
संगीतकार पदम रोकाया खस भाषाको उद्गमस्थल सिंजा उपत्यका जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ रोकायावाडामा विसं २०४६ माघ ८ गते जन्मेका हुन् । बुबा चन्द्रवीर रोकाया र आमा छुमकला रोकायाको कोखबाट जन्मेका पदम १६ वर्षको उमेरमै गायन क्षेत्रमा लागेका थिए । आफ्नै शब्द–संगीत र स्वरमा ‘मेरी मायालु’, ‘जुम्ला कालिकोट’जस्ता चर्चित गीतहरूबाट संगीत क्षेत्रमा उदाएका हुन् ।
पदमका गीत अत्यन्त लोकप्रियसमेत भएका थिए । संगीत र शब्दमा ख्याति कमाएका पदम एक कुशल गायक पनि हुन् । करिब आठ सयभन्दा बढी गीतहरूमा संगीत–शब्द र स्वर भरिसकेका छन् । उनका ‘माया गर्ने जीवन साथी’, ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, ‘मेरो दिलको राजा’, ‘तिम्ले घृणा गरे पनि’, ‘मुटुभित्र, धोका दिने धोके बाज’, ‘जुम्ला कालिकोट धोका खाको छु’, ‘मेरी मायालु कर्णाली’जस्ता दर्जनौँ हिट गीत छन् ।
कर्णाली कलाकार समाजको अध्यक्षसमेत रहेका संगीतकार रोकाया तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ को आयोजक समिति अध्यक्षको भूमिकामा समेत थिए । पदम नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित, म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर न्युज म्युजिक अवार्ड सन् २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ आदि पुरस्कार सम्मानबाट सम्मानित भइसकेका छन् । यो वर्ष पनि जीवन्त नेपाल म्युजिक अवार्ड २०८० मा पदमले ‘बेस्ट म्युजिक कम्पोजर’ अवार्ड जितेका छन् ।
उनी कनकासुन्दरी गाउँपालिकाको आयोजनामा र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको कर्णाली प्रदेशस्तरीय खस सिंजा महोत्सव २०७६ मा सम्मानित भएका हुन् । पदमले दुर्गम जिल्लामा जन्मेर पनि नेपाली गीत–संगीतमा चर्चा कमाएका छन् । उनले काठमाडौंमा लामो समयदेखि सरकारी विद्यालयदेखि संगीत विद्यालयमा संगीत शिक्षकका रूपमा संगीत सिकाउँदै आएका छन् । उनका कतिपय शिष्य संगीत क्षेत्रमा चर्चित पनि भइसकेका छन् ।
२०६९ मा ‘पदम रोकाया एकल साँझ’को समेत आयोजना भएको थियो । उनका निष्ठुरी, परी, कर्णाली दुर्दशा, मेरी मायालु, जुम्ला कालिकोटजस्ता गीतिसंग्रह छन्, जसलाई कर्णालीको मात्रै होइन, देशभरिका संगीतप्रेमीहरूले समेत निकै रुचाएका छन् । पदम संगीत क्षेत्रसँगै विभिन्न संघ–संस्थामा सल्लाहकारका रूपमा समेत छन् । उनी भन्छन्, ‘संगीतमार्फत कर्णालीको कथा भन्ने मेरो यात्रा रोकिँदैन ।’