• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
२०८१ बैशाख २२ शनिबार ०७:००:००
समाज

विस्तारित नेपाली डायस्पोराको खोजी

२०८१ बैशाख २२ शनिबार ०७:००:००

यतिवेला नेपाली जाति, भाषा र संस्कृतिको भूमण्डलीकरण भएको छ ।  समयको प्रवाहसँगै आफ्नो कर्मको सागरमा तैरिँदै नेपाली जाति पृथ्वीको सबै गोलार्धमा पुगेको छ । तर, कतिपय देशमा उनीहरूको नाम मात्रै नेपाली छ । उनीहरू आज स्थायी रूपमा बसोवास गरेका देशप्रति इमानदार र प्रतिबद्ध छन् । जुन देशको नागरिकता बोकेका छन्, त्यसको झन्डामुनि सगौरव बसेका छन् । यहीबीचमा उनीहरू एक–आपसमा जोडिन चाहन्छन् र अन्ततः नेपालसँग भावनात्मक रूपमा स्वाभाविक साइनो जोड्न चाहन्छन् । नेपाली राहदानीवाहक वा भर्खरै नेपाली नागरिकता त्यागेर विदेशी नागरिक भएकाहरूको भन्दा धेरै विस्तारित छ, नेपाली समुदाय । पुस्तौँअघि नेपालबाट बाहिर गएका वा नेपाली सरहदबाहिरै रहेका नेपालीहरू नेपालसँग सम्बन्ध गाँस्न चाहन्छन् । यसका लागि प्रयास सुरु भएको छ । 


तर, नेपालप्रति आस्था र सम्मान साँचेर राखेका उनीहरूलाई नेपालसित जोड्ने, उनीहरूको ज्ञान र सीप प्रयोग गर्ने र उनीहरूलाई सांस्कृतिक रूपमा अभिभावकत्व प्रदान गर्ने उपाय नेपालको राज्य–संयन्त्रसँग अभाव छ । पाँच महिनाअघि अमेरिकामा रहेका नेपालीहरूको एउटा समूह यो चिन्तनमा लाग्यो । समूहले पुसतिर अवधारणा फुरायो– एउटा साझा संस्था गठन गरौँ, संसारभरिका नेपाली जातिलाई आपसमा पनि जोडौँ र नेपालसँग पनि जोडौँ ।’ 


दुईवटा सांस्कृतिक कार्यक्रममार्फत नेपालीहरूलाई जोडेको समूहले तयार गरेको पृष्ठभूमिमा ६ चैतमा थाइल्यान्डको बैंककमा भेला भएर २७ देशमा स्थायी बसोवासरत नेपालीले ‘असोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)’ घोषणा गरे । भुटानमा जन्मेका, नेपालमा शरणार्थी शिविरमा एउटा वय पार गरेर अमेरिकामा पुनर्वासमा पुगेका डिल्ली अधिकारीले यो कर्मको नेतृत्व गरे । अधिकारीको नेतृत्वमा एएनओका पदाधिकारीले यही साता राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने तथा प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटेर आफ्नो अभियानको चर्चा गर्दा सबैको एकै स्वर थियो, ‘यो अभियानमा हाम्रो साथ र समर्थन छ । अघि बढौँ ।’ अहिलेसम्म ४२ देशका नेपाली एएनओसित सम्पर्कमा आएका छन् । यो दायरा विस्तार गर्दै जाने उनीहरूको लक्ष्य छ । 

नेपाली राहदानीवाहक वा भर्खरै नागरिकता त्यागेर विदेशी नागरिक भएकाहरूको भन्दा धेरै विस्तारित छ, नेपाली समुदाय । पुस्तौँअघि नेपालबाट बाहिर गएका वा नेपाली सरहदबाहिरै रहेका नेपालीहरू नेपालसँग सम्बन्ध गाँस्न चाहन्छन् ।


बहालवाला नेपाली नागरिक र भूतपूर्व नेपाली नागरिकको परिभाषामा नेपालीहरू संगठित नभएका होइनन् । तर, विश्वभरि रहेका नेपाली जातिको विशाल जनसंख्यालाई समेट्ने साझा संस्था थिएन । जस्तो, भुटानमा रहेका वा भुटानबाट नेपाल हुँदै बाहिर गएका नेपालीहरूको ठूलो संख्यालाई कहाँ अटाउने ? म्यानमार (बर्मा) र भारतका विभिन्न भूभागमा रहेका गोर्खाली परिचयमा रहेका नेपालीलाई कसरी जोड्ने ? 


‘सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मक रूपमा पुर्खाको(वा आफ्नो) जन्मभूमिसँग जोडिने हो । उनीहरूले नेपालसँग माग्ने एउटा मात्रै कुरा छ, तिमीहरू नेपाली मूलका हौ भनिदिए हुन्छ । उनीहरू आफ्नो गच्छेअनुसार नेपाललाई योगदान दिन चाहन्छन्’ एएनओका महासचिव चूडामणि भट्टराईले यो साता काठमाडौंमा सुनाए, ‘हाम्रो कुनै पनि राजनीतिक उद्देश्व वा स्वार्थ छैन । यो एउटा अभियान हो र यसले नेपाल एवं नेपालबाहिर जहाँसुकै भए पनि बसोवास गरिरहेका नेपाली जातिलाई एकआपसमा र मूलभूत रूपमा नेपालसँग जोड्ने सिद्धान्तमा आधारित छ ।’


नेपालका उच्चपदस्थ अधिकारीसँग भेटेपछि समूह हौसिएको छ । राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थान तनहुँको चुँदी रम्घामा केही गरौँ भन्ने प्रस्ताव राखिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एएनओका सचिव चिरनजंग थापाले सुनाए, ‘संसारभरिका नेपालीलाई जोड्ने अभियान नेपालका लागि अत्यन्तै महŒवपूर्ण छ । यसलाई सफल बनाउन नेपाल सरकारले जे भूमिका निर्वाह गर्नुपर्छ भन्नुहोला म तयार छु ।’ 


अमेरिकामा रहेको इन्ट्रा वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स आयोजना गर्दा २० देशका नेपालीसँग सम्पर्क स्थापित भयो । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको निवास अमेरिकाको ओहायोमा भएको छलफलका क्रममा साझा संस्थाको खोजी भएको र एएनओको नाम तय भएको महासचिव भट्टराई सुनाउँछन् । त्यही छलफलपछि उनीहरूले विभिन्न देशमा रहेका नेपालीलाई अवधारणा सुनाए र बैंककमा बोलाए । त्यहाँ जम्मा भएका नेपालीले औपचारिक रूपमा एएनओ घोषणा गरे । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले भेला उद्घाटन गरेर नेपाल सरकारको यसमा अपनत्व लिएको सन्देश दिएका छन् । 


मूलतः नेपाली सांस्कृतिक, सामाजिक विरासतलाई प्रोत्साहित गर्दै एकताको सञ्जाल विस्तार गर्ने यो समूहको लक्ष्य छ । ‘नेपाल र विश्वका सम्पूर्ण नेपाली जातिको विकास र प्रगतिलाई टेवा पु¥याउन सकिन्छ कि भन्ने सोच छ,’ भट्टराईको भनाइ छ, ‘किनभने एएनओमा नेपालका नेपाली र बाहिरका नेपाली एउटै मञ्चमा छन् । नेपाली जातिको साझा मञ्च पहिलोपटक तयार भएको छ ।’


नेपाली मूलका अर्थात् नेपाली जातिका समुदायको जागरुक संस्थाको रूपमा उनीहरू यसलाई स्थापित गर्न चाहन्छन् । ‘नेपाली संस्कृति, कला, सामाजिक, आर्थिक क्षेत्रका माध्यमबाट परोपकारी कार्यसहित सम्पूर्ण नेपाली जातिलाई एक–आपसमा जोड्ने र अन्तिममा उनीहरूलाई नेपालसँग जोड्ने हो,’ एएनओका बोर्ड सदस्य ओम गुरुङले सुनाए, ‘कनेक्टिङ नेपाली ओरिजिन टु नेपाल थ्रु कल्चर, आर्ट, सोसियल वर्क एन्ड इकोनोमिक एक्टिभिटीजस्तो अभियान हामी चलाउँछौँ ।’ 


अर्का संस्थापक सदस्य केबी कार्कीको भनाइमा प्रवासमा बस्ने हरेक नेपाली जातिको चाहना आफ्नो पुर्खाको देशसँग जोडिइरहने हुन्छ । ‘हामी नेपाली मूललाई नेपालसँग जोड्न चाहन्छौँ,’ उनी भन्छन् । के हो त नेपाली मूल ? महासचिव भट्टराई भन्छन्, ‘नेपाल मातृभूमि, पितृभूमि भएर कुनै कारणवश विश्वका विभिन्न मुलुकमा बस्न पुगेका नेपाली भाषा बोल्ने, नेपाली संस्कृति मान्ने र नेपालसँग पुर्खाको सम्बन्ध भएका, नेपाली जातिका व्यक्ति नेपाली मूल हौँ ।’ 


नेपालीहरू संगठित गर्ने अभियानका रूपमा उनीहरूले यो संस्थालाई अघि बढाएका छन् । नेपाल मूल थलो भई वर्षौंअघि वा पुस्तौँअघि विश्वका विभिन्न मुलुकमा अस्थायी वा स्थायी बसोवास गरेका वा बाध्यतावश अर्को मुलुकमा शरण लिन पुगेका नेपाली जातिका व्यक्ति र समूह यो अभियानमा छन् । नेपालमा बसोवास गरेका र नेपालबाहिर बसोवास गरेका, नेपालका नागरिक वा कुनै पनि देशका नेपाली मूलका नागरिकलाई आपसमा जोड्न खोजेका छन् उनीहरूले । ‘कुन देशमा हामी बस्छौँ, कुन देशको नागरिकता लिन्छौँ भन्ने कुरामा हाम्रो सरोकार छैन, हामी उहाँहरू नेपाली मूलका हुनुहुन्छ कि हुनुहुन्न भन्ने हेर्छौं,’ महासचिव भट्टराईले भने ।


पुर्खाको देश छोड्नुपरे पनि वा प्रवासमै जन्मेर पुस्तौँपुस्तासम्म बिताउनुपरे पनि आफ्नो पुर्खाको देशप्रति माया, स्नेह, चिन्ता, चासो र शुभ चिन्तन अझ बढी नै हुने गरेको जानकारी उनीहरू नेपाललाई बताउन चाहन्छन् । अधिकारी अध्यक्ष रहेको एएनओको बोर्ड अफ ट्रस्टीमा सुशीलकुमार पन्त, चूडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज वात्सना राई, टिबी गुरुङ, विरास अधिकारी, करिष्मा सुब्बा छन् । केन्द्रीय कार्यकारिणीमा अधिकारी अध्यक्ष छन् भने पन्त वरिष्ठ उपाध्यक्ष, भट्टराई महासचिव छन् । सचिवमा चिरनजंग थापा, सहसचिव अर्जुनकुमार पौडेल, कोषाध्यक्षमा उदयन नारायण मिश्र, सहकोषाध्यक्षमा गोपीकुमार कार्की छन् । यसैगरी डा. दामोदर पौडेल, बाबुकृष्ण कार्की, राज कर्माचार्य र तिलक निरौला पनि कार्यकारिणी सदस्य छन् । 


आफ्नो पुर्खाको देशको आर्थिक, सामाजिक, सांस्कृतिक र सर्वांगीण विकासमा मद्दत पु¥याउने उनीहरूको चाहना छ । ‘प्रवासमा रहेका आफ्नै सन्ततिको ज्ञान, सीप, आइडिया र अनुभवलाई मातृ, पितृभूमिले लिन चाहेमा सहज रूपमा उपलब्ध गराउन उनीहरू तयार छन्,’ उनले भने, यसलाई बृहत् रूपमा नेपाली डायस्पोराका रूपमा राज्यले उपयोग गर्न सक्नुपर्छ । उनीहरू नेपालका वास्तविक रूपमा सफ्टपावर हुन् भन्ने महसुस नेपालले गर्नुपर्छ ।’        

                          
प्रवासमा बस्ने नेपाली जातिका लागानीकर्ताहरूलाई नेपालमा लगानीको वातावरण बनाउन, लगानी प्रोत्सान गर्न र लगानीको उचित प्रतिफल आफ्नै पितृभूमिको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगाई सामाजिक काम गर्न उनीहरू तयार छन् । ‘मातृ, पितृभूमि नेपाललाई प्राकृतिक वा मानवीय विपत्ति परेको वेला खुला हृदयका साथ सघाउन उनीहरू हरदम तयार छन् । नेपाली भाषा, कला, संस्कृतिका माध्यमबाट नेपाललाई जहाँजहाँ नेपाली जातिको बसोवास छ, त्यहाँ–त्यहाँ नै एकताबद्ध बनाउन र जातीय पहिचानलाई पुस्तौँपुस्तासम्म जीवित राख्दै भावी सन्ततिलाई समेत नेपाल र नेपाल जातिप्रति गर्व गर्न सक्ने वातावरण बनाउन नेपाली तयार छन्,’ महासचिव भट्टराई भन्छन् । 


संसारकै सर्वोच्च शिखर सगरमाथा भएको मातृ, पितृभूमि नेपालको पर्यटन विकासमा उनीहरू योगदान दिन तयार छन् । 
मूलतः प्रवासी नेपालीको हकहित, अधिकार र आपसी सद्भावका लागि भए पनि नेपाली जातिको इतिहास, संस्कृति र भाषालाई जुगौँसम्म कायम राख्ने मूलभूत उद्देश्यले स्थापित भएकाले यसलाई उनीहरू नेपालको कानुनअनुसार गैरआवासीय नेपाली कानुनअनुसार नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता गर्न चाहन्छन् । 


तर, यो अभियानले नेपालसँग नेपालको नागरिकता माग्नेछैन । नेपाली जातिलाई नेपालसँग जोड्नका लागि कुनै प्रकारको नेपाली पहिचान खुल्ने परिचयपत्र नेपाल सरकारका तर्फबाट जारी होस् भन्ने उनीहरूको चाहना छ । ‘त्यस्तो परिचयपत्रले नेपालको नागरिकताको काम गर्नेछैन । तर, आफ्नो मातृ, पितृभूमि प्रवेश गर्न, बसोवास गर्न, लगानी गर्न र सामाजिक काम गर्न यो परिचयपत्र प्राप्त गरेपछि सम्भव हुने परिस्थिति बनोस् भन्ने उनीहरू चाहन्छन्,’ महासचिव भट्टराई भन्छन्, ‘यसमा प्रधानमन्त्रीदेखि सबैजना सकारात्मक हुनुहुन्छ । उहाँहरूलाई जसरी सजिलो हुन्छ, त्यसरी कार्यान्वयन होस् भन्ने हामी चाहन्छौँ ।’ 


नेपाली भाषा, कला, संस्कृतिको दूतका रूपमा संसारभर यो अभियानले काम गर्नेछ । भावी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना, प्रचारप्रसार, विकास र संवद्र्धन गर्नुका साथै नेपाली जाति जहाँ रहे पनि संकटका वेला जातीय एकतासहितको सहकार्य गरी सामाजिक सेवा गर्नेछ ।


प्रवासमा रहेका नेपाली जाति आर्थिक रूपमा सुदृढ र सम्पन्न छन् । ४० भन्दा बढी देशमा उनीहरू सेनामा कार्यरत छन् । ‘नेपालीहरूलाई जोड्दै जानुपर्छ भन्ने लाग्यो । तर, राजनीतिक उद्देश्य पटक्कै छैन है,’ महासचिव भट्टराईले भने । उनको बुझाइमा यी नेपाली जातिका मानिस हुन् भनेर परिचय नेपाल सरकारले दियो भने उनीहरू खुसी हुनेछन् । भारतले संसारभरिका भारतीय मूलका मानिसलाई जोडेको छ । नरेन्द्र मोदी सरकारका पालामा भारतीय डायस्पोरा उत्साही छ । 


‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा नेपाली मूलका विदेशी नागरिकको बेग्लै डेस्क राखिदियो भने उनीहरूलाई कति सम्मान हुन्थ्यो, नेपाल आउँदा उनीहरू खुसीले गदगद हुन्थे,’ भट्टराई सुनाउँछन्, ‘हामीसँग ४२ देशका नेपाली सम्पर्कमा आएका छन् । फिजीदेखि बंगलादेशमा नेपाली स्थायी बसोवास गर्दा रहेछन् । विश्वका ६२ देशको सुरक्षामा नेपाली मूलका नागरिक कार्यरत रहेछन् । सबैलाई एक–आपसमा जोडौँ, प्रकारान्तरले यो नेपालको समृद्धि र शक्तिका लागि आधारस्तम्भ हुनेछ । सरकारलाई हामीले भन्यौँ, फेरि पनि झकझक्याइरहनेछौँ ।’