• वि.सं २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
अन्वेषण अधिकारी 
२०८१ बैशाख १५ शनिबार ०६:५३:००
सम्झना

पहिलो एल्बम निकाल्दाको सकस

२०८१ बैशाख १५ शनिबार ०६:५३:००
अन्वेषण अधिकारी 

कम्प्युटर, मोबाइल र इन्टरनेटले अहिले दुनियाँलाई जोडिसकेको छ । पहिलेजस्तो केन्द्र र मोफसल भन्ने छेकबार हटिसक्यो । गाउँमै बसेर पनि आफ्नो प्रतिभा विश्वसामु फैलाउन सक्ने अवसर अहिलेको प्रविधिले दिएको छ । तर, तीन दशकअघि अवस्था फरक थियो । ०४७ सालताका दाङमा एउटा सामान्य साइनबोर्ड पेन्टिङ पसल चलाएर बस्थेँ । त्यसवेला महम्मद रफी, फत्तेमान, नारायणगोपालका गीत गाउनु मेरो सोख थियो । आफ्नो गायकीकै कारण धेरैको माया पाएँ । अनि, संगीतमै भविष्य बनाउने महत्वाकांक्षा जाग्यो । तर, त्यतिवेला दाङमा बसेर यी सपना पूरा हुने सम्भावना थिएन । 


घरको कान्छो छोरा । परिवारले टाढा पठाउन चाहँदैनथ्यो । कसैलाई थाहा नदिई एक दिन साझा बसको टिकट काटेर काठमाडौंतर्फ हानिएँ । मसँग त्यतिवेला पेन्टिङ गरेर जोहो गरेको गोजीमा तीन सय रुपैयाँ जति थियो । झोलामा पेन्टिङ गर्ने ब्रस र साथमा एउटा पुरानो हार्मोनियम पनि थियो ।


गाडीमा भेषराज पाण्डे मसँगै हुनुहुँदोरहेछ । काठमाडौं त्रिपुरेश्वरमा बसबाट ओर्लिँदा जम्काभेट भयो । दिनभरको यात्रामा उहाँ त्यही गाडीमा हुनुहुन्छ भन्ने थाहा भएन, कारण मसँग पैसा थोरै भएकाले कतै केही खान बसबाट पनि ओर्लिएको थिइनँ । मेरो छिमेकी गाउँका उहाँ काठमाडौं बसेर पढ्नुहुँदोरहेछ । उहाँको ठमेलस्थित कोठामा रात्रि अबेरसम्म हामीबीच आफ्ना भविष्यका लक्ष्यबारे कुराकानी भयो । त्यो मीठो वार्तालाप चलिरहँदा उहाँले नै प्रस्ताव गर्नुभयो, केही समय मेरै कोठामा बसौँ भनेर । ठमेलबाट शंखमूल कोठा सर्‍यौँ । संघर्षका ती दिनमा उहाँले लगाएको गुन मैले तिर्न नसक्ने ऋण हो । मैले भाडा तिर्नुपरेन, विद्यार्थी भएकाले चामल, तेल, दाल, पनि उहाँकै घरबाट आउँथ्यो । 


काठमाडौं अवसरको सहर हो । म गाउँमा छँदै अम्बर गुरुङलाई मनले गुरु चयन गरिसकेको थिएँ । ‘तँ आँट म पुर्‍याउँछु’ भन्ने मनको दृढ विश्वासले नै यहाँ आएको केही समयमै मैले एकजना कलेजको साथी नीरज श्रेष्ठको सहयोगले अम्बर गुरुङ सरलाई भेटेर संगीतको क्लास लिन थालेँ । उहाँजस्तो राम्रो मार्गदर्शक पाउनु मेरो जीवनकै ठूलो उपलब्धि हो ।अम्बर गुरुङले गायकीसँग लगाव, दृढ संकल्प, लगनशीलता र इमानदारिता हुनुपर्छ भन्नुहुन्थ्यो ।

 

विश्व संगीतको इतिहास, ठुल्ठूला संगीतकारको समर्पण र साधना, व्यावहारिक अभ्यासलगायत सधैँ क्लासमा ‘भाग्यमानीले मात्रै दुःख पाउँछ,’ भन्नुहुन्थ्यो । केही समयपछि म खुमबहादुर खड्कालाई भेट्न गएँ । काठमाडौंमा चिनेको नेता उहाँ नै हुनुहुन्थ्यो । आफ्ना लक्ष्य र चुनौतीबारे सुनाएँ । दाङको लमहीमा उहाँ जेल बस्दा पनि भेट्न गएको थिएँ । उहाँले बिर्सिनुभएको रहेनछ । 


०४८ सालमा उहाँ यातायातमन्त्री हुनुहुन्थ्यो । गायनप्रतिको मेरो लगावबारे जानेपछि १४ हजार पर्ने नयाँ हार्मोनियम किनिदिनुभयो । मैले अधिकांश कार्यक्रममा अझै पनि त्यही हार्मोनियम प्रयोग गर्छु । मलाई सडक विभागमा सुपरभाइजरको काम पनि लगाइदिनुभयो । झन्डै नौ सयजति मासिक तलब थियो । 


बिहान क्लास सक्ने, दिउँसो सल्लाघारीमा पुगेर ठेकेदार र कामदारलाई मीठा गीत गाएर सुनाउने गर्दथे । उनीहरूले नै खाजा खुवाउँथे । मेरो काम उनीहरूको निगरानी गर्नु थियो, तर मलाई के गर्ने भन्ने नै थाहा थिएन । सोझै भनिदिन्थेँ, ‘ठेकेदारसाब, तपाईंहरू इमानदारका साथ काम गर्नुस् । छड्के आउँदा मलाई दोष नलागोस् है ।’ उनीहरूले राम्रै काम गरे, मलाई कहिल्यै दोष आएन पनि । 


झन्डै एक वर्ष बितेपछि मेरो आफन्त पर्ने दाजु वामदेव योगीले ज्ञानेश्वरस्थित सीता स्कुलमा साइनबोर्ड बनाउनका लागि भन्नुभयो । उहाँ नजिकैको ग्यालेक्सी स्कुलमा सिनियर आर्ट शिक्षक हुनुुहुन्थ्यो । भोलिपल्ट म पेन्ट र ब्रस बोकेर सीता स्कुल गएँ र साइनबोर्ड लेखिदिएँ । वामदेव दाजुले संगीत शिक्षकका रूपमा पनि मलाई राख्न सीता स्कुलका प्रिन्सिपलसँग आग्रह गर्नुभएकोरहेछ । मैले साइनबोर्ड बनाइदिएपछि प्रिन्सिपल मक्ख पर्नुभयो । ‘तपाईंसँग अतिरिक्त सीप पनि रहेछ, ल तपाईं भोलिदेखि नै संगीत सिकाउन थाल्नुस्’ भन्नुभयो र त्यो दिनबाटै म संगीत शिक्षक बनेँ ।


त्यहाँ १२ सय मासिक तलब आउँथ्यो । त्यसमाथि संगीतमै लाग्न पाइयो । धेरै चेला बनाउन पाइयो । त्यहीँ छँदा बालगीत पनि कम्पोज गर्न थालेँ । कन्फिडेन्ट पनि बढ्दै गयो । केही समयपछि मैले बागमति स्कुलमा पनि पढाउन थालेँ । त्यसको केही समयपछि रातो बंगलामा पनि काम मिल्यो । केही समय पछि सीता स्कुल छाडेँ । 


बागमती, रातो बंगला र सूर्योदय स्कुलमा काम गरिहेको थिएँ । रातो बंगला स्कुलमा पनि संगीत शिक्षकका लागि प्रिन्सिपल शान्ता दीक्षितलाई सीधै गएर भेटेर अम्बर गुरुङको नयाँ शिष्यको रूपमा परिचय दिएँ । उहाँले पनि एकै भेटमा विश्वास गरेर संगीत शिक्षकको नियुक्ति दिनुभयो र थप हरेक शनिबार घरमै आएर उहाँको छोराछोरी (इलम र हिमाली)लाई पनि क्लास लिइदिनुपर्‍यो भन्नुभयो । घरमै जान थालेपछि पारिवारिक सम्बन्ध बन्यो । ०५६ सालताका एक दिन वरिष्ठ पत्रकार कनकमणि दीक्षित (शान्ताका पति)ले भन्नुभयो, ‘शिशिरजी तपाईंमा मैले संगीतप्रतिको ठूलो लगाव देखेँ, स्वर पनि एकदमै फरक र राम्रो लाग्यो । अनुभव पनि धेरै भइसक्यो । अब एल्बम निकालौँ ।’ मैले भने, ‘दाइ मसँग पैसा छैन । एल्बम निकाल्न त महँगो पर्छ ।’ 


उहाँले भन्नुभयो, ‘म केही पैसा दिउँला । अहिले सुरु गर्दै गर्नुस् न ।’ उहाँले त्यतिवेला २५ हजार हिमाल मिडियामार्फत दिनुभयो र आफ्ना बुबा कमलमणि दीक्षितसँग पनि भेटाइदिनुभयो । भाषाविद् कमलमणि दीक्षितलाई हामी दादाजी भन्थ्यौँ । उहाँ निकै सरल मानिस । गीतकार खोज्ने जिम्मा पनि उहाँले नै लिनुभयो । उहाँले माधव घिमिरे, क्षेत्रप्रताप अधिकारी र दुर्गालाल श्रेष्ठजस्ता दिग्गज गीतकारका रचनाका लागि सीधै फोन गरेर भेट गराइदिनुभयो । 


माधव घिमिरेको ‘सारंगी त रेटे पनि...’, क्षेत्रप्रताप अधिकारीको ‘चौतारीको बरै ढलेछ...’, दुर्गालाल श्रेष्ठको ‘माया छ मलाई...’ लगायत गीत पाएपछि पहिलो चरणमा कमभन्दा कम खर्च गरेर मैले २५ हजारमा पाँचवटा गीत रेकर्ड गराएँ । डा. विश्वनाथ बराल त्यतिवेला सूर्योेदय स्कुलमा नेपाली शिक्षक र योग प्रशिक्षक पनि हुनुहुन्थ्यो । उहाँका रचना मलाई साह्रै मनपर्ने । उहाँको एउटा रचनामा गोपाल योञ्जनले संगीत भर्नुभएकोरहेछ । त्यो गीत धनबहादुर गोपालीले कुनै प्रतियोगिताका लागि गाउन धेरै अभ्यास गर्नुभएछ । तर, अन्त्यमा कुनै कारणवश प्रतियोगितामा भाग नै लिनुभएनछ । 


योञ्जन स्वर्गीय भइसक्नु भएको थियो । कहीँकतै नगाइएको त्यो गीतलाई स्वर भरेर मेरो एल्बममा राख्न डा. विश्वनाथ बरालले सल्लाह दिनुभयो । धनबहादुर गोपालीले पनि तपाईंकै स्वरमा रेकर्ड गरौँ भनेपछि अर्काे एउटा गीत तयार भयो । अर्काे एउटा युगल गीत पनि थियो । कांग्रेस नेता बलदेव मझगैयाले रचना गर्नुभएको ‘के दिऊँ म उपहार...’ बोलको जन्मदिनको गीतमा मसँगै दिदी लोचन भट्टराईले स्वर दिनुभएको थियो ।

 

एउटा तयार भइसकेको धुनमा कवि दुर्गालाल श्रेष्ठज्यूले गीत लेख्नुभयो । त्यसैलाई रेकर्ड गर्दा कुल आठवटा गीत भए । डा. विश्वनाथ बरालजी एक दिन सपनामा केही लाइन फुर्‍यो भन्दै मेरो कोठामा आउनुभयो । ‘यो देशमा म मानिस खोजिरहेछु...’ गीत लेख्न थाल्नुभएको रहेछ । खुमबहादुर दाइले किनिदिएको हार्मोनियममै बसेर त्यो गीतलाई गीतकार र म दुवैले धेरै शब्द काँटछाँट गर्दै निकै मिहिनेत गरेर तयार पार्‍यो । तर, यतिवेलासम्म रेकर्ड गर्नका लागि पैसा नै थिएन । 


कमलमणि दादाले मलाई म्युजिक नेपालका सन्तोष शर्मासँग भेटाइदिनु भएको थियो । दादाजीकै आग्रहमा गीत हेरेपछि उहाँले मसँग एग्रिमेन्ट गर्नुभयो । एल्बम बनाउने खर्च सबै मेरो थियो । एल्बम म्युजिक नेपालबाट निस्कने, यसको अधिकार म्युजिक नेपालमा निहित रहने र मार्केटिङ पनि उसैले गर्ने सम्झौतामा उल्लेख थियो । मैले अन्य धेरै सर्जकजस्तै कपिराइट कुन चराको नाउँ हो, थाहै नपाई, एग्रिमेन्टका ती हरेक बुँदाका भाव केही नबुझी दायाँबायाँ औँठाछाप र हस्ताक्षर गरेँ । किनकि त्यतिवेला एल्बम बजारमा निस्किनु नै मेरा लागि ठूलो कुरा थियो ।


सन्तोष शर्मालाई मैले एउटा अनुरोध गरेँ, ‘दाइ मसँग पैसा छैन । यो देशमा एउटा मानिस खोजिरहेछु... गीत म्युजिक नेपालबाट नै रेकर्ड गरिदिनुपर्‍यो ।’ किनकि म्युजिक नेपालसँग आफ्नै स्टुडियो, उपकरण र वाद्यवादक थिए । तर, उहाँले मान्नुभएन । भन्नुभयो, ‘यो अलिकति राजनीतिक गीतजस्तो लाग्यो । म्युजिक नेपालले गर्न सक्दैन, सरी ।’ 


त्यसपछि मैले श्रीमतीको गहना बेचेर यो गीत रेकर्ड गराएँ । ०५१ सालमा बिहे गरेको केही समयमै बाला बेचेर स्कुल जानका लागि साइकल किनेको थिएँ । त्यसपछि नेक्लेस बेचेर तानपुरा किनेँ । बाँकी रहेको एउटा सिक्री बेचेर यो गीत रेकर्ड गराएँ । तर, सिर्जनाले कहिल्यै मसँग कुनै गुनासो गरिनन् । 


०५९ सालको अन्त्यमा एल्बम निस्कियो । दरबार हत्याकाण्डको छोटो समय मात्रै बितेकाले ‘चौतारीको बरै ढलेछ...’ गीतले धेरैलाई रुवायो । माओवादी, राजा र दल सबैले जनतालाई दुःख मात्रै दिइरहेको अन्योलको त्यो समय ‘यो देशमा मानिस खोजिरहेछु...’ धेरैको मनमा गढ्यो । केही समयपछि ‘सारंगी त रेटे पनि...’ गीत चल्न थाल्यो । विशेषगरी, बौद्धिक वर्गमा यो निकै चल्यो, किनकि यसमा राष्ट्रकवि घिमिरेले धेरै बिम्ब प्रयोग गर्नुभएको छ । यस गीतको बिम्बबारे विस्तारमा नारायण वाग्लेले एल्बम विमोचन भएको भोलिपल्टै कान्तिपुरको ‘पीपलबोट डटकम स्तम्भ’मा लेख नै लेख्नुभएको थियो । 


गीत चलेसँगै मेला महोत्सवमा मलाई बोलाउनेहरूको संख्या पनि बढ्यो । तर, म्युजिक नेपालले एल्बम बिक्रीबापत मलाई खासै रोयल्टी दिएन । एल्बम बेचेर हात पारेको पैसा, मैले लगानी गरेभन्दा निकै कम थियो । न त हरेक एल्बममा मेरो हस्ताक्षर थियो, देशैभर तीनवटा गीतको प्रख्यातीले आकाश चुमेको थियो, तर एल्बम बिक्री–वितरण भएको न्यूनतम संख्याका आधारमा म्युजिक नेपालले मलाई आजसम्म पटक–पटक गरी जम्मा १५– २० हजार रुपैयाँ मात्रै दिएको प्रमाण अहिले पनि राखेको छु ।


युट्युबमा पनि म्युजिक नेपालले धेरै समय यो गीत बेच्यो । त्यसपछि मैले म्युजिक नेपालसँग पुरानो सम्झौता तोडेर कपिराइट सबै आफूअन्तर्गत ल्याएँ । क्यासेट र सिढिको जमाना थियो, तपाईंहरूले कति बेच्नुभयो मलाई थाहा छैन । अब डिजिटल जमाना छ । यसको सर्जक म हुँ । लगानी सबै मेरो छ । गीतकारसँग मैले आफ्नो ढंगले सम्झौता गरेको छु । पुराना सम्झौता तोडेको कागजी प्रमाण दिनुस् र अहिलेसम्म हालेका सबै च्यानलबाट डिलिट गरिदिनुस् भनेँ । सुरुमा आनाकानी गरे पनि अन्ततः मान्नुभयो । तर, कम्पनी र मेरोबीचको लिखित सम्झौता खारेज पत्र भने अहिलेसम्म मेरो हात परेको छैन ।


युट्युबलगायत अन्य थुप्रै डिजिटल प्लाटफर्ममार्फत म्युजिक नेपालले १९ वर्षसम्म कति कमायो त्यो मलाई थाहा छैन । १९ वर्षसम्मको म्युजिक नेपालबाट मैले पाएको हालसम्मकै जम्मा १५–२० हजार हो भने, मेरो आफ्नै नामको अफिसियल युट्युबबाट मात्रै मेरा पाँच चर्चित गीतहरूको मात्रै दुई वर्षमा झन्डै दुई लाखभन्दा बढी रोयल्टी लिइसकेको छु । 


युट्युबजस्ता प्लाटफर्मले एकातर्फ नयाँ प्रतिभालाई प्रस्फुटन हुने मौका दिइरहेका छन् । अर्कोतर्फ, गायक, प्रोड्युसर तथा संगीत सर्जकलाई बौद्धिक शोषणबाट पनि बचाइरहेका छन् । डिस्ट्रोकिड, स्पोर्टिफाई, आइट्युन, फेसबुकलगायत अहिले त डिजिटल्ली धेरै प्लाटफर्म उपलब्ध छन् । पहिलेजस्तो सबै लगानी गरेर पनि अधिकार अरूलाई सुम्पनुपर्ने बाध्यता छैन ।