• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८१ बैशाख २९ शनिबार ०८:१८:००
साहित्य

पठन संस्कृतिको अभावले मौलाउँदै छ गालीगलोज

२०८१ बैशाख २९ शनिबार ०८:१८:००
अन्वेषण अधिकारी

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली साहित्यमा ‘शीतबिन्दु’ उपनामले चर्चित छन् । सहयात्री (उपन्यास), चिता जलिरहेछ (कवितासंग्रह), आस्था, ओ मेरी प्रिया (कवितासंग्रह), कुहिरो (कथासंग्रह)लगायत दर्जन कृति लेखिसकेका ज्ञवाली सामाजिक–राजनीतिक लेख, पुस्तक समीक्षालगायत विविध विषयमा कलम चलाउँछन् । वर्तमान राजनीति, साहित्य र समाजको अध्ययन संस्कृतिबारे अन्वेषण अधिकारीले ज्ञवालीसँग कुराकानी गरेका छन् :

 

राजनीतिक व्यस्तताबीच साहित्य साधनामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
समय सबैलाई बराबरी छ । मानिसले सौखअनुसारका काम गरिरहेकै हुन्छन् । अध्ययनका लागि समय छैन भन्नु बहाना मात्र हो । कुनै कुराले छोयो भने लेखन र पठनमा जतिसुकै डिस्टर्ब भए पनि मेरो प्रवाह रोकिन्न । हल्ला भइरहेको ठाउँमा पनि लेखिरहेको हुन्छु । प्रायः कार्यक्रममा जाँदा पुस्तक साथमै हुन्छ । समय मिल्नासाथ पढ्छु । 


पछिल्लो समय मोहन मैनालीको ‘मुकाम रणमैदान’ पढेँ । उहाँले नेपाल अंग्रेज यु्द्धको साह्रै आधिकारिक अभिलेखन अघि सार्नुभएको छ । मदन पुरस्कार जितेको ‘ऐँठन’ पनि राम्रो लाग्यो । भर्खरै ग्राभियल ग्रासिया माक्र्वेजको (मरणोपरान्त प्रकाशित) उपन्यास ‘अन्टिल अगस्ट’ पढेर सकेँ । उहाँ मलाई मनपर्ने लेखकमध्ये हुनुहुन्छ । 


तपाईंलाई कस्ता पुस्तकले धेरै प्रभाव पार्छन् ?
म कम्युनिस्ट आन्दोलनमा लागेर भूमिगत हुँदा युवा क्रान्तिकारी रोमाञ्च थियो । त्यतिवेला जोशिला क्रान्तिकारी साहित्य मन पथ्र्यो । पछिल्लो समय अलि परिपक्व रचनामा ध्यान जान थाल्यो । व्यक्तिलाई नायक बनाएको र त्यो व्यक्तिले नै चामत्कारिक ढंगले परिवर्तन गरेको ढाँचामा लेखिएका पुस्तकभन्दा समाज आफैँ बगेको, जनता बिस्तारै उठ्दै गरेको, त्यो समाजको गहिराइ र पिँधमा चलिरहेका हलचलबारेमा लेखिएका साहित्यले बढी तान्न थाले । 


पूर्वीय साहित्यमा मलाई अतिप्रभावित गर्ने पुस्तकमा ‘महाभारत’ पर्छ । यसका पात्रहरू ज्युँदा मान्छेजस्ता देखिन्छन् । दुःख, हाँसो, खुसी, धोका, निष्ठा, दर्शन, साहित्य यसमा छ । निकोलाई अस्त्रोभ्स्कीको ‘अग्निदीक्षा’ मलाई प्रभाव पारेको अर्को पुस्तक हो । यसका पात्र पावेल कर्चागिनले दृष्टि गुमाए पनि आफूलाई सान्दर्भिक बनाउन जति संघर्ष गर्‍यो । त्यसले मन छुन्छ । मिखाइल सोलोखोबको ‘भर्जिन स्वेल अपटन्र्ड’ले रुसमा क्रान्ति भइसकेपछि समाजवादी कृषि अर्थतन्त्र निर्माणमा देखापरेका कठिनाइहरू बोल्छ । यसका पात्रहरूको चित्रण गज्जब छ । 


इजरायल निर्माण गर्दाखेरिको झन्डै २२ सय वर्षअघिको कथालाई हार्भड फास्टको ‘माई ग्लोरियस ब्रदर्स’ले उतारेको छ । आज प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको दमनका कारण उसलाई हेर्ने दृष्टिकोण अर्कै बनेको होला । तर, यो देश हिजो साह्रै दुःखले बनेको हो । यस उपन्यासमा देश निर्माणको त्यही कथा छ । 


मलाई भारतीय लेखिका मन्नु भण्डारी र महा श्वेतादेवीका रचना पनि निकै मन पर्छ । नेपालमा उपन्यासका हिसाबले साह्रै प्रभाव पारेको रमेश विकलको ‘अबिरल बग्दछ इन्द्रावती’ हो । यसमा विकलजीले पात्रलाई इन्द्रावती नदीजसरी नै लयमा बगाउनुभएको छ । ‘आमाको सपना’ नेपाली गद्य कविताको मानकजस्तो लाग्छ । यसरी प्रभावित गर्ने पुस्तक धेरै छन् । तर, यी पुस्तकले मेरो विचार र जीवनलाई नै आकार दिन भूमिका खेले ।

 तर्कको ठाउँ आवेगले, विश्लेषणको ठाउँ अन्ध समर्थन वा अन्ध विरोधले लिइरहेको, मानिसहरू रियाक्टिभ भइरहेको पाउँछु । गम्भीर साहित्य सिर्जना र अध्ययनमा लाग्नेहरूको संख्या केही घटेको छ ।


नेपालको राजनीति र साहित्यले जनताका मुद्दाहरूलाई कति महत्वका साथ लिएको छ ?
साहित्यमा भूकम्प, बाढीपीडितका कथा आएका छन् । यसले समाजमा चेतना फैलाएको छ । बाढीपछि गाउँ रित्तिएका, आकाश ओडेर, धर्ती बिछ्याएर सुत्नुपरेका विषयमा गीतहरू लेखिएका छन् । यसर्थमा राजनीतिको दाँजोमा साहित्य केही संवेदनशील देखिन्छ । अर्कोतर्फ, युवा विदेश पलायन हुने समस्या छ । हिजोको बसाइँसराइ बाध्यता थियो ।

 

सुविधा नभएकाले मानिसहरू तराई झर्दथे । अहिले पहाडमा सुविधा छ । बाटोघाटो अस्पताल छ । तर, पनि युवालाई अड्याउन सकिएको छैन । विगतमा केही वर्ष विदेश बसेर ज्ञान र अनुभव लिएर नेपाल फर्कन्छु भन्ने लक्ष्य धेरैसँग हुन्थ्यो । अहिले राजनीतिक विकृति, परिघटनाले गर्दा मानिसको सपनाको मृत्यु हुँदै गएको छ ।

 

यो देश बन्दैन भन्ने निराशाको डढेलो लागेकाले मानिसहरू पलायन हुने मनस्थितिमै हिँडिरहेका छन् । किनकि, रोजगारी र बजारको सुनिश्चितता अहिलेको विकासको ढाँचाले गर्न सकेको छैन । हामीले युवालक्षित कार्यक्रम ल्याउन जरुरी छ । त्यस्तै, पहाडको विकराल समस्याबारे नयाँ उचाइबाट साहित्य लेख्न बाँकी छ । पछिल्लो समय डढेलोले हाम्रा सुन्दर वनजंगल सखाप छन् । देशभर धेरै घरगोठ जले, धेरैजना घाइते हुनुभएको छ, कतिजनाको मृत्यु पनि भयो । प्रदूषणले  जनस्वास्थ्यमा जटिलता थपेको छ । 


अर्कोतर्फ विगत १०–१५ वर्षदेखि हामीले जलवायु परिवर्तनको वैश्विक असरलाई प्रत्यक्ष अनुभव गरिरहेका छौँ । हिजोका दिनमा औद्योगिक राष्ट्रले कार्बन र मिथेनलाई अत्यधिक उत्सर्जन गरेर लाभ उठाए । उत्सर्जनमा कुनै भूमिका नखेलेका देशसमेत  आज प्रताडित छन् । एकजुट भएर समस्या समाधानमा लाग्नुपर्ने विश्वका ठूला शक्तिहरू राजनीतिक ध्रुवीकरण र युद्धले विभाजित छन् । जलवायु सम्मेलन कर्मकाण्डमा सीमित छ । संयुक्त राष्ट्रसंघले पास गर्ने रिजोलुसन औपचारिकतामा सीमित छ । हाम्रो हिमालय क्षेत्रमा असर भयावह देखिइसकेको छ ।  अहिलेकै अनुपातमा हिमाल पग्लँदै जाने, हिमताल विस्फोट हुँदै जाने हो भने फ्रन्टलाइनमा रहेका नेपालजस्ता देशमा यसको असर भयावह हुनेछ । बाँकी विश्व पनि प्रभावित हुनेछ । 


जनतालाई प्रत्यक्ष असर गर्ने यी समस्यामा दलहरूबीच न्यूनतम समझदारी र संवाद जति प्राथमिकतामा पर्नुपर्ने थियो, त्यो परेको देखिँदैन । नेकपा एमालेले जलवायु परिवर्तनको एजेन्डालाई उच्चतम प्राथमिकतामा राखेको छ । तर, कतिपय दल यो विषयमा अझै प्रवेश गर्न नसकेको देख्छु । सरकारले यस्ता मामिलामा सर्वपक्षीय संवाद गर्ने, आवश्यक पर्दा राष्ट्रिय सम्मेलन गर्ने, विज्ञ र पीडितलाई एकै ठाउँमा ल्याउने, समाधानका उपाय पहिल्याउने गर्नुपर्छ । बाढीको सूचना प्रभावकारी बनाउने, विपत् प्रतिरोधी संरचना बनाउने, जनचेतना फैलाउनेलगायत कार्य गरेर जलवायु परिवर्तनको असरबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न जुन प्रयास हुनुपर्ने थियो, त्यो भएको देखिँदैन । समग्र राजनीति जनताको मुद्दाबाट टाढिँदै गएको देख्छु । केही दलका हकमा सत्ता वरपर मात्रै घुमेजस्तो देखिन्छ ।

विचारविनाको साहित्य हुँदैन । विचारविहीन भन्नेहरूले पनि घुमाउरो पाराले या त पुरानो व्यवस्थाको पक्षपोषण वा नयाँ रूपान्तरणको कुरा गरिरहनुभएको हुन्छ । साहित्य मनोरञ्जनका लागि मात्रै हो भन्ने बहस निरर्थक छ । 


साहित्य सिर्जनामा बजारको प्रभावलाई कसरी लिनुभएको छ । कतै, जे बिक्छ त्यही लेख्ने क्रम त बढेको होइन ? 
बजार चाहिन्छ, तर बजार नियन्त्रक बन्न हुँदैन । बजारमा के बिक्छ भन्नेले स्रष्टा र सिर्जना प्रभावित हुनुहुँदैन । अस्थिर राजनीतिक अवस्थालाई जस्ताको त्यस्तै चित्रण गर्न, जिम्मेवारलाई सरापेर तत्काललाई चर्चा कमाउन गाह्रो नहोला । तर, साहित्य एउटा सामाजिक उत्तरदायित्वसहितको विधा हो । यसलाई निराशा मात्रै लेख्ने छुट छैन । उपन्यासको अन्तिम पाना पल्टाउँदा, नाटकको अन्तिम पर्दा उठ्दा वा गीतको अन्तिम अन्तरा गाउँदा सुरुङको पल्लोछेउमा भए पनि उज्यालो छ भन्ने आशाजसरी जगाउनुपर्ने हुन्छ । हामी त्यसमा चुकेका छौँ । 


चर्चा र पुरस्कारका लागि साहित्य लेख्ने होड बढेको देखिन्छ । कतिपयले आफैँ पुरस्कार स्थापना गरेर आफैँ थाप्ने गरेको पनि पाइन्छ । 

अर्कोतर्फ, साहित्यमा नजानिँदो सिन्डिकेट पनि देखिन्छ । खास केही स्रष्टाहरूले सिर्जना ल्याउँदा नियमित रूपमा त्यसमा समलोचना लेखिन्छन् । त्यसलाई अति प्रशंसाले माथि पुर्‍याइएको हुन्छन् । जब कि, गहिरिएर पढ्दा अति प्रशंसा पाएका कतिपय रचना औसतस्तरका मात्रै हुन्छन् । कहिलेकाहीँ त औसतजत्तिको पनि हुँदैन ।

 

पाठकहरू पुस्तक पसलसम्म गएर किन्छन् र आफूले खर्च गरेको समय र लगानी उनीहरूलाई व्यर्थ लाग्छ । कसैका रचना राम्रो हुँदाहुँदै पनि चर्चामै आउँदैनन् । मोफसल र बाहिरको दूरी छँदै छ । स्थापित र उदीयमान लेखकबीच दूरी छँदै छन् । मोफसलमा बसेर सिर्जना गरिएका साहित्यलाई बजार पाउन अझै पनि कठिन छ । यस्तो अवस्थाले धेरै राम्रा स्रष्टा ओझेलमा परेको देखिन्छ । स्वतन्त्र रूपमा कृतिको समीक्षा गर्न, राम्रोलाई राम्रो भन्न मिडिया र समीक्षकले भूमिका बढाउनुु जरुरी देख्छु । 


राजनीतिक आधारमा कसैको पक्षपोषण गर्ने र कसैको विरोध गर्ने गरेको आरोप लेखक–साहित्यकारमाथि पनि लाग्छ । प्राज्ञहरूको दलीय आबद्धता र साहित्यमा त्यसको परावर्तनलाई कसरी लिनुहुन्छ ?
माक्र्सवादी भाषामा भन्दा राजनीति र साहित्य दुवै समाजको संरचनाका अभिन्न स्वरूप हुन् । अर्को भाषामा समाजका प्रतिबिम्ब हुन् । प्रतिबिम्ब हो भने समाजमा रहेका अन्तद्र्वन्द्व, वैचारिक द्वन्द्व, अन्तर्विरोध, त्यहाँका उज्याला र अँध्यारा पाटाबाट न राजनीतिनिरपेक्ष रहन सक्छ न साहित्य । यसरी कुनै न कुनै हिसाबले राजनीतिसँग साहित्यले सम्बन्ध राख्छ । फरक यत्ति हो, अभिव्यक्तिका अलग–अलग विधाका हिसाबले प्रतिनिधित्व गर्ने क्षेत्र, यसका योगदानका क्षेत्र, योगदानका पाटा फरक छन् ।विचारविनाको साहित्य हुँदैन । विचारविहीन भन्नेहरूले पनि घुमाउरो पाराले या त पुरानो व्यवस्थाको पक्षपोषण वा नयाँ रुपान्तरणको कुरा गरिरहनुभएको हुन्छ । साहित्य मनोरञ्जनका लागि मात्रै हो भन्ने बहस निरर्थक छ । 


साहित्य यसकारण साहित्य हो किनकि यसले कुनै पनि कुरालाई साहित्यिक ढंगले अभिव्यक्त गर्छ । सपाट र ठाडो अभिव्यक्तिका लागि राजनीति छँदै छ । कला नभएका साहित्य कोरा राजनीति हुन्छ, पाठकलाई स्वीकार्य हुँदैन । साहित्यकारको दलीय आबद्धता पनि आपत्ति होइन । म्याक्सिम गोर्कीलगायत धेरै लेखकका कम्युनिस्ट पार्टीहरूसँगको सम्बन्धबारे हामीले अध्ययन गरेका छौँ । तर, साहित्यकारमा एउटा आलोचनात्मक चेत हुनैपर्छ । आफ्नै पार्टी, आफूसम्बद्ध विचारधारा, आफूसम्बद्ध संस्थाको कमजोरीलाई पनि कमजोरी हो भन्न सक्ने आलोचनात्मक चेतले मात्रै साहित्यकार बनाउँछ ।

साहित्यले संवेदनशीलता सिकाउँछ । राजनीतिज्ञको आँखाले हेर्दा एकजना मानिसको घर जलेको देखिएला । उद्धार गर्ने कुरा आउला । भोट घट्ने–बढ्ने, कर्तव्य र जिम्मेवारीको कुरा आउला । तपाईं साहित्यकार पनि हो भने त्यो गोठ मात्रै जलेको होइन, उसको सपना पनि जलेको देख्नुहुन्छ । त्यसले तपाईंको मनलाई स्पर्श गर्छ । साहित्यिक चेतले बढी संवेदनशील र जिम्मेवार बनाउँछ ।

दलीय आबद्धता त्यस्तो बन्धन हुनुहुँदैन, जसले अन्तस्करणको विवेकमा टेप लगाइदियोस् । आफ्नो गल्तीलाई, आफ्नो संस्थाको गल्तीलाई निर्ममतापूर्वक आलोचना गर्न सक्ने मात्रै साहित्यकार हुन सक्छ भन्ने ठान्छु । दलीय आबद्धताले सिर्जनालाई श्रेष्ठ वा तुच्छ बनाउँदैन । सिर्जना आफैँ श्रेष्ठ हुन सक्नुपर्‍यो । किनकि, स्रष्टा बाँच्ने सिर्जनामै हो । 


सिर्जनाबाट प्राप्त हुने पहिचानबराबर कुनै पनि उपलब्धि हुँदैन । जस्तो, लक्ष्मीप्रसाद देवकोटालाई कसैले नेपालको पूर्वशिक्षामन्त्री भनेर सम्झिँदैन । उहाँ पदमा पनि पुग्नुभयो । तर, सिर्जनाले कालजयी बन्नुभएको हो । अरू पनि यस्ता धेरै उदाहरण छन् । पदले होइन, सिर्जनाले साहित्यकारलाई अग्लो बनाउँछ । यति हुँदाहुँदै पनि प्रज्ञा प्रतिष्ठानजस्ता संस्थामा स्रष्टा जाने कुरालाई स्वाभाविक लिनुपर्छ । तर, त्यहाँ पठाउँदा कुनै पार्टीको निकटता वा दूरी , लाभहानि, लगावलाई मापदण्ड बनाएर हुँदैन । वरिष्ठ सर्जकहरूलाई पठाउनुपर्छ ।


राजनीतिमा अध्ययन संस्कृति र साहित्यकारमा राजनीतिक चेत कति आवश्यक छ ?
राजनीतिज्ञको आँखाले हेर्दा एकजना मानिसको घर जलेको देखिएला । उद्धार गर्ने कुरा आउला । भोट घट्ने–बढ्ने, कर्तव्य र जिम्मेवारीको कुरा आउला । तपाईं साहित्यकार पनि हो भने त्यो गोठ मात्रै जलेको होइन, उसको सपना पनि जलेको देख्नुहुन्छ । त्यसले तपाईंको मनलाई स्पर्श गर्छ । साहित्यक चेतले बढी संवेदनशील र जिम्मेवार बनाउँछ । राजनीतिमा इमानदार भएर अघि बढ्न यो आवश्यक छ । 


राजनीतिक र सामाजिक जीवनले साहित्य निर्माणमा ठूलो मार्गदर्शन गर्छ । मानिससँगको भेटघाट, सम्पर्क र अन्तरंग सम्बन्धले परिवेश बुझ्न र पात्रको छनोट गर्न भूमिका खेल्छ । मैले दुवै कुराको लाभ लिइरहेको छु ।सयौँ पात्र भेटिन्छन् । ती पात्रमध्ये कुनै न कुनै पात्रले तान्छन् र पात्रहरूको फ्युजन निर्माण गरेर त्यो कोलाजभित्रबाट चरित्र निर्माण गर्दै जान सकिन्छ । मैले मेरो सिर्जनाका धेरै पात्र–परिवेश समाजबाटै लिन्छु । जनतासँग जोडिँदा नयाँ–नयाँ आइडिया फुर्ने गरेको छ । 


सामाजिक सञ्जालमा मानिसहरूबीच तर्क–वितर्क र गाली–गलौज चलिरहेको देखिन्छ । बढ्दो स्क्रिनिङ टाइमले मानिसहरूको पढ्ने बानीलाई असर गरिरहेको विभिन्न अध्ययनले देखाएका छन् । यसलाई कसरी लिनुभएको छ ?
हिजो पुस्तकमै भर पर्नुपर्ने थियो । अहिले विकल्प धेरै निस्किएका छन् । सूचनाका धेरै विकल्प अहिले उपलब्ध भएकाले पनि होला । यद्यपि, कुनै पनि माध्यमले पुस्तकलाई सधैँका लागि प्रतिस्थापन गर्न सक्छ भन्ने म ठान्दिनँ । तर, विकल्प पाएकाले मानिसहरू ज्यादा सामाजिक सञ्जालमा झुम्मिएको देखिन्छ । हाम्रो समग्र समाज, पार्टी र कम्युनिस्ट आन्दोलनमा पनि पठन संस्कृति कमजोर भएको महसुस हुन्छ । तर्कको ठाउँ आवेगले, विश्लेषणको ठाउँ अन्धसमर्थन वा अन्धविरोधले लिइरहेको आभास पनि हुन्छ । मानिसहरू रियाक्टिभ भइरहेको पाउँछु । गम्भीर साहित्य सिर्जना र अध्ययनमा लाग्नेहरूको संख्या केही घटेको छ । 


पढ्नु, बौद्धिक हुनु र संस्कार बसाल्नु फरक हो । तपाईंले मन नपरेको कुरालाई कुन स्तरको भाषामा अभिव्यक्त गर्नुहुन्छ भन्ने महत्वपूर्ण छ । आफ्ना तर्कहरूलाई, आफ्ना बुझाईलाई पुष्टि गर्न कस्तो भाषा र शब्दको सहारा लिनुभयो भन्नेले हामी कति संस्कारयुक्त र बौद्धिक छौँ भन्ने देखाउँछ । पढेका मानिस नै आवेगात्मक देख्दा हाम्रो पढाइ र हाम्रो संस्कारमा तालमेल नमिलिरहेको भान हुन्छ । लोकतन्त्रले सहअस्तित्वको कुरा गर्छ । आलोचनालाई स्वीकार गर्छ ।  यो ४–५ वर्षमा भोट हाल्ने कुरा मात्रै होइन । अरूका विचारमा, अरूले बोल्ने कुरामा मेरो सदैव सम्मान छ भन्ने हुनुपर्छ । भोल्टेयर भन्थेँ : म तिम्रो अभिव्यक्ति स्वतन्त्रताका लागि सधैँ लडिरहन्छु । यद्यपि, म तिमीसँग असहमत छु ।’ हाम्रो समाजमा गलत नै भए पनि आफ्ना कुराको पक्षपोषण गर्र्ने, चित्त नबुझेका मानिसलाई छुद्र भाषामा टिप्पणी गर्ने क्रम बढिरहेको छ । बौद्धिक भए पनि तदनुरूपको संस्कार र सांस्कृतिकस्तर हासिल गर्ने कुराको कमी देखिन्छ । यो एकखालको सामाजिक चरित्र नै बनिसकेको छ ।बौद्धिक विमर्श कम छ । स्टडी सर्कल बनाएर एक–अर्काको विचार आदान–प्रदान गर्ने चलन पर्याप्त छैन । 


नयाँ पुस्तकको तयारीमा पनि हुनुहुन्छ ?
दुई विषयमा लेख्दै छु । एउटा सशस्त्र द्वन्द्वबारे छ । सशस्त्र द्वन्द्वले नेपाली समाजमा पुर्‍याएको भौतिक क्षतिसँगै यसले निम्त्याएको विभाजनको असरलाई अहिले पनि हामीले अनुभूत गर्न सक्छौँ । माओवादी आन्दोलनमा लाग्नुभएका साथी र जोडिएका स्रष्टाले हिंसाको महिमा गान मात्रै गाउनुभयो । हिंसाको सौन्दर्य शास्त्रजस्ता तर्कसमेत प्रकट हुन थालेका छन् । अर्को पक्षले त्यसलाई ठाडो निन्दा मात्रै गर्छ । किन त्यति धेरै मानिस युद्धमा लागे ? केही कुरा त थियो होला त विश्लेषण गर्दैन । परिवर्तनका लागि हिंसा अनिवार्य हो कि होइन ? हिंसाका पनि नैतिक बन्धन र सीमा हुन्छन् कि हुँदैनन् ? यसले नयाँ पुस्तालाई के प्रभाव पार्‍यो ? यस विषयमा उपन्यास लेखिरहेको छु । 


अर्को, उपन्यास महिला हिंसाबारे केन्द्रित छ । महिलालाई संविधानले अधिकारसम्पन्न बनाउँदै गएको छ । तर, पनि प्रविधिको प्रयोग र विभिन्न माध्यमबाट हुने महिला हिंसा डरलाग्दो छ । त्यो हिंसापछिको ट्रमाले किशोरी र महिलाहरू पलपल मरिरहेका छन् । त्यो ट्रमामा कति छिर्न सक्छु थाहा छैन । तर, कोसिस गरिरहेको छु ।