• वि.सं २०८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन बराइली
२०८१ बैशाख ८ शनिबार ०८:३०:००
साहित्य

आख्यानकार मुकारुङलाई चलचित्र निर्देशक सुब्बाको प्रश्न : सत्ताको ह्युमपाइपमा छिर्नुभयो, दुरुस्तै निस्कनुहुन्छ ?

२०८१ बैशाख ८ शनिबार ०८:३०:००
पवन बराइली

करिब साढे दुई दशकअघि तीन युवा कविहरू राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङयुग अज्ञात राजधानी पसे । उनीहरूले ‘सिर्जनशील अराजक’को अवधारणा अघि सारेर साहित्यिक दुनियाँमा एक किसिमको तरंग नै ल्याए । ०६० र ०७० को दशकमा पहिचानवादी साहित्यमा उनीहरूको भूमिका अग्रणी रह्यो ।

 

कविता, कथा, निबन्ध, उपन्यासमार्फत पहिचानवादी साहित्य लेखिरहेका यी तीन कवि अढाइ दशकपछि भने ‘अलग’ बाटोमा लागे । अज्ञात प्रवासी जीवन त्यागेर गाउँमै ‘कविकुटी’ बनाएर बस्न थाले भने सुब्बा ‘जारी’ ‘मनसरा’ फिल्म निर्देशन गर्दै निर्देशकको रूपमा फिल्मी दुनियाँमा प्रवेश गरे । यता मुकारुङ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बने र ‘खुवालुङ’, ‘बाखाम्मा’ नाटक लेख्दै रंगमञ्चतिर व्यस्त हुन थाले । चलचित्र निर्देशक सुब्बाका प्रश्नमा आख्यानकार मुकारुङले तीन दोस्तको सहयात्रा र सम्बन्धबारे धेरै कुरा बताएका छन् :

 

तपाईंले आजसम्म आख्यान, कविता, गीत लेख्नुभयो । संगीत पनि भर्नुभयो । पछिल्लो समय नाटकमा ‘होलटाइमर’ नैै हुनुभएको छ । खासमा तपाईं आफूलाई के भनेर चिनाउन रुचाउनुहुन्छ ? 
जुन–जुन विधामा काम गरियो, त्यो विधाप्रति प्रेम र माया नहुने कुरै भएन । र, सबै हुँ भनेर चिनिने लोभ त हुँदो रहेछ । पछिल्लो समय नाटकमा बढी समय दिइरहेको छु । नाटकमा धेरै कुरा देखाउन पाइने रहेछ । फिक्सन, मिथ, लाइट, गीत–संगीत सबै मिसाएर नाटकमा काम गरिरहँदा समाजको झनै नजिक पुगियो भन्ने महसुस हुने रहेछ । त्यसैले मलाई नाटककार भनेर चिनिदिएहुन्थ्यो भन्ने लाग्छ । अहिलेसम्म ६ वटा नाटक लेखिसकेँ । नाटक पनि चलेकै छ । तर, नाटककार भन्दैनन् ।


‘सिर्जनशील अराजकता’मा हामी तीनजना (तपाईं, हाङयुगजी र म) थियौँ । हाङयुगजीलाई वैचारिक र दार्शनिक चेत भएको मान्छेको रूपमा लिन्छौँ । तपाईं स्वभावैले राजनीतिक रूपले प्रतिरोधी चेत भएको मान्छे । तर, तपाईंलाई मान्छेहरूले साह्रै छुच्चोभन्दा रहेछन् । तपाईं आफूलाई चाहिँ छुच्चो छु जस्तो लाग्छ ? 


तपाईं र मेरो संगत भएको दशकौँ बितिसक्यो । म छुच्चो छु–छैन, तपाईंलाई पनि थाहा छ । मेरो धेरै नजिक भएका हाङयुगजी, स्वरस्वती प्रतीक्षा र तपाईंहरूले मलाई ‘लाटो’ भन्नुहुन्छ । लागेको कुरा फ्याट्टै भन्ने मनमा नराख्ने स्वभाव छ मेरो । म मालिकवाद रुचाउँदिनँ । अग्रजहरूले भनेको सबै कुरा मान्नैपर्छ भन्ने चेतबाट गुज्रिएर आइनँ । पहिलेदेखि नै मलाई कसैले ‘तैँले यसो गर्नुपर्छ’ भन्दा किन गर्ने ? यसको कारण देखाउनुस् भन्थेँ । जब प्रश्न गर्न थालेँ, त्यसपछि मलाई छुच्चो भने होलान् । आफू सहमत र असहमत दुवै अवस्थामा प्रश्न सोध्न सकिन्छ । मेरो यही प्रश्न गर्ने स्वभावलाई मानिसले छुच्चोपन देखे । ‘कन्भिन्स’ नहुन्जेलसम्म प्रतिवाद गरिरहेँ । प्रतिवाद गर्नेलाई प्रतिरोधी चेत भन्ने गरिन्छ । सायद त्यही भएर पनि मलाई छुच्चो भनिएको होला । मसँग प्रतिरोधी चेतचाहिँ छ ।


म फिल्मतिर लागेँ, तपाईं नाटकतिर लाग्नुभयो । कतिपयले सिर्जनशील अराजकता बरालियो पनि भन्दा रहेछन् नि ! तपाईंको त भाइपुस्ताहरूसँग पनि राम्रो उठबस छ । हाम्रो सिर्जनशील अराजकता बरालिएकै हो ?
हामी सुरुमा साहित्यिक कर्मबाट अभियानमा लाग्यौँ । आन्दोलनमा लाग्यौँ । हामी सिर्जनात्मक क्षमताबाट नै अघि बढेका हौँ । जे–जति गर्‍यौँ सिर्जनात्मक रूपबाट प्रतिरोध गर्नुपर्छ र आन्दोलन गर्नुपर्छ भन्ने चेतका साथ गर्‍यौँ । समयक्रमले हामीलाई पनि विकसित गर्दै लग्यो । कलाको सम्पूर्ण माध्यमबाट हाम्रो चेतनलाई विस्तार गर्नुपर्छ भन्ने हाम्रो बुझाइ भयो ।

 

बुझाइ भएकै कारण हामीले नाटक गर्‍यौँ, तपार्ईंले सिनेमा बनाउनुभयो । गीत पनि लेखियो । यो सबै काम गर्नुका पछाडि विशुद्ध साहित्य सिर्जना मात्र होइन, सिंगै सांस्कृतिक अभियान र आन्दोलनमार्फत कलाको सबै पक्षबाट हामी हाम्रो चेतलाई विस्तार गरौँ । सिर्जनामार्फत आन्दोलनलाई अगाडि बढायौँ । यसरी हामी झनै फैलिएका छौँ, कसरी बरालियौँ र ? यो त गलत बुझाइ हो ।

तपाईंको लोभलाग्दो पपुलारिटीपछि चाहिँ मलाई पनि लोभ लागेको हो । तर, मेसो पाइरहेको छैन । मेसो पाए आउँथेँ । अहिले बजारमा तपाईंसँग हिँड्दा तपाईंलाई कवि उपेन्द्र सुब्बा भनेर कसैले फोटो खिच्दैनन् । झाँक्री बा भनेर तानेर लगिहाल्छन् । हिजो कवि भनेर बनाएको साथी यसो हेर्छु, फिल्मको पात्रमार्फत पपुलर छ, यस्तो देख्दा मलाई पनि कम्ती लोभ लाग्दैन । 


नयाँ पुस्ता प्रतिरोधी चेतसहित आइरहेका छन् । तर, विशुद्ध साहित्यिक मात्रै देखिएका छन् । उनीहरूले आफूलाई बृहत्तर बनाउन जरुरी छ । हामी सीमित व्यक्ति मात्रै स्थापित भएर हुँदैन । हाम्रो आन्दोलन र हामीले बोकेका मुद्दा स्थापित हुनुपर्छ । त्यसका लागि सबै विधाबाट जाने प्रयत्न गरिरहेका छौँ । सिनेमा, नाटक, गीत, संगीत सबै माध्यमबाट हाम्रो कुरा भन्न खोजिरहेका छौँ । नयाँ पुस्ता त्यो ठाउँमा आइपुग्छन् नै, योभन्दा अझै अगाडि जानुपर्छ । 


तपाईं फिल्मतिर आउने कत्तिको सम्भावना छ ?
तपाईंको लोभलाग्दो पपुलारिटीपछि चाहिँ मलाई पनि लोभ लागेको हो । तर, मेसो पाइरहेको छैन । मेसो पाए आउँथेँ । अहिले बजारमा तपाईंसँग हिँड्दा तपाईंलाई कवि उपेन्द्र सुब्बा भनेर कसैले फोटो खिच्दैनन् । झाँक्री बा भनेर तानेर लगिहाल्छन् । हिजो कवि भनेर बनाएको साथी यसो हेर्छु, फिल्मको पात्रमार्फत पपुलर छ, यस्तो देख्दा मलाई पनि कम्ती लोभ लाग्दैन । 


अहिले तपाईं नाटकमा व्यस्त हुनुहुन्छ । हामीले भनेको सांस्कृतिक चेत नाटकमा कसरी आइरहेको छ ?
सांस्कृतिक चेतसहितको नाटक कम लेखिएको छ । काठमाडौं उपत्यकामा मात्रै पाँच–सातवटा नाटकघर होलान् । महिनामा सातवटा नाटक बन्दा एउटा पनि सांस्कृतिक नाटक बन्न गाह्रो छ । बरु चारवटाजति विदेशी नाटक अनुवाद गरिन्छ । नेपालमा यति धेरै मौलिक संस्कृति छन्, मौलिक कथा छन्, त्यसलाई कलेक्ट गर्न रंगकर्मी साथीहरूलाई साह्रै अल्छी लाग्छ । उनीहरूलाई ‘बोर’ हुन्छ । त्यसकारण नेपाली रंगकर्मीमा सांस्कृतिक चेत छ भन्दिनँ । त्यो दिन मात्रै भन्छु, जुन दिन उनीहरूले साँच्चै नेपाली नाटक बनाउने प्रयत्न गर्नेछन् । भोलि फिल्मतिर चान्स पाइन्छ भनेर रंगकर्ममा आउने धेरै छन् । तर, चेतसहितको आगमन छैन । सिद्धहस्त भनिएका रंगकर्मी नै विदेशी नाटक मञ्चन गर्ने र त्यसको प्रमोसन कसरी गर्ने भनेर लागिरहेका छन् । 


नेपाली सिनेमामा चाहिँ सांस्कृतिक चेत, समाज चेत र समय चेत कस्तो देख्नुहुन्छ ? 
पछिल्लो समय सिनेमामा तपाईंलगायत केही साथीहरू लागिराख्नुभएको छ । तर, इमानदारीपूर्वक भन्दा तपाईंहरू पनि पूर्ण चेत र विश्वाससहित होइन, आफ्नो संस्कृतिलाई अलिकति ल्याऊँ र त्यसबाट पनि बिजनेस गरौँ भन्ने ढंगले अघि बढिरहनुभएको छ । केही राम्रो प्रयत्नचाहिँ तपाईंहरूले गरेको देखिन्छ ।

हामी भेट्दा गम्भीर हुन्छौँ । तर, हाम्रो गम्भीरताले मानिसलाई सोचमग्न नबनाओस् भन्ने सोचले जहिल्यै हास्यरसबाट गफ गर्छाैं । हामी दुःखका गफ गर्दैनौँ । दुःख र पीडा त छँदै छ नि ! तर, हामी दुःखी कहिल्यै भएनौँ । अहिलेसम्म तपाईं र मेरो दुःखद क्षण आएको छैन । 


तपाईंले चाहेजस्तो विषयमा मैले फिल्म बनाएँ भने तपाईं आफ्ना लागि कस्तो रोलको आशा राख्नुहुन्छ ? 
मलाई ‘मनसरा’को स्क्रिप्ट पढ्दा ‘केयरसिंह’ भन्ने पात्र खुब मन परेको थियो । त्यो ‘केयरसिंह’ भन्ने पात्र खेल्नुपर्‍यो भनेर सोचेको थिएँ । तपार्इंलाई मैले त्यो पात्र कसले गर्दै छ भनेर सोध्दा ‘म आफैँ हान्ने हो’ भन्नुभयो । त्यसपछि म चुप लागेँ । त्यो सानदार लागेको पात्र छुटाइहालियो । अब अर्काे सिनेमाचाहिँ बल गरौँला ।


मैले ‘जारी’, ‘लाटोपहाड’ ‘खोलाको गीत’मार्फत केही कोसिस गरेँ । तपाईंले ‘हेत्छाकुप्पा’, ‘खुवालुङ’, ‘बाखाम्मा’मार्फत आफ्ना कथा भन्दै आउनुभएको छ । यी काममार्फत खासमा हामी के भन्न खोजिरहेका छौँ ?
हामी यो क्षेत्रमा लहडले आएका होइनौँ । अरूका कृति पढेर र आन्दोलन हेरेर आएका हौँ । अरूले लेखेका कृतिमा हामीलाई नभेटेपछि हामी आफैँ लेख्न आएका हौँ । आफ्नो कथा अरूले नभन्ने रहेछ । आफ्नो कथा आफैँ भन्नुपर्ने रहेछ भन्ने बुझाइका साथ हामी जराका कथा भन्न आइपुगेका हौँ । हामी हाम्रो संस्कृतिलाई उत्खनन गर्दै छौँ । आफ्नो पहिचानलाई प्रेम गर्नु भनेको जडतातिर फर्किनु होइन । 


हामीभित्र पनि जटिलता छन् । ती जटिलतालाई कसरी निस्तेज गर्न सक्छौँ ? हामीभित्र रहेका सकारात्मक पक्ष र प्रगतिशील पक्षलाई कसरी प्रवद्र्धन गर्न सक्छौँ ? हाम्रो समाज र समुदायलाई अझ कसरी गतिशील बनाउन सक्छौँ भन्ने सकारात्मक ध्येयका साथ हामी लेखिरहेका छौँ ।


संसारभर साहित्य र कला क्षेत्रमा जे–जति काम भएका छन्, हरेक स्रष्टाले आफ्नो समुदाय र जरा खोजेरै लेखेका छन् ।
आफ्नो संस्कृतिको भाव र सौन्दर्य चेतलाई समाएर उनीहरू अगाडि आएका छन् । जुनसुकै स्रष्टाले आफ्नो समुदाय र जरालाई समात्ने प्रयत्न गर्ने हो । हामी पनि हाम्रो समुदायबाट हुर्किएर आयौँ । जसरी हाम्रो सांस्कृतिक र सौन्दर्य चेत निर्माण भयो, ती कुरा हामीले भन्दै आइरहेका छौँ । 


अहिले तपाईं प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पनि हुनुहुन्छ । सत्ताको ह्युमपाइपमा छिरेपछि मान्छे दुरुस्तै निस्किँदैन भन्ने भनाइ पनि छ । ‘म दुरुस्तै निस्किन्छु’ भन्ने तपाईंलाई कत्तिको आत्मविश्वास छ ?
त्यहाँ पसेर विचेत हुने चान्स नै छैन । चार वर्ष त्यहाँ बस्दा अलि–अलि शरीरको आदत बिग्रिएला । मैले लिनुपर्ने चेतना हो । चेतनाचाहिँ बिग्रिँदैन । म कुनै पनि पार्टीको सदस्यको हैसियतले प्राज्ञ भएको होइन । सांस्कृतिक आन्दोलन र अभियानबाट आफूलाई जे–जति उभ्याउन सकेँ, त्यसैका आधारमा सायद मलाई सिफारिस गरिएको हो । त्यहाँ गएपछि पार्टीलाई यति लेबी बुझाउनुपर्छ भन्ने ढंगले गएको हो भने सायद बिग्रिएर फर्किन सक्छु होला । म त्यसरी नगएको हुनाले त्यहाँ गएर पनि आन्दोलन नै गरिरहेको छु । त्यहाँ मैले मातृभाषा साहित्य विभाग हेरिरहेको छु । प्रत्येक महिना मातृभाषा साहित्यको छलफल चलाउँछु, विमर्श गराउँछु । त्यहाँ कविता वाचन हुन्छन् । कुन–कुन भाषाको अवस्था कस्तो रहेछ ? त्यहाँको साहित्य कसरी बढिरहेको रहेछ ? कस्तो हुँदो रहेछ हाम्रो लोकजीवनको साहित्य ? त्यहाँ त झन् आफ्नो आन्दोलनमा ठूलो टेवा पुगिरहेको महसुस हुनुपर्ने हो । त्यहाँ पुगेर कसरी बिग्रिएर फर्किन्छु होला ? मलाई त्यस्तो लाग्दैन । 


हामी लामो समयदेखि सँगसँगै छौँ । सँगै हुँदाको बहुतै रमाइलो र बहुतै दुःखलाग्दो केही घटनाको सम्झना छ ? 
हामी भेट्दा गम्भीर हुन्छौँ । तर, हाम्रो गम्भीरताले मानिसलाई सोचमग्न नबनाओस् भन्ने सोचले जहिल्यै हास्यरसबाट गफ गर्छाैं । हामी दुःखका गफ गर्दैनौँ । दुःख र पीडा त छँदै छ नि ! तर, हामी दुःखी कहिल्यै भएनौँ । अहिलेसम्म तपाईं र मेरो दुःखद क्षण आएको छैन । भेट्दा तपाईंले आफ्नै समुदायको कथा भन्नुहुन्छ । लिम्बू समुदायका क्यारेक्टर भन्नुहुन्छ । मलाई बडो स्वाद लाग्छ । दुःखको कथाले मानिसलाई रुवाउन सजिलो हुन्छ । तर, मानिसलाई हँसाउँदै त्यो हाँसोभित्र पनि दुःख भनिसकेर मानिसलाई थाहै नपाई रुवाउन सक्ने सौन्दर्य लिम्बू समुदायसँग छ । त्यो कला पनि तपाईंबाट सिक्दै छु ।


हामी सहरमा बसेर गाउँको कथा–कविता लेखिरहेका छौँ । सहरमा पनि गाउँ नै सम्झेर बसियो, बाँचियो । हाङयुगजी त इलाममै कविकुञ्ज बनाएर बस्नुभएको छ । मलाई पनि कहिलेकाहीँ गाउँ नै जाऊँ कि जस्तो झोक चल्छ । तपाईंलाई चाहिँ यस्तो लाग्दैन ?गाउँ फर्किने रहर नभएको भए मैले काठमाडौंमा दलाली गरेर भए पनि घडेरी जोड्थेँ होला । गाउँमा पितापुर्खाको जमिन छँदै छ । त्यो जमिन कसले खाइदिने हो भन्ने चिन्ताले काठमाडौंमा घडेरी जोड्नतिर लागिएन । आफ्नै सिर्जना कर्म र अभियानमा लागियो । 


तर, अब मलाई गाउँले खेद्दै छ । मेरो जग्गा अरुण तेस्रोले खाइदिँदै छ । जति बच्छ, त्यसैमा बस्ने प्रयत्न हुन्छ । सायद जीवनमा हातखुट्टा नचल्दा दिमाग मधुर चल्दा गाउँ नै गएर बसिन्छ जस्तो लाग्छ ।  मेरो आमा कहिल्यै पनि सहरमा बस्न मान्नुहुन्नथ्यो । तर, अहिले सहरै ल्याएर राखेको छु । आमाले गाउँ जाने रहर गरे पनि जान दिन्नँ । मलाई पनि भोलि यस्तै बाध्यकारी स्थिति बन्यो भने सहर बसिएला । तर, त्यति सारो सहर बस्दिनँ ।


तपाईंको नयाँ उपन्यास कहिले आउँछ ? 
मलाई अहिले आफ्नै ‘राइटिङ’मा विश्वास लाग्न छाडेको छ । दुई वर्षअघि नै मेरो उपन्यास सकिएको हो । तर, गतिलो लेखिनँ कि भन्ने लाग्ने । झन्डै एक लाख १३ हजार शब्दको लेखिसकेँ । तर, हेर्न बस्यो, दुई–तीन दिनमा हेरिसकिँदैन । त्यसपछि लय छुटिहाल्छ । फेरि सुरुदेखि नै हेर्नुपर्छ । समय दिन नसकेर पनि ढिला भयो । त्यत्तिकै छाप्दा पनि हुन्छ । तर, त्यसलाई छाँट्नुपर्ने छ, काट्नुपर्ने छ । अहिले फेरि नाटक ‘बखाम्मा’को तयारी भइरहेको छ । यसले दुई महिनाजति समय खान्छ होला । यो नाटक सकिएपछि १५–२० दिन घोत्लिएँ भने असोजसम्म आउला कि ! यसो भन्दै  ढाँटेको निकै वर्ष भइसक्यो ।