• वि.सं २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024
पवन बराइली
२०८१ जेठ १९ शनिबार ०८:५४:००
फिल्म

रंगमञ्चमै जिउने जिद्दी सपना

२०८१ जेठ १९ शनिबार ०८:५४:००
पवन बराइली

नेपाली रंगमञ्चमा नयाँ सीप र शैली भित्र्याउनेमध्येका एक नाट्यकर्मी हुन्, विमल सुवेदी । भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट रंगमञ्चको प्रविधि, डिजाइन र निर्देशनमा स्नातकोत्तर गरेका सुवेदीको नेपाली नाटकलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो योगदान छ । ‘चारुमती’, ‘सान्दाजुको महाभारत’, ‘मकैको अर्कै खेती’ यर्मा’, ‘मालिनी’ र ‘अ नाइट विथ माओ’, ‘पल्पसा क्याफे’लगायत नाटक निर्देशन गरेका सुवेदीले कतिपय नाटकमा अभिनयसमेत गरेका छन् । उनले आफ्नो नाट्ययात्रा र ‘थिएटर भिलिज’ सञ्चालन गर्दाका अनुभूति पवन बराइलीसँग साटेका छन् :

म फिल्ममा अभिनय गर्छु भनेर आएको थिएँ । किनकि सानैदेखि बलिउड फिल्म हेरेर हुर्किएँ । त्यसैले फिल्मप्रति मेरो लगाव बढ्यो । तर, अडिसन दिँदा फिल्मप्रति वितृष्णा जाग्यो । फिल्म मेकरलाई भेट्न थाले पनि झन् निराश भएँ । त्यसपछि म बिस्तारै थिएटर तिर मोडिएँ । नाचघरमा एक वर्षको कोर्स गरेँ ।


केही समय नाटक सिकेर नाटक घर (थिएटर भिलेज) खोलेँ । अहिले सम्झिँदा लाग्छ नाटकघर खोल्न हतार भयो कि । तर, नाटकघर खोलेपछि कसरी अघि बढ्नुपर्छ भन्ने अनुभव भयो । नाटक घर टिकाउन त्यति सजिलो लागेन । ‘एनएसडी’को पढाइ सकेर आएपछि नाटकघर खोल्ने योजना थिएन । त्यसवेला नाटकघर नै थिएन । भर्खर मण्डला थिएटर बन्दै थियो । नाटकघर खोल्ने सोचमा थिइनँ । 


एकजना साथीले नाटक गरौँ भनेर मलाई भेट्न आउनुभयो । नाटक गर्ने ठाउँ भेटिएन । नाटक अभ्यास गर्ने स्पेस खोज्दै जाँदा घरसहितको ठाउँ (थिएटर जिलेज) भेटियो । त्यही स्पेसमा नाटक अभ्यास गर्ने योजना बनायौँ । मलाई त्यो संरचना प्रयोगविहीनजस्तो लाग्यो । त्यसैलाई थिएटरमा रूपान्तरण गर्न मन लाग्यो । त्यो जग्गाधनीले पनि प्रयोगविहीन स्पेसलाई तपाईंहरूले प्रयोग गर्न सक्नुहुन्छ भन्नुभयो । त्यहीअनुरूप संरचनालाई थिएटरमा रूपान्तरण गर्न मन लाग्यो । 


परम्परागत कामभन्दा प्रयोगात्मक काम गर्न मन पर्छ । इनोभेटिभ आर्ट मन पर्छ । कला नवीनताको पाटो भने नवीनताका लागि प्रयोगात्मक हुनुपर्छ भन्ने लाग्छ । अर्काे, मेरो अन्तर्राष्ट्रिय सम्बन्ध पनि छ । ती सम्बन्धलाई थिएटरको तालिममा चलाउन सक्छु भन्ने लाग्यो । त्यसैले मैले नाटकघर खोलेँ भने एउटा प्लाटफर्म बन्छ भन्ने लोभ लाग्यो । बिस्तारै टिम बनाउँदै गएँ । पछि नाटक अभ्यास गर्ने ठाउँलाई नै थिएटर भिलेज नामाकरण गरेर संरचना बनाएँ । बिस्तारै लगानी बढ्दै गयो । 

दर्शकको लिट्रेसी बढिरहेको पनि छ । तर हाम्रो लिट्रेसी बढेको छैन । पहिला हामी रंगकर्मीकै लिट्रेसी बढाउन जरुरी छ ।
 


थिएटरमा जे पायो त्यो काम गर्न मन थिएन । त्यसैले वर्षमा एक–दुईवटा मात्रै काम गर्नुपर्‍यो । सुरुमा हामीले ४०–५० लाख लगानी गरेका थियौँ । तर, प्रत्येक वर्ष २०–३० लाख लगानी थपिँदै गयो । त्यही ठाउँमा ठूलो होटेल बन्ने प्रोजेक्ट आयो । जग्गाधनीले होटेल सञ्चालन गर्ने भए पनि हामीले ठाउँ छोड्नुपर्ने अवस्था बन्यो । त्यसपछि थिएटर भिलेज भत्कियो । थिएटर भिलेज बन्द हुने वेलासम्म एक करोडभन्दा माथि ऋण भइसकेको थियो । 


केही समय नाटक पढाउँछु भन्ने सोचले आएको थिएँ । सिकेको सबै सिकाउँछु भन्ने थियो । तर, यति छिट्टै नाटकघर खोल्छु भन्ने सोच थिएन । पैसा जम्मा गरेर खोल्छु भन्ने थियो । त्यसवेला पैसै थिएन । त्यस्तो वेलामा मैले नाटकघर खालेको हुँ । धेरैजनाबाट ऋण लिएर खोलेँ । थिएटरका लागि घरबाट मलाई कहिल्यै सपोर्ट भएन । घरमा मैले गरेको कामलाई अपराध गरेजसरी नै हेर्नुहुन्थ्यो । तर, आमाले चाहिँ थिएटर खोल्न गहना बेचेर पैसा दिनुभयो ।


मलाई नाटकघर खोलेर चलाउन सजिलो रहेनछ भन्ने लाग्यो । अबचाहिँ यसरी नाटकघर चलाउन सक्दिनँ भन्ने लाग्यो । त्यस्तो गल्ती गर्दिनँ भन्ने लाग्यो । नाटकघर खोल्ने वेलामा धेरैले सहयोग गर्नुभएको थियो । मप्रति अपेक्षा पनि थियो । मैले उहाँहरूको सपनाअनुसार काम गर्न सकिनँ । भत्किएपछि तत्काल खोल्ने कोसिस गरियो । तर, जति कोसिस गर्दा पनि सकिएन । नाटकघरका लागि जग्गा पाउन पनि कठिन हुनेरहेछ । त्यसका लागि राजनीतिक पहुँच चाहिनेरहेछ । काम गर्न पैसा धेरै चाहिनेरहेछ । कतिपयले मलाई आश्वासन पनि दिनुभयो । नाटकघरका लागि कति ठाउँमा नक्सा पनि बनायौँ । जति गर्दा पनि नाटकघर खोल्न सकिएन ।


बीचमा युरोप गएर आर्ट म्यानेजमेन्ट पनि पढेँ । व्यवस्थापनको पाटो पनि सिकेँ । त्यसअघि मैले आर्ट म्यानेजमेन्ट सिकेको थिइनँ । आर्टिस्टिक तरिकाले मात्रै हेर्थें, म्यानेजमेन्ट पनि मैले सिकेर आएँ । अब थिएटर भिलेजजस्तो राज्यको संस्था बनोस् भन्ने लागेको छ । त्यसरी नै तयारी पनि गरिरहेको छु । 

थिएटर भिलेजले मलाई धेरै सिकायो । नाटकघर मेरो प्रोफेसनल परिवार थियो । मेरो पर्सनल परिवार कोही छैन भन्दा पनि हुन्छ । मेरो जे हो प्रोफेसनल परिवार हो । लामो समय बाहिर बसेर आएँ भने सुरुमा थिएटरमै पुग्छु ।


एकपटक गल्ती गरेपछि अर्काे गल्ती गर्न मन नलाग्दो रहेछ । हुन त मान्छेले लडेर सिक्नुपर्छ भनिन्छ । तर, खुट्टा भाँचेर सिक्नु र छाला मात्रै पिल्साएर सिक्नु फरक रहेछ । एउटा खुट्टा गुमाएर सिक्यो भने त्यो सिकाइ काम नलाग्दो रहेछ । त्यो सिकेको काम लाग्दैन । मैले पनि थिएटर खोल्दा खुट्टा भाँचेर सिकेको रहेछु । आर्टिस्टले मात्रै थिएटर चलाउन सक्दैन र व्यवस्थापन पढेकाले मात्रै पनि चलाउन सक्दैन । थिएटर दुवैको संगमस्थल हो जस्तो लाग्छ ।


थिएटर कहिल्यै छोड्न सक्दिनँ । मलाई थुप्रैले विश्वास गर्नुभएको छ । मैले थिएटरकै लागि धेरैजनाबाट ऋण लिएको छु । त्यो मलाई विश्वास गरेर दिनुभएको हो । त्यसवेला ठूला अवसर छोडेर मैले थिएटर भिलेज सुरु गरेको हो । थिएटर भिलेजले मलाई धेरै सिकायो । नाटकघर मेरो प्रोफेस्नल परिवार थियो । मेरो पर्सनल परिवार कोही छैन भन्दा पनि हुन्छ । मेरो जे हो प्रोफेसनल परिवार हो । लामो समय बाहिर बसेर आएँ भने सुरुमा थिएटरमै पुग्छु । झोला बोकेरै त्यहाँ पुग्छु र साथीहरूलाई भेट्छु । घर जादिनँ । बुबा–आमालाई भेट्न पछि जान्छु । किनकि मेरो पहिलो परिवार नै थिएटर भिलेज हो । जतिजना जोडिनुभएको छ त्यो मेरो परिवार हो । 


मैले राम्रो गरेँ या नराम्रो गरेँ समयले समीक्षा गर्ला । यति गर्दा मैले परिवार पाएको छु । यो सबै मेरो सपनासँग जोडिएको छ । मेरो एउटा सपना नेसनल इन्स्टिच्युट बनाउने हो । जहाँ समुदायले अपनत्व ग्रहण गरोस् । नेपाललाई ‘इन्टरनेसनल आर्ट ट्रान्जिट’ बनाउने सपना छ । थिएटरकै सपना देख्ने मेरो जिद्दिपन अझै जारी छ ।


रंगमञ्चको क्षेत्रमा जति हुनुपर्ने हो त्यति भएको छैन । यसमा हामी रंगकर्मीकै बढी उत्तरदायित्व छ । हामीमा अहिले गरिरहेको भन्दा बढी उत्तरदायी हुनुपर्छ । दर्शकलाई हामीले टेस्ट गराउने हो । दर्शकलाई थिएटर कस्तो हुनुपर्छ भनेर थाहा हुँदैन । दर्शकको टेस्ट हामीले बदल्नुपर्छ । थिएटरको लिट्रेसी बढाउन हामीले मिहिनेत गर्नुपर्छ । दर्शकको लिट्रेसी बढिरहेको पनि छ । तर, हाम्रो लिट्रेसी बढेको छैन । पहिला हामी रंगकर्मीकै लिट्रेसी बढाउन जरुरी छ ।


पहिले मैले गरेको नाटक बहिष्कृत हुन्थ्यो । मेरो नाटकलाई नाटकै होइन भनिन्थ्यो । मैले पढेको र उहाँहरूले पढेको फरक थियो । मैले देखेको र उहाँहरूले भोगेको फरक भयो । त्यसैले नाटक चल्दैन थियो । एकदमै मिहिनेत गरेर गरिन्थ्यो । त्यसवेला मैले १०–१२ लाखमा नाटक गर्थेँ । एक लाख पनि कमाइ हुँदैनथ्यो । मलाई जेमा विश्वास छ, त्यसैमा काम गर्नुपर्छ भन्ने लाग्थ्यो । नैतिकताचाहिँ छाड्नुहुन्न भन्ने लाग्थ्यो । पछि मेरो नाटक हेर्न दर्शक आउनुभयो । सबैले एउटै काम गर्नुपर्छ भन्ने छैन । तपाईंलाई जस्तो मन लाग्छ त्यसरी भन्दा हुन्छ । तर, आर्टको इथिक्स हुन्छ ।