• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
सुवास भट्ट
२०८१ जेठ ५ शनिबार ०८:१५:००
समाज

च्छो रोल्पाको सुन्दरता र सान्निध्य

२०८१ जेठ ५ शनिबार ०८:१५:००
सुवास भट्ट

अहिले तीर्थयात्राको प्रचलन नयाँ पुस्ताले त्यति अँगालेको देखिँदैन । तर, यात्राको रुचि भने उनीहरूमा झन् बढेको देखिन्छ । जसो भए पनि प्रकृतिसँगको सम्बन्ध र सान्निध्यमा रहन खोज्नुचाहिँ साझा विशेषता पुराना र नयाँ दुवैमा देखिन्छ ।
आधुनिक समयमा यात्रा खालि व्यक्तिका रुचिका विषय मात्र छैनन्, यो पर्यटन, व्यवसाय र अर्थतन्त्रकै हिस्सा बनेको छ । नेपालका उच्च पहाडी र हिमाली क्षेत्र अहिले यही पर्यटकीय गन्तव्य बनेका छन्, जसले ती भूगोलको गरिमा मात्र बढाएको छैन, समृद्धिको सेतुसमेत बनेका छन् । 


तीर्थसँग जोडौँ या पर्यटनसँग, एउटा कोणबाट हेर्दा यात्रा भनेको मानवजीवनको एउटा नियमितता हो । अझ इतिहास, सभ्यता र ज्ञानमार्ग पनि हो । यो आधुनिक वैभव मानिसको यात्राको चाहनाद्वारा पनि निर्देशित छ । कुनै एकै स्थानमा जीवनभर सीमित हुन नसक्ने जीव हो मानिस । कतै गइरहनुपर्ने, केही गरिरहनुपर्ने, नयाँ खोजिरहनुपर्ने मानव मात्रको विशेषता हो । मानव जाति भनेको आफैँमा सम्भावना हो । 


मैले पनि पछिल्ला वर्ष यात्राको नियमिततालाई आत्मसात् गर्न थालेको छु । जब पहिलो या दोस्रोपटक यात्रा गरिन्छ, त्यो अलि अलग गतिविधिजस्तो, कठिन कामजस्तो लाग्छ । तर, जब एकपछि अर्को यात्रा गर्दै गइन्छ, त्यो नियमित बन्छ । यही नियमित यात्राका क्रममा यसपालि म च्छो रोल्पाको यात्रामा निस्किएँ । त्यहाँ जानेबारे अलि अघिदेखि विचार गरिरहे पनि त्यसलाई मूर्त बनाउन सकेको थिइनँ । यसपटक पूर्वतिर अलि लामै ट्रेक निस्किने योजना थियो । तर, विविध सीमितताका कारण त्यताको सम्भावना नरहेपछि अलि छोटो मिठो यात्राका लागि च्छो रोल्पातिर सोझिएको थिएँ । जे हुन्छ राम्रोका लागि हुन्छ भनेझैँ भयो, च्छो रोल्पा यात्रा । 

रोल्वालिङ खोलाको किनारैकिनार जंगलमा छिटपुट  राता, गुलावी र सेता गुराँसले बाटोको सुन्दरता बढाएका थिए । 


यात्रामा निस्किन मानसिक रूपमा तयार भएर बजेट र समय व्यवस्थापन गरेपछि अरू मामिलामा म त्यति अल्झिन्नँ । यसैअनुरूप यही वैशाख ८ गते च्छो रोल्पा पुग्ने गरी बिहान ५ बजे नै डेराबाट निस्किएँ । दोलखा सदरमुकाम चरिकोटबाट सिंगटी हुँदै च्छोत्च्छोत् सम्म बसमा जान सकिने र त्यहीँबाट पैदल ट्रेक सुरु हुनेबारे फर्केकाहरूको अनुभव पढेको थिएँ । त्यसैबमोजिम ६ बजे भक्तपुर जडीबुटीबाट च्छोत्च्छोत्का लागि बस चढेँ । 


१० बजे चरिकोटमा खाना खान र सिंगटीमा यात्रा अनुमति र चालकले आराम गर्नबाहेक बसले सोचेभन्दा अगाडि नै च्छोत्च्छोत् ओराल्यो । दिउँसो सवा २ बजे नै बसले गन्तव्यमा पुर्‍याएको थियो । आफू चढेकै बसमा एक दर्जनभन्दा बढी च्छो रोल्पा यात्रामा हिँडेका थिए । उनीहरू त्यस दिन त्यहीँ बस्ने कि अघिल्लो मुकामसम्म जाने भन्नेबारे छलफलमा थिए । म भने केही नै नसोची अघि बढिहालेँ । 


च्छोत्च्छोत्बाट तामाकोसी तर्दा नाकै ठोकिने सिँढीको उकालो आइहाल्यो । त्यहाँबाट सिमीगाउँ हुँदै चर्को घाममा पसिना काढ्दै उत्तिसे पुग्दा लगभग ५ बजेको थियो । उतिसेबाट फेरि ठाडो उकालो छिचोलेर सुर्मुचे पुग्न अर्को एक घण्टा लाग्यो । यतिखेर ६ बजिसकेको थियो । पानी परेर थामिने अवस्थामा भएकाले चिसो हावा बहेको थियो । वरिपरि अग्ला पहाड अनि घना जंगलबीच घाम पूरै नडुब्दा पनि लगभग अँध्यारो छाउन सुरु भएको थियो । 


त्यस रात सुर्मुचेमै बसौँ कि भन्ने सोच पनि आयो । तर, साइनबोर्डमा अगाडिको लोकेसन हेर्दा अर्को मुकामसम्म पुग्न भ्याउँछु कि भन्ने मनमा लाग्यो । र, फड्किएँ अगाडिको यात्रामा । साँझ परेकाले मानिसहरूको आवतजावत पनि देखिएन । घामको प्रकाश मधुरो हुँदै अब जूनको शीतल मन्द प्रकाश सुरु भएको थियो । म अगाडिको मुकामतिर लम्किरहेको थिएँ । 


बिहान ५ बजेदेखि काठमाडौंबाट निस्किएको बसबाट निस्किनेबित्तिकै ठाडो यात्रा सुरु गरेकोमा यतिखेरसम्म निकै थाकिसकेको थिएँ । सामान्यतया ट्रेकिङ सेड्युलमा पहिलो दिनको यात्रा सिमीगाउँसम्म हुँदो रहेछ । तर, म त्यसको तेब्बरबढी यात्रा त्यसैदिन गरिसकेको थिएँ । थकित शरीरमै म वास बस्ने मुकाम कहिले आउला भनेर बलै यात्रारत् थिएँ । ७ बजिसकेको हुँदो हो, क्याल्चे भन्ने ठाउँमा पुगेँ । त्यहाँ होटेलमा बत्ती बलिरहेको देखेँ । त्यसरात त्यहीँ बसेँ । एकैदिन काठमाडौंबाट एक हजार ४१० मिटर उचाइको च्छोत्च्छोत्बाट करिब त्यति नै दुई हजार ७४० मिटर उचाइको क्याल्चे पुगेको थिएँ । 


भोलिपल्ट ९ गते बिहानै साढे ५ बजे उठेर फेरि उकालो लागेँ । करिब एक घन्टामा डोन्गाङ पुगेर चियारोटी खाइवरी करिब सात बजेतिर पुनः यात्रा अघि बढ्यो । रोल्वालिङ खोलाको किनारैकिनार जंगलमा छिटपुट राता, गुलावी र सेता गुराँसले बाटोको सुन्दरता बढाएका थिए । करिब दुई घन्टामा थाङडिङमा पुगेर अर्को एक घन्टा उकालो हिँडेपछि वेदिङ पुगेँ । वेदिङ पुग्दा करिब ११ बजेको थियो । एक घन्टा त्यहाँ खाना खाएर अब अर्को मुकाम नातिर अघि बढेँ । वेदिङमा ठूलै बस्ती रहेछ । गौरीशंकर हिमालको फेदीमा पक्की घर, स्कुल र गुम्बाहरूले यो गाउँ सुन्दर देखिन्छ । 


रोल्वालिङ खोलाखोलै ना गाउँ पुग्दा करिब दुई बजेको थियो । चार हजार १८० मिटर उचाइको ना गाउँ पनि उत्तिकै सुन्दर । खुला पठारजस्तो यही गाउँ नै च्छो रोल्पाको आधार शिविरजस्तो छ । पर्यटकहरू प्रायः यहीँ बसेर बिहानै च्छो रोल्पातर्फ लाग्ने गर्छन् । म भने त्यहाँ तातो चिया पिएर दुई बजेआसपासबाट च्यो रोल्पातिर अघि बढेँ । 


अब भने यात्राको अन्तिम गन्तव्य पुग्दै थिएँ । करिब दुई घन्टामा ताल पुग्न सकिने स्थानीयको भनाइपछि हिँडाइको गति घटाएर अघि बढिरहेको थिएँ । उकालो यात्रामा एक–दुईबाहेक पर्यटक नभेटेकामा यहाँ भने तालबाट फर्केका १४–१५ जनालाई भेटेँ । अलि तलदेखि नै तालवरपरका संरचना देखिएका थिए । स्थानीयले भनेअनुसार नै करिब दुई घन्टामा म च्छो रोल्पा पुगिहालेँ । अन्तिम थुम्कोको उकालो छिचोल्नेबित्तिकै छ्यांगै च्छो रोल्पा गोचर भइहाल्यो । फोटा देखेर च्छो रोल्पा यस्तो होला भनेर गरिएका परिकल्पना अब यथार्थ बनेर आँखैअगाडि छ्यांग थिए । हिमाल पग्लेर बनेको यो ताल नेपालकै सबैभन्दा ठूलो हिमताल हो । 


दुई युवा दाजुभाइले तालछेवैमा चलाएको होटेलमा झोला बिसाएर चिया पिएपछि तालको अवलोकन गर्न तल्लीन भएँ । एक त चार हजार ५८५ मिटरको अग्लो उचाइ र अर्को सामूहिक बसाइ हुने भएकाले त्यहाँ खासै पर्यटक नबस्ने रहेछन् । तर, मलाई भने खोजेजस्तै भयो । तालछेउमा होटेल छ भन्ने थाहा पाएपछि त्यहीँ बस्ने योजना मैले तलै बनाएको थिएँ । होटेलको डाइनिङबाटै हिउँ पग्लेर बनेको ताल टिलपिल गरेको देखिन्थ्यो । तर, बाहिरै निस्केर हिँड्न सकिनेसम्म ताल विचरण गरेँ । १.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो ताल १३२ मिटर गहिरो छ । ९ गतेको पूर्ण रात तालछेउको होटेलमा बसेर च्छो रोल्पाको पूर्ण अनुभव गरेँ । पूर्णिमाको दुई दिन मात्र अघि भएकाले जूनको उज्यालो तालमा पर्दा त्यसको सौन्दर्य हेर्नलायक थियो । 


कुनै समय च्छो रोल्पा फुट्दै छ भन्ने चर्चा चलेको थियो । सानै छँदा च्छो रोल्पा ताल फुट्ने कुरा धेरैपटक सुनिएको पनि थियो । विभिन्न अध्ययनले ताल उच्च जोखिममा रहेको औँल्याएपछि यस्तो चर्चा चलेको थियो । तर, पछि विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय परियोजनाअन्तर्गत तालको सुरक्षित निकास गरिएको छ । अहिले ताल असुरक्षित सूचीबाट हटिसकेको छ । अहिले तालमा पानी बढेको सूचना दिने सूचना प्रणाली र तालको पर्याप्त निकास गरिएको देख्न सकिन्छ । 


च्छो रोल्पामा एक रात बसेर भोलिपल्ट बिहानै ओरालो झरेँ । च्छो रोल्पा तालबाटै रोल्वालिङ खोला सुरु भएको छ । जुन खोला तल तामाकोशीमा गएर मिसिन्छ । तामाकोशीकै पानीबाट तामाकोशी जलविद्युत् आयोजना सञ्चालित छ । च्छो रोल्पाको ट्रेक यही रोल्वालिङको किनारकिनार छ । गौरीशंकर हिमालको सुन्दर दृश्यमा चिसो हावा र कलात्मक सुन्दर आकाशको विचरण गर्दै सुसाइरहेको रोल्वालिङको किनारैकिनार ओरालो झरेँ । त्यसैदिन दिउँसो चार बजे च्छोत्च्छोत् पुगेँ । भोलिपल्ट ११ गते काठमाडौं नै आइपुग्दासम्म चार दिनमै च्छो रोल्पाको यात्रा टुंग्याएँ ।