• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
एजेन्सी
२०८१ बैशाख २९ शनिबार ०७:३५:००
साहित्य

अल्बर्ट आइन्स्टाइनलाई मनपर्ने पाँच पुस्तक

२०८१ बैशाख २९ शनिबार ०७:३५:००
एजेन्सी

२०औँ शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले तीन सयभन्दा धेरै वैज्ञानिक शोधपत्र प्रकाशित गरेका थिए । उनले इतिहासकै उत्कृष्ट मस्तिष्कबारे अध्ययन गरेका थिए । जीवनभर उनी पुस्तकप्रेमी रहे । ‘तपाईंले अति जान्नुपर्ने विषय पुस्तकालयको ठेगाना हो,’ उनी भन्थे । उनले अन्य दुई साथीसँग मिलेर ओलम्पिया एकेडेमी नामक क्लबसमेत खोलेका थिए । जहाँ साहित्य र भौतिकशास्त्रबारे पर्याप्त अध्ययन र छलफल हुन्थ्यो । ओलम्पिया एकेडेमीले धेरै सिद्धान्त प्रतिपादन गर्न प्रेरित गरेको उनी बताउँथे । उनलाई मनपर्ने केही पुस्तक यस्ता छन् :

 

द साइन्स एन्ड 
हाइपोथेसिस : हेनरी पोइनकेयरले विज्ञानको दर्शन र वैज्ञानिक खोजको प्रकृतिबारे यो पुस्तक लेखेका छन् । यो पुस्तकले आफ्ना भावना, सिर्जना र कल्पनालाई प्रभावित गरेको आइन्स्टाइनले बताएका छन् । 

 

 अ ट्रिटिज अफ ह्युमन नेचर : स्कटिस दार्शनिक डेभिड हुमको यो पुस्तक दार्शनिक अनुभव, संशय र प्रकृतिको एक उत्कृष्ट कथन मानिन्छ । यसलाई हुमको सबैभन्दा उत्कृष्ट सिर्जना मानिन्छ । हुमले सबै विज्ञान र दर्शनलाई एउटा नवीन आधारमा राख्नुपर्ने विचार यस पुस्तकमा पेस गरेका छन् । हुमको यो पुस्तकले सापेक्षतावादको सिद्धान्त विकास गर्न सहयोग गरेको आइन्स्टाइनको बुझाइ थियो । 

 

नम्बर : द ल्यांग्वेज अफ साइन्स :  रुसी अमेरिकी गणितज्ञ टोबियास डेन्टजिगले लेखेको यो पुस्तक १९३० मा प्रकाशित भएको थियो । यसको सान्दर्भिकता अझै पनि उस्तै छ । संख्याको विकास र गणित, दर्शन तथा विज्ञानमा यसले पारेको प्रभावबारे अध्ययन गर्न चाहने जोकोहीलाई यो पुस्तक मनपर्छ । गणितका अन्य पुस्तकको दाँजोमा यो फरक छ, सबैले बुझ्न सक्ने गरी यसमा सरल कथावाचन गरिएको छ । यो पुस्तक आइन्स्टाइनलाई मनपर्ने पुस्तकमध्ये एक हो ।

 

 डन क्विक्सोटे : सन् १६०५ र १६१५ मा गरी दुई भागमा यो पुस्तक प्रकाशित भयो । पश्चिमा साहित्यको जग बसाल्ने पुस्तकमध्ये यसलाई लिइन्छ । यसलाई पहिलो आधुनिक उपन्यास पनि भनिन्छ । स्पेनिस लेखक मिगुइल डी कार्भान्तेसको यो पुस्तक विश्वमै सर्वाधिक बिक्री हुने उपन्यासमध्ये एक हो । यस उपन्यासमा कुलीन वर्गको र तल्लो तप्काको एक सदस्य अलन्सो क्विजानेको कथा छ । शूरवीर पराक्रमीहरूको रोमान्स पढ्दा–पढ्दा उसको दिमागले काम गर्न छाड्छ र उसले आफू त्यस्तै पराक्रमी नाइट इरान्ट बन्ने फैसला लिन्छ । त्यसपछिको उसको यात्रामा उपन्यास केन्द्रित छ । 

 

 इथिक्स :  १७औँ शताब्दीमा यहुदी डच दार्शनिक बारुच स्पिनोजाको यस पुस्तक आइन्स्टाइनलाई मनपर्ने पुस्तकमध्ये एक हो । यसले तत्कालीन समय जागरण र बाइकलको समीक्षाका लागि जग बसालेको थियो । पश्चिमा चेतका लागि इथिक्स एउटा आधारभूत पुस्तक हो । जसले नैतिक जीवन बाँच्न प्रेरणा दिँदै ब्रह्माण्ड विज्ञान र यथार्थवादको तस्बिर वर्णन गरेको छ । पुस्तकमा ईश्वरलाई प्राकृतिक व्यवस्थाको रूपमा वर्णन गरिएको छ । स्पिनोजाको चिन्तनअनुसार जे पनि हुन्छ, त्यो ईश्वरको प्रकृतिबाट हुन्छ । स्पिनोजाको आध्यात्मिक चेतबाट आइन्स्टाइन निकै प्रभावित थिए ।