• वि.सं २०८२ बैशाख २७ शुक्रबार
  • Friday, 09 May, 2025
लेखनाथ भण्डारी
२०८१ बैशाख २२ शनिबार ०६:२५:००
समाज

क्यापिटल हिलतिर लम्किँदै नेपाली पाइला

२०८१ बैशाख २२ शनिबार ०६:२५:००
लेखनाथ भण्डारी

विश्वको समृद्धि र शक्तिको केन्द्र मानिने संयुक्त राज्य अमेरिकालाई अवसर र स्वतन्त्रताको भूमि पनि मानिन्छ । आप्रवासीहरूको बहुसांस्कृतिक पहिचानयुक्त अमेरिकामा नेपालीले पाइला टेकेको २०१९ मा एक शताब्दी पुग्यो । त्यसयता केही वर्ष नबित्दै केही जोर नेपाली पाइला अमेरिकी संसद्को सर्वोच्च केन्द्र क्यापिटल हिलतिर बढिरहेका छन् । 


अमेरिकामा यो वर्ष राष्ट्रपतिको निर्वाचन हुने वर्ष हो । हरेक चार वर्षमा हुने यो निर्वाचनकै वर्ष अमेरिकी संघीय संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि पनि निर्वाचन हुन्छ । यो वर्षको नोभेम्बर महिनाको पहिलो मंगलबार नोभेम्बर ५ मा परेको छ । यही दिन अमेरिकामा आम निर्वाचन हुँदै छ । यस निर्वाचनमा अमेरिकी राजधानी वासिंटन डिसी रहेको ग्रेटर वासिंटन महानगर क्षेत्रबाट दुईजना नेपालीभाषी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको सदस्यका लागि प्राइमरी (अन्तरपार्टी) प्रतिस्पर्धामा र एकजना स्थानीय टाउनको मेयरका लागि प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । 


अमेरिकी संसद्को निर्वाचनको दौडमा रहेका नेपालीहरूमा डा. ह्यारी भण्डारी अमेरिकी मूलधारको राजनीतिमा परिचित नाम हो । अमेरिकामा नेपाली मूलको पहिलो राज्य सांसद (डेलिगेट) उनी मेरिल्यान्ड राज्यको हाउस अफ एसेम्बली निर्वाचन क्षेत्र नम्बर ८ का बहालवाला सांसद हुन् । मेरिल्यान्ड राज्यबाट गत वर्षको नोभेम्बरमा दोस्रो कार्यकालका लागि निर्वाचित डेलिगेट भण्डारी अहिले मेरिल्यान्ड राज्यको कंग्रेसनल निर्वाचन क्षेत्र २ बाट डेमोक्रेटिक पार्टीको तर्फबाट संघीय सांसदका लागि अन्तरपार्टी प्रतिस्पर्धामा छन् । 


यसैगरी भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० का एड्रियन (आशिष) पोखरेल पनि संघीय सांसदका लागि डेमोक्रेटिक प्राइमरी प्रतिस्पर्धामा छन् । पोखरेल निर्वाचनकै लागि सरकारी ‘अफिसर’को जागिर छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनले केही वर्ष अमेरिकी सेनामा पनि काम गरेका थिए ।  


प्रदीप ढकाल ग्रेटर वासिंटन मेट्रो क्षेत्रको फेयरफेक्स काउन्टीअन्तर्गतको हरेन्डन टाउनको मेयरका लागि प्रतिस्पर्धा गर्दै छन् । उनी त्यही सिटीका तेस्रो कार्यकालका लागि बहालवाला टाउन काउन्सिल सदस्य पनि हुन् ।

आप्रवासीहरूको बहुसांस्कृतिक पहिचानयुक्त अमेरिकामा नेपालीले पाइला टेकेको २०१९ मा एक शताब्दी पुग्यो । त्यसयता केही वर्ष नबित्दै केही जोर नेपाली पाइला अमेरिकी संसद्को सर्वोच्च केन्द्र क्यापिटल हिलतिर बढिरहेका छन् ।


ह्यारी भण्डारी 
भण्डारीले अमेरिकामा रहेको नेपाली समुदायमाझ अमेरिकाव्यापी निर्वाचन अभियान चलाएका छन् । भण्डारी अमेरिकामा रहेका २५ हजार नेपालीको प्रत्यक्ष सम्पर्कमा रहेको बताउँछन् । उनको चुनावी अभियानका लागि दुई साता पहिला अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीहरूको एक ‘भर्चुअल’ भेलाका सहभागीले ६५ हजार डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । प्राइमरी चुनावका लागि अमेरिकी नागरिक वा स्थायी बसोवासको लागि अनुमति प्राप्त व्यक्तिले एकजना उमेदवारलाई ६ हजार ६ सय डलरसम्म चन्दा दिन सक्छन् ।


भण्डारीको अनुमानित चुनावी खर्च करिब सात लाख डलर रहेको छ । उनले गत साता एक अपिलमार्फत प्रतिस्पर्धामा खरो रूपमा उत्रिन तथा विगतको सफलता तथा भविष्यको कार्ययोजना शिक्षा, स्वास्थ्य, आप्रवासन, विश्वमा भइरहेको द्वन्द्वलगायत जल्दाबल्दा चुनावी मुद्दालाई मतदाताको घरघरमा पुर्‍याउन प्रचार सामग्रीका लागि केही दिनभित्रमै करिब तीन लाख डलर जम्मा गर्न आवश्यक भएको सार्वजनिक गरेका थिए ।


डेलिगेट भण्डारीले मेरिल्यान्ड राज्यको संसद्मा आफ्नो पहिलो चारवर्षे कार्यकालमा १९ र दोस्रो कार्यकालको पहिलो ६ महिनामा अर्को एउटासमेत गरेर २० वटा विधेयक पारित गराएर कानुन बनाइसकेका छन् । उनले प्रस्तुत गरेका विधेयकमा मेरिल्यान्डमा हरेक वर्षको अक्टोबर ५ मा ‘दसैँ दिवस’ मनाउने अमेरिकामा रहेका नेपालीहरूका लागि अहं महŒवको छ । यो कानुनको प्राक्कथनमै दसैँ नेपालमा उत्पत्ति भएको सांस्कृतिक पर्व भनिएको छ । उनले मेरिल्यान्डको नेपाली समुदायका लागि निर्माण हुँदै गरेको सांस्कृतिक केन्द्र र सामुदायिक भवनका लागि राज्यका तर्फबाट साढे पाँच लाख डलर निकासा गर्नेलगायत सामाजिक कार्यमा सहजीकरण गरेका छन् । 

अमेरिकी संसद्को निर्वाचन दौडमा रहेका नेपालीमा डा. ह्यारी भण्डारी मूलधारको राजनीतिमा परिचित नाम हो । अमेरिकामा नेपाली मूलको पहिलो राज्य सांसद उनी मेरिल्यान्ड राज्यको हाउस अफ एसेम्बेली निर्वाचन क्षेत्र नम्बर ८ का बहालवाला सांसद पनि हुन् । 


भण्डारीले संघीय संसद्को सदस्यका लागि उमेदवारी दिएको निर्वाचन क्षेत्रको जनसंख्या करिब आठ लाख छ । डेमोक्रेटिक प्राइमरीमा ६ जनाबीच प्रतिस्पर्धा रहे पनि भण्डारीको मुख्य प्रतिस्पर्धा जोनी ओल्स्जेस्की जुनियरसँग छ । मेरिल्यान्डका राज्यकै पूर्वहाउस अफ एसेम्बली सदस्य जोनी हाल बाल्टिमोर काउन्टीका एक्ज्युकेटिभ हुन् । प्राइमरी निर्वाचनमा ४० हजार मत प्राप्त गर्न सक्दा भण्डारीको क्यापिटल हिलको यात्रा सहज हुन सक्छ । डेमोक्रेटिकको पकड रहेको यस क्षेत्रबाट डेमोक्य्राट पार्टीका उमेदवार नै निर्वाचित हुँदै आएका छन् । मेरिल्यान्ड राज्यमा मे २ देखि ९ सम्म अग्रिम मतदान गर्न सकिन्छ भने १४ मा प्राइमरी चुनाव हुने कार्यतालिका छ ।


 एड्रिन (आशिष) पोखरेल
अमेरिकाको राजनीतिमा आफ्ना महत्वाकांक्षी पाइला क्यापिटल हिलतर्फ लम्काएका अर्का नेपाली मूलका अमेरिकी हुन्, एड्रिन(आशिष) पोखरेल । तीन दशकपहिले उच्च शिक्षाका लागि अमेरिका आइपुगेका पोखरेल अहिले पनि विद्यावारिधिको विद्यार्थी भएको बताउँछन् । नेपालको पूर्वी सहर धरान विजयपुरका उनले यही वर्षदेखि अमेरिकी राजनीतिमा पाइला राखेका हुन् । 


अमेरिकी नेपाली समुदायबाट हुने स्वयंसेवी तथा स्वेच्छिक आर्थिक सहयोगका लागि नेपाली समुदाय अग्रसर भएकोमा प्रसन्न छन् उनी । अहिलेसम्म तीन हजार दुई सय नेपाली समुदायका सदस्यसँग सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापित गरिसकेका पोखरेल १० हजार नेपालीमाझ पुग्ने योजनामा छन् । आफ्नो निर्वाचन क्षेत्रका अमेरिकी समुदायका भित्री तहसम्म घरदैलोमा सक्रिय पोखरेल अमेरिकी भूमिमा आफूले गरेको सेवा र समर्पणको अनुभव सुनाउँदै मतदातालाई आफूतिर आकर्षित गर्ने प्रयासमा छन् । सेवा, समर्पण र अनुभवलाई अमेरिकी समाजले सम्मान गर्नेमा पोखरेल विश्वास गर्छन् ।


उनको प्राइमरी चुनावी खर्चको आकलन करिब तीन लाख डलर रहेको छ । भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० स्थित गेन्सभिलमा पाँच वर्षपहिले किनेको घर बैंकमा धितो राखेर एक लाख डलर चुनाव खर्च छुट्याएका छन् पोखरेलले । पोखरेलको निर्वाचन क्षेत्र भर्जिनिया १० मा डेमोक्रेटिक प्राइमरी आगामी जुन १८ मा हुँदै छ । अग्रिम मतदान भने मे ३ बाटै सुरु हुन्छ । 


साढे ६ लाख मतदाता रहेको भर्जिनिया १० मा पोखरेलको प्रतिस्पर्धा १२ जनासँग हुँदै छ । यस क्षेत्रमा ६२ प्रतिशत स्थानीय ह्वाइट अमेरिकन, १८ प्रतिशत स्पेनिस, १४ प्रतिशत एसियन र बाँकी अन्य छन् । प्राइमरीमा ६० हजार मत खस्न सक्ने र विजेताले १५ हजार कटाउनुपर्ने पोखरेलले अनुमान गरेका छन् । 


 प्रदीप ढकाल 
फेयरफेक्स काउन्टीअन्तर्गत हरेन्डन टाउनको मेयरका उमेदवार प्रदीप ढकालको निर्वाचन क्षेत्रमा करिब १२ हजार मतदाता रहेका छन् । उनको प्रतिस्पर्धा एकजनासँग मात्र छ । यस निर्वाचन क्षेत्रमा स्थानीय अमेरिकन ३५, स्पेनिस १८, एसियन १६ प्रतिशत र बाँकी अन्य समुदायका मतदाता छन् । राष्ट्रपतिका लागि हुने मतदानसँगै स्थानीय टाउनको मेयरका लागि पनि निर्वाचन हुने भएकाले तुलनात्मक रूपमा अन्यत्रभन्दा यहाँ धेरै मतदान हुन्छ । कुल मतदातामध्ये ८० प्रतिशतले मतदान गरे मेयरमा निर्वाचित हुनका लागि पाँच हजारभन्दा माथि मत पाउनुपर्ने अनुमान गर्न सकिन्छ ।


आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावकै दिन अन्तिम मतदान हुने भए पनि सेप्टेम्बर २० देखि नै मतदाता आ–आफ्नो अनुकूलमा मतदान केन्द्रमा गएर वा हुलाकबाट पनि अग्रिम मतदानमा सहभागी हुन सक्छन् । मेयरका उमेदवार ढकालले चुनाव खर्च २५ हजार डलर अनुमान गरेका छन् । आफ्ना निर्वाचन क्षेत्रका सबै समुदायका सदस्यहरूको स्वेच्छिक सहयोगको अपेक्षा राखेका उनको अहिलेसम्मको खर्च एक हजार डलर आसपासमा छ । उनको चुनावी नारा हो ‘परिवर्तन, प्रगति र समृद्ध सहरका लागि नयाँ नेतृत्व’ । मेयरका लागि हुने निर्वाचनमा निर्वाचन कार्यालयले पार्टीगत राजनीतिक पहिचान खोज्दैन, तर पार्टीको अनुमोदन पाउनका लागि पार्टीको सरोकार समूहको समर्थन भने जुटाउनुपर्छ । निर्वाचन कार्यालयबाट उमेदवारको आधिकारिक अनुमति लिइसकेका ढकाल फेयरफेक्स डेमोक्य्राट पार्टीको अनुमोदनको प्रतीक्षामा छन् । 


अमेरिकाको मूलधारको राजनीतिमा नेपाली मूलका अमेरिकीको चासो र सहभागिता क्रमशः बढ्दै छ । मेरिल्यान्ड राज्यको इन्डियन हेड सिटीको उपमेयर किरण सिटौला सोही पदमा दोस्रो कार्यकालको जिम्मेवारीमा दोहोरिएका छन् । न्युयोर्क राज्यको डिस्ट्रिक १०३ बाट न्युयोर्क स्टेट एसेम्बलीमा सराहना श्रेष्ठ २०२२ मा निर्वाचित भइन् । न्युयोर्कको हाउस अफ एसम्बलीको दुईवर्षे कार्यकाल रहेकाले यसपटक उनी दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छिन् । 


अमेरिकाका विभिन्न राज्यका सिटी काउन्सिलका बहालवाला अन्य सदस्यमा रामचन्द्र श्रेष्ठ, टीका पौडेल र भुवन प्याकुरेल निर्वाचित भएका छन् । अन्य थुप्रै नेपालीले पनि अमेरिकाको मूलधारको राजनीतिमा आफ्ना पाइला बढाइरहेका छन् । 
नेपालीका यस्ता प्रयास केही व्यक्तिगत महत्वाकांक्षा र प्रचारका लागि जस्तो मात्र देखिए पनि केही प्रयास वस्तुगत अवस्थाको आकलन गरेर सुविचारित नै छन् ।

 

अमेरिकी राजनीतिमा नेपालीभाषीहरूको सहभागिता बढ्नुलाई पत्रकार तरुण पौडेल स्वाभाविक मान्छन् । विश्वका सबैजसो देशका आप्रवासीको देश भएकाले पनि यहाँ अन्य क्षेत्रमा जस्तै राजनीतिमा जान चाहनेका लागि पनि उत्तिकै अवसर छ । पौडेलका अनुसार अमेरिकामा राजनीति पेसाका रूपमा नलिने भएकाले राजनीतिप्रति धेरैको रुचि छैन । बढ्दै गएको नेपालीभाषीको जनसंख्याका कारण पहिचान र पहुँचका लागि राजनीतिमा नेपालीको सहभागिता बढ्दै गएको हो । 


अमेरिकामा नेपाल तथा नेपालीलाई देखिने र सुनिने बनाउन पनि यहाँको मूलधारको राजनीतिमा नेपालीको प्रवेश आवश्यक छ । तर, अत्यन्तै अल्पसंख्यामा रहेको नेपालीका लागि यो यात्रा सहज छैन । सन् २०२० को जनगणनाअनुसार अमेरिकामा नेपालीभाषीको संख्या दुई लाख १९ हजार नाघेको छ, तर उनीहरूको प्राथमिकता राजनीति भइसकेको छैन । अमेरिकामा चुनाव ज्यादै खर्चिलो हुने भएकाले नेपालीका लागि राजनीतिक यात्रा कठिन भएको हो ।

 

मुठीदानका लागि कहलिएका नेपालीले राजनीतिका लागि त्यस्तो किसिमको दान दिन सकेको देखिएको छैन । उनीहरूको प्राथमिकता बदलिएर मन पनि परिवर्तन भयो भने नेपालीका लागि चुनाव खर्च जुटाउन गाह्रो छैन । त्यस्तो भएमा केही नेपालीले अमेरिकी मूलधारको राजनीतिमा मानक उपलब्धि हासिल गर्न सक्छन् । त्यसले अन्ततः अमेरिकामा नेपाली अरू देखिने र सुनिने हुनेछन् । आगामी नोभेम्बर ५ को आमनिर्वाचनसम्म पुग्नलाई प्राइमरीको खड्को काट्नुपर्ने हुन्छ । त्यसका लागि क्यापिटल हिलतिर बढेका नेपाली पाइलालाई अग्रिम शुभकामना !