• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८१ जेठ १२ शनिबार ०८:२६:००
फिल्म

सफलता होइन, सन्तुष्टि रोज्छु

२०८१ जेठ १२ शनिबार ०८:२६:००
पवन बराइली

नेपाली चलचित्रका स्थापित अभिनेता हुन्, प्रदीप खड्का । ‘प्रेम गीत’ दर्शकले धेरै रुचाएको चलचित्रमध्ये पर्छ । ‘लिलि बिली’, ‘लभ स्टेसन’, ‘प्रकाश’, ‘पुजार सार्की,’लगायत लोकप्रिय चलचित्रमा अभिनय गरेका खड्काले आफ्नो कलाकारिता यात्राबारे पवन बराइलीसँग आत्मसमीक्षा गरेका छन् :

 

फिल्म क्षेत्रमा मेरो परिवारका कोही पनि थिएनन् । मलाई गाइड गर्ने मान्छे थिएनन् । फिल्मको हिरो बन्छु भन्ने मेरो दिमागमै थिएन । आफूलाई कुनै पनि एंगलबाट हिरो लाग्दैनथ्यो । स्कुल पढ्दासम्म जन्मिँदै हिरो भएर आउने होला भन्ने लाग्थ्यो । एसएलसी दिइसकेपछि मेरो फुर्सदिलो समय थियो । मलाई टेलिभिजनमा देखिनुपर्छ भन्ने लाग्थ्यो । टेलिभिजनमा गएपछि चर्चित भइन्छ भन्ने लाग्थ्यो । 


त्यसपछि मलाई टेलिभिजनमा प्रस्तोता बन्ने हुटहुटी जाग्यो । तर, प्रस्तोता बन्न सजिलो रहेनछ । टेलिभिजन प्रस्तोताको काम गर्नु आफैँमा गाह्रो रहेछ । त्यसपछि क्यामेरापछाडि काम गर्न थालेँ । टेलिभिजनमा रियालिटी सोको कार्यक्रम व्यवस्थापनको रूपमा काम गरेँ । 


मैले म्युजिक भिडियोमा खेल्न पनि कोसिस नगरेको होइन । भिडियोमा पनि एक्प्रेसन र लिप्सिङ गर्न मलाई निकै अप्ठ्यारो लाग्यो । फेरि म्युजिक भिडियो निर्देशनतिर लागेँ । तर, आफू पर्दा पछाडि मात्रै भएँजस्तो महसुस भयो । मलाई बाहिर देखिन मन लाग्यो, चर्चित बन्न मन लाग्यो । त्यसवेला चर्चामा आउने भनेको र्‍याम्प मोडलिङ थियो । र्‍याम्प मोडलिङ गर्दा मिडिया कभरेज पनि राम्रै हुन्छ भन्ने लाग्यो । तर, र्‍याम्प मोडलिङ गर्न जाँदा पनि हाइट पुग्दैन भनेर फर्काइदिए । अब के गर्ने ? निकै समय आफैँसँग मन्थन गरिरहेँ । 

मसँग रिसराग साँध्ने, लडाइँ झगडा गर्ने र द्वेष राख्ने समय हुँदैन । जीवनमा सन्तुष्ट भएरै बाँच्नुपर्छ भन्ने लाग्छ । तर, कसैले अस्तित्व स्वीकार गरेन भने फाइट पनि गर्नुपर्नेरहेछ । 


अब आफैँ फिल्म बनाउने योजना बनाएँ । सन् २०१०/११ तिरको कुरा हो । प्रड्क्सन हाउस आफैँले दर्ता गरेँ । आफैँले फिल्म कथा लेखेँ । त्यसपछि फिल्म ‘ठूलो मान्छे’ आफैँले निर्माण गरेँ । फिल्मको क्यारेक्टरसँग आफूलाई सुहाउँलाजस्तो नलागेर अभिनयचाहिँ गरिनँ । म निर्माताको भूमिकामै रहेँ । 


सुहाउँदो क्यारेक्टर खोजेर फिल्म बनाउनुपर्छ भन्ने लाग्यो । क्यारेक्टर खोजेर आफैँ फिल्म प्रोड्युस् गरेँ । फिल्म ‘स्केप’ निर्माण गरेँ । त्यसवेलासम्म फिल्म खेल्छु भनेर हिँडेको पाँच–सात वर्ष भइसकेको थियो । फिल्म खेल्नैपर्छ भनेपछि ‘स्केप’मा आफैँले पनि अभिनय गरेँ । फिल्म हलमा रिलिज भयो । त्यो फिल्म सोचेजस्तो भएन । त्यसपछि फिल्म क्षेत्र नै छोड्ने निर्णयमा पुगेँ । 


सन् २०१५ तिरको कुरा हो । अब यो क्षेत्रमा धेरै समय खर्चिन सक्दिनँ भन्ने सोच आयो । त्यसपछि विदेश जाने योजना
बनाएँ । त्यसैवेला भूकम्प गयो । केही समय भूकम्पले गर्दा रोकिएँ । त्यसवेला ‘प्रेमगीत’ फिल्मका लागि कलाकार चाहिएको रहेछ । कलाकारका लागि विज्ञापन छापिएको देखेँ । अडिसन दिने सोच बनाएँ । तर, म कुनै पनि कोणबाट हिरो हुन सक्दिनँजस्तो लाग्थ्यो । विदेश जानअघिको ६ महिना फुर्सदको समय मसँग थियो । आखिर समयको सदुपयोग हो भनेर अडिसन दिएँ । भाग्यवश म नै छानिएँ । फिल्म बनेर हलमा रिलिज भयो । त्यसपछि मलाई दर्शकले चिन्न थाले ।

 

मेरो कामलाई सबैजनाले मन पराइदिनुभयो । पाँच–सात वर्षदेखि फिल्ममा काम गर्ने भनेर चक्कर काटेर हिँडेको थिएँ । ‘प्रेम गीत’ले मलाई कलाकारको रूपमा चिनाइदियो । त्यसपछिचाहिँ मलाई अब नेपालमै टिक्न सक्छु भन्ने लाग्यो । डेढ वर्षपछि मैले ‘प्रेम गीत–२’ मा काम गरेँ । यो फिल्ममा मैले गरेको कामलाई दर्शकले रुचाइदिनुभयो । त्यसपछि मैले नेपालमै बस्ने निर्णय गरेँ । 

आजसम्मको जीवनयात्रामा मलाई कुनै ‘अफसोस’ छैन । केही अनुभव बटुलेको छु । जीवन छनोट रहेछ । तपाईंले जस्तो छनोट गर्नुहुन्छ जीवन त्यस्तै हुँदै जानेरहेछ । म फिल्ममा नभएको भए व्यवसायतिर जान्थेँ होला । मेरो जीवन त्यतैतिर बित्थ्यो होला ।


अवस्थाअनुसार आफूलाई अनुकूल बनाउँदै लगेँ । आजसम्मको जीवनयात्रामा मलाई कुनै ‘अफसोस’ छैन । केही अनुभव बटुलेको छु । जीवन छनोट रहेछ । तपाईंले जस्तो छनोट गर्नुहुन्छ जीवन त्यस्तै हुँदै जानेरहेछ । म फिल्ममा नभएकोभए व्यवसायतिर जान्थेँ होला । मेरो जीवन त्यतैतिर बित्थ्यो होला । मलाई गाइड गर्ने कोही पनि थिएनन् । म आफ्नै निर्णयअनुसार चल्दै आएँ । अहिले सम्झिँदा फिल्ममा आउने ठीकै निर्णय गरेछुजस्तो लाग्छ । यो दौरानमा कहिल्यै विचलित पनि भइनँ । 


१० वर्षअघिसम्म भेटेजति फिल्म गर्छु भन्ने लाग्थ्यो । त्यसवेलासम्म धेरै फिल्म गर्नु सफलताको मानक पनि मानिन्थ्यो । तर, मलाई संख्यात्मक रूपमा धेरै फिल्म खेल्न मन लागेन । अहिलेसम्म जतिवटा फिल्म गरेँ त्यसमा सन्तुष्ट छु । जीवनमा आफू खुसी भएपछि सफलता मिल्दो रहेछ । सफलता र असफलता भन्ने कुरा आफू खुसी छु कि छैन भन्ने कुराले मापन हुँदोरहेछ । फिल्म हिट/फ्लपले मानक नहुने रहेछ । फिल्मको मापन पैसा कति कमायो र गुमायो भन्ने पनि होइन रहेछ । जीवनमा थोरै सफलताले पनि खुसी मिल्दो रहेछ । त्यसैले म आफूभित्र खुसी हुन खोज्छु । 


आज म सक्रिय रूपमा फिल्म काम गर्न खोज्दै छु । मैले फिल्ममा पूर्ण रूपमा गरेको १० वर्ष भयो । यस अवधिमा मैले नौ–दशवटा मात्रै फिल्ममा काम गरेको छु । अहिले मैले एक वर्षका लागि चारवटा फिल्ममा साइन गरिसकेको छु । यो मैले सचेत भएर निर्णय गरेको हुँ । एक वर्ष सक्रिय भएर फिल्ममा काम गरेर हेर्छु । के हुँदो रहेछ त ? भन्ने सोच आयो । मैले सन् २०१८ मा प्रेम गीत–३ गरेँ । त्यसपछि झन्डै चार–पाँच वर्षमा मेरो एउटा मात्रै फिल्म आयो । अरूको भए पाँच वर्षभित्र आठ–दशवटा फिल्म भइसक्थ्यो होला । प्रेम गीत–३ को रिलिजपछि मात्रै कदम अघि बढाउने सोचमा थिएँ । त्यसरी नै आफूलाई अघि बढाइरहेको छु । जानेर–नजानेर म यहाँसम्म आइपुगेको छु । 


आजसम्मको यात्रामा मलाई बिगार्न खोज्नेहरू धेरै भेटाएँ । तर, त्यस्ता मान्छेहरूबाट सजग भएँ । मलाई बिगार्न खोज्नेहरूबाट जोगिएरै फिल्म क्षेत्रमा अघि बढिरहेँ । हरेक पाइला सचेत भएर चालेँ । त्यसबाट मलाई फाइदै भयो ।म सफलताको होइन, सन्तुष्टिको पछि लाग्छु । त्यसकारण मसँग रिसराग साँध्ने, लडाइँ–झगडा गर्ने र द्वेष राख्ने समय हुँदैन । जीवनमा सन्तुष्ट भएरै बाँच्नुपर्छ भन्ने लाग्छ । तर, कसैले अस्तित्व स्वीकार गरेन भने फाइट पनि गर्नुपर्नेरहेछ । त्यसैले मलाई कतिपयले छुचो, घमन्डी पनि भन्छन् होला, तर कतिपय अवस्थामा परिस्थितिलाई सम्हाल्न बोल्न बाध्य हुन्छु । सहन सक्ने क्षमता सबै मान्छेमा हुन्छ । तर, कतिसम्म सहने भन्ने पनि हुन्छ । तपाईंको जीवनमा अरूले जे गरे पनि सहने भन्ने हुँदैन । म सकेसम्म सहन्छु, तर सीमा नागेपछि सक्दिनँ । त्यसले मलाई नोक्सान पनि गर्छ । त्यसैकारण म आफ्नो अस्तित्व र आत्मसम्मानका लागि बोल्न बाध्य हुन्छु ।


जीवनमा विनम्र पनि हुनुपर्छ भन्ने लाग्छ । तर, मान्छेलाई विनम्रताको सीमा थाहा भएन भने झुकाइ नै रहने रहेछ । मचाहिँ जीवन छोटो छ, अरूसँग लडाइँ–झगडा गर्नुहुँदैन भन्ने विचारबाट प्रेरित छु । जो मान्छे आफू जीवनमा खुसी छैन, उसले अरुलाई पीडा दिने रहेछ । अरूलाई षड्यन्त्र गर्ने ऊसँग पर्याप्त समय हुँदोरहेछ । यो मेरो जीवनको भोगाइ हो ।