म धनकुटाको चुनबाङमा जन्मिएँ हुर्किएँ । मेरो बाल्यकाल दाउरा–घाँस गर्दै बित्यो । मलाई सानैदेखि गीत गाउन रहर लाग्थ्यो । मेलापात जाँदा गीत गुनगुनाउँथेँ । स्कुलका कार्यक्रममा पनि गीत गाउन भाग लिन्थेँ । पुरस्कृत पनि हुन्थेँ । हाटबजारमा जाँदा गीत गाउँथेँ । साथीभाइसँग मादल बजाउँथेँ । गीत गाउने नाच्ने गर्थेँ ।
गाउँमा कसैले रेडियो ल्यायो भने गीत सुन्नलाई रेडियोको पछिपछि दौडिन्थेँ । रेडियोमा नवीन किशोर, हिरण्य भोजपुरे, नारायणगोपाल, दीप श्रेष्ठ दाइहरूको गीत सुन्थेँ अनि तिनै गीत गुनगुनाउँथेँ । मलाई सानैदेखि सारंगीको धुन मनपथ्र्यो । त्यसैले सारंगी बजाउन थालेँ । यसरी नै मेरो गीत–संगीतमा जग बस्यो ।
२०३२ सालमा धनकुटाबाट नुन लिन धरान झरेँ । त्यसवेला गाउँमा मोटरबाटो पुगेको थिएन । नुन लिन धरान आउनुपथ्र्याे । त्यसवेला धरानमा ‘पूर्वाञ्चल लोकगीत प्रतियोगिता’ भइरहेको रहेछ । लोकगीत प्रतियोगितामा भाग लिएँ । त्यहाँ दुई–चारवटा गीत गाएँ । त्यसपछि मलाई सबैले चिन्न थाले । गीत–संगीतको माहोलमा घुलमिल हुन थालेँ । मलाई गीत–संगीतमा लाग्न बिस्तारै सजिलो हुँदै गयो । म धरानमै अड्किएँ । गीत–संगीतमै रम्न थालेँ ।
२०३२ सालमा धनकुटाबाट नुन लिन धरान झरेँ । धरानमा ‘पूर्वाञ्चल लोकगीत प्रतियोगिता’ भइरहेको रहेछ । त्यो प्रतियोगितामा भाग लिएर दुई–चारवटा गीत गाएँ । मलाई सबैले चिन्न थाले । त्यसपछि म धरानमै अड्किएँ ।
२०३४ सालबाट गाउँ–गाउँमा गीत गाउँदै हिँड्न थालियो । त्यस वेलादेखि नै जनपक्षीय गीत गाउनुपर्छ भन्ने चेत आयो । त्यसवेला अग्रजहरूसँग अभियानमा जोडिन थालेँ । जनपक्षीय गीत गाउन उहाँहरूले मलाई अघि सार्न थाल्नुभयो । अभियानसँगै प्रशिक्षणमा पनि सहभागी हुन थालेँ । अग्रजहरूले बिस्तारै प्रशिक्षण लिन थाले । त्यसवेलासम्म मलाई संगीतको ज्ञानै थिएन । आफ्नै पारामा गाउँथेँ, बजाउँथेँ ।
रामेश श्रेष्ठ दाइ, मञ्जुल दाइ, म, जेबी दाइ, अरिन श्रेष्ठ दाइ मिलेर ‘संकल्प परिवार’बाट अभियान सुरुवात ग¥यौँ । हामी अभियानमा हिँड्न थाल्यौँ । त्यसपछि अभियानले व्यापक रूप लियो । पूर्वाञ्चल क्षेत्रको सांस्कृतिक कमान्ड मैले सम्हालेको थिएँ ।
२०३६ सालतिरको कुरा हो । हामी गाउँगाउँमा कार्यक्रमन गर्दै हिँड्थ्याैँ । गाउँबस्तीको कुनाकाप्चामा निरन्तर गीत गाउँदै हिड्न थाल्यौँ । गीतमार्फत हाम्रा विचार राख्दै हिँड्न थाल्याैँ । त्यसवेला धेरै कार्यक्रममा गाएँ । सबैले मैले गाएको मन पराउँन थाले । त्यसबीचमा धेरै कठिनाइ र अप्ठ्यारा आए । तत्कालीन पञ्चायती व्यवस्थाका शासकले धेरै दुःख दिन्थे । थुप्रैपटक कुटाइ पनि खाइन्थ्यो । खुकुरीको झटारो पनि खाइयो । अभियानकै क्रममा जेलनेलमा पनि परियो । त्यसका बाबजुद पनि हामी निरन्तर कार्यक्रम गर्दै हिँड्यौँ ।
‘चलेछ बतास सुस्तरी...’ गाएपछि मेरो सांगीतिक यात्रामा फरक मोड आयो । त्यो गीत निकै लोकप्रिय भयो । त्यसपछि झन् धेरैले मलाई चिन्न थाले । लोकप्रियता बढेपछि च्यालेन्ज महसुस भयो । त्यसपछि मैले झन् धेरै गीत गाउन थालेँ ।
भूमिगतकालमा नेताहरूले चिट्ठीमार्फत निर्देशन दिन्थे । हामी नडराई सांस्कृतिक अभियान चलाउँदै हिँड्थ्यौँ । त्यसवेला जेबी टुहुरे, लोचन भट्टराई, निशान भट्टराई, दुर्गा भट्टराई, टंक भट्टराई, भुवानी बरा, राजु थापालगायत हामीसँगै हुन्थ्यौँ ।शासकले जति दुःख दियो त्यतिकै मात्रामा हामीलाई आमजनताले चिन्न थाले । म यतै भुलिन थालेँ । घरमा नुन लिएर फर्किनँ । त्यस दिनदेखि नुन लिएर घर जान पाएको छैन । तर, नुनको सट्टामा विचार गीत–संगीतमार्फत फैलाउँदै हिँडेँ । नुन बोक्नका लागि ल्याएको ढाकर टेकुवा बिसाएँ । परिवर्तनका लागि गाउँगाउँ हिँडेँ । सामूहिक मुक्तिका लागि हिडेँ । परिवर्तनका लागि गीत गाएँ । त्यो साँच्चै राम्रो समय थियो । अहिले सम्झिँदा खुसी लाग्छ, म पनि परिवर्तनका लागि अभियानमा सहभागी पाएँ ।
२०४१ सालमा काठमाडौं आएँ । त्यसवेला मेरो विवाह भइसकेको थियो । हामी पाँचजनाको परिवार भइसकेका थियौँ । अब काठमाडौंमै संघर्ष गर्नुपर्छ भन्ने लाग्यो । २०४१ सालमै रेडियो नेपालको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएँ । रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि गाएको पहिलो गीत हो ‘चलेछ बतास सुस्तरी’ । यसअघि मैले थुप्रै गीत गाइसकेको थिएँ । ती गीतहरू पनि चर्चित थिए । तर, ‘चलेछ बतास सुस्तरी...’ गाएपछि मेरो सांगीतिक यात्रामा फरक मोड आयो । त्यो गीत निकै लोकप्रिय भयो । त्यसपछि झन् धेरैले मलाई चिन्न थाले । लोकप्रियता बढेपछि च्यालेन्ज महसुस भयो । त्यसपछि मैले झन् धेरै गीत गाउँन थालेँ ।
मैले रेडियो नेपालमा जागिर पनि गरेँ । गीत रेकर्ड गर्ने काम गर्थेँ । त्यति मात्रै होइन, रेडियो नेपालमा म सारंगी पनि बजाउँथेँ । त्यसवेला रेडियो नेपालमा एउटा गीतमा सारंगी बजाएबापत २० रुपैयाँ पाउँथेँ । त्यसबाहेक स्कुलका सांगीतिक कार्यक्रममा पनि सहभागी हुन्थेँ । रेस्टुरेन्टहरूमा गीत पनि गाउँथेँ । यसले काठमाडौंमा बाँच्नका लागि सघाउ पनि पुग्यो ।
बिस्तारै नयाँ गीत आउँन थाल्यो । त्यसलाई दर्शक स्रोताले माया गरिदिनुभयो । यसैको आधारले देश– विदेशका कार्यक्रममा जाने मौका पाएँ । त्यसपछि मेरो सांगीतिक यात्राले तीव्रता पायो । २०५० सालमा मैले ‘श्रद्धा रेकर्डिङ स्टुडियो’ स्थापना गरेँ । त्यसबाट मैले थुप्रै गीत–संगीत उत्पादन गरेको छु । अधिकाशं लोक फ्लेबरको गीत गाएँ । थोरै भएपनि गीत–संगीतमा लोकगीतको बास्ना ल्याउने कोसिस गरेँ ।
अहिलेसम्म झन्डै एक सयभन्दा बढी लोकगीत गाएको छु । ती गीतलाई दर्शक–स्रोताले माया गरिदिनु भएको छ । जसले गर्दा मेरो सांगीतिक यात्रा अगाडि बढ्यो । हामीले जस्तो पायो त्यस्तै सिर्जना गर्यौँ भने भोलिका सन्ततिले पनि त्यस्तै सिक्नेछन् । त्यसैले सर्जकहरूले विचार पुर्याउँनुपर्छ । हामी सर्जकले बजारलाई मात्रै हेरेर सिर्जना गर्नुहुँदैन । अहिले आर्थिक पाटोलाई मात्रै हेरेर सिर्जना गरिएको देखिन्छ । यसले क्षणिक फाइदा पुर्याएपनि कालान्तरमा राष्ट्रलाई हानि पु¥याउँछ ।
मलाई सांस्कृतिक अभियानले यो स्थानसम्म ल्याइपुर्यायो । अभियानको दौरान धेरै दुःख कष्ट भोगेको छु । त्यसवेला हामी मर्न तयार भएर परिवर्तका लागि मैदानमा उत्रिएका थियौं । तर, अहिले त्यस्तो परिवर्तन भएको देखिदैन । बहुदलपछि भूमिगत नेताहरू खुला मैदानमा आए । तर, हामी कलाकारहरूचाहिँ भूमिगतजस्तो भएका छौँ ।