• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
रामचन्द्र शर्मा
२०८१ बैशाख २९ शनिबार ०६:४२:००
समाज

विराट् चक्र विज्ञान : कार्यक्रम एक, अनुभूति अनेक

२०८१ बैशाख २९ शनिबार ०६:४२:००
रामचन्द्र शर्मा

विषय प्रवेश
मेरुदण्डको तलदेखि माथिसम्म रहने मानव शरीरका सात चक्र क्रमशः मूलाधार, स्वादिष्टान, मणिपुर, अनाहद, विशुद्धी आज्ञा र सहस्रार जगाउन जीवन विज्ञान संस्थाले चक्र विज्ञान कार्यक्रम स्थापनाकालदेखि नै गराउँदै आएको छ । पछिल्लोपटक पाँच हजार एकजनाको ठूलो सहभागितामा शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ०८० चैत्र १७ देखि २३ सम्म विराट चक्र विज्ञान कार्यक्रमको आयोजना गरी सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ । योग ध्यानबाट मात्र विश्वशान्ति र समृद्धि सम्भव छ भन्ने सन्देश नेपालबाट विश्वभर फैलाउन आयोजना गरिएको कार्यक्रमले अनेक अनुभूति दिएको छ । सबै अनुभूति जस्ताको त्यस्तै समेटन सम्भव छैन । सो कार्यक्रममा सहभागी यो पक्तिकार आफूले अनुभूत गरेका केही कुरा उल्लेख गर्दछु । 


१. आन्तरिक जागरणको अनुभूति
मैले मलाई भेटेको दिन भन्ने जीवन विज्ञानको संगीत बजाउँदै तोकिएकै समयमा रमेश गुरुदेवबाट कार्यक्रम सुरु भयो । सो गीतको भावार्थ हो, सजग भएर मनको ढोका खोलेर शान्ति र खुसी बस्ने हृदयमा जाउ, हजारौँ सूर्यको जस्तो प्रकाश भएको त्यो हृदयमा बाहिरको भन्दा बढी र टिकाउ खुसी मिल्छ । एउटा चक्रलाई एक दिन दिँदै चक्रअनुसारका स्वर र मन्त्र उच्चारणसहित योग ध्यानको साधना गराएबाट सहभागीमा जीवन ऊर्जा, प्रेम श्रद्धा र मनको गहिराइदेखि खुसी र आनन्द प्रकट भयो । कार्यक्रमको समापनमा भानु गुरुदेवबाट वाचन भएको संसारका सबै दुःखको अन्त र अनन्त आनन्दको उद्घाटन प्रत्येक व्यक्तिको आन्तरिक जागरणबाट मात्र सम्भव छ भन्ने कविता र लुम्बिनी घोषणापत्रले सबै सहभागीमा आएको आन्तरिक जागरणलाई टिकाउने दृढता र अरूलाई पनि जगाउन मद्दत गर्ने सेवाभावले पल्लवित बनायो । 


२. समृद्धि प्राप्त गर्नमा सहजीकरण 
लक्ष्यभन्दा बढी ६ हजार सहभागीलाई निर्धारित समयमा खाना र साधना सहज तथा सुरक्षित तबरले संस्थाले उपलब्ध गराएर कार्यक्रम सम्पन्न गर्‍यो । अर्कोतर्फ ज्ञान र ध्यानबाट प्रकट ऊर्जालाई समृद्धिको योजनामा सदुपयोग गर्न मार्गदर्शनसमेत गरेर कार्यक्रमलाई पूर्णता दिएको छ । आठौँ दिन लुम्बिनी आध्यात्मिक जागरण उत्सव आयोजना गरी प्रधानमन्त्री र सबैजसो दलका शीर्ष नेताहरूको हस्ताक्षरमा नेपाललाई विश्वकै शान्ति पर्यटन केन्द्रको रूपमा विकसित गर्नेसमेतको लुम्बिनी घोषणापत्र जारी गराउन सफल रहेबाट संस्थाले हरेक नेपालीलाई समृद्ध बनाउनमा सहजीकरण गर्न सक्ने अनुभूति दिएको छ । 


३. पूरै नेपाल जगाएको अनुभूति 
आठौँ दिनमा लुम्बिनी आध्यात्मिक जागरण उत्सवको आयोजना गरी जारी गरिएको लुम्बिनी घोषणापत्रमा मूलतः हाम्रै भूमिमा उत्पत्ति भएको जीवन विज्ञानले गराउँदै आएको योग र ध्यानको विधि देशभर प्रवद्र्धन गर्दै पूर्वीय संस्कृतिको प्रवद्र्धनका लागि उपयुक्त पाठ्यक्रम र तालिम तर्जुमा गरी जनशक्ति तयार गर्ने, नेपाल राष्ट्रमा रहेको योग ध्यान र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्व शान्ति एवं सहअस्तित्वको पवित्र भावना दूतावास र कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउँदै, ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिको माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (पिस टुरिजम सेन्टर)को रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने, देशभर ध्यान र योग गर्न सक्रिय संस्था र अभियन्तासँग सहकार्य गर्ने, सबै सरकारी कार्यालय र निकायमा योग ध्यान गराउने कुरा रहेका छन् । ती कुरा कार्यान्वयन गर्न बजेट छुट्याएरै आ–आफ्ना ठाउँबाट लागिपर्ने प्रधानमन्त्रीसमेतको प्रतिबद्धता, व्यक्तिबाट परिवर्तन सुरू गरी क्रमशः उसको परिवार, समाज, राष्ट्र हुँदै संसार परिवर्तन गर्ने संस्थाको विज्ञानसम्मत पद्धति, कार्यक्रममा भएको सहभागिता र सहभागीमा परेको सकारात्मक प्रभावले पूरै नेपाल जगाएको अनुभूति भएको छ ।

योग ध्यानबाट मात्र विश्वशान्ति र समृद्धि सम्भव छ भन्ने सन्देश नेपालबाट विश्वभर फैलाउन आयोजना गरिएको कार्यक्रमले अनेक अनुभूति दिएको छ 


४. योग ध्यानबाट द्वन्द्वपीडितको आहत मन र देशमा केही हुँदैन भनी बिदेसिने युवाको मनको सही व्यवस्थापन हुने अनुभूति 
यी दुवै मनले पीडित र युवालाई बदला र निराशाको साँघुरो बाटोको नकारात्मक दिशामा पु¥याएको छ अहिले । सकारात्मक दिशातर्फ मोड्न गाडीको गियर चेन्ज गर्न पहिला न्युट्रल मोडमा ल्याउनुपरेझैँ ती पीडित र युवाहरूलाई योग ध्यान गराएर तिनको मन शान्त पारेपछि मात्र मेलमिलाप र आफ्नै देशमा रहेको सम्भावना देखाउन सकिनेछ । 


५. सबै समस्याको स्रोत अज्ञान र सबै समस्याको समाधान ज्ञान रहेछ भन्ने अनुभूति
जुन कुरा जान्नुपथ्र्यो नजान्नु अज्ञान हो, जे गर्नुपथ्र्याे त्यो नगर्नु पाप हो भन्ने दर्साउँदै गरिबीको कारण अज्ञानता हो, अज्ञानताकै कारणले रोग लाग्छ, समस्या नै सम्पत्ति हो, सम्बन्ध आफ्नै ऐना हो, एक मिनेटमा तीनदेखि सातपटकसम्म लामो गहिरो बनाई श्वास फेरेमा स्वस्थ रहिन्छ । अनुसन्धानले दुईतिहाइ तनावको कारण सञ्चित काम देखाएको हुँदा काम बाँकी राख्ने बानी सुधारौँ । घरमा योग ध्यान गर्ने वातावरण बनाए आनन्दित हुन्छ परिवार । परिवार नै सबै भन्दा ठूलो सम्पत्ति र खुसीको स्रोत हो । आजको अभ्यास नै भोलिको भाग्य हो । दिनको ७२ मिनेट निरन्तर योग ध्यान गरी आफ्नो भाग्य आफैँ लेखौँ । सकारात्मक सोच बनाऔँ । दिव्य नवव्रत व्यवहारमा उतारे कसैलाई नहराईकन विश्व विजेता बन्न सकिन्छ । यो पृथ्वी साझा घर हो । आध्यात्मिक व्यक्ति र राष्ट्रले अरूलाई जिताएर आफू पनि जित्छ ।

 

अध्यात्मले हामीलाई स्वतन्त्र बनाउँछ । कुनै भगवान् वा व्यक्तिको अधीनस्थ बनाउँदैन । पर्यटकले नेपालमा ठगिनुपर्दैन भन्ने विश्वास गर्न सक्ने बनाउनुपर्छ नेपाललाई । गुरुले शिष्यहरूलाई भगवान् देख्छौँ, सबैले सबैलाई भगवान् देखौँ । डर कमफर्ट जोन हो ,नतोडी प्रगति हुँदैन । कुण्डलिनी ऊर्जा मणिपुर चक्रभन्दा मुनि रह्यो भने यौनकर्मी मात्र बन्दछ, माथि उठेर विशुद्धीमा पुगे प्रतिभावान् विचारशील नेतृत्व जन्मिन्छ । अरूको विचार काट्न होइन, आफ्नो विचार स्थापित गर्न बोल्नुपर्छ । अप्ठ्यारोमा परेको शत्रुलाई पनि सहयोग गर्ने मानिस सबैको हाइहाई भइन्छ जस्ता अरू धेरै ज्ञान दिनुभएको छ । 


६. महान् लक्ष्यले क्षमतावान् बन्न उत्साहका साथ क्रियाशील गराउँदो रहेछ भन्ने अनुभूति
विराट चक्र विज्ञान कार्यक्रम जीवन विज्ञानको एक महान् लक्ष्य थियो । उक्त कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दै जीवन विज्ञानका हजारौँ प्रशिक्षक र लाखौँ साधक देशका अधिकांश गाउँ र टोलमा पुगी जीवन विज्ञान संस्थाको लक्ष्य र कार्यक्रम प्रचार प्रसार गर्दा देशैभरि सकारात्मक तरंग उत्पन्न भयो नै । त्यसमाथि विभिन्न पेसाकर्मी र तिनीहरू आबद्ध रहेका संघ–संस्थामा श्रद्धेय गुरुदेवहरूले प्रवाह गर्नु भएको आध्यात्मिक जागरण, राज्यका प्रमुख अंगमा रहनुभएका पदाधिकारी र  प्रधानमन्त्रीलगायत राजनीतिक दलका सबैजसो शीर्ष नेताहरूसँग गर्नुभएको अन्तरसंवादले संघ प्रदेश र स्थानीय तिनै तहका सरकारमा ल्याएको हलचलले कार्यक्रमको भव्य सफलता सुनिश्चित गर्दै पूरा नेपालै जगाएर महान् लक्ष्यले व्यक्ति वा संस्थालाई क्षमतावान् बन्न उत्साही र क्रियाशील गराउँदै ठूलो जागरण लयाउन सकिँदोरहेछ भन्ने अनुभूति गरायो । 


७. मानव शरीरका मुख्य सात चक्रमा सफल जीवनको स्रोत रहेको अनुभूति
यी सात शक्तिकेन्द्र (चक्र) जगाउन, तिनको थोरै साधना गर्दा धेरै क्षमता जागेको महसुस भयोे । मूलाधार चक्र सक्रिय भएमा मानिसभित्रको चेतना, होस र सजगता बढ्दै आफ्नो काम आफैँले खुसी हुँदै ध्यानपूर्वक गराउन क्रियाशील गराउने र बिग्रिएमा आलस्यमा डुबाउँदै जीवन प्रगति शून्य रहने, स्वादिष्टान चक्रले हरेक अंगको सेन्सर गर्दै सारा कामको व्यवस्थापन गर्ने, मनलाई शान्त र व्यवस्थित गराउँदै गरिने काममा सुख अनुभव गराउने, बाहिरी विषयमा भन्दा आफूभित्रै सुखको कारखाना रहेको अनूभूति दिलाउँदै जीवन आनन्दित बनाउने र बिग्रिएमा खाना मीठो नहुने र डिप्रेसनमा समेत पुर्‍याउने, मणिपुर चक्रले मानिसको आत्मविश्वास बढाउने, जीवनका मूल विषयमा स्पष्ट लक्ष्य र लक्ष्यअनुसारको योजना बनाएर काम गर्ने आँटे, सबै डर चिन्ता र असुरक्षालाई जितेर आफूभित्रको पूरै ऊर्जा प्रकट गराउदै जीवन व्यवस्थित र विकसित बनाउने र बिग्रिएमा लक्ष्यविहीन र साहसरहित भई केही पनि गर्न नसक्ने, अनाहद चक्रले म सबैको हुँ, सबै मेरा हुन् भन्ने शुद्ध भावनाको विकास गरी समूहमा मिलेर काम गर्ने क्षमता बढाउने, सम्बन्ध सुदृढ गर्न प्राथमिकता दिँदै प्रेमिल बनाउने र बिग्रिएमा भाव शक्तिको सन्तुलन गुम्न पुगी ठुल्ठूला व्यवहार बिग्रिने, विशुद्धी चक्रले नराम्रा घटनाबाट पनि जीवन विकासका आधार खोज्ने बौद्धिक क्षमता बढाउने, हरेक विषयमा आफ्नो मौलिक विचार निर्माण गर्दै प्रत्येक कर्म सिर्जनशील ढंगले गराउँने, ससाना सफलतामा खुसी हुन, वाणी मिठास र सकारात्मक बनाउने र बिग्रिएमा अज्ञानी भई जीवन असफल हुने, आज्ञा चक्रले सही समयमा सही निर्णय गर्न सक्ने र काम पूरा गर्ने अठोट र संकल्प शक्ति बढाउने, अरुको लागि उपयोगी हुने सामर्थ र प्रतिस्पर्धी क्षमताको विकास गर्ने, सहश्रार चक्रसँग मिलेर सबै चक्रको शक्ति संयोजन गर्ने र बिग्रिएमा सबै काम अधुरा रहने र सहश्रार चक्रले शान्ति प्राप्ति र परमात्मासँग साक्षात्कार गराउने, जीवनमा आजसम्म घटेका घटना जस्ताको तस्तै स्विकार्ने क्षमता दिने, पुरुषार्थी बन्न खोजेका कुरामा पुरुषार्थ प्राप्ति गराई जति वेला पनि खुसी मात्र बनाई दिएको हुँदा मानव शरीरका जीवनको स्रोत रहेको अनुभूति दिलायो ।


८. ऋषिमुनिहरूले तपोभूमि बनाएको नेपालीको विरासत पुनर्ताजगी हुने आशा पलाएको अनुभूति
जीवन विज्ञानका गुरुबाट वेद, पुराण र भागवत गीताको मर्म भौतिक विज्ञानसँग संयोजन गरी दिव्य नवव्रत पालनामा जोड दिँदै धर्म र अध्यात्मको सम्बन्धमा दिइएको यथार्थवादी परिभाषा, शिष्यलाई भगवान् ठानी शिर झुकाएर नमन गर्दै प्रदर्शित विनम्रता र निस्वार्थी सेवाभाव, विश्वमै अहिलेसम्म कसैले नगरेको विराट चक्र विज्ञानजस्तो ठूलो कार्यक्रम गर्ने संकल्प लिई पूरासमेत भएको हुँदा ऋषिमुनिहरूले तपोभूमि बनाएको नेपाली विरासत पुनर्ताजगी हुने आशा पलाएको छ । यी सात चक्र सफल जीवनको स्रोत रहेको अनुभूति भयो । 


९. हरेक नेपालीलाई विश्व मानवको गौरव दिलाउने आशाको सञ्चार 
नेपाललाई योग ध्यानमय राष्ट्रको रूपमा विकास गरी स्वर्गीय आनन्द दिने हरिया डाँडा पाखालाई योग ध्यानको पूर्वाधार र हरेक नेपालीलाई प्रशिक्षक बनाई विश्वभरका मानिसलाई योग ध्यानको साधना गराउने लक्ष्य संस्थाले लिएको र साधनाबाट आनन्द प्राप्ति हुने हुँदा विश्वभर आनन्द फैलाई सबै नेपाली विश्व मानवको गौरवबाट सम्मानित हुने अवसर संस्थाले दिलाउन सक्ने आशा पलाएको छ । 


१०. नवयुग निर्माणको शिलान्यास गरेको अनुभूति 
कार्यक्रमले अधिकांश नेपाली जनता र तिनै तहका सरकारको ध्यान योगतर्फ तानेको, २०८१ मा गण्डकी प्रदेशमा विराट चक्रको आयोजना गरिदिन सोही प्रदेशका मुख्यमन्त्रीको आग्रह, लुम्बिनी संकल्पपत्रमा हस्ताक्षर कर्ता प्रधानमन्त्रीलगायतले नेपाल राष्ट्रलाई नै योग ध्यानमय बनाई विश्वकै शान्ति पर्यटन केन्द्रको रूपमा विकसित गर्न बजेटै छुट्याएर आ–आफ्ना ठाउँबाट लागिपर्ने प्रतिबद्धता, ६ हजारको हाराहारीमा रहेका सहभागी आफू जागी अरूलाई पनि जगाउन मद्दत गर्ने आतुरता प्रकट गर्दै घर फर्किएको पंक्तिकार स्वयंले जाने, देखे, सुनेको हुँदा, ८०औ दशकसम्मका सम्पूर्ण दुखहरू जलाउदै नब्बेको दशकको पूर्वसन्ध्यामा नवयुग निर्माणको शिलान्यास गरेको अनुभूति भएको छ । अन्त्यमा, विराट चक्र विज्ञान कार्यक्रमको सफलताले संस्थाको हौसला र जिम्मेवारी बढाएको छ । प्राकृतिक व्यक्तिले झैँ संस्थाले पनि दिव्य नवव्रत पालना गर्दै कार्यक्रमको समीक्षा गरी अनुभवबाट सिक्दै अग्रसर भएमा लक्ष्यमा पुग्ने नै छ । आगामी दिनका गतिविधिमा भविष्य निर्भर हुने हुँदा अहिले शुभकामना मात्र दिन सकिन्छ ।