• वि.सं २०८२ असार १५ शनिबार
  • Saturday, 28 June, 2025
शिवहरि घिमिरे 
२०८१ जेठ १९ शनिबार ०६:१६:००
समाज

मुटुलाई मनपर्छ सरलता

२०८१ जेठ १९ शनिबार ०६:१६:००
शिवहरि घिमिरे 

बिग्रँदो जीवशैलीको कारणले नेपालमा मात्रै होइन, संसारमै मुटुरोगीको संख्या बढिरहेको छ । तर, सचेत वर्गमा मुटुरोगको सम्भावना निकै कम देखिएको पाइन्छ । विशेष गरी विकसित राष्ट्र जहाँ सुविधा बढी छ त्यहाँका मानिसहरू बढी सचेत भएर मुटुरोगको जोखिमलाई न्यून गर्नेतिर गएको पाइन्छ । चुरोट र अल्कोहल प्रयोग नगर्नेे, सरकारले पनि खराब वस्तुहरू कम खान पे्ररित गर्ने, फास्टफुडमा अनुगमन गरी गुणस्तरीयता कायम गर्ने कार्य राज्यले गरेको पाइन्छ ।

 

मुटुरोग बढाउने वा मुटुलाई हानि पुर्‍याउने खानेकुरा चुरोट र अल्कोहल मात्रै पनि होइन, हाम्रो दैनिक जीवनको सबै क्रियाकलाप नै जोडिन्छन् । जस्तै नुन, चिनी, अमिलो, चिल्लो, पिरो खानेकुराले पनि मुटुरोग निम्त्याउँछ । यति मात्रै भएर हुँदैन मानिसको तन–मन पनि स्वस्थ हुनुपर्छ । खानेकुरामा गुणस्तरीयता कायम गर्न विकसित राष्ट्रमा कानुन छ, मापदण्ड छ, त्यो सबैले पालना गर्नुपर्छ । तर, अविकसित र गरिब राष्ट्रहरूले यसबारे सचेत छैनन् । उनीहरूले खानकीमा ध्यान दिइएको पाइँदैन । तथ्यांक नै हेर्ने हो भने नेपालमा नसर्ने रोग मुटुरोगबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । झन्डै नेपालमा दुईतिहाइ मृत्यु नसर्ने रोगबाट भइरहेको छ । जसमा मुटुरोग प्रमुख कारणको रूपमा देखापरेको छ । यदि हामीले सचेत जीवनशैली बनाएनौँ भने मुटुरोग दिनप्रतिदिन बढ्ने नै हो । 


मुटुरोगबाट पीडित उमेरसमूह 
मुटुरोग लाग्नुको मुख्य कारण वर्षाैँदेखि बिग्रिएको जीवनशैली हो । मानिसलाई एकैपटक सीधै हृदयाघात हुँदैन, तर त्यो हृदयाघात हुनलाई धेरै वर्षदेखिको जीवनशैलीले भूमिका खेल्छ । स्वास्थ्यका बारेमा हामीले वास्ता नगरेर मात्रै मुटुरोग हुने हो । अचानक हुँदैन । कसैको ३० वर्षको उमेरदेखि जीवनशैली नराम्रो छ, उसको बिपी, सुगर र कोल्डस्टोर पनि बढ्दै गइरहेको छ भने अब उसलाई ४५–५० वर्षको उमेरमा पुग्दा मुटुरोग लाग्ने हो । अधिकांश पुरुषमा हृदयाघात तथा मुटुसम्बन्धी रोग ५० वर्षपछि देखिएको पाइन्छ भने महिलामा ५५–६० वर्षपछि यस्तो समस्या देखिन सक्छ । तर, विकसित राष्ट्रहरूमा यतिधेरै जोखिम छैन । नेपाल र भारतजस्ता देशहरूमा मुटुरोगीको संख्या धेरै हुनुको कारण खानपिन नै हो ।

जीवनमा खुसी रहन सक्ने जीवनशैली अपनाउनुपर्छ । यसले कहिल्यै दुःखी र रोगी बनाउँदैन । 

 

हामीले आयातीत खानेकुरा र स्थानीय खानेकुरा सबै मिक्स गरेर खाइरहेका छौँ । एकातिर पिजा, बर्गर पनि खाइरहेका छौँ, अर्कातिर यहाँको स्थानीय कुरा खाइरहेका छौँ । अहिलेका युवाले विशेष गरी खान्कीमा ध्यान दिइएको पाइँदैन । मानिससँग जब पैसा हुन्छ तब उसले मीठो खान पाऊँ भन्ने सोच्छ । हाम्रो परिवेशमा पनि पैसा हुनेबित्तिकै रेस्टुरेन्टमा जाने खाने रमाउने चलन बढिरहेको छ । अझ खानेकुरामा मदिरा, चुरोट र मासुका परिकार बढी खाइन्छ । पछिल्लो समय रेस्टुरेन्टहरूमा अनहेल्दी खानेकुराको बिगबिगी छ । विशेषगरी, सहरमा बस्ने र युवाहरूको स्वस्थ खानपानले बिगारिरहेको छ । 


हानिकारक खानेकुरा
मुटुरोग तपाईंले के खानुहुन्छ र कसरी खानुहुन्छ भन्ने कुरासँग पनि जोडिन्छ । रोग लाग्नु पहिले नै हामीले आफ्नो बानी परिवर्तन गर्न जरुरी छ । बिहान मैदाको बिस्कुट र चियाँ खानु राम्रो होइन । यो हानिकारक हो । त्यसपछि घरमा खाना खाएपछि दिउँसो रेस्टुरेन्टमै मःमः वा चाउमिन खाने बानी धेरैमा छ, तर मःमः र चाउमिनले पनि राम्रो गर्दैन । चाउचाउ, कोल्ड ड्रिंग्स, मःमःजस्ता चिज पनि खाने र भात पनि टन्न खाने हो भने शरीरमा कार्बोहाइडे«ड बढी हुन्छ । यदि हामीले दैनिकीमा सोच्यौँ, खानेकुरामा सचेत भयौँ भने त्यसले मुटु र समग्र स्वास्थ्यलाई फाइदा पुग्छ । व्यक्तिले चाह्यो भने योजना र व्यवस्थापन गर्न सक्छ, तर आफ्नो शरीर र खानेकुराबारे धेरैले बेवास्ता गरेको पाइन्छ । फेरि आज खाएर भोलि रोग लाग्ने होइन । १०–१५ वर्षपछि असर देखिने हो । समष्टिगत रूपमा हाम्रो खानपान बिग्रिएको छ ।


मुटुलाई मन पर्छ सिम्पल खानेकुरा 
मुटुलाई सबै कुरा सिम्पल मन पर्छ । मानिसले साधारण जीवनशैली अपनाउनुपर्छ । वाकिङ बढी गर्ने, गाडी–घोडा कम प्रयोग गर्ने, खानेकुरा साधारण खानुहुन्छ भने मुटु राम्रो हुन्छ । कुनै समय गाउँमा धनी मानिसले चामलको रोटी खाने र अलि गरिब मानिसले कोदोको रोटी खाने गर्दथे । अब अहिले कोदोको रोटी धेरैलाई राम्रो लाग्न थाल्यो । अर्को कुरा हिँड्ने र साइकल चलाउने मानिसको मुटु र स्वास्थ्य राम्रो हुन्छ । यसबाहेक जीवनका जसलाई कुनै महत्वाकांक्षा छैन, अरूको लहडमा लागेको छैन, घर, गाडी र भौतिक सम्पत्तिमा ज्यादा मोह छैन, तनाव, रापताप कम छ र खानेकुरा पनि सिम्पल छ भने उसको स्वास्थ्य ठीकठाक हुन सक्छ । ऊ धेरै खुसी हुन सक्छ । मानिस खुसी हुनेबित्तिकै उसका कैयाैँ रोग भाग्छन् । उसलाई प्रेसर हुँदैन, सुगर हुँदैन, कोल्ड स्टोर हुँदैन । त्यसकारण, जीवनमा खुसी रहन सक्ने जीवनशैली अपनाउनुपर्छ यसले कहिल्यै दुःखी र रोगी बनाउँदैन । 


जागिरे मानिसले कसरी तनाव कम गर्ने ?
काठमाडौंका धेरै स्कुलमा पढाउने युवाहरू, जसले दुई–तीन ठाउँमा पढाउनुहुन्छ, दुई–तीन ठाउँमा काम गर्नुहुन्छ, बढी दौडधुप गर्ने र अनावश्यक तनाव लिने गर्नुहुन्छ, छोटो समयमा ठूलो सफलता हात पारेको छ वा अनपेक्षित लाभ पाएको छ, उहाँहरूमा सुगर, प्रेसर र कोल्ड स्टोर धेरै हुन सक्छ । कतिपयलाई जाँच नगरेर थाहा नभएको होला, तर जाँच गर्ने हो भने धेरैमा स्वास्थ्य समस्या देखिन्छ । म यो कुरा बिरामी जाँच गरेको आधारमा भन्दै छु । त्यसकारण, काम गर्ने तनाव नलिने, महत्वाकांक्षा नराख्ने, बढी दौडधुप नगर्ने, स्वास्थ्य परीक्षण गर्ने गर्‍यो भने रोग लाग्ने सम्भावना कम हुन सक्छ । 


जीवनशैली बिगार्दै सामाजिक सञ्जाल 
कोही बिरामी मकहाँ जचाउन आउनुहुन्छ । उहाँलाई आधा वा एक घन्टा कुर्नुपर्‍यो भने गाह्रो लाग्छ । यो सबैजसोलाई हुने कुरा हो । ट्राफिक जाममा दुई–तीन मिनेट कुर्दा रिस उठ्छ । तर, हामी सबैतिरबाट जुन समय बचाइरहेका छौँ त्यो समय कहाँ गइरहेको छ ? घर चाँडो पुग्नु छ, बाटोमा हतारमै देखिन्छौँ, आखिर घर पुगेपछि त्यही मोबाइल चलाउने हो, सबैतिरबाट समय बचाएर अहिले अधिकांशले मोबाइलमै समय दिइरहेका छन् । यदि म घरमा आएर परिवारसँग बस्ने हो र कुराकानी गर्ने हो भने पर्याप्त समय हुन्छ । तर, सामाजिक सञ्जालतिर सबैको ध्यान हुन्छ । मुख्य त सामाजिक सञ्जालका कारण स्ट्रेस बढेको छ । किनभने दैनिक एकजना मानिसको चार घन्टा समय त मोबाइलले खान्छ । यो तथ्यांक एउटा विदेशी अध्ययनले देखाएको हो ।

 

मोबाइल आउनुअघि त्यो चार घन्टा काम वा परिवार वा बाटोमा वा मनोरञ्जनमा बित्थ्यो होला । तर, अचेल त्यो चार घन्टा मोबाइलमै बिताएका छौँ । अर्को कुरा, मोबाइलमै पनि हामीले कस्तो सामग्री हेरिरहेका छौँ । हामीलाई रिस उठाउने, दुःखी बनाउने, अचम्मित बनाउने, नराम्रो काम गर्न प्रेरित गर्ने कुरा हेरिरहेका हुन्छौँ वा राम्रा कुरा हेरिरहेका हुन्छौँ ? यदि दुरुपयोग गरेका छौँ भने त्यसले हाम्रो मनमा नकारात्मक कुराको हाबी हुन्छ । अर्कोतिर, हेर्दा सामाजिक सञ्जालले हरेक कुरालाई सजिलो बनाइदिएको छ । तर, यसमा धेरै नराम्रा कुरा जोडिएका छन् । मानिसले यसको सही प्रयोग नगर्दा व्यक्तिगत जीवन, सामाजिक जीवन, मानसिक स्वास्थ्यलगायत सबैतिर असर गरेको देखिन्छ । तर, यो सुषुप्त हो, हामीले यसलाई महसुस गरेका छैनौँ । त्यसकारण, म आफैँ पनि सामाजिक सञ्जाल चलाउन कसरी कम गर्ने र यसलाई दिने समय कसरी घटाउने भन्ने सोचमा छु । 


हामीमध्ये अधिकांशलाई के लाग्छ भने हाम्रो खानपान राम्रो भयो भने मुटुरोग वा अन्य रोग लाग्दैन । त्यो एकदम सही कुरा हो । धेरैलाई यो पनि लाग्छ कि म व्यायाम एकदम राम्रो गर्छु त्यसैले मलाई बिपी, सुगर, कोल्ड स्टोर केही पनि हुँदैन । त्यो पनि सही हो । केहिलाई के लाग्छ भने म रक्सी खान्न, धूम्रपान गर्दिनँ, त्यसैले मलाई रोग लाग्दैन । यो पनि ठीक बुझाइ हो । तर, हामी सबै कुरा राम्रो भएका व्यक्तिमा पनि रोग देख्छौँ । आखिर किन ? त्यसैले तपाईंको डाइट बेस्ट भए पनि, शारीरिक अभ्यास बेस्ट भए पनि, बानी राम्रो भए पनि तपाईंलाई रोग लाग्न सक्छ । केही अदृश्य कारण हुन्छ जसमा मानिसले बेवास्ता गरेको हुन्छ । जस्तै, वंषाणुगत रोग, शरीरमा हार्मोन वा इन्जाइम बढी भयो, जाँच गरेनौँ र हामीले बस्ने वातावरण र खानेकुरा स्वस्थ भएनन् भने पनि रोग लाग्छ । त्यस्तै रिसाउने, अरूप्रति घृणा व्यक्त गर्ने, बढी भावनात्मक हुने भन्नेजस्ता कुराले पनि स्वास्थ्यमा असर गर्छ ।