• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
दिनेश अधिकारी
२०८१ बैशाख ८ शनिबार ०८:१६:००
साहित्य

दरिन तेटोरलाई चिठी

२०८१ बैशाख ८ शनिबार ०८:१६:००
दिनेश अधिकारी

तिम्रो चिठी पढेपछि
समाचारमा आएभन्दा बाहिरका
धेरै कुरा थाहा भयो
यताको खबर पनि त्यस्तै–उस्तै हो
एउटै चिठीमा
सबै कुरा त के लेख्न सकुँला र ?


सुरक्षा निकाय नै 
असुरक्षाको उद्गम भएको परिवेशमा बाँचिरहेको म
फेरि पनि केही लेखिरहेको छु–
भन्नै पनि कस्तो लाजमर्दो !
समाजसेवाले व्यापारको उच्च स्थान ओगटेको छ
सनकीको हातमा बन्दुक छ
रक्सीले धुत भएका
जँड्याहाहरूको वार्तालाप बिर्साउँदै छ राजनीतिले,
त्यसवेला सिलाएको लुगाको रङ मड्किएको छैन
एक–अर्काको टाउकाको मोल लगाउने
र, परस्पर सत्तोसराप गरेर नथाक्नेहरू
अहिले रमाएर एउटै थालमा भतेर खान बसेका छन्
अपराधीहरू कानुन बनाउन व्यस्त छन्
ठूलाबडा भनिनेहरू तस्करीमा 
मस्त छन्
यो दुर्दशा
हेर्न र सुन्न पनि घिन लागेपछि
दिमागमा देश बोकेर बाँचेकाहरू
देशको बारेमा अब बेखबर बस्न चाहन्छु भनिरहेका छन्

 

कतै, केही सहन बाँकी छैन
भोकले काँपेकी सुत्केरी आमाको शिथिल शरीर
र काखको नवजात शिशु भाँतीमा
न्याय काँपिरहेको छ
इमान काँपिरहेको छ
समृद्धि–
गरिबीको प्रमाणपत्र वितरणमा समृद्ध भएको छ
बैंक–
कालाबजारीको हातको धितो भएको छ
कामभन्दा बढी
ठेक्कापट्टाको कमिसनमा
अहोरात्र छलफल चलिरहेको छ
बोलोस् त कोही यसका विरुद्ध
उसलाई ठेगान लगाउन
राज्य–संयन्त्र सधैँ तम्तयार छ
दुष्टले पुजारीको आसन
र, कपटीले सत्ताको बागडोर सम्हाल्न थालेपछि
हृदयले देशलाई पुज्दै आएकाहरू
देशको नाममा अब किरिया मात्र बस्न बाँकी छ भनिरहेका छन्

 

भएको जिउनी घर–खेतसमेत बेचेर
तन्नेरी÷तरुनी छोराछोरीलाई
विदेश पठाइरहेका आमाबाबुहरू
उनीहरू फेरि यही देशमा फर्केर आउलान् कि भन्ने चिन्तामा छन्
उता, छोराछोरीहरू भने
दलालले दुईतिर पु¥याएका कारण
दुई युद्धरत शत्रु देशका
बेग्लाबेग्लै मोर्चामा राइफल बोकेर दौडिरहेका छन्
न घाम छेक्ने, न पानी रोक्ने
सामुदायिक विद्यालयको छानो भाँतीको
आफ्नै जीवन हेरेर तर्संदातर्संदै पनि
पाखुरीमा विश्वास भाकिरहेकाहरू
निमुखाका निर्दोष पसिनाले
फोहरी मुख कुल्ला गर्न बानी परेका सत्ताधारीहरू देखेपछि
झुक्किएर पनि
आफ्नो घर–आँगनतिर सरकार नआएदिए हुन्थ्यो भनिरहेका छन्

 

प्रिय दरिन तेटोर !
बहुलाउन त
तिमी र म उहिल्यै बहुलाइसक्नुपर्ने हो
धन्न ! फेरि पनि हामी अहिलेसम्म साबुत छाैँ
हामी दुवैको देश हराएको वेला हो यो
तिमी भूगोलमा आफ्नो देश खोजिरहेकी छ्यौ
र, म–
देश भनिएको भूगोलभित्रै आफ्नो देश खोजिरहेको छु

 

आशा गरौँ
कुनै न कुनै दिन
हामीले आ–आफ्नो देश भेट्टाउनेछौँ

 

कामना गर्छु–
यो चिठी पुग्दासम्म
देश खोजेको आरोपबाट
तिमी कारागार–मुक्त भइसकेकी हुनेछ्यौ !!
०००