• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
कमलराज भट्ट
२०८१ बैशाख १५ शनिबार ०८:४६:००
साहित्य

थाई भूमिमा नेपाली कक्षा

२०८१ बैशाख १५ शनिबार ०८:४६:००
कमलराज भट्ट

अरूका लागि गर्मी बिदा भनेको घुम्ने, परिवारसँग बिताउने हुन्छ । तर, नेपालीभाषी थाई बालबालिकाका लागि भने यो समय नेपाली भाषा सिक्ने अवसर हो । थाइल्यान्डमा बसोवास गर्ने नेपाली मूलका बालबालिकाले ‘समर भ्याकेसन’मा नेपाली भाषा सिक्दै आएका छन् । थाइल्यान्डमा गर्मी बिदा तीन महिनाको हुन्छ ।

 

थाई नेपाली संघ (टिएनए)ले थाइल्यान्डभर आ–आफ्नो शाखा तथा उपशाखामार्फत नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति सिकाउन, नेपाली चाडपर्वबारे जानकारी दिन, पुर्खाको इतिहासबारे जानकार बनाउन कक्षा सञ्चालन गरेरै बालबालिकालाई नेपाली भाषा पढाउने गरेको छ । केही ठाउँमा नेपाली मूलका थाई नागरिकले स्वतस्फूर्त रूपमा पनि कक्षा सञ्चालन गर्दै आएका छन् । 


टिएनएको केन्द्रीय शिक्षा विभागकाअनुसार देशभरका १० शाखाबाट नेपाली भाषा कक्षा सञ्चालन भइरहेको छ । बैंकक, फुकेट, खौलाक, करबी, मेसट, मेसाई, चिङमाई, कसामुई, पटाया र वाहिम शाखाले १२ सयभन्दा बढी विद्यार्थी पढाइरहेका छन् । यसमध्ये मेसट र मेसाईमा कक्षाभन्दा पनि समूहमा पढाइने गरेको छ । 


बैंकक शाखाका अध्यक्ष ओमप्रकाश न्यौपाने यो नेपाली भाषा, संस्कृति, सभ्यता जोगाउने अभियान भएको बताउँछन् । ‘थाई नेपाली संघको ‘सभ्य जातिको सभ्य समाज’ भन्ने भावना छ । यसैगरी, हामी पनि सभ्य मानव बन्नलाई कक्षा सञ्चालन गरिरहेका छौँ । हाम्रो पुर्खाको धर्म संस्कृति नयाँ पुस्तालाई दिनकै लागि यत्रो दुःख गरेर जसरी पनि पढाउनुपर्छ भनेको हो,’ उनले भने ।  


उनकाअनुसार सबैभन्दा ठूलो बैंकक शाखाअन्तर्गत आठवटा उपशाखामातहत ११ वटा विद्यालय सञ्चालन भइरहेका छन् । जसमा ६ सयजना विद्यार्थी छन् भने २२ जना शिक्षक छन् । फुकेटमा दुइटा पाठशाला सञ्चालन भइरहेका छन् भने अन्य सबै शाखामा एउटा पाठशालाबाट नेपाली भाषा पढाइ भइरहेको छ । सबै शाखामा एक–एकजना शिक्षक छन् । 
बैंकको दुईवटा पाठशाला र अन्य शाखामा आफ्नै भौतिक संरचना छ, निजी भवन तथा मठमन्दिरमा पढाइन्छ । फुकेटमा भगवान् थान सनातन मन्दिरमा पढाइ हुन्छ । बैंककमा त्रिनाथ देवालय र टिएनएको सामाजिक भवनमा पढाइ हुन्छ । बैंककका अन्य उपशाखामा भने भवन भाडामा लिएर कक्षा सञ्चालन भइरहेका छन् ।  


अध्यक्ष न्यौपानेका अनुसार कक्षा मार्चबाट सुरु भएर मे महिनामा सकिन्छ । अन्तिममा परीक्षा लिएर मे महिनाको १५ देखि २० तारिखमा बिदाइ गरिन्छ । त्यसपछि थाई स्कुलमा सुरु हुने शैक्षिक सत्रमा पढ्न थाल्छन् । भौतिक संरचनाको अभावका कारण कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर नेपाली भाषा पढाउने गरिएको छ । थाई नेपाली संघ शिक्षा विभागले १ देखि ७ कक्षासम्मको पाठ्यक्रम तयार पारेको छ । ८ देखि १० कक्षाका लागि नेपालका विद्यालयमा पढाइ हुने नेपाली विषय नै पढाइन्छ । आगामी वर्षदेखि ८ देखि १० कक्षाको पाठ्यक्रम पनि आफैँ बनाउने शिक्षा विभागको तयारी छ । 


अध्यक्ष न्यौपानेले पाठ्यक्रम समयक्रमअनुसार परिमार्जन हुने गरेको बताए । ‘पाठ्यक्रममा नेपालसम्बन्धी पाठ, थाइल्यान्ड, थाई नेपाली संघको विषय समावेश गरिएको छ,’ उनी भन्छन्, ‘आगामी वर्षदेखि थाई नेपाली संघले विज्ञहरूको सहभागिता समय–सुहाउँदो यहाँको रहनसहन, माटो सुहाउँदो हुने गरी १० कक्षासम्मकै पाठ्यक्रम बनाउँछ ।’
थाइल्यान्डमा नेपाली कक्षा सञ्चालन गरेको १३ वर्ष पुगेको अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘योभन्दा पहिला पनि गाउँ–गाउँमा आफ्ना मातापिताले छुट्टै गुरु राखेर पढाउँथे,’ उनले भने, ‘पाठशाला खोलेर चलाएको १३ वर्ष पूरा भयो ।’


नेपाली भाषा सिकाउने शिक्षकको निश्चित पारिश्रमिक छैन । स्वयंसेवी रूपमा भाषा संस्कृति प्रवद्र्धनमा योगदान गरिरहेको अध्यक्ष न्यौपाने बताउँछन् । ‘शिक्षकले आफ्नो शाखा वा उपशाखा जहाँ पढाउनुहुन्छ, उहाँहरूलाई पारिश्रमिक शुल्क दिनुहुँदैन,’ उनले भने, ‘त्यहाँको नेपाली समाजले आफैँ मूल्यांकन गरेर खर्च दिन्छ ।’ 


अध्यक्ष न्यौपाने संरचना अभावकै कारण नेपाली भाषा कक्षालाई थप प्रभावकारी बनाउन नसकिएको बताउँछन् । ‘हामीसँग भवन छैनन् । ठूलै भवन बनाउन कोसिस पनि गरिरहेका छौँ । जसबाट बच्चाहरूलाई छुट्टै कक्षा मिलाएर पढाउन सकियोस्,’ उनले भने ।


नेपाली भाषाको कक्षासँगै शिक्षा विभागले हरेक वर्ष शिक्षण शिविर पनि आयोजना गर्दै आएको छ । शिक्षण शिविरका लागि थाई नेपाली संघमा छुट्टै एकाइ छ । यसमा विशेषतः बालबालिकालाई पुर्खाबारे विभिन्न ज्ञान सिकाउने, प्रतिस्पर्धा गराउने गरिन्छ । थाइल्यान्डभरिका नेपाली मूलका बालबालिका यहाँ भेला हुन्छन् । यो शिविर पाँच दिनको हुन्छ । ‘शिविरमा वैदिक ज्ञान, योगासन सिकाउने गरिन्छ । नेपालीबारे, गोर्खालीबारे जानकारी गराइन्छ । हामी को हौँ भन्ने सिकाइन्छ । भाषा सिकाइन्छ । स्वभाव सिकाइन्छ । आफू को हुँ र के हुँ भन्ने सिकाइन्छ,’ अध्यक्ष न्यौपानेले भने । 


नेपाली मूलका बालबालिकामा नेपाली भाषाप्रति लगाव रहेको र सिकाइमा रुचि हुने गरेको उनी बताउँछन् । ‘हामी नेपाली सिक्न चाहन्छौँ, पढ्छौँ भन्ने विद्यार्थी छन् । किनभने मातापिताले नै त्यो गर्नुहुन्छ । घरबाटै प्रेरित भएर कक्षामा आउँछन्,’ उनले भने । विद्यार्थीमा नेपाल देश हाम्रो मूल पुर्खाको देश हो भन्ने भाव रहेको उनको भनाइ छ । ‘पितृ देशको भाव धेरै छ । त्यो हुनु नै हाम्रा लागि राम्रो हो,’ उनले भने ।  


नेपालमा भाषा संस्कृति मासिँदै गएकोमा परदेशमा रहेका नेपालीलाई चिन्ता हुने गरेको भन्दै अध्यक्ष न्यौपानेले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई जोगाउन नेपालीहरू लाग्नुपर्ने सुझाए । उनी भन्छन्, ‘नेपालले पनि हामीलाई आफ्नै हो भन्ने ठानिदिए हुन्थ्यो । नेपाल आउन सहुलियत दिए हुन्थ्यो ।’ 


बैंककभित्रको फाकनौ उपशाखा १६ का शिक्षक कृष्णजी सिटौला विद्यार्थीलाई बोल्नभन्दा नेपाली शब्द लेख्नमा कठिनाइ हुने बताउँछन् । ‘बोल्न त सक्छन्, तर लेख्न सक्दैनन्,’ उनी भन्छन् । उनका अनुसार प्रार्थनादेखि पुस्तकमा राखिएका पाठ पठाइन्छ । परीक्षा पनि लिइन्छ । ‘थाई नेपाली समुदायमा नेपाली बोल्न जानोस्, नेपाली भाषा जोगाउनुपर्छ भनेर पढाइ हुन्छ,’ शिक्षक सिटौला भन्छन् । थाइल्यान्डमा जन्मिएका सिटौला आफैँ भने बर्मा गएर नेपाली पढेर आएका हुन् ।

 

 बर्मा टाउन्जी आश्रममा संस्कृत पढेका उनी अहिले बालबालिकालाई पढाइरहेका छन् । ‘हाम्रा पुर्खाको नेपाली भाषा पढाउँदा, अरूलाई हस्तान्तरण गर्दा रमाइलै लाग्छ,’ उनी भन्छन् । यहाँ आफ्ना छोराछोरी पढाइरहेका राम सुवेदी आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, चाडपर्व बुझाउन, पुर्खाबारे जानकारी दिन जरुरी रहेको बताउँछन् । ‘हाम्रा केटाकेटीले हाम्रा पुर्खाको देश, कला, संस्कृति, पम्परा, भाषा बुझ्नुपर्छ । पछिल्लो पुस्तालाई यी कुरा छोडेर जानु हाम्रो कर्तव्य हो । हामी सबैले बच्चाहरूलाई यी कुरा दिन प्रयास गरिरहेका छौँ ।’


थाइल्यान्डस्थित नेपाली राजदूतावासको तथ्यांकअनुसार थाइल्यान्डमा बसोवास गरिरहेका नेपाली र म्यानमारबाट काम गर्न आएका नेपाली गरेर करिब एक लाख हाराहारीमा नेपाली छन् । उनीहरूको साझा संस्थाको रूपमा सन् २०१० देखि थाई नेपाली संघ छ । जसले विभिन्न कार्यक्रम गरेर नेपालको भाषा, साहित्य र संस्कृति आफ्ना पछिल्लो पुस्तालाई सिकाउँदै आएको छ । संघले दूतावाससँग सहकार्य गरेर यी कार्यक्रम अगाडि बढाइरहेको छ ।

 

थाइल्यान्डमा मूलतः बर्माकै नेपाली आएर बसोवास गरेका हुन् । पिलोक (थाई–म्यान्मा सीमा)मा बसोवास गर्दै नेपाली नागरिक र बर्माबाट आएर थाई नागरिकता लिएका नेपालीले आफ्नो नयाँ पुस्तालाई पुर्खाको भाषा संस्कृति हस्तान्तरण अभियानअन्तर्गत कक्षा चलाएका हुन् । थाइल्यान्डमा नेपालीले नागरिकता पाउन थालेको सन् २००० देखि हो । यसअघि थाइल्यान्डमा बसे पनि नागरिकता थिएन ।

 

राजा वीरेन्द्रले आफ्नो भ्रमणमा थाई राजालाई नेपाली मूलका नागरिकलाई नागरिकता दिन अनुरोध गरेपछि खासगरी पिलोकनिवासी नेपालीहरूले थाई नागरिकता पाएका थिए । उनीहरूले थाई नेपाली संघ खोलेर संस्थागत रूपमै भाषा संस्कृति प्रवद्र्धनको अभियान थालेका थिए । साथै, त्रिनाथ देवालय मन्दिर पनि ३२ वर्षदेखि चलाएर नेपाली चाडपर्व, जन्मदेखि बिहे र मृत्युसम्मको परम्परा, विधि जगेर्ना गरिरहेका छन् ।


थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली थाइल्यान्डमा आर्थिक हैसियत मजबुत बनाएका नेपाली मूलका थाई नागरिकमा आउँदो पुस्ताले नेपाली भाषा, साहित्य, संस्कृति बिर्सिन्छ कि भन्ने चिन्ता रहेको बताउँछन् । थाइल्यान्डमा बसेका नेपाली मूलका थाई नागरिकले आफ्ना छोराछोरीलाई नेपाल पढ्न–पठाउने ठूलो रहर देखाएको र यो नेपालका लागि सम्भावना भएको राजदूत वली बताउँछन् । ‘थाइल्यान्डमा शिक्षा अर्काे ठूलो क्षेत्र हो, जसले विदेशी पैसा आर्जन गर्छ । कुनै विदेशी विद्यार्थी भर्ना भयो भने उसको अभिभावकलाई समेत शिक्षा क्याटेगोरीमा भिसा दिन्छ । यसले विदेशी मुद्रा आयो, आर्थिक गतिविधि पनि बढ्यो,’ उनले भने, ‘यसैगरी हामीले नेपाली मूलका केही हजार विद्यार्थी नेपाल किन नलैजाने ? फेरि हाम्रो शिक्षा संसारकै स्तरीयतामा पर्छ ।

 

यो सम्भावनालाई हामीले किन आँकलन नगर्ने ? दुई–तीन हजार विद्यार्थी लैजाने गरी भिसामा सहजीकरण, उनीहरूका अभिभावकलाई सहज भिसाको व्यवस्था किन नगर्ने ? एउटा ठूलो सम्भावना छ, जहाँ हामीले प्रयोग गर्न सक्छौँ ।’ विद्यालयदेखि विश्वविद्यालयसम्म नेपाली भाषा, साहित्य र संस्कृतिमा रुचि भएका नेपाली मूलका विद्यार्थीलाई ल्याउन भिसामा सहजीकरणका लागि पहल भइरहेको उनको भनाइ छ । दूतावासको सिफारिसमा भिसामा सहुलियत हुने गरी मन्त्रिपरिषद्बाट तत्काललाई व्यवस्था गर्ने र ऐनमै पनि विशेष व्यवस्था राख्न पहल भइरहेको वलीले जानकारी दिए ।