• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
डा. सूर्यराज आचार्य
२०८१ जेठ १२ शनिबार ०८:१७:००
समाज

‘वैकल्पिक’ राजनीति यसरी अलपत्र पारियो

२०८१ जेठ १२ शनिबार ०८:१७:००
डा. सूर्यराज आचार्य

म जन्मेको कास्कीमा । हुर्के बढेर एसएलसी दिएको चितवनमा । राजनीतिक रूपमा चितवन जागरुक जिल्ला थियो । त्यसैले ०४२ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा यहाँ जनपक्षीय उम्मेदवार विजयी भएका थिए । मेरा केही नातेदार पञ्चायतविरोधी राजनीतिमा लागेको, पक्राउ पुर्जी जारी हुँदा उहाँहरू मेरो घरमा लुक्न आएको सम्झना छ । 


०३६ सालमा अमृत साइन्स क्याम्पसमा पढ्न आएपछि म अखिलमा आबद्ध भए । ०३६ मा यहाँ अखिलले स्ववियू चुनाव जितेको थियो, ०३७ मा नेविसंघले जित्यो । समीक्षा बैठकमा मैले भनेँ, ‘हाम्रो शैली भएन । अखिलले तोडफोड गर्छ, हुलदंगा गर्छ भन्ने सन्देश गयो । हाम्रा जुनियर विद्यार्थी अखिलको सदस्यता लिन र हामीलाई भोट दिन पनि तर्सिने भए । कमिटीका धेरै साथीहरूको ब्याक लागेको छ । जुलुस गरेर मात्रै भएन, पढ्ने विद्यार्थीलाई पनि आकर्षित गर्न सक्नुपर्‍यो ।’ मेरो यो ठाडो अभिव्यक्तिलाई साथीहरूले रुचाएनन् । उनीहरूले यसलाई ‘निम्न पुँजीवादी’ चिन्तन भने । झन्डै १६ महिना विद्यार्थी राजनीतिमा सक्रिय भएर म अलग भएँ । तर, यो छोटो अनुभवले मभित्र राजनीतिक चेत विकास गर्न भूमिका खेल्यो । 


त्यसपछि भारत गएर इन्जिनियरिङ पढेर फर्किएर ०४४ सालदेखि नेपालको सरकारी सेवामा लागेँ । लोकसेवा पास गरेर स्थायी भए पनि मेरा लागि कर्मचारीको करियर उपयुक्त होइन कि भन्ने महसुस हुँदै गयो, र अन्ततः ०५० सालमा सरकारी सेवाबाट राजीनामा गरेँ । एसियन इन्सिच्युट अफ टेक्नोलोजी (एआइटी), बैंककबाट स्नातकोत्तर गरेँ । डेढ वर्षजति बैंककस्थित युएन–स्क्याप वातावरणसम्बन्धी परियोजनामा परामर्शदाताका रूपमा काम गरेँ ।


टोकियो विश्वविद्यालयबाट पूर्वाधार, लगानी र क्षेत्रीय विकासमा पिएचडी र त्यसपछि पोस्ट डक गरेँ । विश्वविद्यालयको अध्ययन अनुसन्धानपछि जापानको पूर्वाधार मन्त्रालयसँग सम्बद्ध ‘पोलिसी थिंक–ट्यांक’मा काम गरेँ । एसियामा पूर्वाधार विकास र आर्थिक विकासको जोडिने कडी के थियो भन्ने विषयमा मेरो अनुसन्धान केन्द्रित थियो । 


झन्डै १८ वर्ष जापान बस्दा विकासशील देशहरूकै अवस्थाबारे अध्ययन–अनुसन्धान गर्न पाएकाले नेपालको अवस्थाबारे म राम्रै जानकार थिएँ । ५० वर्ष कटेपछि नेपालमै आएर सेवा गर्छु भन्ने सोच थियो । ०७० सालमा म नेपाल फर्किएँ । जतिवेला नेपालमा संविधान निर्माण हुँदै थियो । दलबीचको खिचातानी, बन्द, हडतालले जनता आजित थिए । 

हामी ७० वर्ष इतिहास भएका पार्टीलाई धकेल्छौँ र नयाँ सुसंस्कृति राजनीति गर्छौं, लोकतन्त्रलाई पुनः परिभाषित गर्छौं भनेर लागेका थियौँ । तर, जति गम्भीर हुनुपर्ने थियो, त्यति भएनौँ । 
 


वैकल्पिक शक्तिका रूपमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली दल उदाउँदै थियो । यसका युवाहरूले सिर्जनात्मक तवरले बन्दको विरोध गर्ने, सुशासनको वकालत गर्ने, समाजसेवामा सक्रियता देखाउने काम गरिरहेका थिए । उहाँहरूको अभियान काठमाडौं केन्द्रित भए पनि यसको चर्चा र यसले ल्याएको आशाको लहर देशव्यापी रह्यो ।विश्वव्यापी रूपमा पनि परम्परागत दलहरूको साटो जनताको मुद्दा बोक्ने नयाँ राजनीतिक दल उदाइरहेका थिए । पत्रपत्रिकामा लेख लेख्ने, विश्वविद्यालयमा क्लास लिनेलगायत काममा म सक्रिय थिएँ । 


संविधान निर्माणपछि डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोल्नुभयो । उहाँले मलाई पनि पार्टीमा बोलाउनुभएको थियो । उहाँ असल व्यक्तित्व हुँदाहुँदै पनि म त्यता लागिनँ । त्यतिवेलासम्म उहाँ सेलिब्रेटी हुनुहुन्थ्यो, अर्थमन्त्री र प्रधानमन्त्रीका रूपमा राम्रो काम पनि गर्नुभएको थियो । त्यसैले उहाँको त्यही लोकप्रियतालाई देखेर मानिस आकर्षित भएजस्तो लाग्यो । उहाँको सोच र विचार राम्रो हुँदाहुँदै पनि त्यहाँ जम्मा भएको भिडले बुझेजस्तो लागेन । उहाँलाई केन्द्रमा राखेर वरपर भिड जम्मा भएजस्तो देखियो । 


विवेकशीलका साथीहरू पनि सम्पर्कमा आउनुभयो । दुई चरण सिनियर नेताहरूसँग कुरा भयो । उहाँहरूमा राम्रो भावना भए पनि राजनीतिक चरित्र कम र अभियानको चरित्र बढी भएजस्तो लाग्यो । त्यसैले म गइनँ । मेरा मित्र रमेश पोखरेलसँग मिलेर मैले ‘यसरी बन्छ नेपाल’ शीर्षकमा पत्रिकामा एउटा लेख लेखेको थिएँ । त्यसले चर्चा पनि पाएको थियो । त्यही पढेर एक दिन रवीन्द्र मिश्रले मलाई भेट्न बोलाउनुभयो । उहाँले बिबिसी छाडेर राजनीतिमा आउने सोच बनाइसक्नुभएको थियो । यसपछि धेरैपटक कुराकानी भयो ।

राजनीतिमा प्रवेश गर्दा मन्त्री हुने, सांसद हुने मेरो उद्देश्य थिएन । मेरो आफ्नै टेम्प्लेट थियो । त्यहीअनुसार आफैँसँग इमानदार भएर समय बिताएँ । यसमा सन्तुष्ट छु ।


साझा पार्टी खोल्दा उहाँले झन्डै ४० जनाजति सेलिब्रेटी तथा समाजले राम्रो मानेका व्यक्तिहरूको लिस्ट बनाउनुभएको थियो । त्यसबारे टिप्पणी माग्दा मेरो जवाफ थियो, यी सबै मानिस आउँदैनन् । राजनीति गर्न सजिलो छैन ।


उहाँले सोध्नुभयो, तपाईं त पक्का आउनुहुन्छ नि ?मैले भनेको थिएँ, तपाईं र म दुईजना मात्रै हुने भयौँ भने पनि आउँछु । तर, मेरा केही सर्त छन् । 


१. मलाई कार्यकारी पोजिसनमा नराख्नुस् । एउटा विश्वासिलो सहयोगीका रूपमा गन्नुस् । 
२. भोलि पार्टीको पदमा जाँदा वा मन्त्री बन्ने समय आउँदा तँछाड–मछाड होला मेरो नाम पहिल्यै काटिदिनुस् । परिणाम देखाउन पद चाहिँदैन भन्ने मेरो मान्यता हो । 
३. मसँग असहमति हुँदा अन्यसँग सोधीखोजी नगर्नुस् । असहमति भएका कुरा म तपार्इंसँग लुकाउँदिनँ । तपाईंले पनि खुलेर भन्नुस् । 


त्यसपछि हामीले मिलेर साझा पार्टी बनायौँ । ०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा किशोर थापालाई उठायौँ । विवेकशील नेपाली दलले रञ्जु दर्शनालाई उठाएको थियो । दुवै उम्मेदवारले राम्रो मत ल्याए पनि जित्न सकेनन् । जनताले वैकल्पिक सोच राख्ने यी दुवै दललाई मिलेर जान सन्देश दिएका थिए । 


अन्ततः हामी एक भएर विवेकशील साझा पार्टी बनायौँ । विवेकशील समूहका साथीहरूमा इनर्जी थियो । तर, परिपक्वता कम देखिन्थ्यो । साझामा हामी पेसागत, व्यावसायिक र प्राज्ञिक पृष्ठभूमिका व्यक्ति ठूलो संख्यामा थियौँ । युवा पनि थिए । तर, परिपक्व मानिस भए पनि उहाँहरूले आर्जन गरेजस्तो राजनीतिक पुँजी हामीसँग थिएन । किनकि, उहाँहरू एउटा अभियानबाट आउनुभएको थियो । हामी नयाँ थियौँ । 


हामीले आमनिर्वाचनमा पनि नराम्रो गरेका होइनौँ । बागमती प्रदेशमा हाम्रा तीनजना सांसद थिए । थ्रेसहोल्ड कटाउन नसकेर संघीय संसद्मा प्रतिनिधित्वविहीन देखिए पनि नयाँ शक्ति र राप्रपाभन्दा धेरै समानुपातिक मत हाम्रो पक्षमा खसेको थियो । एक हिसाबले भन्नुपर्दा पार्टी बन्दै थियो । 


तर, चुनाव सक्किनेबित्तिकै विवेकशील र साझा समूहबीच व्यवस्थापनमा समस्या देखियो । विवकेशीलको अराजकता बढी देखियो । संगठन पद्धतिमा उहाँहरू बस्नुभएन । विवकेशील समूहका साथीले केन्द्रमा एउटा निर्णय गर्ने, त्यसको भोलिपल्टै तलका साथीले प्रेसर दिए, मान्न सकेनौँ भन्ने । पार्टीमा तिक्तता बढ्यो । 


अर्को कमजोरी सबै साथी काठमाडौं केन्द्रित थिए । काठमाडौंबाहिर जाऊँ भन्दा कसैको छुट्टी छैन । सबै साथी कुनै न कुनै पेसा वा काममा सक्रिय थिए । धेरै साथी एनजिओ, आइएनजिओको प्रोजेक्टमा व्यस्त हुनुहुन्थ्यो ।फुटको एउटा कारण मात्रै हुन्न । रवीन्द्रजी र केन्द्रीय कमिटीमा हुनुभएका एकजना व्यक्तिबीचको टकरावले व्यक्तिगत इगोको रूप लियो । त्यो टकराव रवीन्द्रजी र उज्ज्वलजीको लेभलसम्म पुग्यो ।मेरो इमानदारी रवीन्द्रजीप्रति थियो, तर राम्रा एजेन्डामा कुनै पक्षरधरता थिएन । त्यसमाथि पार्टी प्रवक्ता भएकाले पनि म तटस्थ नै रहेँ । नेतृत्वमा देखिएको टकरावका कारण केन्द्रीय कमिटीले निर्णय लिन सकिरहेको थिएन । अति भएपछि रवीन्द्रजीले केन्द्रीय कमिटीमा मानिस थप्ने प्रस्ताव ल्याउनुभयो । 

 

यस प्रस्तावले विवेकशीलका साथीहरूलाई झस्कायो, अल्पमतमा परिन्छ र साझा समूहले पेलेको पेल्यै गरेर निकाल्छ भन्ने आशंका सायद उहाँहरूमा थियो । तर, त्यो तहमा हामीले सोचेका थिएनौँ । यो बुझाउन नसक्नु ठूलो कमजोरी थियो । म पार्टी फुट्ने दिनमा काठमाडौंमा पनि थिइनँ । विवेकशीलका साथिहरूले एकदमै छोटो समयमा गुरिल्ला शैलीमा पार्टी फुटाउनुभयो । रोक्न सक्ने अवस्थै थिएन । तसर्थ, यसमा मलाई कुनै पछुतो छैन । 


तर, दुई गल्ती यतिवेला भयो भन्ने लाग्छ । रवीन्द्रजी सेलिब्रेटी हुनुहुन्थ्यो । देशप्रति उहाँको निष्ठा पनि छ । तर, राजनीतिक रूपमा अपरिपक्व र बहकिने स्वभाव थियो बहकिनु भयो । त्यसपछि आन्दोलन नै अलपत्र पर्‍यो । सुरुमै उहाँलाई अघि सारेर सामूहिक नेतृत्व स्थापित गर्न सकिएको भए पार्टी फुट्दैनथ्यो होला ।


अर्कोतर्फ, विवेकशील समूहका केही युवामा उद्दण्डता र अराजकता थियो । त्यहाँ पनि धेरै असल मानिस थिए । उनीहरूलाई विश्वासमा राख्न सकेको भए अर्कै कोर्स हुन्थ्यो । सम्भवतः मैले राजनीति छोड्नु पनि पर्दैनथ्यो होला । अहिले समीक्षा गर्दा यसमा मेरो हस्तक्षेप पर्याप्त भएन ।


पार्टी फुटिसकेपछि कास्कीमा उपनिर्वाचन भयो । त्यहाँ हाम्रा उम्मेदवार राम्रो हुँदाहुँदै पनि एक हजार मत कटेन । विवेकशीलले हाम्रो भन्दा पनि निकै कम मत पाएको थियो । यो घटनापछि पार्टीमा फेरि एकताको बहस सुरु भयो । रवीन्द्रजीलाई जहाँ जाँदा पनि मानिसले मिल्ने सुझाव दिने रहेछन् । उहाँ त्यसैलाई हेरेर बहकिनुभयो । 


मैले स्पष्टै भनेँ, ‘मिल्ने हो भने हिजो फुट्नुको कारण निराकरण हुने गरी मात्र मिल्नुपर्छ । अन्यथा कुनै अर्थ छैन ।’पार्टीमा मुमाराम खनालजीलगायत हामी चार–पाँचजनाको न्युक्लियस थियो । यो समुहमा मैले नयाँ प्रस्ताव राखेँ, ‘संयोजक मात्रै राखेर बाँकी सबै कमिटी र पद विघटन गरौँ । 


एक वर्ष हामी काठमाडौं नबसाैँ, देशभर जाऔँ । हामी प्रतिनिधि मात्रै हौँ, देश बनाउने नेता खोज्न आएको भनौँ ।’ पुराना पार्टीहरूले विगतमा यसरी नै संगठन बनाएका थिए । उनीहरू झुप्रोमा गएर बस्थे । हामीले पनि सिक्नुपर्छ भनेँ । मेरो यही प्रस्तावलाई केन्द्रीय कमिटीमा लग्यौँ । तर, कमिटी भंग गर्ने प्रस्ताव सुनेपछि केन्द्रीय कमिटीका सदस्य, विभागका अध्यक्षहरू, प्रदेश कमिटी, जिल्लाका अध्यक्षहरूको मुख न्याउरो देखियो । पद जान्छ भन्ने चिन्ता देखियो । पार्टी नै बनेको थिएन, तर पद जाला भन्ने भय सबैलाई थियो । 


हामी ७० वर्ष इतिहास भएका पार्टीलाई धकेल्छौँ र नयाँ सुसंस्कृति राजनीति गर्छौं, लोकतन्त्रलाई पुनः परिभाषित गर्छौं भनेर लागेका थियौँ । तर, जति गम्भीर हुनुपर्ने थियो, त्यो भएनौँ । रवीन्द्रजीलाई पनि मैले व्यक्तिगत वार्तालापका दौरान संकेत दिएको थिएँ । सुरुवातमा तपाईंकै नेतृत्वमा काम गर्‍यौँ । तर, तपाईंबाट देशको रूपान्तरण हुँदैन । मैले त पहिल्यै कार्यकारी पदमा बस्दिनँ भनेर सरेन्डर गरेको थिएँ । तपाईंबाट पनि हुँदैन है ! तर, यी कुरा व्यक्तिगत रूपमै सीमित भयो । मैले केन्द्रीय कमिटीमा राखिनँ । 


राजनीतिमा निर्णय क्षमताले महत्वपूर्ण अर्थ राख्ने रहेछ । पहिल्यैदेखि नै कडाइका साथ जनतामा गएर नेतृत्व चयन गरिएको भए अवस्था फरक हुन्थ्यो । यसबारे ढिला महसुस भयो । त्यसमा पनि धेरैले चासो दिएनन् । बरु, यसपछि लुम्बिनी भेलामा रवीन्द्रजीले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमतसंग्रह गर्ने प्रस्ताव ल्याउनुभयो । 


म यस विषयमा सहमत हुन सकिनँ । मैले भनेँ, ‘यसबारे सहमत त कुरै छाडौँ, टिप्पणी पनि गर्दिनँ । किनकि, टिप्पणी गर्दा पनि अपनत्व लिएजस्तो हुन्छ ।’ त्यसपछि उहाँले केशव दाहाललाई दस्ताबेज लेख्न लगाउनुभयो । लुम्बिनी भेलाबाट यो प्रस्ताव पारित भयो ।


प्रवक्ताको हैसियतमा यो प्रस्तावबारे मिडियामा बोल्दा मैले अलि बीचको भाषामा बोलेँ । केन्द्रीय कमिटीको बैठकमा भेलाको निर्णयमा अपनत्व नलिएको भन्दै मेरो आलोचना पनि भयो । प्रवक्ताको काम गर्न नसक्ने जानकारी दिएँ । राजीनामा नै दिँदा नराम्रो सन्देश जाने हुनाले प्रवक्ताको भूमिकामा रहने गरी सह–प्रवक्ताको चयन भयो । मेरो उदासीनता बढ्यो ।


कोभिडको समयमा मुमारामजी र मैले पार्टी छाड्यौँ । पार्टी छाड्नुअघि रवीन्द्रजीले मलाई नै अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको थियो । तर, मलाई रुचि भएन । उहाँले ‘दुईजना मात्रै भए पनि म पार्टीमा रहन्छु भन्नुभएको थियो’ भनेर पुरानो वाचा स्मरण गराउनुभयो ।


मैले यसमा ‘क्षमा गर्नुस्’ भनेँ । पार्टीमा पपुलिजम हाबी भइसकेको थियो । म सामूहिकतामा विश्वास गर्ने मानिस अध्यक्ष भएर पनि हुनेवाला केही थिएन । त्यसैले बाहिरिनु उचित सम्झेँ । यसको केही समयपछि रवीन्द्रजीले विवेकशीलसँग फेरि एकता गर्नुभयो । विवेकशील समूह र रवीन्द्रजी दुवैको स्वार्थ एकीकरण गरेर पार्टीमा आफू हाबी हुने थियो भन्ने देखियो । यो राजनीतिक अवसरवाद थियो । अन्ततः एकता लामो समय टिकेन । कालान्तरमा रवीन्द्रजी राजतन्त्रवादी र हिन्दू राष्ट्रका पक्षधर हुनुभयो । 


अहिले समाजले बुझेजस्तो रवीन्द्रजी सुरुदेखि नै अति दक्षिणपन्थी, प्रतिक्रियावादी र राजावादी होइन जस्तो लाग्छ । तर, संक्रमणकालीन राजनीतिमा ‘मर्ता क्या नहीँ कर्ता’ भनेजस्तो जनताको समर्थन पाउने त यही तरिका रहेछ भनेर उहाँले बालसुलभ तरिका देखाउनुभयो । उहाँ सोचविचार नगरी भावनामा बग्नुभयो भन्ने लाग्छ ।


साझा पार्टी छाडेपछि म राजनीतिक रूपमा निष्क्रिय बसेँ । सही टाइममा राजनीतिमा सक्रिय भएको थिएँ । पार्टी छोड्दा पनि कसैलाई गाली–गलोज गरिनँ । कसैलाई क्षति पुर्‍याउने काम गरिनँ भन्ने लाग्छ । डा. बाबुराम भट्टराई, रवीन्द्र मिश्र, स्वर्गीय उज्ज्वल थापादेखि त्यतिवेला वैकल्पिक राजनीतिमा सक्रिय भएका धेरैजसो युवासँग विनापूर्वाग्रह सद्भावपूर्ण सम्बन्ध बनाउने मेरो प्रयास रह्यो । सक्रिय राजनीतिको छोटो जीवनकालप्रति सन्तोष नै छ, खासै पछुताउ छैन ।


भएका कुरा स्पष्ट बोल्ने मेरो बानी छ, लामो समय अनुसन्धानमा बिताएको हुनाले पनि हरेक कुरालाई सम्भव भएसम्म गहिराइमा पुगेर हेर्छु । कुनै विचार तथा योजना बनाएपछि त्यसलाई कार्यान्वयनमै लैजानुपर्छ भन्नेमा जोड रहन्छ ।यही स्वभावले मैले प्रशस्तै आलोचक कमाएको छु । धेरैले तपाईं अर्ती–उपदेश मात्रै दिनुहुन्छ । आफू सक्रिय रहनुहुन्न भनेर आलोचना गर्नुहुन्छ । केही हदसम्म यो साँचो हो । 


मैले भरतपुरमा मेयरमा लडौँ भन्ने पनि सोचेको थिएँ । सायद, त्यहाँ लडेको वा वडाध्यक्षकै लेभलमा भए पनि काम गरेको भए जनतासँग प्रत्यक्ष जोडिने एउटा अनुभव र अवसर हुन्थ्यो । फुर्सदिलो हुँदा–हुँदै पनि युवालाई प्रशिक्षण दिने काममा खट्न सकेको छैन । इन्जिनियरिङबाहेक क्रिटिकल थिंकिङ, अर्थशास्त्र, गणित, तथ्यांक, रिसर्च मेथोडोलोजीलगायत विषयमा प्रशिक्षण दिन सक्ने भए पनि गर्न सकिएको छैन । स्कुल–कलेजमै गएर सिकाउँदा पनि त्यसको प्रभाव देखिन्थ्यो ।

 
राजनीतिमा प्रवेश गर्दा मन्त्री हुने, सांसद् हुने मेरो उद्देश्य थिएन । मेरो आफ्नै टेम्प्लेट थियो । त्यहीअनुसार आफैँसँग इमानदार भएर समय बिताएँ । यसमा सन्तुष्ट छु । नेतृत्वमा लचकता चाहिन्छ । आफ्नो मनले खाएको कुरामा सम्झौता गर्न नसक्ने भएकाले नेतृत्वमा म फिट हुन्छु भन्ने लाग्दैन । तर, सामूहिक नेतृत्व हुँदा मैले पनि आफ्नो ठाउँबाट योगदान गर्न सक्छु जस्तो लाग्छ ।


भविष्यमा फेरि सक्रिय हुन सक्छु । अब विगतका कमजोरी सच्याएर मात्रै जानुपर्छ । समीक्षाकै चरणमा छु । अरू कमजोरी पनि पहिल्याउनुपर्नेछ । वैकल्पिक राजनीतिको कमजोरी पपुलिजम भयो । समाजअनुसार चल्ने वा समाजलाई नै डोहो¥याउने भन्नेमा स्पष्ट भएन । १८औँ शताब्दीमै फ्रान्सेली दार्शनिक जोसेफ डी मैस्त्रेले भनेका थिए, ‘समाजले आफ्नो हैसियतअनुसारको नेता पाउँछ । नेपालको समग्र राजनीति त्यसरी नै चलिरहेको छ भन्ने लाग्छ ।’