• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८१ जेठ ५ शनिबार ०९:०२:००
फिल्म

स्क्रिप्ट होइन, निबन्ध लेखिरहेका छौँ

२०८१ जेठ ५ शनिबार ०९:०२:००
पवन बराइली

नेपाली सिनेमालाई विश्व मञ्चमा पुर्‍याउन लागिपरेका निर्देशकमध्ये एक हुन् मीन भाम । उनको छोटो सिनेमा ‘बाँसुल्ली’ ‘भेनिस’ फिल्म फेस्टिभल पुग्ने पहिलो नेपाली सिनेमा थियो । अर्को सिनेमा ‘कालोपोथी’ भेनिसलगायत दर्जनौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । केही समयअघि मात्रै उनको दोस्रो फिचर सिनेमा ‘शाम्बाला’ पनि बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा प्रदर्शनका लागि छानिएको थियो । निर्देशक भामसँग नेपाली सिनेमाको कथामा केन्द्रित रही पवन बराइलीले कुराकानी गरेका छन् :

 

नेपाल दक्षिण एसियाकै विविधता धेरै भएको देश हो । यहाँ जातीय, सामाजिक र भाषिक विविधता धेरै छ । संरचनात्मक र भाषागत विविधता मात्रै होइन, अनुहारमै पनि विविधता छ । यी सबै कथा र पात्रका लागि बहुआयामिक विषय हुन् । यसबारे हामीले आजसम्म बहस गरेनौँ । हामीलाई सिनेमा नेपाली भाषामै बन्नुपर्छ र चलिआएको मान्यतामै बन्नुपर्छ भन्ने लाग्छ । कथाका मुख्य पात्रहरू खसआर्य नै हुनुपर्छ भन्ने लाग्छ । त्यसलाई हामी मूलधार मानेर अड्किरहेका छौँ ।

 

चलिआएका यिनै मान्यताबाट हामी अघि बढ्न सकेनौँ । हाम्रो समाजमा यति धेरै विविधिता छ, ती विविधता सिनेमाका लागि ठूलो सम्पत्ति हो । हाम्रो सिनेमाको कथा ती नै विविधतामा छ । तर, हामी ती विविधताबाट धेरै पर जाँदै छौँ । हामीले सिनेमामा प्रत्यक्ष–अप्रत्यक्ष भोगाइ र यसले समाजमा पारेको प्रभाव केलाएनौँ । हामीले फरक भूगोलका कथा, भाषा र जातजातिका कथ्यशैली अझ बढी खोतलेनौँ जसले गर्दा धेरै विषय छुटे । अहिले सहरको भन्दा गाउँको कथा भन्ने ट्रेन्ड आएको छ । यो आफैँमा राम्रो पक्ष हो । तर, हामी गाउँका दृश्यको पछाडि मात्रै दौडियौँ । यो प्रश्न आफ्नै लागि पनि हो । जुन ठाउँको सिनेमा बनाउने हो त्यहाँको सभ्यता, संस्कृति राम्रोसँग बुझेर दृश्यमा ल्याउन सकियो कि सकिएन मुख्य विषय यो हो । तर, बजारले बनाएको मानक र आफ्नो सहजता खोज्दा विविधता ओझेलमा परिरहेका छन् ।


सिनेमामा विषय नै मुख्य होजस्तो लाग्दैन । विषय जे पनि हुन सक्छ, सिनेमामा कथा कसरी भनिरहेका छौँ यो महत्वपूर्ण हो । यसले वर्ल्ड सिनेमामा कस्तो अर्थ राख्छ ? उपस्थिति कहाँ हुन्छ ? हामी दृश्यभाषालाई कसरी कायम गर्दै जान्छौँ ? भन्नेले ठूलो अर्थ राख्छ । अहिलेसम्म सिनेमामा कथाभन्दा दृश्यभाषा हाबी छ । सुनिने माध्यम कम छ । यो पक्षलाई हामीले बिर्सियौँ । मानौँ एक करोड बजेट भएको सिनेमामा कम्तीमा २० लाख प्रविधिका अन्य पक्षमा खर्च गर्छौँ । तर, साउन्डमा दुई लाख खर्च गर्न डराउँछौँ । संरचनागत र शैलीगत रूपमा हेर्दा हामी साउन्डमार्फत कथा भनिरहेका छौँ । तर, रेडियो नाटकजस्तै गरी भनिरह्यौँ । संवादको माध्यमबाट कथावाचन शैली अपनाइरहेका छौँ । यो म आफैँ पनि स्वीकार गर्छु ।

 

‘कालोपोथी’सम्म आइपुग्दा जानेर–नजानेर धेरै ठाउँमा चुकेछु । संवादको माध्यमबाट मात्रै पो कथा भनिरहेको रहेछु । म झसंग भएँ । सिनेमालाई एकछिन ‘म्युट’ गरेर हेर्दा १० प्रतिशत कथा पनि नबुझिनेरहेछ । कथ्यगत र शैलीगत हिसाबले मात्रै फरक भएछ । सिनेमामा महसुस हुने दृश्यभाषा मुख्य हुन्छ । तर, हामीले त्यसलाई प्राथमिकतामा राखेनौँ । हामीले धेरैजसो संवादमार्फत बुझाउन थाल्यौैँ । यसरी त विश्व सिनेमाको ‘ग्रामर क्रिएट’ गर्ने विषयमा हाम्रो योगदान के रहने भयो र ? हामी त निकै तल घुमिरहेका छौँ ।


हामी स्क्रिप्ट नै निबन्धजसरी लेखिरहेका रहेछौँ । हामीलाई सिनेमा लेखेर र बोलेर बुझाउनुपर्छ भन्ने लाग्यो । नेपालभित्र जुन मानक बनायौँ, त्यही मानकवरिपरि हामी घुमिरहेका छौँ । कोरियन सिनेमा भन्नेबित्तिकै लभ स्टोरी र थ्रिलर हाम्रो दिमागमा आउँछ । इरानी सिनेमा भन्नेबित्तिकै हाम्रो दिमागमा अर्कै दृश्य आउँछ । हामीले दृश्यभाषाको शैलीगत र संरचनागत रूपरेखा कोर्न सकेनौँ । अलमलिँदै–रमाउँँदै कतै हरायौँ । तर, पछिल्लो समय नेपाली सिनेमामा शुभसंकेत पनि देखिँदै छ । यो नेपाली सिनेमाका लागि गौरवको विषय पनि हो । नेपाली सिनेमाले वल्र्ड सिनेमामा प्रतिनिधित्व गर्न थालेका छन् । 


 

कथाको मौलिकपन भनेकै विविधता हो । नेपाली सिनेमाको कथाहरूमा फरक भूगोल, समाज, भाषा, संस्कृति, सभ्यता र जातजातिको उपस्थिति र प्रतिनिधित्व कसरी हुन्छ ? यस्तो विषयमा राज्यले प्रोत्साहन गर्नुपर्ने हो । तर, राज्यले विविधतालाई गर्भमै नष्ट गरिदिन्छ । यसले सिने मेकरहरूलाई निरुत्साहित बनाउँछ ।


भारतको जनसंख्या विशाल छ । त्यहाँको सिनेमा उद्योगमा खर्बौँको लगानी हुन्छ । वर्षमा त्यहाँको एकाध सिनेमा कान्स, टोरोन्टो, भेनिस, बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुग्नु गौण हो । नेपालको सिनेमा उद्योग सानो छ । नेपाली सिनेमाको इतिहास पनि लामो छैन । त्यसमाथि राज्यको समर्थन, संवद्र्धन र लगानी शून्य छ । तर, पनि नेपाली सिनेमाले धेरै ठूलो कायापलट गर्दै छ । विश्व सिनेमामा दक्षिण एसिया भन्नेबित्तिकै नेपाली सिनेमा अग्रपंक्तिमा आउन थालेको छ । पछिल्लो दुई दशकयता विश्व सिनेमाको भाषा निर्माण गर्ने कान्स, बर्लिन, भेनिस, टोरोन्टो, लोकार्नाे, सन्डान्स, बुसानजस्ता फेस्टिभलमा नेपाली सिनेमा भिड्न गइरहेको छ । यी फेस्टिभलमा वर्षमा दुई–तीनवटा नेपाली सिनेमा पुग्न थालेका छन् ।

 

यो वर्ष मात्रै नवीन दाइ (नवीन सुब्बा)को ‘गाउँ आएको बाटो’ टोरोन्टो, बुसानलगायत फेस्टिभलमा पुग्यो । ‘साम्बाला’ पनि बर्लिनको मुख्य प्रतिस्र्धामा छनोटमा पर्‍यो । यसले विश्व सिनेमाको ध्यान नेपालतिर केन्द्रित हुँदै छ भन्ने देखाउँछ । नेपाली सिनेमामा फरक जातजति, भूगोल र भाषाका कथा आउन थालेका छन् । फरक भूगोल र जातजातिका फिल्म मेकर पनि जन्मिएका छन् । सिनेमाको अध्ययन गरेर सिनेमा बनाउने जमात बढ्दो छ । यसर्थ, हामी उकालो लाग्दै छौँ । यसको जस भने दीपेन्द्र गौचन दाइको ‘उजेली’, नवीन सुब्बादाइको ‘खांग्री’, ‘नुमाफुङ’, छिरिङ रितार शेर्पादाइको ‘मुकुण्डो’,लाई जान्छ । यो सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा पुग्न जग बसालिदिएका थिए ।


चार–पाँच दशकअघिसम्म जापानिज सिनेमाले वल्र्ड सिनेमामा एसियाको प्रतिनिधित्व गथ्र्याे ।वर्ल्डमा जापानिज सिनेमाले ह्विम नै ल्याएको थियो । त्यसवेला संसारको आँखा जापानतिर थियो । पछि त्यो ह्विम इरानतिर गयो । इरानले वल्र्ड सिनेमामा कायापलट नै गर्‍यो । त्यो ह्विम इरानपछि पछिल्लो दशक दक्षिण कोरियातिर सर्‍यो । अहिले दक्षिण कोरियाको सिनेमा वल्र्ड सिनेमाको सबैभन्दा उपल्लोस्तरमा बन्छ । पछिल्लो समय भियतनामी सिनेमाले वर्ल्ड सिनेमामा आफ्नो जबर्जस्त दबदबा देखाइरहेको छ । युद्धबाट गुज्रिएर आएको भियतनामले संघर्ष गरिरहेको थियो । आर्थिक विकास, भाषा, संस्कृति र सभ्यताको लडाइँ लडेर आएको देश हो भियतनाम । अब भियतनामपछि वर्ल्ड सिनेमाको आँखा नेपालतिर छ ।


समाजप्रति निर्देशकको दायित्व 
सिनेमा राज्यको दस्तावेज पनि हो । जुनसुकै राष्ट्र वा समुदायको कथामा सिनेमा बनाउँदा त्यो राष्ट्र र समुदायप्रति निर्देशक जिम्मेवार हुनुपर्छ । निर्देशक मात्रै होइन, लेखक र निर्माता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । कुनै समुदाय, वर्ग वा भूगोलको कथा ल्याउँदा त्यो समुदायलाई कति न्याय गर्न सकेँ, उनीहरूले कति अपनत्व महसुस गर्छन् भन्ने हेर्नुपर्छ । त्यो सचेतता र दायित्व चलचित्र निर्देशकसँग हुनुपर्छ । कुनै समुदायको कथाभन्दा मेकरले कुन दृष्टिकोणबाट कथा भन्यो भन्ने कुराले ठूलो अर्थ राख्छ ।

कथाको मौलिकपन भनेकै विविधता हो । नेपाली सिनेमाको कथाहरूमा फरक भूगोल, समाज, भाषा, संस्कृति, सभ्यता र जातजातिको उपस्थिति र प्रतिनिधित्व कसरी हुन्छ ? यस्तो विषयमा राज्यले प्रोत्साहन गर्नुपर्ने हो । तर, राज्यले विविधतालाई गर्भमै नष्ट गरिदिन्छ । यसले सिने मेकरहरूलाई निरुत्साहित बनाउँछ ।


हाम्रो कथा विश्व मञ्चमा उभिनु गर्वको कुरा हो । तर, ती सिनेमाले नेपाली मौलिकता कति बोके भन्ने महत्वपूर्ण कुरा हो । देखिने मौलिकताको पछि मात्रै हामी दौडियौँ कि जस्तो लाग्छ । हामीले जुन समाज, भूगोल र जातिको कथा भन्दै छौँ, त्यसमा उनीहरूको मौलिक दर्शन के हो ? आस्था के हो ? शैली के हो ? यी सबै सिनेमाको कथामा बाँधिएर आउँदा मौलिकपन महसुस गर्न सकिन्छ । त्यहाँको संस्कृति र सभ्यताको गहिराइमा पुगेर कति उतार्न सकेँ ? भन्ने कुराले मौलिकता ल्याउने हो । फेस्टिभलमा पुगिरहेको सिनेमाले मात्रै होइन, घरेलु बजारमा प्रभाव पारिरहेको सिनेमाले झन् धेरै मौलिकता बोक्नुपर्छ ।


कतिपय सन्दर्भमा लेखक तथा सर्जकले देखेको भोगेको कुरा महत्वपूर्ण हुन्छ । कतिपय सन्दर्भमा पढेको र सुनेको पनि महत्वपूर्ण हुन्छ । पढेको समाचार र कोही साथीले सुुनाएको कथा पनि चाखलाग्दो हुन सक्छ । सुनेको पढेकोभन्दा भोगेको पक्कै फरक र गहिरो हुन्छ नै । ‘साम्बाला’ मेरो भूगोलको भए पनि भाषा, संस्कृति र सभ्यताले अलि परको थियो । त्यसैले मलाई कथा लेख्न र अनुसन्धान गर्न निकै समय लाग्यो । जिज्ञासाले डोर्‍याएपछि त्यो विषयमा सिनेमा बनाउन कस्सिएँ ।


नलेखिएका कथा 
कथा नयाँ हुन्छन् भन्ने आफैँमा विरोधाभासपूर्ण विषय हो । संसारमा हरेक कथा नयाँ हुन्छन्, सँगसँगै ती पुराना पनि हुन्छन् । हामीले कुन शैली र संरचनामा कथा पस्क्यौँ ? त्यो कथाले कति ताजापन बोकेर आयो ? हामीले के कथा भनिसकेका छौँ ? यो महत्वपूर्ण पक्ष हो । नेपालको भूगोल, समाज र पात्र सबै भर्जिन नै छन् । सिनेमा छायांकनका लागि दृश्य झन् भर्जिन छन् । 


सिनेमा बनेपछि त्यो समाजले स्वीकार गर्‍यो कि गरेन भन्ने अर्को महत्वपूर्ण विषय हो । यसमा कुन दृष्टिकोणले सिनेमा लेखियो ? कसरी पस्कियो, कति गहिराइमा डुबेर सिनेमा बनायो भन्ने कुराले मापन गर्छ । सात समुद्रपारिको फिल्म निर्देशक एरिक भ्यालीले नेपाल आएर ‘क्याराभान’ बनाए । त्यो समयमा विकट ठाउँमा गएर सिनेमा बनाए । त्यो सिनेमाले हाम्रो गौरव बढायो । त्यो सिनेमामाथि हामीले क्रिटिकल प्रश्न गर्ने ठाउँ छ । तर, त्यो सिनेमाले हामीलाई अपनत्व दिलायो । त्यो भनेको सर्जकको सफलता हो । साहस पनि हो । सर्जकले कति गहिराइमा पुगेर विषयलाई न्याय ग¥यो भन्ने उच्चतम उदाहरण हो ‘क्याराभान’ ।


सर्जकले समाजको कथा जस्ताको तस्तै उतार्ने विधि ठीक पनि हो, बेठीक पनि । तपाईंले डकुमेन्ट्री बनाइरहनु भएको छ भने हुबहु उतार्न ठीक हो । सिनेमा भनेको फिक्सनाइज पनि हो । त्यसलाई पुनर्सिर्जना र पुनव्र्याख्या गरेर आफ्नो चिज कसरी पस्किन्छौँ भन्ने कुरा प्रमुख हो । सिनेमामा हुबहु उतार्न प्राविधिक हिसाबले मिल्दैन । सिनेमालाई आफ्नो भाषा र ग्रामरमा उतार्ने काम सर्जकको हो ।


स्क्रिप्ट लेखन प्रक्रिया 
मैले ‘बासुल्ली’, ‘कालोपोथी’ र ‘साम्बाला’ बनाएँ । यी सिनेमामा कर्णालीको कथा छ । यी सिनेमाले गर्दा मलाई कर्णालीको मात्रै कथा भन्यो भनेर आरोप लागेको छ । कतिपयले कर्णालीको कथा र सभ्यता ल्यायो भनेर धन्यवाद पनि दिएका छन् । मलाई कर्णालीको मात्रै कथा ल्याउनु बाध्यता होइन । मलाई सहरको कथाभन्दा सहज हुन्थ्यो होला । मेरो हुर्काइ कर्नालीमै भयो । त्यहाँको भाषा, संस्कृति, पात्रले गहिरो छाप छोड्यो । मेरो हतियार त्यही नै बन्यो । सहरको अनूभूति बल्ल गर्न पाएको छु । मैले नजिकबाट अनुभूति गरेको कुरा पहिलो रोजाइमा राखेँ । मलाई सहरको अनुभूति र जिज्ञासाले डोर्‍याउँदै छ । अब विस्तारै सहरको कथा भन्ने तरखरमा छु ।


जुन विषयमा बढी अभ्यस्त छु त्यही विषयको कथा रोज्ने भएकाले कथा छनोट गर्न समय लाग्दैन । कथा छनोट गरेपछि घोत्लिन्छु । कथा छानिसकेपछि त्यसमा चलिआएको मान्यता के छन् भनेर अनुसन्धानको चरणमा पुग्छु । त्यो कथा र पात्रको अवधारण के हो भनेर अनुसन्धान गर्छु । त्यसपछि प्रश्नका चाङ बनाउने प्रक्रियामा पुग्छु । सारा प्रश्नको उत्तर र चलिआएको मानकले दिने उत्तर कति भेटिन्छन् र नपाइने उत्तर कति हुन्छन् । त्यसमा घोत्लिन्छु । चलिआएको स्थापित मान्यता र डेटाभन्दा त्यसमा मेरो धारणा र बुझाइ सर्जकको रूपमा मेरो उपस्थित कहाँ हो भनेर कथामा खोजी गर्छु । त्यसपछि संग्रहतालाई निचोडमा ल्याएर संरचना कस्तो बनाउँने ? शैली के अपाउने ? त्यसलाई कति फिक्सनाइज गर्ने ? भन्ने प्रक्रियामा पुग्छु । त्यसपछि पुनर्लेखन, पात्र छनोट, कलात्मक शैली, संरचनाको कुरा, सुन्दर बनाउने, सानो मौलिकपन लेपन गर्ने भन्ने यी सारा प्रक्रियाले मलाई समय लाग्दोरहेछ । 


‘बासुल्ली’, ‘कालोपोथी’ र ‘साम्बाला’को कथा लेख्दा फरक–फरक अभ्यास गरेँ । ‘बासुल्ली’ एक हप्तामा लेखेँ । ९० दिनभित्र सिनेमा बनाएर फेस्टिभलसम्म पुगेँ । ‘कालोपोथी’को पहिलो ड्राफ्ट ६ महिनामा लेखेको थिएँ । साथीहरूसँग बसेर दोस्रो ड्राफ्ट लेखेपछि सुटिङमा गइयो । त्यो मेरा लागि छोटो समय हो । तर, ‘साम्बाला’मा फरक अभ्यास भयो ।

 

साम्बालाको स्क्रिप्ट ४८ ड्राफ्ट लेखेँ । नेपाल बाहिर, मेडिटेनस सेन्टर, घर, जंगल फरक–फरक भूगोलमा बसेर लेखेँ । फरक–फरक ड्राफ्ट, फरक परिस्थिति र अवस्थामा लेखेँ । यसमा मेरा प्रश्नका चाङ धेरै थिए । ‘कालोपोथी’मा कमजोरी धेरै भएका थिए । ‘साम्बाला’ लेख्दा सचेत भएँ । त्यसैले आठ वर्ष लाग्यो लेखिसक्न । म निकै घोत्लिएँ । अनुसन्धानमा समय धेरै लाग्यो । ‘कालोपोथी’सम्म आइपुग्दा मैले निबन्धात्मक शैलीमा स्क्रिप्ट लेखेको रहेछु । रेडियो नाटकको शैलीमा कथा भनेछु । मैले गल्ती र कमजोर पत्ता लगाएँ । ‘कालोपोथी’पछि मेरो अघि ठूलो प्रश्न चिह्न खडा भयो । म सर्जकका रूपमा डिप्रेसनमा थिएँ । लेखकको रूपमा ब्लक भएको थिएँ । मैले लेखिरहेको कुरा निबन्धको शैलीमा आयो । मैले बोलेरे कथा बुझाउन थालेछु भन्ने लाग्यो । सिनेमाको ग्रामर क्रिएट गर्न चुकेको रहेछु भन्ने लाग्यो । मेरो अनुहारअघि ठूलो ऐना तेर्सियो । तर, अब अरू कथा लेख्दा समय लाग्दैन होला ।


म कथाको लागि फ्याक्टलाई अंगिकार गर्छु । साथै, फिक्सनाइज पनि उतिकै गर्छु । फ्याक्टलाई बेसिक स्रोतको रुपमा ग्रहण गर्छु । सत्यताको कति नजिकसम्म पुगेर कथा बुन्दैछु ? भनेर घोत्लिन्छु । कथाको पहिलो ड्राफ्ट सत्यताको वरपरि रहेर लेख्छु । यो मेरो लेखनको पहिलो अध्याय हो । त्यसपछि कथालाई सुन्दर बनाउँन संरचनागत र शैलीगत रुपमा आर्टको लेपन लगाउँन फिक्सनाइज गर्छु । यो मेरो लेखनको दोस्रो अध्याय हो । यसरी फ्याक्टलाई स्रोत मात्र मान्छु र त्यसलाई पूर्ण रुपमा फिक्सनाइज गर्छु ।


गहिराईमा पुगेर फिक्सनाइज गरियो भने त्यसले फ्याक्ट कै नजिक पुर्याउँछ । कुनै कुराको रिर्हलसल बनावटी नदेखियोस् भनेर गरिन्छ । त्यसरी फ्याक्ट जस्तो देखियोस् भनेर फिक्सनाइज गरिन्छ । मेरो अनुभवमा जति फिक्सनाइज गर्यो त्यति नै फ्याक्ट नजिक पुगिन्छ । तर, यो पनि आफैमा विरोधाभाष छ । मासले मानेको सत्यतालाई फयक्ट मान्ने कि ? मैले अध्ययन गरेर बुझेको विश्लेषणलाई फ्याक्ट मान्ने ? मासको फ्याक्ट एउटा हुन्छ, मेरो फ्याक्ट एउटा हुन्छ । मेरो र मासको फ्याक्टको खोजीले मलाई फिक्सनाइजको तहसम्म लैजान्छ । 


सिनेमा र राज्य
सिनेमाको जगमै राज्यले अवरोध खडा गरिदिन्छ । तपाईं गुरुङ, राई वा अन्य कुनै भाषामा सिनेमा बनाउन लाग्नुभएको छ भने राज्यले नेपाली फिल्म होइन भनिदिन्छ । सिनेमा दर्ता गर्न जाँदा राज्यको तहतप्कामा बसेका मान्छेले दुःख दिन्छ । चलचित्र विकास बोर्डले आदिवासी जनजातिको भाषामा बनेको सिनेमालाई एकदमै उपेक्षा गर्छ । नेपाली सिनेमा होइन भनेर वर्गीकरण गर्छ । अनि राज्यको उपस्थित कहाँ भयो ? राज्यले सरकारी भाषामा बन्ने सिनेमालाई मात्रै सिनेमा भन्छ ।

 

कसैले भोलि शेर्पा भाषामा सिनेमा बनाउन खोज्यो भने सहजीकरण गर्नुपर्ने हो, तर राज्यले त्यसरी सोच्दैन । राज्यले फरक भाषा, जातजाति र भूगोलका सिनेमालाई कम्तीमा नेपाली सिनेमा भनेर ग्रहण गर्नुपर्‍यो । तर, राज्यले सुरुदेखि नै उपेक्षा गर्ने गरेको छ । राज्यले यस्तो मानसिकता बोकेपछि कसरी विविधता आउँछ ? कसरी मौलिकपन आउँछ ? कथाको मौलिकपन भनेकै विविधा हो । नेपाली सिनेमाको कथामा फरक भूगोल, समाज, भाषा, संस्कृति, सभ्यता र जातजातिको उपस्थिति र प्रतिनिधत्व कसरी हुन्छ ? यस्तो विषयमा राज्यले प्रोत्साहन गर्नुपर्ने हो । तर, राज्यले विविधतालाई गर्भमै नष्ट गरिदिन्छ । यसले सिनेमेकरलाई निरुत्साहित बनाउँछ ।