• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८१ बैशाख २९ शनिबार ०६:१२:००
फिल्म

मलाई ‘आर्टिफिसियल रेस’मा धकेलिदिए

२०८१ बैशाख २९ शनिबार ०६:१२:००
पवन बराइली

नेपाली चलचित्र क्षेत्रका रुचाइएका अभिनेता हुन्, अनमोल केसी । फिल्म ‘होस्टेल’बाट डेब्यु गरेका उनले करिब दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘क्याप्टेन’, ‘कृ’, ‘ए मेरो हजुर ३’लगायत चलचित्रबाट उनी दर्शकमाझ प्रिय बने । उनी अभिनित नयाँ चलचित्र ‘फर्की फर्की’ रिलिजको तरखरमा छ । अभिनेता केसीसँग अभिनय यात्राको सेरोफेरोमा रही पवन बराइलीले कुराकानी गरेका छन् :

 

तपाईं आफ्नै अभिनयको  मूल्यांकन कसरी गर्नुहुन्छ ?
अभिनय जीवनको अनुभवबाट आउने कुरा रहेछ । मैले १८ वर्षमै फिल्ममा डेब्यु गर्ने अवसर पाएँ । मैले जीवनको अनुभव गर्न बाँकी नै थियो । म १० वर्ष होस्टेल बसेर पढेँ । मेरो पहिलो फिल्म नै होस्टेलको कथामा आधारित थियो । होस्टेल बस्दा मैले परिवार, शिक्षक र साथीभाइलाई भन्न नपाएको कुरा फिल्ममार्फत भन्न पाएको थिएँ । त्यो मेरो जीवनको पहिलो अनुभव पनि भयो । अहिलेसम्म मैले ९–१० वटा फिल्ममा काम गरिसकेको छु । अहिले मलाई अनुभवसँगै अभिनयमा पनि निखारता आएको ‘फिल’ हुन्छ । अझै अभिनय सुधार्ने प्रक्रियामा छु । अभिनयमा म आफू इमानदार भइरहेको छु जस्तो लाग्छ ।


नेपाली फिल्म क्षेत्रमा फ्यानहरूले तपाईंलाई ‘सुपरस्टार’ भनेको सुनिन्छ । नामको अगाडि ‘सुपटरस्टार’ राखेर सम्बोधन गर्दा तपाईंलाई कस्तो महसुस हुन्छ ? 
मेरा फ्यानहरूले यो कुरालाई मान्दै आइरहनुभएको छ । तर, म व्यक्तिगत रूपमा यो ‘टाइटल’को पछि लागेको छैन । मलाई मान्छेहरूले ‘आर्टिफिसियल रेस’मा धकेलिदिनु भएको छ । मलाई यो ‘रेस’मा दौडिनु छैन । म आफ्नै रेसमा छु । जीवनमा खुसी हुन चाहन्छु । मैले सुपरस्टारको ‘ट्याग’ कसैलाई मागेको होइन । यो ट्याग कसैले खोसेर लैजाने पनि होइन । दर्शकले मलाई कुन रूपमा लिनुहुन्छ भन्ने महत्वपूर्ण कुरो हो । यो ‘ट्याग’ कसरी आयो मलाई थाहा पनि छैन र भोलि गयो भने पनि केही हुनेवाला छैन । मेरो अस्तित्व र पहिचान भनेको बुबाआमाले राखिदिनुभएको नाम हो । मलाई यो नामचाहिँ गुम्न हुँदैन भन्ने लाग्छ । ‘ट्याग’ भनेको आफ्नो कर्मअनुसार बन्दै जाने कुरा हो ।


मलाई फिल्म हिट हुनु र नहुनुले केही फरक पार्दैन । वास्तविक जीवनमा खुसी छु/छैन भन्ने कुरा मभित्र खोज्छु । मेरो कामबाट मेरो परिवार खुसी भएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । फिल्म मेरो जीवनको एउटा बाटो हो, जीवनको लक्ष्य हो । त्यसैले म फिल्म हिट हुँदा फुर्किन्नँ र फ्लप हुँदा अत्तालिन्नँ । म सधैँ राम्रो र नराम्रो नतिजाका लागि तयार हुन्छु ।


तपाई अभिनीत फिल्म ‘छड्के–२’ व्यावसायिक रूपमा असफल भयो । त्यसपछि तपाईंले ‘म चुकेँ’ भनेर स्पष्टीकरण नै दिनुभयो । स्पष्टीकरण नै दिनुपर्ने अवस्था कसरी आयो ?
मैले फिल्म नचल्दा दर्शकसँग माफी मागेको हुँ । मलाई फिल्म सफल हुँदा रमाउने र असफल हुँदा दुःखी हुनुपर्छ भन्ने लाग्दैन । आफूले काम गरेको फिल्मको जिम्मा आफैँले लिनुपर्छ भन्ने लाग्छ । राम्रो हुँदा मात्रै आफ्नो भनेर स्वीकार गर्ने, नराम्रो हुँदा नगर्ने होइन । फिल्म असफल हुँदा मैले स्वीकार गरेको हुँ । हुन त फिल्ममा काम सिंगो टिमले गरेको हुन्छ । मैले पनि आफ्नो ठाउँबाट मिहिनेत गरेकै हुँ । तर, फिल्म रिलिज भएपछि दर्शकले स्वीकार गर्नुभएन । मैले गरेको मिहिनेतको महत्व भएन । फिल्म असफल हुनुमा हामी सबैको मिहिनेत नपुगेको होला । तर, निर्देशकले मेरो क्षमताको सदुपयोग गर्नै सक्नुभएन भन्न खोजेको होइन । 

आफूलाई पर्फेक्ट एक्टर कहिल्यै पनि मान्दिनँ । मैले सिक्न धेरै बाँकी छ । म अब्बल अभिनय गर्ने प्रयासमै छु । तर, उहाँहरूले भनेजति कमजोर पनि छैन होला । अहिलेसम्म दशवटा फिल्ममा काम गरिसकेँ । मेरो अभिनय नराम्रै भएको भए दर्शकले फिल्म किन हेर्थे होलान् ?


म एउटैको मात्रै फिल्म खेल्छु भनेर अभिनयमा आएको पनि होइन । कलाकारको रूपमा केही फरक गरौँ भन्ने भोक सधैँ हुँदोरहेछ । एउटै किसिमको फिल्म गर्दा आफूलाई ‘बोर’ पनि हुँदोरहेछ । त्यसैले मैले ‘छड्के–२’ मा नयाँ अनुभव गरौँ भनेर काम गरेको हुँ । तर, सोचेजस्तो भएन ।


फिल्म कलाकारका लागि सफलता र असफलता निकै महत्वपूर्ण मानिन्छ । तपाईंका लागि असफलता के हो ?
असफलता जीवनमा शिक्षा दिने बाटो रहेछ । मान्छेको जीवनमा उतारचढाव हुनुपर्नेरहेछ । त्यस्तो हुँदा रमाइलो पनि लाग्दोरहेछ । असफलताको अनुभव पनि गर्नुपर्ने रहेछ । त्यसैले मेरा लागि असफलता सिकाइ हो । 


केही समयअघि तपाईंले ‘अरूको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्म छैन’ भन्नुभएको थियो । तपाईंलाई विश्वास गर्ने निर्माता–निर्देशक नभएको भन्न खोज्नुभएको हो ?
हामी कलाकार खाली पाना हौँ । त्यसमा कलर भर्ने काम निर्देशकको हो । त्यसमा प्राविधिक र सिंगो टिमको पनि हात हुन्छ । निर्देशकले मेरो क्षमतालाई नबुझेको पनि भन्दिनँ । बरु निर्देशकले सेटमा मेरो सबै कुरामा इन्टरफेयर गरिदिए हुन्थ्योजस्तो लाग्छ । 


जुन निर्देशकले इन्टरफेयर गर्दैन, त्यस्तो निर्देशकसँग काम गर्न मन लाग्दैन । निर्देशक र कलाकारबाट नै नयाँ आइडिया आउने हो । इन्टरफेयर भयो भने धेरै सिकिन्छ । निर्देशकले कलाकारलाई जति काम लगाउन सक्यो, त्यति नै राम्रो रिजल्ट निस्कने हो ।

 


केही समयअघि आर्थिक लेनदनको विवादले तपाईंलाई प्रहरी हिरासतसम्म पु¥यायो । त्यो घटनामा केही बिराएँजस्तो लाग्छ ?
मेरो त्यसवेला साँढे सातको दशा चलिरहेको रहेछ । सबैको जीवनमा उतारचढाव आउँछ होला । सायद मेरो जीवनमा त्यही भएको हो । त्यो ‘केस’ अझै कानुनी रूपमा सल्टिसकेको छैन । त्यसवेला म पनि केही कुरामा गलत थिएँ होला । उहाँहरू पनि केही कुरामा गलत हुनुहुनुन्थ्यो होला । सही र गलत आफ्नै ठाउँमा थियो । त्यो हाम्रो चलचित्र क्षेत्रभित्रको कुरा थियो । त्यसका लागि कलाकार, निर्माता, निर्देशकको संघ–संस्था थिए ।

 

चलचित्र विकास बोर्ड पनि थियो । मलाई पक्राउ गरेर ठूलो अपराध गरेजसरी हिरासतमै पुर्‍याउनुपर्ने थिएन । त्यो मेरा लागि बढी नै गरिएको हो । मैले हिरासत पुर्‍याउने गरी अपराध गरेको थिइनँजस्तो लाग्छ । त्यो मेरो जीवनमा परिस्थितिले निम्त्याएको घटना थियो भन्छु । जीवनमा पक्राउ पर्छु र प्रहरी हिरासतमा पुग्छु भन्ने सोचेकै थिइनँ । त्यो सबै प्लान गरिएको थियो होला । त्यो घटना सम्झँदा मलाई नमीठो लाग्छ । मलाई फसाउन खोजिएको थियो । तर, घटनाले मलाई धेरै सिक्ने मौका पनि दियो । 


पछिल्लो समय चलचित्र क्षेत्रमा रंगमञ्च र फिल्म पढेर आउने कलाकारहरूको दबदबा बढ्दो छ । ती कलाकारहरूको काम देख्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ? 
म उहाँहरूको रेसमा दौडिन चाहन्नँ । उहाँहरू आफ्नै तरिकाले फिल्ममा काम गरिरहनुभएको छ । उहाँहरूको परिस्थिति फरक होला । उहाँहरूको लक्ष्य पनि फरक होला । मेरो परिस्थिति फरक छ । कसैलाई फिल्मबाट दाम कमाउन मन होला, कसैलाई नाम । कसैलाई ‘क्वालिटीको फिल्म दिन मन होला ।

मेरो समकालीनले फिल्मलाई कुन रूपमा लिइरहनुभएको छ ? कसरी काम गरिरहनुभएको छ ? भन्नेतिर म चासो दिन्नँ । उहाँहरूको कामले मलाई असर गर्दैन । म आफ्नो काममा फोकस हुन्छु । मेरो काममा निखार आइरहेको /छैन भन्नेतिर मेरो ध्यान हुन्छ । 


अहिले तपाईंका समकालीन अभिनेताहरू सहरको लोकेसनबाट गाउँघरको लोकेसन र क्यारेक्टरमा बाक्लै देखिन थालेका छन् । नेपाली फिल्म क्षेत्रको यो प्रयोग तपाईंलाई कस्तो लाग्छ ?

गाउँघरमा गएर खेत जोत्ने र भारी बोक्ने रोललाई अभिनय मान्ने, सहरबजारको रोल गर्नेलाई अभिनय नमान्ने भन्ने हुँदैन । मलाई फरक–फरक प्रकारका फिल्म बन्नुपर्छ भन्ने लाग्छ । गाउँघरका कथामा पनि फिल्म बनाउन आवश्यक छ । ‘लार्जर देन लाइफ’का फिल्म पनि बनाउनुपर्छ । उहाँहरूले गाउँको कथामा फिल्म गरिरहनुभएको छ । म सहरको क्यारेक्टर गरिरहेको छु । म काठमाडौंमा जन्मिएँ, हुर्किएँ । किनभने गाउँघरको परिवेशलाई मैले बुझ्न बाँकी छ ।

मान्छेहरू विदेशतिर घुम्न गएको देख्छु । तर, म विदेशभन्दा नेपालका गाउँहरू घुम्न रुचाउँछु । फुर्सदको समयमा म नेपालका दुर्गम गाउँतिर निस्कन्छु । संस्कृति बुझ्नलाई पनि काठमाडौंबाहिर घुम्न निस्कन्छु । गाउँघरलाई बिस्तारै बुझ्दै छु । भविष्यमा गाउँघरको चरित्रमा पनि काम गर्न सक्छु ।


तपाईंका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल नै मानिन्छन् । तर, फिल्म समीक्षकहरू तपाईंको अभिनयमा अझै निखार आएको छैन भन्छन् नि । 
मान्छेहरू नकारात्मक टिप्पणीमा बढी आकर्षित हुन्छन् । कतिपयले मेरो अभिनय राम्रो छैन भने होलान् । मेरो अभिनय कमजोर छ भनेर मैले नस्विकारेको पनि होइन । यसो भन्दिँदा मैले सिक्ने मौका पाउँछु । म आफूलाई पर्फेक्ट एक्टर कहिल्यै पनि मान्दिनँ । मैले सिक्न धेरै बाँकी छ । म अब्बल अभिनय गर्ने प्रयासमै छु । तर, उहाँहरूले भन्दिएजति कमजोर पनि छैन होला । अहिलेसम्म दशवटा फिल्ममा काम गरिसकेँ । मेरो अभिनय नराम्रै भएको भए दर्शकहरू फिल्म किन हेर्थे होला ? कतिपयले मेरोबारेमा बढाएर नराम्रो टिप्पणी गरिदिनुभएको छ । सायद मलाई झार्न पनि त्यसो गरिएको हुन सक्छ । 

तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका