• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८१ जेठ १९ शनिबार ०६:४०:००
सम्झना

‘भुक्तमान’मा भोगेको देश लेखेको छु

पाँच प्रश्न

२०८१ जेठ १९ शनिबार ०६:४०:००
पवन बराइली

१ ‘भुक्तमान’ पुस्तक कसरी जन्मियो ?


मेरो व्यक्तिगत भोगाइलाई लिएर यो पुस्तक लेखेको हुँ । मानव जीवनका लागि आधारभूत सेवासुविधामध्ये एक हो, स्वास्थ्य सेवा । यो सेवा पाउन नसकेर मेरो परिवारमा समस्या, दुःख आइपर्‍यो । स्वास्थ्यसम्बन्धी सेवासुविधा नपाएर मैले श्रीमती, जन्मिन नपाएको बच्चा र बुबालाई गुमाउनुपर्‍यो । जसले मेरो परिवारमा उथलपुथल ल्यायो । मेरी श्रीमती र बुबालाई मिर्गाैलासम्बन्धी समस्या थियो । मिर्गाैलाको उपचार सरकारले देशमै निःशुल्क गरिदिन्छ भन्दै आइरहेको छ । निःशुल्क उपचार हुन्छ भन्ने अनुभूति हामी आममान्छेले गर्न पाएका छैनौँ । श्रीमतीको उपचारमा १० वर्ष खटिएँ ।

उपचारका लागि मैले थुप्रै हन्डर खानुप¥यो । देशभित्र रहेका सुविधा लिऊँ भन्दा त्यो सुविधाबाट वञ्चित हुनुपर्‍यो । मिर्गौलाको निःशुल्क डाइलाइसिसको सुविधा पनि पाउन नसकेर भारत गएर सेवा लिनुपर्‍यो । प्रत्यारोपण त झन् टाढाको कुरा । पूर्वप्रधानमन्त्री केपी ओलीले मिर्गाैला प्रत्यारोपण गरेको दिन भन्नुभएको थियो, ‘एकदमै सहज  रूपमा मिर्गाैलाको प्रत्यारोपण हुन्छ । सामान्य प्रक्रियाबाट हुन्छ र सस्तो र सुलभ मूल्यमा हुन्छ ।’ तर, उहाँले भनेजस्तो सेवासुविधा शासकका लागि र विशिष्ट व्यक्तिका लागि जति सहज छ, हामी जस्ता मान्छेका लाागि छैन ।

 

काठमाडौंबाहिरबाट आएर डेरा लिएर बस्नुपर्दा निःशुल्कको अर्थ नै रहँदैन । सरकारले दिने डाइलाइसिसको सेवा भनेको मेसिनको सेवा मात्रै हो । त्योसँग जोडिएको औषधी उपचारका धेरै कुरा छन् । ती सेवा निःशुल्क छैनन् । यो सबै खर्च बिरामीले व्यहोर्नुपर्छ । त्यसैले यो सबै सम्भव छैन । मैले श्रीमती र बुबाको उपचारका लागि घरजग्गा बेचेँ, ऋण लिएँ, भिखसमेत मागेँ । तर, बुबा र श्रीमतीलाई बचाउन सकिनँ ।

 मैले आफ्नै कथा लेखेर राज्यको चित्र देखाउन खोजेको हुँ । आममान्छेले स्वास्थ्य सेवा नपाउँदा त्यसले सर्वसाधारणको जीवनमा कस्तो प्रभाव पार्छ, एउटा परिवार कसरी उथलपुथल हुन्छ भन्ने कुरा पुस्तकमार्फत देखाउन खोजेको छु ।

 

उनीहरूलाई बचाउन नसक्दाको पीडालाई शब्दमा उतार्दा यो पुस्तकको जन्म भएको हो । मैले यसअघि लेखमार्फत राज्यलाई झकझकाउने काम गरेको थिएँ । तर, सम्भव भएन । मैले आफ्नै कथा लेखेर राज्यको चित्र देखाउन खोजेको हुँ । आममान्छेले स्वास्थ्य सेवा नपाउँदा त्यसले सर्वसाधारणको जीवनमा कस्तो प्रभाव पार्छ, एउटा परिवार कसरी उथलपुथल हुन्छ भन्ने कुरा पुस्तकमार्फत देखाउन खोजेको छु ।


२ पुस्तकको आवरणमै ‘राज्यको अकर्मण्यता र नागरिकको निरीहता’ लेख्नुभएको छ । दुःख पाउने नागरिकलाई नै निरीह भन्नुभएको छ । किन ?
राज्यले निःशुल्क स्वास्थ्य सेवा दिन्छु भनेर प्रतिबद्धता गरेको छ  । त्यो बाहिरी आवरणमा मात्रै छ । मिर्गाैलाको डाइलाइसिस सेवा राज्यले निःशुल्क भनेको छ । तर, त्यो सेवा प्राइभेट हस्पिटलले ठेक्का लिएका छन् । सरकारी अस्पतालभित्रै बसेर प्राइभेट कम्पनीले व्यवसाय चलाइरहेका छन् । राज्यले यस्ता सामान्य सेवालाई प्रभावकारी रूपमा चलाउन नसक्नु, निगरानीको प्रक्रिया नबनाउनु, नागरिकले सेवा सजिलै उपभोग नगरून् भनेर प्रक्रिया पनि असजिलो बनाइदिएको छ ।

मिर्गाैला मात्रै होइन, स्वास्थ्यका अरू सेवा पनि काठमाडौंकेन्द्रित छन् । संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य सेवा लिन सरकारी अस्पताल जान्छौँ । तर, सरकारी अस्पतालले समेत प्राइभेट अस्पतालले जस्तो पैसा लिन्छन् । निजी र सरकारीमा यति फरक छ, सरकारी अस्पतालले डाक्टरले जाँचेको शुल्क लिँदैन ।

समाजवादउन्मुख भनिएको देशले नागरिकबाट अनाहकमा पैसा असुलिरहेको छ । हामी नागरिकचाहिँ कति निरीह छौँ भने हामी आवज उठाउँदैनौँ । पैसा नभए पनि स्वास्थ्य सेवा पाउँछु भन्ने नागरिकलाई विश्वासै छैन । मान्छे निरीह छ । कुनै अस्पतालमा जाँदा जायजेथा बेचेर पैसाको मुठो बोकेर मान्छे जान्छ । यसरी धेरै मानिस निरीह भएर राज्यको सेवासुविधाबाट वञ्चित भई ज्यान गुमाएका छन् । मिर्गाैला, क्यान्सरजस्ता ठूला रोग लागेका मान्छेको बेहाल छ । नागरिक यति हँुदा पनि केही भन्न सक्दैन । निरीह भएर बाँचिरहेको छ । त्यही भएर किताबको आवरणमै राज्यको अकर्मण्यता र नागरिकको निरीहता लेखेको हुँ ।


३ शुक्रबार प्रधानमन्त्रीलाई भेटेर पुस्तक  दिनुभयो । उहाँको प्रतिक्रिया के थियो ? 
मैले जन्मिन नपाएको बच्चा, श्रीमती र बुबालाई गुमाएको प्रश्नको जवाफ राज्यसँग माग्दै आएको थिएँ । यो पुस्तकमार्फत राज्यको जिम्मेवार मान्छेलाई प्रश्न थमाउनु थियो । मैले प्रधानमन्त्रीको निजी सचिवालयलाई आग्रह गरी यो पुस्तक दिएर प्रश्न गरेको छु । प्रधानमन्त्रीज्यूले पाँच मिनेट भए पनि मेरो कुरा सुनिदिनुभयो । यसर्थ, म खुसी छु । उहाँलाई यो पुस्तकबारे थाहा पनि रहेछ । उहाँले भेट्नेबित्तिकै भन्नुभयो, ‘म पनि पारिवारिक रूपमा भुक्तमान हुँ । म पनि श्रीमतीको उपचारका लागि अहोरात्र  आठ वर्ष लागेँ । तर, बचाउन सकिनँ । तपाईंले पनि बचाउन सक्नुभएनछ ।

 

उपचारका लागि समय लाग्यो, धेरै समय खर्च भयो ।’ उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले मप्रति साहनुभूति देखाउनुभयो । फुर्सदको समयमा र यात्रा गर्दा समय निकालेर पुस्तक पढ्ने प्रतिबद्धता जनाउनुभएको छ । आशा गर्छु, यो पुस्तक उहाँले पढ्नुहुनेछ । उहाँले मात्रै होइन, देशका प्रमुख राजनीतिक दलका नेतृत्वले पनि पढ्नुपर्छ । नीति–निर्माण गर्ने ठाउँमा बस्ने सांसदसहित सबैले यो पुस्तक पढ्नुपर्छ । अनि मात्रै हामी कहाँनिर चुकेका छौँ भन्ने थाहा हुन्छ । देशको स्वास्थ्यसम्बन्धी सेवा र सरकारी सेवा कति असहज र जटिल छन् भन्ने यो पुस्तकमा लेखेको छु । 

 

४ तपाईंंको जस्तो दुःखद भोगाइबाट बच्न आममानिसले के गर्नुपर्छ र राज्यको भूमिका कस्तो हुनुपर्छ ?
मैले भोेगेकोजस्तो समस्या नभोग्नका लागि सबैभन्दा पहिले आमनागरिक स्वास्थ्यबारे सचेत हुनुपर्छ । साथै राज्यले हामीलाई दिएको सेवा–सुविधाबारे जानकार हुने र राज्यलाई घचघच्याउने हुनुपर्छ । तर, हामी नागरिक निरीह छौँ । अन्तिममा माग्न पुग्छौँ । तर, राज्यको दायित्व धेरै छ । राज्यले प्रत्याभूत गरेको स्वास्थ्य सेवा जुन मौलिक अधिकार पनि हो, त्यसलाई कार्यान्वयन गर्नुपर्छ र सेवा सहज बनाउनुपर्छ । अहिलेको स्वास्थ्य सेवा काठमाडौंकेन्द्रित छ । राज्यले यसमा गम्भीर भएर सोच्नुपर्छ । 


५ ‘भुक्तमान’ पुस्तक लेख्नुको  खास उद्देश्य के हो ?
यो पुस्तक लेख्नुको उद्देश्य मेरो परिवारका सदस्यको प्रश्न राज्यलाई सोध्नु हो । नेपालको स्वास्थ्य अवस्थाको बेथितिलाई उजागर गरेर राज्यको ध्यानाकर्षण गर्नु नै हो । राज्यले कसरी आफ्ना नागरिकलाई सेवा दिनुपर्छ, सहज कसरी बनाउन सकिन्छ भन्ने नै हो । यसका साथै चिकित्सकहरूले मात्र चिकित्सक भएर सोच्नु हुँदैन, मानव भएर पनि सोच्नुपर्छ भनेर ध्यानाकर्षण गर्नु नै यो पुस्तकको मुख्य उद्देश्य हो ।