• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८१ जेठ १९ शनिबार ०७:१८:००
सम्झना

विगतमा कतिपय झुर सिनेमा पनि खेलियो

२०८१ जेठ १९ शनिबार ०७:१८:००
पवन बराइली

नेपाली सिने उद्योगका व्यस्त र लोकप्रिय अभिनेता हुन्, दयाहाङ राई । रंगमञ्चबाट सिनेमामा प्रवेश गरेका राई ‘दासढुंगा’, ‘लुट’, ‘हाइवे’, ‘बधशाला’, ‘कबड्डी’, ‘सेतो सूर्य’जस्ता दर्जनौँ सिनेमाबाट दर्शकमाझ निकै रुचाइए । अघिल्लो पुस्ता हिँडेको परम्परागत बाटोबाट नेपाली सिनेमालाई फरक बाटोमा हिँडाउने मुख्य श्रेय दयाहाङलाई जान्छ । अभिनेता राईले कलायात्राको आत्मसमीक्षा पवन बराइलीसँग गरेका छन् :

 

अभिनय सुरु गर्दा नाटकमै केन्द्रित हुन्छु भन्ने सोचेको थिएँ । सिनेमा हेर्थेँ, तर आफ्नोजस्तो अनुहार कतै देख्तिनथेँ । सिनेमा मेरा लागि होइन होला भन्ने लाग्थ्यो । नाटक गर्दा अभिनेता भनेको त बुझियो । तर, हामी पनि अभिनेता हुने सिनेमा बन्छ कि बन्दैन थाहा थिएन । ‘नुमाफुङ’ सिनेमा हेरेपछि थाहा भयो– सिनेमा यसरी नि बन्दोरहेछ । त्यसपछि सिनेमातिर झुकाव बढ्न थाल्यो । ‘नुमाफुङ’ले मलाई सिनेमा बुझ्ने ढोका खोलिदियो । 


मैले ‘दलन’ टेलिसिरियलमा अभिनय गर्ने अवसर पाएँ । त्यसपछि आफूलाई पर्दामा देखेँ । ‘दलन’ले मलाई आँट दियो । त्यसपछि फिचर फिल्म ‘अनागरिक’ र ‘दासढुंगा’मा अभिनय गरेँ । त्यहाँ मैले आफूलाई सिनेमामा अभिनेताको रूपमा देखेँ । सिनेमामा अभिनय गर्न थालेपछि मेरो पनि ठाउँ रहेछ भन्ने महसुस हुन थाल्यो । अब सिनेमामा गज्जबसँग काम गर्छु भन्ने सोचेँ । 


तर, मलाई धेरैले फिल्म क्षेत्रमा गयौ भने फ्रस्टेसनमा जान्छौ भन्थे । यसलाई मैले सामान्य रूपमा लिएँ । त्यसवेला उहाँहरूको बुझाइ फरक थियो होला । त्यसवेला मजस्ता अभिनेता सिनेमाका लागि नसोचिनु स्वाभाविक पनि थियो । ज्यान र अनुहार मिलेको चरित्र निर्माण गरी कथा बुनिन्थे ।  हाम्रोजस्तो अनुहार फिल्ममा देखिँदैनथ्यो । मलाई त्यसवेला लाग्थ्यो, कुनै दिन फिल्ममा मेरो कथा आउँछ ।


...अनि बजारको मोह बढ्यो 
०६८ मा फिल्म ‘लुट’मा काम गरियो । ‘लुट’मा निकै गज्जबले काम गर्न पाइयो । त्यसवेला सायद नेपाली सिनेमा उद्योग सिथिल थियो । संकटकालको घोषणा गर्ने तयारी भइरहेको थियो । त्यति नै वेला ‘लुट’ रिलिज भयो । त्यसपछि ‘लुट’ले सुतेको नेपाली सिनेमा उद्योग उठाइदियो । 

बिस्तारै बजारप्रति मोह बढ्दै गयो । बजारसँग जोडिएपछि अनेक लोभ हुने रहेछ । बजारसम्म पुग्न आर्थिक कुरा पनि जोडिएर आउने रहेछन् । हिजोको जीवनशैलीभन्दा अलि राम्रो बनाऊँ भन्ने सपना पनि जोडिँदै जाने रहेछ ।


‘लुट’पछि ‘कबड्डी’मा काम गरियो । ‘कबड्डी’ले पनि सफलता पायो । त्यसपछि मैले आफ्नो काम देख्न पाएँ । ‘लुट’ र ‘कबड्डी’मा दर्शकले मलाई मन पराइदिनुभयो । मलाई पनि बजारले चिन्दोरहेछ भन्ने लाग्यो । मलाई मान्छेहरूले हिजोसम्म पत्याएका थिएनन्, तर आज पत्याए भन्ने लाग्यो । ‘दलन’, ‘अनागरिक’ ‘दासढुंगा’मा काम गर्दा म एक्टरचाहिँ हुँ भन्ने लाग्थ्यो । मान्छेहरूले चिन्दैनन् होला भन्ने लागिरहन्थ्यो । आमदर्शकले मौलिक कथाशैली र आफूजस्तै चरित्रका पात्र सिनेमामा खोजिरहँदा हामी आयौँ । हाम्रो कामलाई दर्शकले स्वीकार गरिदिनुभयो । त्यसरी ‘लुट’ र ‘कबड्डी’पछि मलाई मान्छेहरूले चिने र विश्वास गरे । त्यसपछि जिम्मेवारी पनि थपियो । 


तर, बिस्तारै ममा बजारप्रति मोह बढ्दै गयो । बजारसँग जोडिएपछि अनेकन लोभ हुने रहेछ । बजारसम्म पुग्न आर्थिक कुरा पनि जोडिएर आउने रहेछ । हिजोको जीवनशैलीभन्दा अलि राम्रो बनाऊँ भन्ने सपना पनि जोडिँदै जाने रहेछ । म काठमाडौं आउँदा एक्लै आएको हुँ । मैले सहरमा संघर्ष गर्न झोला र सपना मात्रै बोकेर आएको थिएँ । हिजो गाउँबाट बोकेर ल्याएको झोला लुकाउने ठाउँ बनाउने सपना बढ्दै गयो । त्यसपछि अर्काे झोला थप्ने सपना पनि बढ्न थाल्यो । साथै घरगृहस्थी र परिवार पनि जोडिएर आउन थाल्यो । त्यसपछि झन् मेरा सपना थपिँदै गए । मलाई आर्थिक रूपमा आकर्षित बनाउँदै लग्यो । हिजो मसँग एउटा झोला र सपना थियो । समयक्रममा हिजोको जीवनशैलीलाई राम्रो बनाउँछु भन्ने लाग्दो रहेछ । यो मानवीय स्वभाव नै होला । त्यही सपनासँगै बजारसँगको मोह बढ्नेरहेछ । आर्थिक रूपमा अझै राम्रो गरौँ भन्ने पछि लाग्दालाग्दै मेरो फिल्मको नम्बर बढ्दै गयो होला । 


धेरै फिल्म गर्दाको परिणाम
थोरै तर राम्रा मात्रै सिनेमामा काम गरौँ भन्ने नलागेको होइन । एउटा सिनेमामा धेरै मिहिनेत गरौँ, राम्रो रिजिल्ट निकालौँ भन्ने लाग्छ नै । तर, त्यो मैले मात्रै भनेर नहुनेरहेछ । हाम्रोमा कामलाई स्वस्थ हिसाबले हेर्ने चलन छैन । यदि मैले कुनै फिल्म चित्त बुझेन र गर्दिनँ भने सकारात्मक रूपमा लिइँदैन । कतिपय अवस्थामा काम गर्नैपर्ने दबाब हुन्छ । मैले काम गरिनँ भने बेइमानीपूर्ण तरिकाले प्रचार गरिन्छ । कतिपय अवस्थामा बाध्य भएर फिल्ममा काम गर्नुपर्छ । कतिपयले समय छैन नगरौँ न भन्दा पनि चित्त दुखाउनुहुन्छ । अग्रज फिल्म निर्देशकहरूलाई भ्याउँदिनँ भन्दा चित्त दुखाउनुहुन्छ । सँगै काम नगर्दा समकालीन साथीहरूको पनि चित्त दुखाइ छ । थोरै, तर राम्रो फिल्ममा मात्रै काम गरौँ भन्ने लाग्छ । तर, बाध्यताले धेरै फिल्ममा काम गर्नु परिरहेको छ । 

थोरै सिनेमामा धेरै मिहिनेत गरौँ, राम्रो रिजिल्ट निकालौँ भन्ने लाग्छ नै । तर, त्यो मैले मात्रै भनेर नहुने रहेछ । यदि मैले कुनै फिल्म चित्त बुझेन र गर्दिनँ भनेँ भने सकारात्मक रूपमा लिइँदैन । कतिपय अवस्थामा काम गर्नैपर्ने दबाब हुन्छ । मैले काम गरिनँ भने बेइमानीपूर्ण तरिकाले प्रचार गरिन्छ ।


संख्यालाई जोड दिँदा गुणात्मकतामा असर गर्छ नै । मानसिक र शारीरिक रूपमा तयार हुन गाह्रो हुन्छ । त्यसले अभिनयमा गुणात्मक स्तर घट्नु स्वाभाविक नै हो । मानसिक रूपमा तयारी गर्न नपाइनेरहेछ । धेरै फिल्ममा काम गर्दा आर्थिक रूपमा फाइदा हुने नै भयो । तर, नयाँ नयाँ आइडियामा काम गर्न पाइनेरहेछ । काम गरेका सबै सिनेमा सफल भएनन् होला । तर, काम सिक्न पाएँ । संगत पनि बढाउँनेरहेछ । उनीहरूको सोच र कामबाट मैले सिक्न पाइरहेको हुन्छु । जति धेरैसँग काम गर्‍यो त्यति नै ज्ञान बढ्दै जानेरहेछ । समाज बुझ्ने अवसर पाइरहेको छु । एउटा नयाँ क्यारेक्टरमा काम गर्दा पढ्ने–बुझ्ने मौका पाइरहेको हुन्छु ।


प्रायः फिल्ममा एउटै लुक्स भयो भन्ने आरोप ममाथि लाग्ने गर्छ । मैले लुक्स परिवर्तन गर्न सकिनँ कि भन्ने लाग्छ नै । तर, म क्यारेक्टरको मनोदशा र मनोविज्ञानमा विविधता खोज्ने प्रयासमा छु । त्यसको परिणाम अझै निकाल्न बाँकी छ ।


स्वतन्त्रता छैन
काम गर्दै जाँदा धेरै ठाउँमा चुकेँ । विगतमा कतिपय झुर फिल्म पनि खेलियो । त्यसमा मेरो ढंग नपुगेको पनि हुन सक्छ । फिल्म सामूहिक काम हो । एक–अर्कामा आडभरोसा लिएर काम गरिन्छ । फिल्म बनाउँदा कसैले पनि झुर बनाउँछु भन्दैन । तर, राम्रै गर्न खोज्दाखोज्दै बिग्रिन्छ । कतिपय फिल्म झुर बन्दै छ भन्ने थाहा हुँदाहुँदै पनि सुटिङमा जानुपर्छ । तर, अन्तिमसम्म राम्रो गरौँ भन्ने कोसिस भने गरिरहन्छु । राम्रो रिजल्टका लागि अनेकन उपाय गरिन्छ ।


फिल्म मेकिङमा ‘फ्रिडम मेकिङ’ छैन । निर्माता र निर्देशक मात्रै नभएर कलाकारमा पनि काम गर्ने स्वतन्त्रता छैनजस्तो लाग्छ । एउटा घेरामा बाँधिएर काम गर्नुपर्ने बाध्यता छ । राम्रो परिणाम नआउनुको कारण यो पनि हो । यसमा हामी मात्रै दोषी छैनौँ । हाम्रोमा स्क्रिप्टमा पनि समस्या छ । स्क्रिप्ट लेख्ने मान्छे सीमित देख्छु । कतिपयले एउटा फर्मुलामा रहेर स्क्रिप्ट लेखेको पाइन्छ । यसो भन्दा कतिपयलाई चित्त पनि दुख्ला । लेखन भनेको निरन्तरको अभ्यास पनि होला । हामीलाई स्क्रिप्ट लेख्न हतारो हुन्छ । त्यसपछि सुटिङमा जान अर्काे हतारो हुन्छ ।


हाम्रोमा एउटा फिल्म चल्यो भने त्यसैको वरिपरि बसेर सात वटा फिल्म बनाउने चलन छ । लहडले गर्दा एउटै फिल्म बनिराख्ने स्थिति बन्यो । निर्देशक÷निर्माताले पनि फरक ढंगबाट सोच्नुपर्छ । अब मैले पनि सोच्नुपर्छ । ‘मैले गरेका फिल्महरू सम्भावना हुँदाहुँदै पनि किन राम्रो भइरहेको छैन ? यसबारे खोज्नु, हेर्नु’ केही निर्देशक साथीहरूलाई भन्न थालेको छु । मैले एक–दुईजना निर्देशकलाई होल्ड पनि गराइरहेको छु ।


फिल्ममा एउटा ‘क्यालेन्डर’भित्र बसेर मात्रै काम गर्न थालियो । क्यालेन्डरले एउटा निश्चित तार्गेटका लागि काम गर्न सजिलो बनाउला । तर, त्यसले काम गर्न हतारो मात्रै गरिदिन्छ । त्यसका लागि दौडिनुपर्छ । दौडिँदा लडिहालिन्छ । लडेपछि घाइते भइन्छ । त्यसैले बिस्तारै हिँड्यौँ भने गन्तव्यमा पुग्न सकिन्छ भन्ने लाग्छ । मैले निर्देशकहरूलाई कम्तीमा क्लियर बाटो बनाउनुस् भनेको छु । ‘गाउँ आएको बाटो’मा हामीले हतार नगरी काम गरेका छौँ । यो अभ्यास अरू मेकरले पनि अनुकरण गर्न आवश्यक छ ।


हाम्रोमा निर्देशक फिल्ममा आफ्नो कथा यसरी भन्दै छु भन्दा पनि बबाल कथा भन्दै छु भन्ने भ्रम पालेर हिँडेको देखिन्छ । यो कथा यसरी भन्न जरुरी छ भन्ने निर्देशक कमै छन् । अहिले हामी ग्लोबल मार्केटको कुरा गरिरहन्छौँ । एकाध निर्देशकबाहेक विश्वमञ्चमा नेपाली सिनेमालाई पुर्‍याउने सोच पलाएको देखिन्न । कतिपयलाई त्यहाँ गएर के हुन्छ भन्ने सोच पनि छ । ठूलो बजारमा हराइन्छ भन्ने लाग्दो हो । तर, हामी कोसिस त गरौँ । 


अब विश्वमञ्चको बाटो
हामीले बजारलाई पनि उठाउने कोसिस गर्‍यौँ । ‘लुट’ (०६८) रिलिज हुनु अघि नेपाली बक्स अफिस संकटमा थियो । त्यसवेला सिनेमा क्षेत्रमा संकटकाल नै लगाउने तयारी थियो । यसले दर्शकलाई हलमा फर्किन बाध्य बनायो । यसरी हेर्दा व्यावसायिक रूपमा बजार तताउँने कोसिस पनि गर्‍यौँ । त्यसमा मेरो पनि केही जोड रह्यो होला । नेपाली सिनेमाको डायस्पोरा बजार पनि राम्रो हुँदै गइरहेको छ । अहिले नेपाली फिल्मको माहोल गज्जब बनिरहेको छ ।


मैले अभिनय गरेको फिल्म ‘हाइवे’ पहिलोपटक बर्लिनमा छानियो । बर्लिनमा हाइवे छानिँदा मलाई त्यस्तो उत्साह लागेको थिएन । त्यहाँ नेपाली फिल्म पुग्दा कसले हेर्देला भन्ने लाग्थ्यो । तर, त्यतिवेला फिल्म हेरेपछि मेरो खोजि भएछ । बर्लिनबाट फर्किएपछि निर्देशक दीपक रौनियारले ‘त्यहाँ तिमीलाई एकदमै मिस गरियो’ भनेर सुनाए ।

 

उनले त्यसो भन्दा मलाई सामान्य नै लाग्यो । फिल्म ‘सेतो सूर्य’मा काम गर्नुअघि यदि हाम्रो फिल्म फेस्टिभलमा छनोट भयो भने समय निकाल्नु भनेका थिए । मैले सहमति जनाएँ । ‘सेतो सूर्य’ भेनिसमा छनोट भयो । म भेनिस पुगेँ । फेस्टिभलको रेड कार्पेटमा हिँडियो । हामीलाई भव्य स्वागत भयो । फिल्म प्रिमियर हुने हलभित्र छिरियो । त्यहाँ मेरो नामको सिट देखेँ । त्यहाँ बस्न आह्वान गरियो । हलमा मान्छेहरू खचाखच थिए । फिल्म हेरेपछि मान्छेहरूको निकै राम्रो प्रतिक्रिया आयो । फिल्म फेस्टिभल यस्तो हुनेरहेछ भनेर बल्ल थाहा भयो । 


यसपटक मलाई ‘गाउँ आएको बाटो’ प्रिमियरमा टोरोन्टो पुग्दा आनन्द लाग्यो । त्यहाँ फिल्म समीक्षक र पत्रकारहरूले मलाई खोजीखोजी अन्तर्वार्ता लिए । हामीप्रति उनीहरूको चासो निकै थियो । हामीलाई पनि चासोका साथ हेर्दारहेछन् भन्ने लाग्यो । तर, विश्व मञ्चमा हाम्रो निरन्तरता रहेनछ भन्ने लाग्यो । अब हामी आफैँले नेपाली फिल्मको परिचय खोज्न जरुरी छ । विश्वमञ्चमा हाम्रो फिल्म किन अझै छानिन मुस्किल छ ? यसबारे हामीले सोच्नु पर्नेवेला आएको छ । 


मैले काम गरेको कतिवटा फिल्म विश्वमञ्चमा पुगेछन् भनेर घोत्लिन्छु । हिसाब गर्दा चार–पाँचवटा मात्रै पुगेको रहेछ । यतिमा मात्रै सन्तुष्टि हुने कि नहुने ? वेलावेला घोत्लिन्छु । कलाकारितामा लागेको दुई दशक भइसक्यो । मैले ५० भन्दा धेरै सिनेमामा काम गरेँ । यतिवेला त कम्तीमा २० वटा फिल्म विश्वमञ्चमा पुग्नुपथ्र्यो होला भन्ने लाग्छ । त्यति फिल्म पुगेको भए हाम्रो उपस्थिति कस्तो हुन्थ्यो होला ? अब विश्व बजारमा काम गरौँ भन्ने सोच छ । तर, मैले एक्लै सोचेर हुँदैन । कलाकारको रूपमा काम गर्न लालायित छु । मेकर पनि विश्वबजारलाई सोचेर काम गर्न आउनुपर्छ । त्यसमा मेरो सहकार्य हुन्छ ।


दुई दशकपछि प्रमाणित गर्ने मौका 
नवीन सुब्बा दाईसँग दुई दशकअघि ‘दलन’मा काम गर्ने अवसर पाएको थिएँ । त्यसपछि उहाँसँग काम गर्न पाएको थिइनँ । उहाँले मेरो अभिनयमाथि आलोचनात्मक टिप्पणी गर्नुहुन्थ्यो । उहाँले मबाट मैले गरिरहेको कामभन्दा फरक अपेक्षा राख्नुभएको थियो होला । मैले अपेक्षाअनुसार काम गर्न सकिनँ होला । त्यो कुरामा उहाँले खुलेर भन्नुहुन्थ्यो । मैले त्यसलाई सुझावको रूपमा लिन्थेँ । तर, उहाँले अपेक्षा गरेअनुुसार कसरी काम गर्ने ? म अनभिज्ञ थिएँ । मान्छेमा सीमितता हुनेरहेछ । त्यसका लागि अभ्यास आवश्यक पथ्र्याे होला । दुई दशकपछि नवीन दाईसँग ‘गाउँ आएको बाटो’मा काम गर्ने अवसर पाएँ । यो सिनेमा मेरा लागि साँच्चै अवसर र चुनौती दुवै बन्यो । मैले मेरो आफ्नै राई समुदायको कथामा कहिल्यै काम गर्न पाएको थिइनँ । यसमा मैले आफ्नो काम देखाउन पाएको छु । चार महिना नवीन दाइसँग काम गर्दा धेरै सिकेँ । त्यसले ‘गाउँ आएको बाटो’ मेरो करिअरको महत्वपूर्ण सिनेमा हो ।


आफ्नो कलाकारिता यात्रामा थकाली, गुरुङ, तामाङजस्ता कथा र चरित्रमा काम गरेँ । ती समुदायको विश्वास पद्धति थोरै भए पनि मैले बुझ्ने मौका पाएँ । जसले मलाई समाजलाई नजिकबाट हेर्ने अवसर दिलायो । तर, मैले आफ्नै (राई) समुदायको कथा र चरित्रमा काम गर्न पाएको थिइनँ । ‘गाउँ आएको बाटो’मा मैले आफ्नै समुदायलाई राम्रोसँग नियाल्न पाएँ । नजिकबाट समुदायको विश्वास पद्धतिलाई बुझ्न पाएँ । अघिल्ला फिल्महरूमा काम गरिरहँदा पात्रको गहिराइसम्म पुग्न त्यति पाउँदिनथेँ । तर, ‘गाउँ आएको बाटो’मा समय लिएरै पात्रको गहिराइमा पुग्ने प्रयत्न गरेको छु । 


नाटकघर जोगाउन फिल्मतिर 
धेरै ठूलो सपना देखेर मण्डला नाटकघर सुरु गर्‍यौँ । नाटकलाई व्यावसायिक बनाउने, ग्लोबल दर्शक ल्याउने, र नाटकमा आफ्नै कन्टेन्ट खोज्ने परिकल्पनासहितको सपना बुन्याैँ । त्यसपछि नाटकमा काम गर्न थाल्यौँ । नाटकको माहोल बन्यो । मैले ८–१० वटा नाटक निर्देशन गरेँ । चार–पाँचवटा नाटक लेखेँ । तर, अहिले जसरी सोच बनाएर नाटकमा लागेँ त्यसमा चित्त बुझेको छैन । जसरी सोचेको थिएँ, त्यसरी गुणस्तरीय काम गर्न सकिरहेको छैन । मलाई यो कुरा अहिले पनि खड्किरहन्छ ।


नाटकघर ऋण खोजेर बनाएका थियौँ । त्यो ऋणको भार पनि थपियो । व्यक्तिगत रूपमा म व्यवस्थापनमा बढी सक्रिय भएँ । त्यसमा आर्थिक जिम्मेवारी पनि जोडिएर आउँदोरहेछ । मैले मञ्चलाई सिर्जनात्मक तरिकाले मात्रै सोच्न पाइनँ । त्यसपछि म नाटकमा भन्दा फिल्ममा सक्रिय हुन थालेँ । यसरी मलाई फिल्मले आकर्षण गर्‍यो । फिल्म गर्न थालेँ भने आफू सरभाइभ हुन्छु र टिम(मन्डला थिएटर) पनि सरभाइभ हुन्छ भन्ने सोच बनाएँ । फिल्ममा जोडिएपछि आर्थिक भार थेग्न सक्छु भन्ने आँट आयो । मन्डलामा आर्थिक संकट पर्न थाल्यो कि म फिल्मतिर आकर्षित हुँदोरहेछु । त्यसले गर्दा नाटकमा मैले जति गुणस्तरीय काम गर्न सक्थेँ, त्यति गर्न सकिनँ भन्ने लाग्छ ।


मण्डला सुरुवात गर्दा नाटकलाई व्यावसायिक बनाउने हाम्रो सपना थियो । तर, भौतिक संरचनाका लागि मात्रै लडिएछ । आजको दिनसम्म पनि भौतिक संरचनामै अड्किरहेका छौँ । तर, अहिले हरेक फिल्म सुटिङ सेटमा मन्डलाका विद्यार्थी भेट्छु । अभिनय होस् वा प्राविधिक टिममा मन्डलाकै विद्यार्थीहरू भेट्दा खुसीले छाती चौडा हुन्छ ।