• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका
२०८१ बैशाख २२ शनिबार ०७:१८:००
साहित्य

मन परेका १२ पुस्तकबारे कवि श्रवण मुकारुङ

२०८१ बैशाख २२ शनिबार ०७:१८:००
नयाँ पत्रिका

आमाको सपना :  युवा छँदा नै यो कवितासंग्रह पढेको हुँ । गोपालप्रसाद रिमालका धेरै कविता मलाई मनपर्छन् । त्यसमध्ये पनि ‘आमाको सपना’ सबैभन्दा मनपर्ने कविता हो । यसले स्वप्निल हुन सिकाउँछ । भविष्यप्रति कल्पनातित हुन सिकाउँछ । युवाकविलाई यो कविताले निकै प्रेरणा दिन्छ । रिमाल स्वतन्त्रता, समानता र मुक्तिका पक्षधर कवि हुन् । प्रजातन्त्रको सपना देख्ने कवि हुन् । आधुनिक गद्य कविता सुरु गर्ने कवि पनि हुन् । उनले थोरै, तर निकै अब्बल कविता लेखे । 


सुम्निमा :  बिपी कोइरालाको यो विशिष्ट उपन्यास हो । हाम्रो समाजको जातीय, सांस्कृतिक विविधतालाई मिहिन ढंगले बुझेर समाजलाई कसरी बलियो बनाउने भन्ने यसको ध्येय हो । दुईवटा दर्शनबीच संवाद गराएर लेखिएको कृति हो यो । जनजाति महिलाले तुलनात्मक रूपमा पाउने बढी स्वतन्त्रताको कुरा यसमा छ । आर्यहरूको आध्यात्मिक र मंगोलहरूको भौतिकवादी जीवनशैलीलाई संवाद गराएर बिपीले सुन्दर कृति लेखेका हुन् । राजनीतिमा उनी प्रजातन्त्रवादीका नायक नै भए । आख्यानमा कथा–उपन्यासको क्षेत्रमा पनि समकालीन साहित्यकारको दाँजोमा उनी पृथक देखिन्छन् । मनोविश्लेषणात्मक र त्यसमा पनि फ्रायडवादी साहित्यकारका रूपमा उनको भूमिका विशेष छ । 


घुम्ने मेचमाथि अन्धो मान्छे :  भूपी शेरचन थोरै कविता लेखेर चर्चित हुने कविमध्ये पर्छन् । गद्यमा लेखिएका उनका कविता निकै अब्बल छन् । ‘घुम्ने मेचमाथि अन्धो मान्छे, हामी, मैनबत्तीको शिखा, घण्टाघर’लगायत कविताले समाजलाई निकै प्रभावित गरे । एउटा साहित्यकारले आफ्नो जीवनमा एउटा कोण, एउटा चेतनाको झिल्को, एउटा आयाम दियो भने त्यो नै ठूलो कुरा हो । 


प्रत्येक ठाउँ प्रत्येक मान्छे :  पिटर जे कार्थक संगीत र साहित्यका ज्ञाता हुन् । विशेषगरी पश्चिमा साहित्यमा उनको लगाव थियो । उनी राम्रोसँग कथा प्रस्तुत गर्न सक्ने व्यक्ति थिए । ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यास मैले १७ वर्षको छँदै पढेको हुँ । यो सामाजिक उपन्यास पढेपछि मलाई दार्जिलिङ घुम्न मन लाग्यो । किनकि, उनले दार्जिलिङको समाज र त्यहाँको चित्रलाई निकै मज्जाले प्रस्तुत गरेका छन् । 


आज रमिता छ :  इन्द्रबहादुर राईका धेरै कृति उत्कृष्ट छन् । मलाई यो विशेष लाग्छ । यो उपन्यासले दार्जिलिङको राजनीतिक परिदृश्य समेटेको छ । यो उपन्यासमा चियाकमानमा व्याप्त अन्याय, अत्याचार, अभाव, असुरक्षा, कम आयलगायत समस्या उजागर गरेको छ । युवाहरूमा देखिएको आक्रोश र असन्तुष्टि झल्काएको छ । उनी समालोचक र विचारक पनि हुन् । 


भोलि बास्ने बिहान : यो कवितासंग्रह मलाई निकै मनपर्ने पुस्तकमध्येको हो । यसमा विविध कविता समेटिएका छन् । ‘काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन, काठमाडौं एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन...’ यो कविता निकै चर्चित पनि थियो । कृष्णभूषण बल मलाई निकै मनपर्ने कवि हुन् । उनको कविता पढ्दा पनि गीत सुनेजस्तो लाग्छ । उनको शैली निकै लयात्मक थियो । गद्य कविता भए पनि छन्द कविताभन्दा कम थिएन । उनी पञ्चायतकालीन समयमा प्रजातन्त्रका पक्षमा लेख्ने कवि हुन् । 


शंकर लामिछानेका निबन्ध :  साहित्यमा गरिएका नयाँ प्रयोगले मलाई प्रभावित गर्छ । शंकर लामिछानेका निबन्धहरू निकै उत्कृष्ट छन् । त्यसमध्ये पनि बहुचर्चित ‘अब्स्ट्रयाक चिन्तन प्याज’ निकै मनपर्छ । उनका प्रायः सबै निबन्ध उत्कृष्ट छन् । 


शिरीषको फूल : पारिजातको शिरीषको फूल शून्यवादी दर्शनको एउटा उत्कृष्ट नमुना हो भन्ने लाग्छ । पारिजात जीवनभर साहित्यको साधना गर्ने यात्री थिइन् । उनले सम्पूर्ण जीवन नेपाली साहित्यको योगदानमा लगाइन् । 


वैरागी काइँलाका कविता :  वैरागी काँइलाका कविताहरू मलाई निकै मनपर्छ । काइँला आधुनिक नेपाली कविताका विशिष्ट प्रतिभा हुन् । उनले थोरै लेखे, तर धेरै उचाइको लेखे । जसलाई आउने पुस्ताले पनि क्रस गर्न गाह्रो छ । संस्कृतिविदका रूपमा पनि उनको भूमिका विशेष छ । उनले सिंगो संस्कृतिको शोध अनुसन्धानमा विशेष योगदान पु¥याएका छन् । 


पल्पसा क्याफे : पत्रकार नारायण वाग्ले लेखकमा रूपमा पनि मलाई निकै मनपर्छ । पल्पसा क्याफे मलाई मनपरेको उपन्यास हो । उनले यसमा द्वन्द्वकालको चित्रण गरेका छन् । उपन्यासको भाषाशैली मलाई निकै मनपर्‍यो । 


द प्रोफेक्ट :  लेबनानी–अमेरिकी कवि खलिल जिब्रानको यो संग्रह पनि निकै मिठासपूर्ण र सरल छ । विश्वका सयभन्दा धेरै भाषामा अनुवाद हुनुले यी कविता कति उत्कृष्ट छ भन्ने देखाउँछ । यसमा प्रेम, विवाह, बालबच्चा, त्याग, काम, पीडा, खुसी, कपडा, अपराध, स्वतन्त्रता, मित्रता, आत्मज्ञान, समय, सुन्दरता, मृत्युलगायत विविध विषयका कविता समेटिएका छन् । बच्चाबारेको एउटा कविताले भन्छ, बच्चाहरूलाई स्वतन्त्र छाडिदिनुपर्छ । ऊसँग विवेक हुन्छ । एउटा मन्दिरलाई चारवटा खम्बाले जोगाएको हुन्छ । प्रेम पनि त्यस्तो हुनुपर्छ । त्यसैले प्रेममा दूरी हुनुपर्छ अनि मिठो हुन्छ भन्ने कविको भाव छ ।