दक्षिण एसिया विश्वकै सबैभन्दा विविध मानव समुदायको घर हो । विभिन्न जातीय पहिचान, भाषा, धर्म, जात र रीतिरिवाजको मिश्रण भएको दक्षिण एसियामा एक अर्ब ५० करोडभन्दा बढी मानिस बसोवास गर्छन् । हालै वैज्ञानिकहरूले दक्षिण एसियाको मौजुदा जनसांख्यकीय विविधताबारे नयाँ खोज गरेका छन् ।
आधुनिक इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो सम्पूर्ण जेनोम (मानव कोषमा हुने अनुवांशिक निर्देशनको संग्रह)को विश्लेषण गरेको छ । र, यसको प्रकाशन यही अप्रिलको ‘बायोआरएक्सआइभी’मा प्रकाशित भएको थियो जसले भारतमा इरानी मूलका भारतीयको उत्पत्ति र पुरातन सिकार–संग्रहकर्ताले दक्षिण एसियामा बस्ती निर्माण गरेकोबारे नयाँ तथ्य सतहमा ल्याएको छ । अध्ययनले एक अप्रत्याशित खोजलाई पनि उजागर गरेको छ । अध्ययनले भारतमा निएन्डरथल मानव र तिनका नजिकका विकासवादी आफन्त डेनिसोभन्सका वंशाणुको आश्चर्यजनक विविधता पत्ता लगाएको छ ।
चाखलाग्दो कुरा के छ भने भारतमा यी प्राचीन मानव आफन्तको हालसम्म कुनै जीवाश्म भेटिएको छैन ।अनुसन्धानकर्ताले उल्लिखित वंशाणु भारतमा कसरी आइपुग्यो र ती भारतमा अहिलेसम्म किन मौजुद छ भनेर अनुमान गरिरहेका छन् । माथि उल्लेखित अध्ययनमा सहभागी नभएकी क्लेमसन विश्वविद्यालयका जनसंख्या आनुवंशिकीविद् केल्सी विट विश्वव्यापी आनुवंशिक अनुक्रम प्रयासले भारतलाई ठूलो मात्रामा बेवास्ता गरेको छ भनेर टिप्पणी गर्छिन् । अध्ययनका सन्दर्भमा ‘हामीले पहिले राम्ररी नबुझेको जनसंख्याका बारेमा धेरै नयाँ ज्ञान प्राप्त गर्दै छौँ,’ उनी थप्छिन् ।
अधिकांश भारतीय मुख्यतया तीन पैतृक जनसंख्याको मिश्रण हुन् । यी तीनमा पहिलो समूहमा हजारौँ वर्षदेखि भारतीय जमिनमा बसोवास गर्ने सिकार–संग्रहकर्ता हुन् । दोस्रो समूहमा इरानी मूलका किसान हुन् ईसापूर्व ४७०० र ३००० बीचमा भारतमा आएका थिए । तेस्रो समूहमा मध्य–युरेसियन स्टेप क्षेत्रका गोठाला समावेश छन् ।
अधिकांश भारतीयहरू मुख्यतया तीन पैतृक जनसंख्याको मिश्रण हुन् । यी तिनमा पहिलो समूहमा हजारौँ वर्षदेखि भारतीय जमिनमा बसोवास गर्ने सिकार–संग्रहकर्ता हुन् । दोस्रो समूहमा इरानी मूलका किसानहरू हुन् ईसापूर्व ४७०० र ३००० बीचमा भारतमा आएका थिए । तेस्रो समूहमा मध्ये यूरेसियन स्टेप क्षेत्रका गोठाला समावेश छन् जो ईसापूर्व ३००० पछि, सम्भवतः ईसापूर्व १९०० र १५०० को बीचमा भारतमा प्रवेश गरेका थिए । नयाँ अध्ययनमा क्यालिफोर्निया विश्वविद्यालय बर्कलेकी जनसंख्या आनुवंशिकीविद् प्रिया मुर्जानी (जसले यसअघिको अनुसन्धानको सहनेतृत्व पनि गरेकी थिइन्) र उनका सहकर्मीले यी तीन पैतृक जनसांख्यकीय समूहको पहिचानको पुष्टि गरेका छन् । यी अनुसन्धानकर्ताले अघिल्लो अध्ययनको तुलनामा आधुनिक भारतीयको उल्लेखनीय रूपमा ठूलो नमुना प्रयोग गरेर नयाँ ज्ञान प्रस्तुत गर्छन् ।
लंगिट्युडनल एजिङ स्टडिज इन इन्डिया–डायग्नोस्टिक एसेस्मेन्ट डिमेन्सिया(लासी–डाड) तथ्यांक प्रयोग गर्दै मुर्जानी टोलीले दुई हजार सात सयभन्दा बढी आधुनिक भारतीय जिनोमलाई क्रमबद्ध गरेको थियो । यो नमुना विगतको अनुसन्धान भन्दा धेरै ठूलो हो र यसले लगभग हरेक भौगोलिक क्षेत्रका व्यक्ति, सबै प्रमुख भाषा समूहका वक्ता, र विभिन्न जनजाति एवं जातका सदस्यलाई समेटेको छ ।
हजारौँ वर्ष पहिले यस क्षेत्रमा बसाइँ सरेका इरानी मूलका किसानका बारेमा थप जानकारीका लागि अन्वेषकहरूले इरानी वंशका समूहबाट प्राचीन डिएनएको विश्लेषण गरेका थिए जुन यी मानिसको भारतमा आगमनभन्दा पहिलेको थियो । त्यसपछि हालका भारतीयमा अवलोकन गरिएका ढाँचासँग कसको वंशाणु सबैभन्दा राम्रोसँग मेल खान्छ भनेर पहिचान गर्न सिमुलेसन विधि अपनाइएको थियो । सबैभन्दा नजिकको मेल अहिले उत्तर–पश्चिम ताजिकिस्तानमा रहेको पुरानो कृषि केन्द्र साराजमका किसानसँग मिल्न गएको थियो । यी किसानले गहुँ र जौको खेती गर्थे, गाईबस्तु पाल्थे र युरेसियाभरि व्यापक व्यापारमा संलग्न थिए ।
चाखलाग्दो कुरा के छ भने, साराजमका एक प्राचीन व्यक्तिसँग भारतीय वंशको अंश थियो र अर्को व्यक्तिलाई प्राचीन भारतका जस्तै सिरेमिक ब्रेसलेटले गाडिएको थियो । ‘यसले सीधै दुई संस्कृतिलाई जोडेको छ र देखाएको छ कि मिश्रण एकतर्फी मात्र थिएन,’ मुर्जानी बताउँछिन् ।
सेन्ट लुइस, वासिङटन विश्वविद्यालयका पुरातत्वविद् माइकल फ्रेचेटी यो अध्ययनमा संलग्न भएका थिएनन् र उनी यसलाई ‘निकै आकर्षक’ ठान्छन् । साराजम एक प्रमुख केन्द्र थियो जहाँबाट खेतीपाती, घरपालुवा जनावर र मानव वंशाणु कस्मिर र उत्तर–पश्चिमी भारतमा फैलाइएको थियो । ‘यसले महत्वपूर्ण कथा भन्छ, पहिलेको समयमा समाज अहिले हामीले सोचेको भन्दा धेरै अर्थले जोडिएका छ,’ उनी भन्छन् ।
यद्यपि, स्टेपबाट आएका गोठालाजस्ता अन्य पुर्खाबारे ‘अस्पष्टता’ छ, बनारस हिन्दु विश्वविद्यालयका जैविक मानवशास्त्री ज्ञानेश्वर चौबे बताउँछन् । भारतबाट पुरानो डिएनए नमुनाको अभावको अर्थ विश्लेषणबाट केही पुरातन स्रोत हराइरहेको हुन सक्ने उनको भनाइ छ ।
परापूर्व समयमा जाँदै गर्दा मुर्जानी र उनका सहकर्मीले प्रागैतिहासिक बसाइँसराइ र अन्तर्क्रियाबारेमा आश्चर्यजनक ज्ञान फेला पारेका छन् । आधुनिक मानवले लगभग ८० हजार वर्ष पहिले भारतमा पाइने ढुंगाका औजार बनाएका थिए र तिनले वर्तमान जनसंख्यामा आनुवंशिक प्रभाव छोडेका छन् कि छैनन् भनेर विद्वान्हरूले लामो समयदेखि बहस गर्दै आएका छन् । यद्यपि, सम्बद्ध अवशेष नभएका कारण अनुसन्धानकर्ताले यी औजारको सर्जक पहिचान गर्न असमर्थ छन् ।
अध्ययनका अनुसार प्रारम्भिक औजार निर्माताको विरासत वर्तमान समयका व्यक्तिमा देखिन्छ । पुस्तौँबीचको आनुवंशिक उत्परिवर्तनदर अनुमान गरेर र भारतको आधुनिक जनसंख्यालाई यसको वर्तमान आनुवंशिक विविधता प्राप्त गर्न लाग्ने समय निर्धारण गरेर मुर्जानी र उनको टोलीले आजका भारतीयका पुर्खा लगभग ५० हजार वर्ष पहिले अफ्रिकाबाट एकल बसाइँसराइबाट आएका थिए भन्ने सुझाव दिन्छन् ।
यसबाहेक अन्वेषकले आधुनिक व्यक्तिमाथिको अध्ययनको नमुनाको एकदेखि दुई प्रतिशतको पुर्खा निएन्डरथल र तिनका आफन्त डेनिसोभान्ससँग जोडिन्छ । र, अन्य विश्वव्यापी जनसंख्याको तुलनामा भारतीयसँग यी प्राचीन वंशाणुको उल्लेखनीय विविधता छ ।
मानव जनसंख्यामा पाइने सबै निएन्डरथल वंशाणुमध्ये करिब ९० प्रतिशत अध्ययन गरिएका दुई हजार सात सय भारतीय जिनोममा रहेका छन् । यो आइसल्यान्डमा निएन्डरथल डिएनएको अध्ययनमा पत्ता लागेकोभन्दा लगभग ५० प्रतिशतले बढी हो जहाँ दुई हजार सात सयभन्दा बढी जिनोमको विश्लेषण गरिएको थियो । अन्वेषकले निएन्डरथल र डेनिसोभन्सबाट विरासतमा प्राप्त नयाँ सम्भावित वंशाणु पनि इंगित गरेका थिए जसले आफ्ना सन्ततिलाई विकासवादी फाइदा प्रदान गरेको हुन सक्छ । यद्यपि, यी फाइदा के हुन सक्छन् भनेर निर्धारण गर्न तुरन्तै सकिँदैन ।
मुर्जानीका अनुसार पुरातन मानवले भारतीय उपमहाद्वीपमा पुरातन आफन्तको ठूला र आनुवंशिक रूपमा विविध जनसंख्याको साथ अन्तक्र्रिया गरेका हुन सक्छन् । यद्यपि, यी आफन्तको कुनै जीवाश्म फेला परेका छैनन् । अर्को विश्लेषणअनुसार भारतको व्यापक भौगोलिक सीमा र नजिकका नातेदारसँग विवाह गर्ने सांस्कृतिक अभ्यासले अन्य क्षेत्रको तुलनामा निएन्डरथल डिएनएको फरक खण्ड संरक्षित भएको हुन सक्छ । यी अनिश्चितता समाधान गर्न, अनुसन्धानकर्तालाई थप आनुवंशिक र पुरातात्विक अनुसन्धान आवश्यक छ । केल्सी विट यस मुद्दाको जटिलतालाई जोड दिँदै ‘विभिन्न जनसंख्या अन्तर्घुलन भएका धेरै सम्भावित परिदृश्य छन् जसले यसबारेमा स्पष्ट खोज्नु चुनौतीपूर्ण छ,’ भन्छिन् ।
(प्राइस साइन्सका समाचार सहसम्पादक हुन् उनी मानवविज्ञान, पुरातत्व, र मानव विकासबारे कलम चलाउँछन् । अनुवाद : दिनेश पन्त)