• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
२०८१ जेठ १२ शनिबार ०७:४०:००
समाज

निबन्धकार रोशन शेरचनलाई ६ प्रश्न

२०८१ जेठ १२ शनिबार ०७:४०:००

आममानिस र कवि–लेखकले गर्ने यात्रामा केही भिन्नता हुन्छ कि हुँदैन ? 
यसको जवाफका निम्ति सर्वप्रथम आममानिस र कवि–लेखकको स्वभाव र प्रवृत्तिमा भिन्नता हुन्छ वा हुँदैन निक्र्याेल गर्नुपर्छ । मेरो विचारमा संवेदनशीलता र अभिव्यक्त गर्ने क्षमताका कारण कवि–लेखकहरू आममानिसभन्दा थोरै भिन्न हुन्छन् । कवि–लेखकमा करुणाभाव बढी हुन्छ र सानो कुरामा पनि बढी संवेदित हुन्छन् । यी कारणले कहिलेकाहीँ यात्राको स्थान र गन्तव्यको छनोट गर्ने मामिलामै भिन्नता आउँछ । दोस्रो अन्तर, दुवै यात्राका दौरान विभिन्न किसिमका प्रभाव ग्रहण गर्छन् वा अनुभूत गर्छन् । तर, कवि–लेखक अभिव्यक्त गर्छ । एउटै खाले यात्रामा हिँड्दा त प्रभावमा अन्तर हुन्छ भने फरक गन्तव्यमा फरक प्रभाव स्वाभाविकै हो । तर, यसको माने, कवि–लेखक आममान्छेभन्दा पृथक् र अनौठो जीव भन्ने होइन । भेद ठूलो छैन, सायद सूक्ष्म छ । 

तपाईं यात्रापछि लेख्नुहुन्छ कि लेखेपछि पूर्णरूप दिन यात्रामा निस्किनुहुन्छ ?
सबै खाले लेखका निम्ति यात्रा गर्नुपर्दैन । कविताका निम्ति जहाँ कल्पनाशीलतालाई पर्याप्त स्पेस हुन्छ, यात्रा अपरिहार्य छैन । कोठामा बसेरै, यात्रामा ननिस्की कविले आफ्नो लोक निर्माण गर्न सक्छ । तर, यात्रा वृत्तान्तको हकमा त्यो लागू हँुदैन । मेरो सन्दर्भमा, म यात्राबाट फर्केपछि नै यात्रा वृत्तान्त वा संस्मरण लेख्छु । यात्रालगत्तै लेख्छु भन्ने पनि होइन । तर, यात्रामा पुगेको स्थान, भेटेका पात्र, यात्राका दौरान मनमा उब्जेको भाव यात्रा नगरी कसरी लेख्न सकिन्छ र ? त्यो कठिन मात्र होइन, असम्भव छ । 

कवि–लेखकमा करुणाभाव बढी हुन्छ र सानो कुरामा पनि बढी संवेदित हुन्छन् । यी कारणले कहिलेकाहीँ यात्राको स्थान र गन्तव्यको छनोट गर्ने मामिलामै भिन्नता आउँछ । दोस्रो अन्तर, दुवै यात्राका दौरान विभिन्न किसिमका प्रभाव ग्रहण गर्छन् वा अनुभूत गर्छन् ।

यात्रामा ध्यान विशेष केले तान्छ ?
यात्रामा एउटै पाटोले मात्र ध्यान तान्दैन । यात्राको उद्देश्य, यात्राको गन्तव्य र सहयात्रीको समष्टिले ध्यान तान्ने कुरा निर्धारण गर्छ । अझ कस्तो मौसममा यात्रा गरिन्छ, त्यसले पनि यात्रामा ठूलो महत्व हुन्छ । बादल लागेर हिमाल देखिएन भने ध्यान कहाँ हिमालको सौन्दर्यले तान्छ र ? बरु ध्यान मनको थकथकीमै अल्झिरहन्छ । 


तर, समग्रमा उच्च हिमाली क्षेत्रको यात्रामा, त्यहाँको प्राकृतिक वातावरण (लेकाली खर्क, ल्यान्डस्केप, हिमताल र सल्ला भोजपत्रको वन) र सांस्कृतिक–धार्मिक पर्यावरण (रीतिरिवाज, पहिरन, खाद्य संस्कृति, चाडपर्व, गुम्बा आदि) मा आकर्षित हुन्छ मन । पदमार्गमा गाउँहरू नभेटिँदा, वन, चरन, भिरपहरा, छहरा, चराचुरुंगीको चिरबिर र सिरेटोको अन्तत्र्रिmयाले निर्माण गर्ने आरण्य भाव (वाइल्डरनेस) मा मन प्रफुल्ल हुन्छ । तराई मधेशको हकमा, धानखेत, जीवन्त हाटबजार, मधेशी जनजीवन, माछापोखरी, आँपको बगैँचा र सूर्यास्तले ध्यान तान्छ । 


कोठामा बसेर काल्पनिक दुनियाँ निर्माण गरी लेख्नु र प्रकृतिका हरेक आरोह–अवरोहसँग एकाकार भई लेख्नुपर्दा कुन रोज्नुहुन्छ ?
यो कि त्यो विकल्प, श्याम वा श्वेत रोज्नु बुद्धिमानी नहोला । जीवनमा श्याम वा श्वेत मात्र छैन । अन्य रङका सेड धेरै छन् । श्याम वा श्वेत त दुई विपरीत किनारा हुन् । एक अवस्था मात्र रोज्दा त्यो एकांगी हुन्छ । एकांगी भएकाले अपूर्ण हुन्छ । काल्पनिक दुनियाँमा रमाएर लेख्दा पनि परोक्ष हिसाबले भौतिक जगत्, समाज र मान्छे–मान्छेबीचको सम्बन्ध आउँछन् नै । हाम्रा कल्पना पनि भौतिक जगत्भित्रकै कल्पना हुन् । भौतिक जगत्भन्दा बाहिर गएर हामी कल्पनासमेत गर्न सक्दैनाैँ ।

 
सामाजिक तथा सांस्कृतिक पर्यावरणजस्तै हामीमाथि प्राकृतिक पर्यावरणको पनि उत्तिकै प्रभाव रहेको हुनाले यो छनोटको विषय हो जस्तो लाग्दैन । मान्छे प्रकृतिको अंश भएकाले मानौँ, नमानौँ, हामी प्रकृतिको प्रभावबाट अलग छैनौँ । अझ भनौँ, हामी प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध राख्छौँ । प्रकृति माने पारिस्थितिक प्रणाली वा इकोसिस्टम । 


जान मन लागेको तर अहिलेसम्म जान नपाएको नेपालको कुन ठाउँ हो ?
धेरै ठाउँ छन् । यहाँ चारवटाको नाम लिऊँ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज । फोक्सुन्डो ताल हेर्न, त्यहाँको आदिवासी जनजीवन र बौद्ध÷बोन धर्म बुझ्न । खप्तड राष्ट्रिय निकुञ्ज । रमणीय पाटनहरू हेर्न । खोटाङ । हलेसी गुफा हेर्न । संखुवासभा । शिवधारा र मकालु आधार शिविर हेर्न । 


यात्रा विनाउद्देश्य गर्नु ठीक कि उद्देश्यपूर्ण ठीक ? 
सोद्देश्य हिँड्नु ठीक । सोद्देश्य हिँड्दा त गन्तव्य पुगिने ग्यारेन्टी हुँदैन । विनाउद्देश्य हिँड्दाचाहिँ ग्यारेन्टी त हुन्छ, तर हराइने । विनाउद्देश्यको यात्रालाई भाैँतारिनु भनिन्छ, यात्रा भनिँदैन । तर, कहिलेकाहीँ बौलाहा तालले भाैँतारिनुको मज्जा बेग्लै हुन्छ ।