• वि.सं २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
टमी टम्लिन्सन
२०८१ बैशाख १५ शनिबार ०७:२७:००
समाज

कुकुर र मानिसबीच निकट सम्बन्ध

२०८१ बैशाख १५ शनिबार ०७:२७:००
टमी टम्लिन्सन

कुकुर मानव जातिको सबैभन्दा ठूलो आविष्कार हो । मानिसका आविष्कार पांग्रा, बिजुली बत्ती, सिमेन्ट सबै नै अद्भूत छन्, बहुमूल्य छन् । तर, मानव सिर्जनामा प्राचीन फुस्रे–ब्वाँसोका अनेक नश्ल–सन्तानजत्तिका अत्यावश्यकीय र अनुकूलनीय/बहुमुखी आविष्कार सायदै अर्काे कुनै छ ।


हामीले यो आविष्कार कसरी गर्‍यौँ त ? यसको जवाफ खोज्न मैले विभिन्न अमेरिकन ‘डग सो’हरू पछ्याउँदै तीन वर्ष बिताएँ । मेरो यात्रा ‘डग वल्र्डस्’को सबैभन्दा प्रतिष्ठित कार्यक्रम ‘द वेस्टमिनिस्टर डग सो’मा पुगेर समाप्त भएको थियो । प्रदर्शनीमा समाविष्ट कुकुर शुद्धतम नश्ल प्रयोग गरी जन्माइएका थिए । जन्मिएकामध्ये पनि उत्कृष्टतम छाउरालाई जन्मिएको केही हप्तामै बथानबाट छानी सुपर मोडलका रूपमा प्रशिक्षित गर्दै तयार गरिएका थिए, ओलम्पिक–जिम्न्यास्टहरूलाई तयार गरेजसरी समर्पणभावले । 


कुकुरको हिंसात्मकता पहिचान गर्ने अमेरिकन केनल क्लबले सानो शरीरको ‘गोल्डेन डुडल्स’ अनि ठिमाह (मिक्स्ड ब्रिड) जस्ता ‘क्रसब्रिड्’हरूलाई ट्र्याक गरी यसखाले कुकुरका करिब २०० नश्ल पहिचान गरेको छ । डरलाग्दो थुतुनो भएको भीमकाय ‘मास्टिफ’देखि निकै सानो आकारको ‘चिहुआहुआ’सम्मका कुकुर उही पूर्वजबाट विकसित भएर आएका हुन् ।
वैज्ञानिकहरू मानिस र कुकुरबीचको यस शक्तिशाली सहचार्य÷मित्रता १५ हजारदेखि ३० हजार वर्षअघिबाट सुरु भएको हुन सक्ने ठान्छन् ।


त्यो समयका मानिस मुख्यतया फिरन्ते सिकारी थिए । उनीहरू आगोको छेउमा बस्थे, त्यही आगोमा मासु पोलेर खान्थे । पोलेको मासुसँग ब्वाँसाहरू आकर्षित भए । पाकेको मासुको गन्धले तानिएर आएका ब्वाँसाहरू आगोको ज्वालाले नभेट्ने गरी सुरक्षित दूरीमा झुम्मिन थाले । जब–जब मानिसले अँध्यारोमा हड्डी फ्याँक्थे ब्वाँसाहरू ती हड्डीमाथि झम्टिन्थे र तिनलाई चपाउँथे । उनीहरूले फिरन्ते मानिसहरूको हुललाई अर्काे छाउनीमा पनि पछ्याए । तर, अझै पनि दूरी भने कायमै राखे । त्यहाँ एकखालको अघोषित व्यवस्था÷प्रबन्धन बन्यो– ती ब्वाँसाहरू मानिसलाई घुसपैठियाबारे सचेत गराए अनि मानिसले चाहिँ ती ब्वाँसालाई खुवाए । 


समय बित्दै जाँदा ब्वाँसाहरू मानिससँग नजिकिँदै गए । एकरात एउटा जिज्ञासु ब्वाँसो मानिस नजिकै आगोको छेउमा आयो । त्यो मानिसले उसलाई खेदेन । बिस्तारै, मानिस ब्वाँसाहरूसँग घुलमिल भए । केही दिन, केही महिना, अनि केही वर्ष र पुस्ता वा केही शताब्दीपछि फेरि एउटा ब्वाँसो मानिसको खुट्टामा लुटपुटिन आइपुग्यो । हुन सक्छ, उसले मानिससँग आफ्नो पिठ्युँ वा पेट ढँस्यायो । त्यो नै पहिलो कुकुर थियो ।


हामी के कुरा बताउन सक्छौँ भने कुकुर नै मानिसले पाल्तु बनाएको पहिलो जनावर हो । जो ब्वाँसाहरू मानिससित घुलमिल भए, तिनले आफूलाई आन्तरिक र बाहिरी रूपमा पनि परिवर्तन गरे । तिनको थुतुनो र दाह्रा छोटा भए । तिनको परपर भाग्ने स्वभाव नजिकिने चाहनामा बदलियो । समय बित्दै जाँदा विभिन्न मानवीय आवश्यकता पूरा गर्न ‘ब्रिडिङ’द्वारा कुकुरहरू उत्पादन गरिन थाले । हिउँ वा सतह मिलेको बाटोमा ओसारपसारका कामका लागि बलियो जिउडालका कुकुर, माछाको जाल तान्न ‘न्युफाउन्डल्यान्ड्स (कामकाजी कुकुरको एकजात)’ अनि दुम्सीजस्ता जनावर समाउन सिकारी जातका कुकुर तयार गरिए ।


कुकुरले नै मानिसलाई ‘डिजाइनर जिन’को प्रारम्भिक विज्ञान सिकायो । हामी खेतबारीबाट कारखानातर्फ अग्रसर भएको १९औँ शताब्दीको मध्यताका हामीले रात परेपछि घरभित्र राख्न मिल्ने कुकुर सिर्जना गर्‍यौँ । त्यसपछि आफूले काम गर्ने ठाउँमा वा काम गर्दै खेलाउन मिल्ने खालका कुकुर सिर्जना गर्‍यौँ । सानो काठीको गुथुमुने शरीर भएको फ्रान्सेली बुलडग (जुन अहिले अमेरिकामा सबैभन्दा लोकप्रिय नश्ल हो), फ्रान्सका ‘लेस मेकर’हरूको ‘ल्याप डग’का रूपमा प्रवेश भयो । हामीले कुकुरलाई आफ्नो साथी, सहचरी, खेलमित्र र अनौपचारिक थेरापिस्टका रूपमा ढाल्यौँ ।


यसर्थ, कुकुर मानवको श्रेष्ठतम आविष्कार मात्रै होइन, सबैभन्दा लामो र अक्षुण्ण अनुभव पनि हो । यसलाई हेर्ने एउटा तरिका यो हो । अब अर्काे तरिकाबाट हेरौँ । विषयलाई वस्तुमा र वस्तुलाई विषयमा बदलेर हेरौँ । क्रियापदहरूलाई बदलौँ ।

यस्तो छ अर्काे दृष्टिकोण :

आदि मानवको क्रमिक विकासको समय आसपास ‘निन्डरथल’हरू पनि यो ग्रहमा थिए । यस्तै ४० हजार वर्षअघिबाट मानिस (ह्युमन्स)हरू फस्टाउन थाले भने निन्डरथल अस्ताएर गए । यो त्यो समयबारेको कुरा हो, जब ती प्रथम जिज्ञासु ब्वाँसाहरू रूपान्तरण हुँदै कुकुरमा विकसित हुन थालेका थिए । यो समयलाई केही वैज्ञानिक संयोग मात्र मान्न तयार छैनन् । सायद मानवजातिको विजयमा कुकुर महत्वपूर्ण कारक हो । 


मानिसलाई स्थायी बसोवासका लागि र तिनको अन्तहीन घुमफिरलाई विराम दिन कुकुरले नै सक्षम बनायो । घुमन्तेबाट व्यवस्थित जीवनतर्फको संवेदनशील संक्रमण कालखण्डमा कुकुरले मानिसलाई रक्षा गर्‍यो । कुकुरले मानिसका ती काम गरिदिए, जुन काम गर्ने शक्ति वा सामथ्र्य मानिसमा थिएन । पहरा दिने, पशु चराउने, सिकार गर्ने, स्लेड (सरसामान तान्ने साधन) तान्नेजस्ता काम कुकुरहरूले गरिदिए । यसरी मानिसलाई अर्काे छाक वा अर्काे खतराबारे हरक्षण ध्यान केन्द्रित गर्नु नपर्ने परिस्थिति सिर्जना गरिदिएर कुकुरले मानिसलाई निर्माण, सिर्जना र चिन्तन गर्ने समय निकालिदियो ।

 

आज कुकुरले हामीलाई साथीत्व मात्रै प्रदान गर्दैन, प्रतिदिन जटिल बन्दै गइरहेको यस जगत्मा निश्चल प्रेम पनि प्रदान गर्छ । कुकुर एउटा सहरबाट अर्काे सहर भौँतारिँदै हिँड्ने अनि एउटापछि अर्काे कामको खोजीमा दौडने बेचैन आत्मालाई एक ठाउँमा अड्याउने एउटा हुक हुन सक्छ । अनि विरक्तिलो रातमा साथ दिने सहारा पनि ।


आदिकालमा पोलेको मासुको गन्धले मानिसका अगेनो वरपर झुम्मिन आएका फुस्रे ब्वाँसोदेखि फुर्तीले उफ्रिएर तमासा देखाउने झ्यापुल्ले पोमारियनसम्म कुकुरहरू हामी मानव बनेदेखि नै हाम्रो साथमा छन् । सायद उनीहरू हाम्रा महानतम सिर्जना हुन् अनि हामी उनीहरूका । 


(‘डगल्यान्ड’ पुस्तकका लेखक टम्लिन्सनको यो लेख ‘द वासिंटन पोस्ट’बाट नारायण शिवाकोटीले अनुवाद गरेका हुन् ।)