका पोर्चुगिज सिपाहीले युद्ध जिते । त्यसैले राजाले देशमुक्तिका लागि भगवान्लाई धन्यवाद दिन यो क्याथेड्रल बनाए । यो पोर्चुगलको स्वतन्त्रताको प्रतीक हो । हुन त पोर्चुगलमा यस्ता धेरै क्याथेड्रल छन् । तर, सबैभन्दा सुन्दर ठाउँमध्ये बटाल्हा एक हो । यसलाई युुनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ । काठमाडौंका ठाउँ पनि विश्वसम्पदा सूचीमा सूचीकृत छन् । सौन्दर्यको साझा परिभाषा हुन्छ भन्ने मलाई लाग्छ । 


नेपालीमा कलात्मक चेत 
पश्चिमा संस्कृतिको प्रभाव धेरै फैलिरहेको यो समयमा पनि नेपाल आफ्नै बिरासत बोकेर बाँचिरहेको छ । सात वर्षअघि आउँदा नेपालीमा जुन मिठास देखेको थिएँ, त्यो अहिले पनि उस्तै पाएँ । प्रदर्शनीमा आउने धेरै दर्शकले मलाई तस्बिरबारे जिज्ञासा राखे । उनीहरूले आफ्ना साथीभाइलाई पनि बोलाएर ल्याए । 


विविधतामा पनि नेपाली समाज एक भएर बाँचेको छ । पर्व, महोत्सव, कला, साहित्यले भावनात्मक रूपमा छुन्छ र एक–आपसमा जोड्छ । एउटा कलाकारका रूपमा यो भावनाले मलाई निकै उत्साहित बनायो । 


इन्डोनेसियाको अनुभव
इन्डोनेसियामा पनि अनौठो अनुभव भयो । त्यहाँका मानिस पनि नेपालीजस्तै भावनात्मक छन् । त्यहाँ कलालाई हेर्ने तरिका फरक छ । उनीहरू चित्रलाई पुस्तकका पानामा पल्टाएर हेर्नेरहेछन् । त्यहीकारण उनीहरूलाई चित्र छुने बानी भइसकेको रहेछ । 


युरोपमा कलालाई हात छुनु हुँदैन भन्ने अवधारणा छ । तर, इन्डोनेसियामा प्रदर्शनी गर्दा सबैजना भित्तामा झुन्ड्याइएका तस्बिरलाई हातले छुन चाहन्थे । मैले अन्य देशमा प्रदर्शनी गर्दा यसरी हातले चित्र छुन आउनेहरू देखेको थिइनँ । तर, यहाँ मानिस चित्रलाई छोएर महसुस गर्न चाहन्थे । अन्त्यमा हामीले त्यहाँ ‘चित्रलाई छुन पाइँदैन’ भन्ने लेख्नुपर्‍यो । तर, मेरा चित्रहरूप्रति दर्शकले देखाएको माया मलाई निकै मन परेको थियो । 


युरोपमा पनि सामाजिक सञ्जालको प्रयोग व्यापक हुनुअघि मानिस चित्रकलाको मज्जा लिन्थे । तर, सामाजिक सञ्जाल एउटा ड्रग्सजस्तै हो । यसले हाम्रो बुद्धिलाई क्षय गर्दै लगिरहेको छ । चित्रकारलाई यसबाट सबैभन्दा धेरै घाटा छ । किनकि, चित्रकला मानिसको आधारभूत आवश्यकता होइन । गाँस, बासलगायतका आधारभूत पक्ष पूरा भएर समाज सुखी भएपछि मात्रै मानिसले चित्रकलाको आनन्द लिने हो । तर, अहिले आधारभूत कुरा प्राप्त भए पनि मानिस आफ्नै महत्वाकांक्षाले दुःखी छन् । त्यसैले उनीहरूलाई कलात्मक पक्षले छुँदैन । चित्रको वास्तविक सौन्दर्य नै उनीहरूलाई महसुस हुँदैन । उनीहरूलाई कुनै जोक्स वा छिटो हाँस्ने बहाना चाहिएको छ । कला बुझ्नका लागि यसैमा डुब्न सक्ने भावना र लगाव चाहिन्छ । त्यो धैर्यता युरोपेलीहरूमा घट्दै छ । 


संस्कृतिमाथि उच्च वर्गले आक्रमण गरिरहेको छ । किनभने बौद्धिक सभ्रान्तहरूले जनता जति मूर्ख हुन्छन्, उनीहरूलाई नियन्त्रण गर्न त्यति नै सहज हुन्छ भन्ने बुझेका छन् । युरोपमा पपुलिस्ट सरकार बनिरहेका छन् । पपुलिस्ट नेता कला–संस्कृति, विश्वविद्यालयमा दिने खर्च कटौती गर्न चाहन्छन् । वैज्ञानिक अनुसन्धानका लागि कम रकम दिन चाहन्छन् । जनताको बौद्धिक विकास होस् भन्ने चाहना उनीहरूमा देखिँदैन ।

 

उनीहरू युद्धमा पैसा लगाइरहेका छन् । गरिबीसँग लडिरहेका देशलाई सहायता गर्नमा कन्जुस्याइँ गरिरहेका छन् । यसले हाम्रो प्राथमिकता कता छ भन्ने बुझाउँछ । मानिस क्रमशः एक्लो हुँदै गएको छ । उनीहरू चित्र हेर्छन्, तर यसको मज्जा लिन सक्दैनन् । कलात्मक जीवन बाँच्न बिर्सिएको धेरै भइसकेको छ । समाज व्यक्तिवादी भइसकेको छ ।