• वि.सं २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नारायण सिवाकोटी
२०८१ बैशाख १५ शनिबार ०६:२७:००
साहित्य

भक्ति गाथामा नेपाली रत्नहरू

२०८१ बैशाख १५ शनिबार ०६:२७:००
नारायण सिवाकोटी

८७३ पृष्ठको पुस्तक ‘भक्त गाथा’ सन्त, महात्माबारे पढ्न चाहनेहरूका लागि रोचक छ । नेपालको आध्यात्मिक पाटोलाई बुझ्न रामै्र योगदान गर्न सक्छ । यस हिमवत्खण्डको सभ्यता र संस्कृति विश्वमै सर्व प्राचीन र उत्कृष्ट रहेको दाबा पुस्तकले गरेको छ । अर्वाचीन एवं अनुपम संस्कृत ग्रन्थ वेदको रचना महर्षि वेदव्यासले यसै भूखण्डमा गरेको मानिन्छ । अर्काे महान् संस्कृत वाङ्मय रामायणका रचनाकार बाल्मीकि पनि यसै माटोका देन थिए । वैदिक सनातन धर्मका अनेकन प्रवर्तक यही माटोका सिर्जना भएको प्रमाण पुस्तकले पस्किन खोजेको छ । 


पुस्तकको नाम ‘भक्त गाथा’ राखिएको छ । शीर्षक किन भक्त गाथा नै राखियो भनेर पुस्तकमा प्रस्टीकरण नै दिइएको छ – ‘...मातृभूमिप्रति अगाध प्रेम र निष्ठा राख्नेहरू देशभक्त हुन् । आफ्नो धर्म–संस्कृति र परम्पराप्रति आस्था राख्नेहरू पनि भक्त नै हुन् । अनेकन उपाय र माध्यमबाट सामाजिक चेतना उठाउने, समाजको भलाइमा अनवरत लागिरहने, निष्ठा र सदाचारको बाटोमा लाग्न पढाएर, लेखेर, बोलेर, प्रवचन र उपदेश दिएर प्रेरित गरिरहनेहरू सबैलाई भक्तका कोटीमा राख्नुपर्ने हुन्छ, जो मानवताका भक्त हुन् । पुस्तकको नाम भक्तगाथा जुरे पनि वास्तवमा यो नेपाल गाथा हो, नेपालीत्वको गुणगान हो ।’ 


लेखकले दाबी गरेजस्तै पुस्तकलाई नेपाल गाथा, नेपालीत्वको गुणगान भन्न सकिन्छ । किनभने नेपाल भूमिको गौरवगाथामा योगदान पुर्‍याएका करिब तीन सय महामनाको संक्षिप्त जीवनी पस्किइएको छ यसमा । ‘आ–आफ्नै किसिमले नेपालको सेवा गर्ने महामनाहरूको सूची तयार गर्‍यो भने हजारौँहजार पुग्छ । भक्त गाथामा उल्लेख गरिएका नाम त नगन्य अंश मात्रै हो ।’ पुस्तकका लेखक अनेकौँ व्यक्तिको नाम छुटेको वा छुटाउनुपरेकोमा क्षमाप्रार्थी सुनिन्छन् । पुस्तकको विषय–सूचीमा वैदिक सनातन धर्मका प्रवर्तक, रामानुजीलगायत चार वैष्णव सम्प्रदायका चार खण्ड, बौद्ध सम्प्रदाय, जैन सम्प्रदाय, नाथ सम्प्रदाय, सिख सम्प्रदाय, दशनामी सम्प्रदाय, जोसमनी सम्प्रदाय, सत्यहाङमा सम्प्रदाय, निराकारी सम्प्रदाय, सिद्ध सन्तहरू, सिद्ध तन्त्राचार्य, धरोहर व्यक्तिहरू र नेपाल राष्ट्रका लागि योगदान गर्ने महापुरुषजस्ता १९ खण्ड छन् ।


‘आर्य सभ्यता र आर्य विद्याको प्रचार–प्रसारका लागि समुद्र तर्ने दोस्रो ऋषि–महर्षि कण्व १० हजार चेलासहित प्राचीन मिश्रदेश पुगेका थिए । जुम्लाको मालिनी नदी–किनारमा उनको आश्रम थियो (दिनेशचन्द्र रेग्मी, नेपालको पौराणिक इतिहास पृ १६९) ।’ पुस्तकलाई प्रामाणिकसिद्ध गर्न कतिपय स्थानमा यसरी स्रोतको मूलपाठलाई नै उद्धृत गरिएको छ । 
छुटेका र समावेश गर्नैपर्ने केही व्यक्तिबारे लेखकले ‘अक्षरका फूल –थुँगा र अर्चना’ शीर्षकमा केही नाम उल्लेख गरेका पनि छन् । मत्स्येन्द्रनाथ, मैथली साहित्यका महाकवि विद्यापति र कलाधर अरनिकोजस्ता सबैले सुनेका केही नामसमेत छुटाएको देख्ता भने पुस्तक केही खल्लो लाग्न पुग्छ । आध्यात्मिक जगत्का एक विश्मयकारी हस्ती हैडाखानी बाबा (जसलाई महावतार बाबा भनिएको छ । महावतार बाबालाई अनुयायी एवं भक्त करिब दुई हजार वर्षदेखि आजपर्यन्त जीवित रहेको मान्छन् ।)लाई पनि नेपाली निधि दाबी गर्न खोजिएको देखिन्छ ।


एक मात्र अनिश्वरवादी धर्म बौद्ध धर्मका साथै जैन र सिखजस्ता धर्मलाई सम्प्रदाय भनिएकोमा चित्त बुझाउन कठिन हुन्छ र लेखक आग्रही भएको शंका उब्जन्छ । डा. स्वामी प्रपन्नाचार्यलाई उद्धृत गर्दै ऋषभदेवको जन्मस्थली र तपस्थली पनि नेपालमै भएको सन्देश दिन खोज्दा महिमा मण्डनको प्रवाहमा बढी नै बगेको हो कि भन्ने भान पनि पर्छ ।

अनेकान्तवादका प्रवर्तक भगवान् महावीर वर्धमानको जन्मस्थली वैशालीनगरको कुण्डग्रामलाई तत्कालीन नेपाल देशको भूखण्ड भन्न खोज्नुलाई कसरी अतिशयोक्ति नभन्नु । धरोहर व्यक्तिहरूअन्तर्गत इतिहास पुरुष शंखधर र पौरस्त्य ज्ञानका पुरोधा डा. नारायणदत्त श्रीमालीलाई मात्रै किन राखियो भनेर पनि जिज्ञासा उत्पन्न हुन्छ ।


पुस्तकले नेपाली माटोको मौलिक सुगन्धनाथ सम्प्रदाय र जोस्मणी सम्प्रदायका प्रवर्तकलगायतबारे राम्रै जानकारी पस्किएको छ । राजकुलका यशस्वी व्यक्तिअन्तर्गत काठमाडौं खाल्डोका किराँत राजा यलम्वर र भृकुटी तारा(जो तिब्बतमा हरिततारा नामले देवीका रूपमा सुप्रसिद्ध छिन्) देखि राजा त्रिभुवनसम्मलाई समेटिएको छ । नेपाल राष्ट्रका लागि योगदान गर्ने महापुरुषहरू भनी क्यान्सर रोगका डा. अञ्जनीकुमारसहितका १५३ जना व्यक्तिको संक्षिप्त चिनारी दिइएको छ । सूची–शीर्षक कुनै एउटा कुरालाई मात्रै आधार बनाएको देखिँदैन । 


वास्तवमा मानव इतिहास यस्ता अनेकौँ पुरुषार्थको राजमार्ग हो । अनेकौँ मानिसको योगदान र यत्नले सभ्यताको विकास भएको हुन्छ । नेपालको सभ्यता, संस्कृति र गौरवगाथामा पनि पक्कै अनगिन्ती जीवनको अतुलनीय योगदान रही आएको छ, जसको स्मरणले तिनको कदर गर्दै अगाडिको मार्गचित्र देखाउँछ । यसैले यो एकप्रकारले कदरग्रन्थ हो, अगाडिको सत्मार्गको प्रेरणा पनि हो ।  


लेखक शिवप्रसाद ढकाल लामो समय त्रिवि प्रशासनमा कार्यरत रही सेवा निवृत्त, सञ्चार जगत् र अनुसन्धानको पनि अनुभव सँगालेका व्यक्ति हुन् । हरेक व्यक्तिको जीवनीपछि दिइएको पाद टिप्पणी र सन्दर्भग्रन्थसूचीले पुस्तकको प्रमाणिकता दर्साउँछन् । इतिहास लेखनको विधिलाई केही हदसम्म अनुसरण गरिएको देखिन्छ । दार्शनिक चिन्तन र ज्ञान–विज्ञानका दृष्टिले नेपालको के–कस्तो योगदान रह्यो, प्राचीन सभ्यताको उद्बोध यही माटोमा कसरी भयो भन्ने जिज्ञासा नै भक्त गाथा लेखनको पृष्ठभूमि भएको लेखकीय भनाइमा उल्लेख छ । यसर्थ, के आधारमा सूची–वर्गीकरण गरियो भनेर पनि टाउको दुखाइरहनु नपर्ला ।