• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२०८१ बैशाख १५ शनिबार ०८:०८:००
साहित्य

फिल्म निर्देशक क्रिस्टोफर नोलानलाई मनपर्ने पाँच फिल्म

२०८१ बैशाख १५ शनिबार ०८:०८:००

क्रिस्टोफर नोलान निर्देशित ‘ओपनहेइमर’ले केही समयअघि मात्रै ओस्कर अवार्डमा वर्षको उत्कृष्ट फिल्मसहित सात अवार्ड जित्यो । नोलानले उत्कृष्ट निर्देशकको अवार्ड जिते । उनले यसअघि ‘मेमेन्टो’, ‘इन्सेप्सन’, ‘इन्टरस्टेलर’, ‘डनर्किक’जस्ता भिन्न जनराका फिल्म बनाइसकेका छन् । पृथक न्यारेटिभ र गज्जबका दृश्यको प्रयोगका लागि उनी प्रसिद्ध छन् । ५३ वर्षीय नोलान अन्य निर्देशकको तारिफ गर्न पनि पछि पर्दैनन् । उनलाई मनपर्ने ५ फिल्म यस्ता छन् :

 

अ स्पेस ओडिस्सी–२००१
स्ट्यान्ली कुब्रिक निर्देशित यस फिल्म १९६८ मा रिलिज भएको थियो । सात वर्षका नोलानलाई उनका बाबुआमाले यो फिल्म देखाउन लेस्टर स्क्वायर लगेका थिए । विज्ञान कथा लेखक आर्थर सी क्लार्कसँग मिलेर कुब्रिकले यो फिल्मको कथा लेखेका थिए । फिल्ममा केयर डुलिया, ग्यारी लकवुड, विलियम सिल्भेस्टरलगायतले अभिनय गरेका छन् । फिल्मले पृथ्वीबाहिर मानिसले गर्न सक्ने खोजीको कल्पना गरेको छ । बृहस्पती ग्रहतर्फ हिँडेका वैज्ञानिकको यात्रामा आउने चुनौतीबारे केन्द्रित छ । यसमा प्राचीनकालदेखि अत्याधुनिक युगसम्मको मानवताको यात्रा छ । आफूलाई यस फिल्मले निकै प्रभावित गरेको नोलान बताउँछन् ।

 

ब्लेड रनर–१९८२
१९८२ मा रिलिज भएको यो फिल्मलाई रिडले स्कटले निर्देशन गरेका हुन् । यो फिल्म गज्जबको सिनेमाटोग्राफी र मनोवैज्ञानिक थिमका लागि प्रख्यात छ । आफ्नो जीवनमा यसले ठूलो प्रभाव पारेको नोलान बताउँछन् ।

 

सेभिङ प्राइभेट  रायन–१९९८
स्टेफेन स्पिलवर्गको यो फिल्म १९९८ मा प्रदर्शनमा आएसँगै युद्ध फिल्मको ट्रेन्ड बदलियो । पहिलो १० मिनेटमा त्यस्ता एक्सन दृश्य राखिएका छन्, जसलाई बिर्सन मुस्किल पर्छ । फिल्मले युद्धको मूल्य, सैनिकको त्याग र त्यसले उनीहरूका प्रियजनमा पार्ने भावनात्मक असरलाई देखाएको छ । दोस्रो विश्वयुद्धका दौरान अमेरिकी सैनिक नोम्र्यान्डीमा अवतरण गरेपछिका घटनाक्रमलाई फिल्ममा देखाइएको छ । डनर्किक बनाउने तयारीका क्रममा नोलानले स्पिलवर्गलाई भेटेर उनका अनुभव सुनेका थिए । 

 

सुपरम्यान–१९७८
नोलानका फिल्ममा प्रायः यथार्थवाद र काल्पनिकताको मिश्रण हुन्छ । आफ्नो बाल्यकालमा सुपरम्यानका फिल्म हेरेकाले उनलाई यस्तो गर्न प्रेरणा मिलेको हुन सक्छ । सुपरम्यानका अनौठो कामलाई यथार्थ दुनियाँसँग जाडेर तयार गरिएका काल्पनिकीले उनलाई निकै प्रभावित गरेको थियो । उनी सामान्य र काल्पनिकीको मिश्रणले कथालाई रोचक बनाउँछ भन्ने मान्यता राख्छन् । काल्पनिकीको प्रयोगका बाबजुद पनि सुपरम्यान फिल्मले कसरी विश्वसनीयता कायम राख्छन् भन्ने विषयको उदाहरण उनले दिइरहने गरेका छन् । नोलानले आफ्नो फिल्म ‘इन्सेप्सन’ मा सपनाको दृश्यका दौरान सामान्य ठाउँ पनि असाधारण तरिकाले परिवर्तन भएको देखाएका छन् ।

 

स्टार वार्स–१९७७
बाल्यकालमा स्टार वार्स सिरिजको प्रभाव पनि नोलानमा राम्रैसँग परेको थियो । १९७७ मा स्टार वार्सको पहिलो सिरिज आएको थियो, यतिवेला नोलान सानै थिए । स्पेस र साइन्स फिक्सन फिल्ममा लगाव बढ्नुको एउटा मुख्य कारण यो फिल्मको प्रभाव पनि हो । ‘स्टार वार्स हेरेपछि मैले आफ्ना बुबाको सुपर ८ क्यामेरा चलाउन थालेँ,’ नोलानले केहीअघि आफ्नो बाल्यकालबारे भनेका थिए । २०१४ मा यस सिरिजको प्रशंसा गर्दै उनले भनेका थिए, ‘मलाई स्टार वार्सबारेका ससना सूचनाबारे पनि ठूलो चासो हुन्छ ।’