• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
अन्वेषण अधिकारी
२०८१ जेठ १२ शनिबार १०:१०:००
खेल

कर्णालीमा अन्तर्राष्ट्रिय धावक जन्माउने ‘गुरु’

२०८१ जेठ १२ शनिबार १०:१०:००
अन्वेषण अधिकारी

हरिबहादुर रोकाया नेपालका कीर्तिमानी धावक हुन् । हाई अल्टिच्युडमा सबैभन्दा छिटो कुद्ने विश्व कीर्तिमान गिनिज बुकले सन् २००० मा उनको नाममा दर्ज गर्‍यो । जुम्लामा लामो समय खेलाडीलाई प्रशिक्षण दिएका रोकायाले गत वर्ष पुसमा अवकाश पाएका छन् । तर, उनी अहिले पनि स्वयंसेवक प्रशिक्षकका रूपमा कार्यरत छन् ।  कर्णालीमा जन्मिएर अन्तर्राष्ट्रिय मन्जिल चुमेका रोकायाले कर्णालीमै खेलाडी जन्माउन अहोरात्र मिहिनेत गरिरहेका छन् । अन्वेषण अधिकारीसँगको कुराकानीमा उनले आफ्नो खेलजीवन र दुर्गममा खेलाडी उत्पादन गर्दाको अनुभव यसरी साटे:

 

जुम्लामा जन्मिएर ओलम्पिक खेल्नु चानचुने कुरा थिएन । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दाको समय म काठमाडौंमा बसेर प्रशिक्षणमा सहभागी हुन्थेँ । अन्य समय जुम्लामा हुन्थेँ । ०५२ सालदेखि जुम्लामै बसेर खेलाडी उत्पादन गर्न थालेको हुँ । कतिपय खेलाडीहरू यस अवधिमा विदेश पलायन भए । मलाई पनि प्रस्ताव नआएको होइन । तर, विदेशको मोहले तानेन । एक छाक खाएर भए पनि देशमै बस्नुपर्छ भन्ने लाग्यो । 


हुनत काठमाडौंमै बसेर प्रशिक्षण गराउन पनि मलाई खासै समस्या थिएन । तर, सबै काठमाडौं बस्ने, गाउँमा राम्रो मानिस नबस्ने भएपछि खेलाडी कसरी उत्पादन हुन्छ भन्ने लाग्यो । जुम्लाबाटै दौडेर अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुगेको हुनाले भोलिका दिनमा पनि जुम्लामै खेलाडी उत्पादनमा लाग्नुपर्छ भन्ने लाग्यो । 


तर, जुम्लामा खेलाडीको परिवारलाई नियमित प्रशिक्षणका लागि कन्भिन्स गर्न नै गाह्रो थियो । खेलेर मात्रै के पाइन्छ भन्ने सोच अधिकांश परिवारमा थियो । बिस्तारै यो परिवर्तन हुँदै गयो । मैले गिनिज बुकमा रेकर्ड राखेपछि खेलेर पनि केही हुने रहेछ भन्ने सोच धेरैमा विकास भएको पाएँ । अहिले स्कुल बिदा हुँदा धेरैजना प्रशिक्षणमा आउँछन् । अन्यथा बिहान–बेलुकी थोरै खेलाडी (१९ देखि २५ जनासम्म) आउँछन् । 

देशलाई चिनाउन पाउँदा र आफैँ चिनिन पाउँदाको क्षण सम्झँदा खुसी लाग्छ । योभन्दा धेरै खुसी आफैँले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल जित्दा हुने रहेछ । 


एभरेस्ट म्याराथनमा वल्र्ड रेकर्ड 
मैले २०३९ सालदेखि एथलेटिक्स खेल्न थालेको हुँ । दुई वर्षपछि राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा खाली खुट्टा दौडेरै दुइटा पदक जितेँ । २०४४ र २०४५ मा दुईपल्ट उत्कृष्ट खेलाडी भएँ । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न इन्डोनेसिया गएको थिएँ । यहाँ सानो प्लेन मात्रै देखेको, त्यहाँ ठूलो प्लेन चढ्दा त अचम्मै लाग्यो । बैंककमा गोल्ड मेडल जित्दा म ढलेको थिएँ । पाँच हजार र १० हजारमा मेडल जितेको थिएँ । म ढलेकाले पुरस्कार अर्कैैले थापिदियो । यो एउटा क्लबले आयोजना गरेको आमन्त्रण गेम थियो । १३ देशले भाग लिएका थिए ।तापक्रम उच्च भए पनि प्रतिस्पर्धा अवधिभर दौडिएर स्वर्ण जितेँ, तर रेस पूरा गर्नासाथ सहन नसकेर ढलेँ । कुद्दा त शरीर नै पाकेजस्तो भएको थियो । 


सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा नेपालको झन्डा बोक्न पाएँ । दौडिएर म्याराथन पूरा गरेँ । यहाँ दौडिँदा गर्मीले बान्ता नै भएको थियो । शरीर नै पाकेजस्तो भए पनि दौडन छोडिनँ । त्यहाँ श्रीलंकाली खेलाडीलाई पछि पार्न पाएँ, त्यसैमा खुसी थिएँ । किनकि, दक्षिण एसियामा श्रीलंका त्यतिवेला निकै बलियो थियो । तीनपटक साफ गेम खेलेँ । यसमध्ये १९८३ मा कलकत्तामा कास्य पदक जितेँ । 


त्यतिवेला खेलाडी उत्पादनसँगै आफैँ पनि दौडमा सक्रिय थिएँ । जुम्लाको पहाडी भूभागमा दौडिएकाले मलाई अल्ट्रा म्याराथनमा सहज भयो । सन् १९९७, १९९९ र २००० मा एभरेस्ट म्याराथन जित्नुको एउटा कारण यही थियो । १७ हजार फिटबाट सुरु भएर ११ हजार ३ सय फिटमा आएर एभरेस्ट म्याराथन टुंगिएको थियो । १९९९ मा ३ घन्टा ५६ मिनेट १० सेकेन्ड र २००० मा ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गरेको थिएँ । हाई–अल्टिच्युडमा छिटो कुद्ने विश्व कीर्तिमान गिनिज बुकमा लेखाउन सकेँ । यसमा धेरै खुसी लाग्छ । 


२००३ मा पनि मैले एभरेस्ट म्याराथनमा प्रतिस्पर्धा गरेको थिएँ । तर, हाई लागेर राम्ररी दौडन सकिनँ । आफ्नै पुरानो रेकर्ड तोड्छु भनेर कडा मिहिनेत गरेको थिएँ । बिहान जुम्लाबाट दौडिएर रारा पुगेर बेलुकी फर्किन्थेँ । ४९ किलोमिटर जान र ४९ किलोमिटर फर्कन गरेर कुल ९८ किलोमिटर दैनिक कुदेको थिएँ । मैले यतिवेला पनि ४० वर्षमाथिको दौड जितेँ । तर ४० वर्षमुनिको दौड जित्न सकिएन । उमेरको ख्याल गर्दै यसपछि खेलाडी जीवनबाट सन्न्यास लिएँ । 


त्यसपछि प्रशिक्षणमा अझै धेरै ध्यान केन्द्रित भयो । जुम्लामा म एक्लो एथलेक्टिस प्रशिक्षक हुँ । गत पुसमा अवकाश पाइसके पनि मलाई अझै धेरै सक्रिय रहन मन छ । शरीरले साथ दिएसम्म प्रशिक्षण गराइरहन मन छ । त्यहीकारण मैले प्रशिक्षण गराउन छाडेको छैन । 


खेलाडी छँदा बैंकक र सिंगापुरमा पनि मेडल जितियो । देशलाई चिनाउन पाउँदा र आफैँ चिनिन पाउँदाको क्षण सम्झदा खुसी लाग्छ । योभन्दा धेरै खुसी आफैँले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल जित्दा हुने रहेछ । अहिले पनि २०–२५ जना खेलाडीलाई प्रशिक्षण गराइरहेको छु । जुम्लामा खेलाडी उत्पादन गर्न सहज छैन । यहाँ ट्र्याक छैन, जसका कारण खेलाडीले स्पाइक सुज लगाएर दौडन पाउँदैनन् । साधारण जुत्ताकै भरमा कुद्नुपर्छ । रंगशाला नभएकाले उनीहरूलाई कुद्दा धेरै डिस्टर्ब हुन्छ । 


पछिल्लो समय सुप्रदियन सहायता संस्थाले पाँच खेलाडीलाई जनही पाँच हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । ट्र्याकसुट र जुत्ताको व्यवस्था पनि उसैले गरिदिएको छ । यसले निकै राम्रो भइरहेको छ । त्यस्तै, २०६४ सालमा स्थापना भएको कर्णाली स्पोर्टस् क्लबले पनि यहाँ खेलाडी उत्पादनका लागि निकै मेहिनेत गरिरहेको छ । यही क्लबमा आबद्ध भएर खेलाडीहरूले आफ्नो यात्रा थाल्छन् । 


म खेलाडी छँदा स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बार्सिलोना, कोरिया, मलेसियालगायत देशमा गएर कुदेँ । विदेशमा र हाम्रोमा सेवा–सुविधा फरक छ । नेपाली खेलाडीलाई सेवा–सुविधा बढाउन आवश्यक देख्छु । राम्रो सेवा–सुविधा र प्रशिक्षण पाएमा नेपाली खेलाडीले पनि ओलम्पिकजस्ता प्रतियोगितामा मेडल जित्न सक्छन् । विदेशीहरूले ८–१० वर्षसम्मको विशेष योजना बनाएर खेलाडीलाई प्रशिक्षण क्याम्पमा राखेका हुन्छन् । उनीहरूलाई सेवा, सुविधा, भत्ताको व्यवस्था गरिएको हुन्छ । चिकित्सक, डाइटिसियनहरू खटिएका हुन्छन् । 


हाम्रोमा गेम आउँदा मात्रै राम्रो डाइट खान दिइन्छ । घर फर्किएपछि फेरि ट्रेनिङ र डाइट छुट्छ र खेलाडीको प्रदर्शन खस्कन थाल्छ । केही महिना तयारी गरेकै भरमा ठूला प्रतियोगिता जित्न सकिँदैन । कम्तीमा ८–१० वर्षको तयारी गराउने हो भने नेपालीले पनि एथलेटिक्समा राम्रो गर्न सक्छन् । 


हाम्रोमा आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्धबाहेक अन्य खेलाडीले नियमित ट्रेनिङ नै गर्न पाउने अवस्था छैन । १६ वर्षमाथिको खेलाडीलाई अहिले राम्रो तयारी दिने हो भने २४ वर्षसम्म पुगेर मेडल जित्छन् । तर, त्यो गरेर देखाउनुपर्‍यो । राज्यले यसका लागि पहल गर्नुपर्छ । विदेशमै प्रतिस्पर्धा गराउने र अभ्यास गराउने व्यवस्था गर्नुपर्छ । विदेशमा जस्तै स्पोर्टस् स्कुल खोेलेर खेलाडीलाई पढ्न र खेल्न मिल्ने व्यवस्था मिलाउन सके राम्रो हुने थियो । तर, यसतर्फ कसैले पहल गरेको देखिँदैन । 


जुम्ला र काठमाडौं 
जुम्लामा अझै अवस्था जटिल छ । काठमाडौंमा जस्तो फिजियोथेरापिस्ट, पर्याप्त पूर्वाधार, योजना केही पनि छैन । अहिले कतिपय खेलाडी यार्चागुम्बा टिप्न गइसकेका छन् । उनीहरू फर्किएर आउँदा जिरो भइसक्छन् । आर्थिक मन्दी छ, खेलाडीलाई बन्देज गर्न पनि सकिँदैन । जुम्लामा खेलकुद पूर्वाधार विकासमा विशेष ध्यान दिन जरुरी छ । यहाँ रंगशाला बनाएर अल्टिच्युड ट्रेनिङ गराउन सकिन्छ । अन्य क्षेत्रका खेलाडीलाई पनि यहाँ लगेर अभ्यास गराउन सकिन्छ । तर, त्यसतर्फ कसैले सोचेजस्तो देखिँदैन । जुम्लामा प्रदूषण छैन । स्वच्छ हावापानी छ । अक्सिजन पर्याप्त आउँछ । खेलाडीका लागि एउटा ट्र्याकसम्म भए पनि प्रशिक्षणमा सहयोग पुग्ने थियो । 


खुला ठाउँमा कुदेको खेलाडीलाई काठमाडौं आएर ट्र्याकमा कुद्न अप्ठेरो पर्ने गर्छ । यसले प्रदर्शनमा पनि प्रभाव पार्छ । जुम्लामा ढुंगाले पनि खेलाडीलाई असर गर्छ, रोडमा कुद्दा पानी जमेको हुन्छ । डिस्टर्ब धेरै भएकाले स्पिडमा असर गर्छ । वरपर अरू मानिस पनि हिँडिरहेका हुन्छन्, हेरेर कुद्नुपर्ने बाध्यता छ । दुर्घटना होला भन्ने पनि डर हुन्छ । खेलाडीले राम्रो प्रदर्शन गर्नका लागि पूरै फोकसमा कुद्न जरुरी हुन्छ । यसका लागि ट्र्याक अत्यावश्यक छ । 


प्रशिक्षकको सख्ंया पनि थप गर्न जरुरी छ । जुम्लामा प्रतियोगिता आयोजना पनि कमै मात्र हुन्छन् । वर्षको एकपल्ट राष्ट्रपति रनिङ सिल्ड हुन्छ । हामीले जुम्ला–रारा म्याराथन पनि गरिरहेका छौँ । विदेशी खेलाडी पनि आउने भएकाले अल्ट्रा दौडमा यसले राम्रो ख्याति कमाइरहेको छ ।मैले जुम्लामा जन्मिएर पनि ओलम्पिक खेल्न पाएँ । जुम्लाकै देवु थापा (जुडो) र विश्वरुपा बुढा (एथलेटिक्स–जुनियर ओलम्पिक) खेले । मेहिनेत गरे भविष्यमा अन्य खेलाडीले पनि ओलम्पिक खेल्न सक्छन् । 

 हरिबहादुरले जन्माएका खेलाडी 
 सुनमाया बुढा : सुनमाया अल्ट्रा धावकका रूपमा प्रख्यात छिन् । उनले फ्रान्समा अल्ट्रा रेस ब्लांक (युटिएमबी) को एक सय किलोमिटर विधामा रजत जितिन् । त्यसअघि थाइल्यान्डमा अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएकी थिइन् । उनले नेपालमा क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेकी छिन् । 


राममाया बुढा : राममाया बुढा नेपाल प्रहरीबाट खेल्छिन् । उनले देशभित्र हुने विभिन्न म्याराथन प्रतियोगिताको उपाधि जितिसकेकी छिन् । उनी भारतको नागाल्यान्डमा क्रसकन्ट्री च्याम्पियनसिपमा यू–२० तर्फ दोस्रो भएकी थिइन् ।


दुर्गाबहादुर बुढा : दुर्गाबहादुरले आठौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा स्वर्णपदक जितेका थिए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन हजार मिटर स्टिपल चेस पुरुषतर्फ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । अहिले बुढाले विभिन्न अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । 


कल्पना बुढा : भर्खरै मात्र उनले थाइल्यान्डमा एसियाली यू–२० एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिन् । उनी १४औँ राष्ट्रपति रनिङ सिल्डमा १५ सय मिटर दौडमा स्वर्ण विजेता हुन् ।


राजन रोकाया : नेपाली सेनाका राजन रोकायाले केही समयअघि मात्रै पोखरा म्याराथन जितेका थिए । उनले चीनमा भएको एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । 


विश्वरूपा बुढा :  जुनियर ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी विश्वरूपाले त्यसयता विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितिन् । उनी अहिले नेपाली सेनामा छिन् ।


राज्यलक्ष्मी रावल : रावलले राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छिन् । दुई महिनाअघि मात्रै उनले रुकुममा गुरिल्ला अल्ट्रा म्याराथन जितेकी थिइन् । जुम्ला–रारा अल्ट्रा म्याराथनमा उनी दोस्रो भएकी थिइन् । 


दलबहादुर कुँवर : चौथो जुम्ला–रारा म्याराथन जितेका कुँवर अल्ट्रा म्याराथनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् । २१ वर्षीय कुँवरलाई अल्ट्रा म्याराथनमा उदीयमान खेलाडीका रूपमा लिइन्छ । 

राजपुरा पछाई : राजपुरा नेपाल प्रहरीबाट खेल्छिन् । केही समयअघि उनले पोखरा म्याराथनमा पदक जितेकी थिइन् । उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेकी छिन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरेकी छिन् । 

मन्जु रावत : चौथो संस्करणको जुम्ला रारा म्याराथनमा प्रथम र एभरेस्ट म्याराथनमा दोस्रो भएकी रावत अल्ट्रा म्याराथनमा उदीयमान खेलाडीका रूपमा चिनिन्छन् । 


पूर्णलक्ष्मी न्यौपाने : धावक पूर्णलक्ष्मी नेपाल आर्मीबाट खेलिरहेकी छिन् । उनले विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा पदक जितेकी छिन् ।